शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? यसरी गर्नुहोस् तयारी

बिहीबार, २२ कात्तिक २०७५, ११ : ०२
बिहीबार, २२ कात्तिक २०७५

कृष्णप्रसाद पराजुली

कसरी पढ्ने ?
–पहिले आफ्नो लक्ष किटान गर्नुहोस् । लोकसेवा नै पास गरी सरकारी सेवामा छिरेर आफ्नो करियर बनाउने लक्षका साथ पढ्न थाल्नुहोस् । एकैचोटि धैरैतिर हात नहाल्नुहोस् ।

–कसैको दबाबमा नपढ्नुहोस् । पढ्ने कुरालाई मनदेखि नै जागृत गर्नुहोस् । आफूलाई त पढ्न मन थिएन तर परिवार वा आफन्तका लागि पढिदिएको भन्ने लाग्छ भने यतातिर हात हालेर समय बर्बाद नगर्नुहोस् । 

–    सधैँ सकरात्मक हुनुहोस्  । असफल हुँदैमा नआत्तिनुहोस् । प्रयास गर्ने मान्छै नै असफल हुने हो भन्ने कुरा सोच्नुहोस् । धेरैचोटि असफल भएर पनि पछि सफल भएका विश्वविख्यात व्यक्तिहरूको जीवनीलाई आत्मसात गर्नुहोस् ।

– पढेर मात्रै लोकसेवा पास गर्न सकिँदैन । सबै कुरा मिल्नुपर्छ । पहिलो चोटिमै सफल नहुन पनि सकिन्छ । त्यसैले, धैर्यताको बाँधलाई टुट्न नदिनुहोस् ।

– पढ्दा कुनै एउटा पाठ्यसामग्रीको मात्रै भर नपर्नुहोस् । बजारमा गुणस्तरीयभन्दा पनि प्रचारमुखी सामग्री बढी पाइन्छन् । त्यसैले पाठ्यसामग्री चयन गर्दा  सम्पर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय  सामग्री चयन गर्नुहोस् । 

– सकेसम्म नोट बनाउने बानी बसाल्नुहोस् । नोट बनाउँदा धैरै सामग्री हेरेर बनाइन्छ । जसबाट धेरै कुरा जान्ने मौका मिल्छ । परीक्षाको  समयमा आफ्नै नोट पढ्नुहोस् ।

– समसामयिक विषयमा अपडेट हुनुहोस् । समसामयिकका लागि छुट्टै नोट तयार गर्नुहोस । कम्तीमा पनि दिनको दुईवटा राष्ट्रिय स्तरको पत्रिका पढ्ने, राष्ट्रिय स्तरको रेडियोको समाचार सुन्ने, सरकारी निकायहरूले निकालेका प्रतिवेदनहरू हेर्ने बानी बसाल्नुहोस् ।

– कोचिङ सेन्टरको मात्रै भर नपर्नुहोस् । कोचिङ सेन्टर गाइडलाइन मात्रै हुन । त्यहाँ पढेको कुरो नै परीक्षामा आउँछ भन्ने हुँदैन । त्यसैले कम्तीमा एकचोटि कोचिङ गएर पढ्ने आधार बनाउनुहोस् । तर सम्पूर्ण रूपमा भर नपर्नुहोस् ।

– पढ्ने समयतालिका निर्धारण गर्नुहोस् । निरन्तर नपढ्नुहोस् । तर पढ्ने समयमा ध्यान केन्द्रित गरेर पढ्नुहोस् । बुझेर पढ्नुहोस् । पढेको कुरालाई सम्झने र विश्लेषण गर्ने गर्नुहोस् । पढाइलाई बोझका रूपमा नलिनुहोस् । 

– सबै विषयलाई उत्तिकै महत्व दिनुहोस् । कहिलेकाहीँ आफूले आउँदैन होला भनेको कुरा नै परीक्षामा सोधिन सक्छ । त्यसैले पाठ्यक्रमलाई राम्ररी ख्याल गरी सबै कुरालाई अध्ययन गर्नुहोस् । 

–    आफ्नो परीक्षा आफै लिनुहोस् । पुराना प्रश्नपत्रको हल निश्चित समय छुट्टाएर घरमै बसेर गर्नुहोस् ।

– मिल्छ भने टिम बनाएर कहिलेकाहीँ छलफल गर्नुहोस् ।

– परीक्षामा कसरी लेख्ने ?
–    समय सीमित तर लेख्ने विषय धेरै हुने हुँदा परीक्षामा  समय व्यवस्थापन चुनौतीका रूपमा रहन्छ । कतिपय परीक्षार्थीहरूले उत्तर जान्दा जान्दै पनि समय व्यवस्थापन गर्न नसकी असफल भएको पाइन्छ । त्यसैले समयलाई ध्यान दिनुहोस् र परीक्षा केन्द्रमा  पनि समयमै पुग्नुहोस् ।

– परीक्षा हलमा आफूलाई चाहिने सबै सामग्री लिएर जानुहोस् । एक बोतल पानी पनि लिएर जानुहोस् । अध्ययनले के देखाएको छ भने परीक्षा हलमा पानी लिएर जानेले अरूलेभन्दा १० प्रतिशत राम्रो गर्न सक्छ ।

–जानेको कुरो सबै लेख्न नथाल्नुहोस् । प्रश्नले सोधेको उत्तर छोटो तर तथ्य र तथ्याङ्कसहित सिलसिलाबद्ध रूपमा लेख्नुहोस् । अनावश्यक गफ लेखेर समय खेर नफाल्नुहोस् ।

–परीक्षा हलमा रहँदा मनलाई सकरात्मक बनाउनुहोस् । नआत्तिनुहोस् । परीक्षाको सन्दर्भमा फैलाइएका अनावश्यक हल्लाको पछि नलाग्नुहोस् ।

–    उत्तर लेख्दा प्रत्येक परीक्षार्थीको शैली फरक–फरक हुन सक्छ । त्यसैले कसले कस्तो लेख्योभन्दा पनि प्रश्नले के मागेको हो र आफूले के लेख्ने भन्ने कुरालाई ध्यान दिनुहोस् । आवश्यकता अनुसार बुँदागत र व्याख्यात्मक दुवै रूपमा लेख्नुहोस् ।

–  उत्तरको सुरुवात र अन्त्य चोटिलो बनाउनुहोस् । सुरुमै नकरात्मक उत्तर नलेख्नुहोस् । निष्कर्ष लेख्दा पनि समस्याको पहिचान गर्दै समस्यालाई समधान गर्न कसले के गर्नुपर्ने हो, त्यसलाई सकारात्मक रूपमा प्रस्तुत गर्नुहोस् ।

अन्तर्वाताको चरणमा के गर्ने, के नगर्ने ?

अन्तरवार्ता, परीक्षार्थी र परीक्षक प्रत्यक्ष रूपमा भेटघाट हुने चरण हो । अन्तर्वाता दिनेको हाउभाउ, बोल्ने तरिका, पोषाक, उसको व्यवहार इत्यादीले अन्तरवार्ता लिनेलाई प्रभावित तुल्याउने हुँदा अन्तरवार्ता दिनेले निम्न विषलाई ध्यान दिनु पर्छ ।

–औपचारिक र सफा पोसाकमा उपस्थित हुनुहोस् । उत्ताउलो र तडकभडक किसिमको पोसाक नलगाउनुहोस् ।

–    अन्तरवार्ता लिने सबैलाई एकमुष्ट सम्बोधन गर्नुहोस् । तोकिएको कुर्सीमा अनुशासनपूर्वक बस्नुहोस् ।

–    अन्तरवार्ता लिनेले परीक्षार्थीको मनोविज्ञान बुझ्न राम्रो विषयलाई पनि नराम्रो रूपमा प्रस्तुत गर्न सक्छ । त्यसैले सकरात्मक उत्तर  दिनुहोस् ।

–    अन्तरवार्ता दिँदा नडराउनुहोस् । निर्धक्क भएर प्रस्तुत हुनुहोस् । आफ्नो विचारलाई निर्भिक रूपमा राख्नुहोस् ।

–    कतिपयले अन्तरवार्ताको समयमा खुट्टा चलाउने, कपाल कनाउने, दाँत टोक्ने इत्यादी गर्ने गरेको पाइन्छ । त्यस्तो काम कदापि नगर्नुहोस् । अन्तरवार्ताको वातावरणलाई रोमाञ्चित बनाउनुहोस् । मुस्कुराएर उत्तर दिनुहोस् । अन्तरवार्ता लिनेलाई सकरात्मक प्रभाव पार्नुहोस् ।

–    आफूले नजानेको विषयलाई जानेजस्तो गरेर नभन्नुहोस् । नजानेको प्रश्नलाई निर्धक्क भएर आफूलाई सो प्रश्नको उत्तर नआउने बताउनुहोस् । मैले यो विषयमा अध्ययन गरेको रहेनछु । अब म यो विषयमा जानकार रहेनछु भन्नुहोस् ।

– आफूले दिएको उत्तरको आधारमा अन्य प्रश्न पनि जोडिन सक्ने हुँदा आफूलाई सजिलो लाग्ने विषयतिर अन्तरवार्तालाई मोड्नुहोस् । उदाहरणको लागि ः तपाईंलाई के गर्न मन पर्छ ? भनेर सोधियो र तपार्इंले मलाई फुटबल खेल्न मन पर्छ भन्नुभयो भने तपाईंलाई फूटबलसम्बन्धी अन्य धेरै प्रश्न सोधिन सक्छ । त्यसैले यस्तो विषयमा जानकार भएर जानुहोस् ।

–    अन्तरवार्ता दिन जाँदा राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमको बारेमा बुझेर, अध्ययन गरेर जानुहोस् ।

–    अन्तरवार्ता लिनेलाई अनुचित प्रभाव पार्न नखोज्नुहोस् । मैले सोर्सफोर्स लगाएको छु । हजुरहरूले मलाई पास गराइदिनै पर्छ । तपाईंहरूले कृपा गर्नु भयो भने सफल भइएला जस्ता कुरा नराख्नुहोस् । योग्यता प्रणाली बमोजिम सफल हुनेछु । यदि सफल हुन सकिन भने पनि पुनः मिहिनेत गरी सेवामा प्रवेश गर्नेछु  भनेर अन्तरवार्तालाई टुग्याउनुहोस् । 

शाखा अधिकृत, 
मदाने गापा–७, भनभने, गुल्मी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप