पिएन क्याम्पस गेट परिसर तनावग्रस्त, नेविसंघ र प्रहरी झडप
पोखरा । नेपाल विद्यार्थी संघ र प्रहरीबीच सोमबार ढुंगा हानाहान भएको छ । पृथ्वीनारायण क्याम्पस गेट अगाडिको बाटोमा विद्यार्थीहरुलाई प्रहरीले चक्काजाम गर्न रोकेपछि स्थिति असामान्य बनेको थियो ।
१४ वर्षीय एक नेविसंघ सम्बद्ध विद्यार्थीले प्रधानमन्त्री केपी ओलीको कार्टुन बनाएर सामाजिक सञ्जालमा हालेकै भरमा राज्यले गिरफ्तार गरेर यातना दिएको भन्दै नेविसंघले विरोधको कार्यक्रम बनाएको थियो ।
‘यो कस्तो खालको राज्य हो । आफूलाई लोकतान्त्रिक भन्छ तर हामीलाई लोकतान्त्रिक तवरले न बोल्न दिन्छ न त विरोध जनाउन दिन्छ । यो सरासर अधिनायकवादको संकेत हो । त्यसैले हामीले सरकारलाई दबाब दिनका लागि यो आन्दोलनको कार्यक्रम बनाएका हौँ,’ नेविसंघका केन्द्रीय सदस्य गोपाल गुरुङले भने ।
नेविसंघले सोमबार देशव्यापी रुपमै सरकारलाई दबाब दिनका लागि एक घण्टे चक्काजामको आयोजना गर्ने कार्यक्रम तय गरेको थियो । सोहि कार्यक्रम अन्तरगत नै रहेर पृथ्वीनारायण क्याम्पस गेटमा चक्काजामको आयोजना गरिएको विद्यार्थी नेता गोपाल गुरुङले बताए ।
प्रहरीले विद्यार्थीले जलाउने भनेर तयार पारेको पुत्ला जबरजस्ती खोसेर लगिदिएका थिए । त्यसपछि विद्यार्थीहरु अनियन्त्रित बनेको स्थानियको भनाई छ ।
त्यसपछि विद्यार्थीहरु राँकोसहित सडकमा निस्किएका थिए । प्रहरीले पुनः विद्यार्थीलाई तितरबितर बनाएको थियो । त्यसपछि भने विद्यार्थीले क्याम्पस गेट भित्रबाट ढुंगा हान्न थालेका थिए ।
अँध्यारो भएसँगै स्थितिीसामान्य भएको थियो । झडपका कारण करिब २ घण्टा सवारी व्यवस्थापनमा समस्या आएको थियो । झडप भएपनि प्रहरी र विद्यार्थी दुवैतर्फ भौतिक हानी नभएको बुझिएको छ ।