केन्द्रीय संस्करण

म्हपूजाको महत्व : आफूले आफैंलाई चिन्ने अवसर

person explore access_timeकात्तिक २२, २०७५ chat_bubble_outline0

‘थःतः थःम्ह म्हमसिया अति दुःख सिल रे,’ नेवारी भाषाको प्रचलित गीत गाएपछि संस्कृतिविद् सत्यमोहन जोशीले नेपालीमा अथ्र्याए, ‘आफूले आफैंलाई नचिनेर अति दुःख पाइयो रे ।’ म्हपूजाको पृष्ठभूमि सोध्नासाथ संस्कृतिविद् जोशीले उल्लिखित नेवारी गीत सुनाए । 

‘त्यतिबेला काठमाडौं उपत्यकालाई नेपाल मण्डल भनिन्थ्यो । वस्ती विस्तार हुनुपहिले यहाँ विशाल ताल थियो । बिस्तारै बस्ती विस्तार बस्यो । बागमतीकिनार वारिपारि बस्ती सुरु भयो,’ उनले सुनाए, ‘बस्ती विस्तारपछि खेतीपाती सुरु गरियो ।

ओडारमा बस्ने मानिस सभ्य हुँदै गए । यस्तो कुरा सुनाउँदा काल्पनिक लाग्न सक्छ । कृषियुग सुरु भएपछि मानिसलाई खान पुग्यो । लगाउन पुग्यो । ओत लाग्ने ठाउँ पनि भयो । तैपनि मानिसलाई त्यतिले चित्त बुझेन ।’ 

अनि ?
मानिस चिन्तनशील प्राणी हो । ‘सूर्य सधैं पूर्वबाट उदाउँछ । पश्चिमबाट अस्ताउँछ । दिन हुन्छ । रात हुन्छ,’ उनले थपे, ‘मानिसलाई कौतूहल भयो । मानवजीवन भनेको खानु, लगाउनु, बाँच्नुमात्रै होइन रहेछ । मानिसमा चिन्तन गर्ने तत्व ज्ञान पनि रहेछ भन्ने उसले थाहा पायो । उसले म बोल्दा भित्रबाट आउने बोली कसरी आएको होला ? त्यो बोली मभित्र कहाँ होला ? भनेर सोच–विचार गर्न थाल्यो ।’

मौसम परिवर्तन हुनु, पानी पर्नु, इन्द्रधनुष लाग्नु र सपना देख्नुलाई पनि उसले अनौठो मान्न थाल्यो । त्यसले उसलाई अचम्मित पार्यो । तर, त्योभन्दा बढी मभित्रबाट आउने बोली भनेको कुन तत्व होला भनेर चिन्तन गर्न थाल्यो । ‘त्यसबारे जान्न खोज्दा उसले विचार गर्यो,’ उनले प्रस््याए, त्यतिबेला उनले थःतः थःम्ह म्हमसिया अति दुःख सिल रे गीत गायो ।’

‘उसले आफूले आफैंलाई चिन्न सकेन । आफूले आफैंलाई चिन्नका लागि शरीरको प्रतिछायाँ बनाई मण्डल बनायो,’ उनले जोडे, ‘त्यही मण्डलमा फक्रन लागेको कमलको प्रतिक बनाए । ऊभित्रको बोल्ने तत्वको प्रतिनिधित्व गराउने चिउँडोदेखि निधारसम्म लम्बाइको बत्तीको प्रतिक बनाए ।’

 त्यसपछि ?
‘त्यसपछि,’ उनले भने, ‘म्हपूजा गरे । पूजा गरिन्जेल त्यो बत्ती निभाउनुहुँदैन । पूजा सकेपछि बलिरहेको बत्ती पूजामा बसेकालाई ढोगाइन्छ । त्यसपछि पूजामा बसेकाको मण्डलअघि राखिन्छ ।’  म्हपूजा सामूहिक रूपमा गरिन्छ । सम्बन्धित परिवारमा रहेका सबैको एकैपटक पूजा गरिन्छ । पास्नी गरेकादेखि परिवारका सबैको पूजा गरिन्छ ।

पूजा गर्दा ब्राह्मण चाहिँदैन । सम्बन्धित परिवारका घरमुली महिलाले पूजा गर्छन् । ‘म्हपूजा मातृसत्ताप्रधान हो । उनीहरूकै तजबिजमा पूजा गरिन्छ,’ संस्कृतिविद् सत्यमोहन जोशीले बताए, ‘घरमुलीमा पनि मर्यादाक्रम हुन्छ । उमेरले पाको घरमुली भए पनि ऊ माथि बस्न पाउँदैन । उमेरले ऊ भतिजा होलान् । मर्यादाले ऊ काका पनि हुन सक्छ ।’

म्हपूजा गर्दा मन्त्रोच्चारण गरिँदैन । म्हपूजामा मण्डललाई पूजा गरिन्छ । पूजा सकिएपछि घरमुलीलाई एकजनाले ढोगे पुग्छ । ‘पूजामा डोरो पनि बाँधिदिने गरिन्छ । डोरो बाँध्नुको पनि अर्थ छ,’ जोशीको कथन छ, ‘त्यतिबेला भूतप्रेतले दुःख दिन्थे । त्यसबाट बच्न डोरो बाँधिदिने गरिन्थ्यो । त्यसले आज पनि निरन्तरता पाएको छ ।’ 

म्हपूजा गर्दा ओखर, बिमिरो र कटुस अनिवार्य चाहिन्छ । त्यसबाहेक मौसमअनुसारको फलफूल राखिन्छ । ओखर मजबुत, कटुस ऐश्वर्य र मखमली कहिल्यै नओइलाउने फूल भएकाले पूजामा अनिवार्य मानिएको बताइन्छ । 

पूजा सकिएपछि हाँस र कुखुराको अन्डा सगुनस्वरूप खुवाइन्छ । सगुन दिँदा तिम्रो स्वास्थ्य राम्रो होस् । चिताएको पूरा होस् भनेर घरमुलीले आशिर्वाद दिने गर्छन् । ‘स्वास्थ्यमात्रै राम्रो भएर हुँदैन शरीरभित्रका तत्व (आत्म) राम्रो हुनुपर्छ भन्ने म्हपूजाको अभीष्ट हो । त्यही भएर आत्मपूजा गरिएको हो । शरीरभित्रको तत्व जान्ने, थाहा पाउने तत्व पत्ता लगाउन मण्डलमा आत्मको प्रतिक बनाएर त्यसको प्रतिनिधित्व गरी म्हपूजा थालिएको जोशीले बताए । 

‘म्हपूजा खर्चिलो छ,’ उनले गर्व गरे, ‘तर, म्हपूजा हिंसारहित हुन्छ । ऋतु परिवर्तनको प्रतिक पनि हो म्हपूजा ।’ नेवार समुदायले देउसी–भैलो खेल्दैनन् । त्यसको साटो ऋतुपरक लोकगीत गाउँछन् । तिहारमा धनाश्री गाउँछन् । धनाश्री गायो भने तिहार आएको संकेत गर्छ । सम्बन्धित परिवारका जोकोही परदेशमा भए पनि म्हपूजामा उनीहरूको मण्डल बनाएर पूजा गर्ने गरिन्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...