भ्रष्टाचारको बहुआयामिक आतङ्क र उद्गम स्रोतको सफाइ
‘निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या (हुन्), ईन दुईको ता धन जिव गरि लियाको पनि पाप छैन ।’
यो नेपाल एकीकरणकर्ता राष्ट्रपिता पृथ्वीनारायण शाहद्वारा जीवनको उत्तराद्र्धतिर दिइएको दिव्य उपदेश हो ।
हाम्रो शौभाग्य, राष्ट्र निर्माताबाटै हामीले घुस दिने र घुस खानेले न्यायनिसाफ बिगार्ने भएकाले तिनप्रति कठोर हुन् मार्गनिर्देशन पायौँ । तर, हाम्रो दुर्भाग्य के भने अढाई सय बर्षपछि पनि, आज एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि नेपाली समाजको हरेक तह र तप्कामा भ्रष्टाचार विषालु ढुसीको सङ्क्रमण सरह विकराल ढङ्गले फैलिएको छ ।
त्यसैले प्रत्यक्ष रूपमा घुस लिनु र दिनु त भ्रष्टाचार हो नै, त्यसैलाई मात्र अब भ्रष्टाचारको रूपमा अथ्र्याएर यो राष्ट्रिय समस्याको पूर्ण निराकरण गर्न सकिदैन ।
भ्रष्टाचार आज बहुआयामिक हुन पुगेको छ । राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, मनोवैज्ञानिकलगायत विविध आयामहरूलाई भ्रष्टीकृत गरी विकृत तुल्याइएको छ । २००७ सालदेखि जतिपल्ट राजनीतिक परिवर्तन भए पनि सामाजिक, आर्थिक रूपान्तरण भई जनताको जीवनस्तरमा दृश्य परिवर्तन आउन सकेको छैन ।
संविधानको अक्षरमा हेर्ने हो भने अहिले हाम्रो देशमा लोकतन्त्र, अझ समाजवाद उन्मुख शासन व्यवस्था छ । शासनलाई नागरिकको घरआँगनसम्म पु¥याउन भनेर सङ्घीय व्यवस्था अपनाइएको छ । तर, आम नागरिकले सिंहदरबारदेखि वडा तहसम्मबाट पाउनु पर्ने कुनै पनि सेवा सुविधा कानुनले तोकेको शुल्क मात्र तिरेर प्राप्त गर्न सक्ने स्थिति छैन । सेवाग्राहीबाट अनुचित रूपमा लाभ दोहन यत्रतत्र सर्वत्र भैरहेको छ । अन्यत्रको कुरै छोडौँ, न्यायालय समेतमा राजस्व सङ्कलन गर्ने बैङ्कका काउन्टरमा भन्दा सीसीटीभी मुक्त क्षेत्र अर्थात् शौचालयमा ज्यादा आर्थिक कारोवार हुने गरेको तथ्य जगजाहेर छ ।
लोकतन्त्रको लागि आन्दोलन गरेका राजनीतिक दलहरू नै जनताको अभिमतद्वारा शासन सत्तामा छन् । सरकारी कर्मचारी पनि लोक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमका लिखित र मौखिक परीक्षा पास गरेर सेवा प्रवेश गरेका हुन् । तर, लोकतन्त्रका लागि आन्दोलन गरेका राजनीतिक दलहरूको शासन हुँदैमा वा सेवा प्रवेशको परीक्षामा उत्तीर्ण हुँदैमा मात्र सार्वजनिक पदधारक भ्रष्ट हुँदैन भन्न नसकिने तथ्य यसले पुष्टि हुन्छ
खासमा आज सार्वजनिक पद बहालकर्ताहरूमा भ्रष्टाचार कदापि गर्दिनँ भन्ने नैतिक अठोटको खडेरी परेको छ । यसर्थ समाजलाई भ्रष्टीकृत तुल्याउनुमा देशको समग्र राजनीतिक प्रणाली, सामाजिक संरचना, आर्थिक स्रोतको वितरणको स्थिति, मनोवैज्ञानिक एवम् अन्य कारणहरूको प्रत्यक्ष परोक्ष भूमिका रहेको तथ्य नकार्न सकिन्न । भ्रष्टाचारको समूल अन्त्य गर्ने हो भने यी यावत् आयामहरूको विहंगम विश्लेषण गरी उपयुक्त उपचारतर्फ लाग्नुपर्ने हुन्छ ।
राजनीतिमा भ्रष्टाचार
यतिबेला नेपाली राजनीति, हिंसाको प्रोत्साहन र व्यापारीकरणले सबैभन्दा भ्रष्ट तुल्याएको छ । तत्कालीन माओवादी र सात राजनीतिक दलबीच बाह्र बुँदे समझदारीमार्फत् जबर्जस्त रूपमा नेपाली राजनीतिमा हिंसालाई वैधता प्रदान गरिएपछि २०४६ साल यता चरम व्यापारीकरण हुँदै आएको राजनीति थप अपराधीकरण हुन पुगेको छ । यसरी राजनीति, अपराध र व्यापारको साँठगाँठ र गठजोडबाट मुलुकमा माफियातन्त्र मौलाइरहेको छ ।
गाउँगाउँसम्म भोट बैङ्क खडा गर्नका लागि पेशेवर राजनीतिक कार्यकर्ताहरू पाल्ने, तिनलाई कुनै आयमूलक रोजगारीमा संलग्न हुन नदिने भ्रष्ट राजनीतिक संस्कार ‘लोकतन्त्रका लागि लडेका’ दलहरूले नै हुर्काएका हुन् । राजनीतिलाई व्यवसायका रूपमा अघि बढाई सत्तामा पुग्नका लागि जस्तोसुकै अपराध गर्न समेत पछि नपर्ने भ्रष्ट राजनीतिबाट आएका व्यक्तिहरूबाट शासन सत्ताको चरम दुरूपयोग हुनु स्वाभाविक हो ।
राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट आम नागरिकलाई वञ्चित गराइएको छ । नागरिकको हक लाग्ने स्रोतसाधनबाट अवैधानिक प्रतिफल सत्ता र प्रतिपक्षी राजनीतिक दलहरूले बाँडीचुँडी खाइरहेका छन् ।
जति खर्च गरेर पनि दलको टिकट हात पार्ने, सांसद हुने, मन्त्री पदलगायत राज्यका अन्य लाभका पद खरिद गर्ने प्रवृत्तिले बढावा पाएको छ । राजनीतिक दलहरूलाई पहिले लगानी गर्ने अनि पदमा पुगेपछि उक्त लगानीको कैयौँ गुणा रकम भ्रष्टाचार गरी असुलउपर गर्ने संस्थागत भ्रष्टाचारलाई विद्यमान राजनीतिक व्यवस्थाले पक्षपोषण गरिरहेको छ ।
यातायात, स्वास्थ्य, शिक्षा, न्याय कुनै पनि क्षेत्र यस प्रकारको संस्थागत भ्रष्टाचारबाट मुक्त छैन । सेवाग्राहीको अत्यधिक भीड लाग्ने आकर्षक कार्यालयहरूमा पदस्थापनका लागि कार्यालय सहायक तहदेखि संवैधानिक तहसम्म सेटिङ हुने गरी सरकारी कर्मचारीतन्त्रमा ट्रेड युनियनको विचित्र व्यवस्था गरिएको छ ।
सरकारी कर्मचारी अधिकार प्राप्त अधिकारी हुनाले ऊ श्रमिक होइन । ट्रेड युनियनको व्यवस्था भ्रष्टाचारलाई संस्थागत गर्नकै निमित्त मिलाइएको प्रबन्ध मात्रै हो । खरिदार, नायब सुब्बा, शाखा अधिकृतले दिनभरि सङ्कलन गरेको ‘खुद्रा रकम’ पनि माथिल्ला पदधारीसम्म ‘भागशान्ति’ हुने हुनाले माथिल्लो तहका अधिकारीसमक्ष जनगुनासो लिएर गए पनि घुस माग्ने कर्मचारीहरूलाई कारवाही हुने अवस्था छैन ।
यस्तै ‘थोक रकम’को कारोवार बिचौलियाहरू मार्फत् देशभित्रै वा कतिपय अवस्थामा त देश बाहिर अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिङ्गापुर र थाइल्याण्डमा तिनका पारिवारिक प्रतिनिधिहरूबीच लेनदेन हुने गर्छ । ( यो तथ्य गत चैत २०७४ मा नेपालगञ्जमा आयोजित १४औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनमा चर्चाको विषय बनेको थियो ।)
सार्वजनिक पदमा रहेका व्यक्ति मात्र नभई राजनीतिक दलले समेत चन्दाको नाममा संस्थागत भ्रष्टाचार गरिरहेका छन् । चन्दादातासँग चुकेकाहरु सत्तामा भएपछि ती चन्दादाताले विभिन्न वस्तु तथा सेवाको अस्वाभाविक मूल्य वृद्धि गर्दा पनि राज्य दर्शक मात्र बन्छ । आम नागरिक भने त्यसको मार व्यहोर्न बाध्य बन्छन् ।
अतः भ्रष्टाचारलाई समूल अन्त्य गर्नका लागि राजनीतिक प्रणालीमा आमूल परिवर्तन नगरी सम्भव देखिँदैन ।
शिक्षा प्रणालीमा भ्रष्टाचार
भनिन्छ, ठूला मान्छेका लागि कारागार बनाउनुभन्दा साना नानीहरुका लागि विद्यालय बनाउनु ।
हाम्रो देशमा पनि कारागारभन्दा विद्यालय नै बढी खुलेका छन् । सरकारीस्तरबाट मात्र हैन, निजी क्षेत्रबाट समेत प्रशस्तै बिद्यालय खुलेका छन् । तर, हाम्रो शैक्षिक क्षेत्रमा महाभ्रष्टाचार र विकृति व्याप्त छ ।
आधुनिकताको नाममा अन्धानुकरण गरिएको पश्चिमा शिक्षा प्रणालीले भ्रष्टाचार गरेर भए पनि कमाउनै पर्छ भन्ने मनोविज्ञान नेपाली समाजमा बिजारोपण गरी नैतिक पतनलाई मलजल गराउने कार्य भइरहेको छ ।
निजी शिक्षण संस्थाहरूले दुधे बालबालिकाहरूलाई दीक्षान्तका टोपी पहिराएर होस् कि स्कुले बालबालिकालाई अङ्ग्रेजी र्याप गाना सिकाएर होस्, अभिभावकसँग मासिक हजारौँ हजार शुल्क असुल गर्छन् । यो त्यस्ता शैक्षिक संस्थाको भ्रष्टाचारजन्य कार्य हो नै, यो दुष्कार्यले अभिभावकलाई समेत भ्रष्टाचार गर्न उक्साइरहेको हुन्छ ।
पश्चिमा सांस्कृतिक साम्राज्यवादको प्रभावमा हाम्रो राज्यले नयाँ शिक्षा नीति लागु गर्यो । त्यो शिक्षा नीतिले हाम्रो सनातन नेपाली संस्कृति, धर्म, परम्परा र मान्यता विस्थापित गरायो र समाजमा भ्रष्टीकृत सोचले जरा गाड्यो ।
पैसाले शिक्षा किन्ने र पैसा कमाउनकै लागि प्रमाणपत्र कीर्ते गर्न पनि पछि नपर्ने, जसरी पनि कमाउने, बाँचुञ्जेल मोजमजा गर्ने लगायतका आयातीत चिन्तन पद्धतिलाई हामीले बढावा दियौँ ।
हाम्रो पूर्वीय चिन्तन पद्धति कर्मयोग र त्यागको महान् भावनाले ओतप्रोत छ । पूर्वीय र पश्चिमा शिक्षा र चिन्तन पद्धति नै सर्वदा भिन्न छ ।
पूर्वीय ज्ञान पद्धतिले श्रेय खोजिरहँदैन । विशुद्ध त्याग र मानव कल्याणको भावनाले ओतप्रोत भई काम गर्ने पूर्वीय चिन्तन हो । कर्मयोगी चिन्तन हो । यो सनातन जीवनपद्धति हो । हिन्दू, बौद्ध, किराँतलगायत यहाँको पूर्वीय ज्ञान र दर्शनको पद्धतिभित्र भ्रष्टाचार छैन, पापाचार छैन, सदाचार छ ।
तर, नयाँ शिक्षाको नाममा पश्चिामा अन्धानुकरणले गर्दा ज्ञानको यो अनुपम पद्धतिलाई विकृत तुल्याउन अनेक जालसाज गरिएको छ । पूर्वीय शिक्षा पद्धतिलाई कर्मकाण्डी पद्धति, जातीय छुवाछुतको पद्धति र झारफुकको अवैज्ञानिक पद्धतिका रूपमा नेपाली नयाँ पुस्ताको मस्तिष्कमा आरोपण गरियो ।
पाणिनीले अन्तरिक्षसम्म शब्द ब्रह्मले यात्रा तय गर्न सक्ने गरी शुद्ध तवरमा सूत्रबद्ध गरेको व्याकरणमा आधारित नेपाली व्याकरणलाई विकृत तुल्याएर हलन्त, इकार, उकार कुनैको भेद रहन्न भनी नेपाली भाषामाथि गरिएको प्रहार शिक्षा क्षेत्रको भ्रष्टाचारकै एक शृङ्खला हो ।
मन्दिर जाँदा, यज्ञोपवित धारण गर्दा, टीका लगाउँदा इज्जत जाने अनि जन्मदिनका नाममा केक काट्दा, नयाँ जोगीले खरानी धेरै घसेझैं शनिबार लस्करै नव इसाई बनेर चर्च धाउँदा इज्जत बढ्ने, नेपालीमा बोल्दा इज्जत घट्ने तर अङ्ग्रेजीमा बोल्दा विद्वान ठहरिने शिक्षा पद्धतिको बढावा पूर्ण रूपले नेपाली समाजलाई भ्रष्टीकृत गर्ने डिजाइनमा भएका गतिविधि हुन् । यसले अझै निरन्तरता पाइरहेकै छन् ।
अतः वर्तमान शिक्षा प्रणाली र चिन्तन प्रणालीमा आमूल परिवर्तन गरेपछि बल्ल भ्रष्टाचारको उद्गम स्रोत नष्ट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म