दमननाथको नजरमा पद्मरत्न तुलाधर : सैद्धान्तिक विषयमा कठोर, व्यवहारमा कोमल
पद्मरत्न तुलाधर र मलाई कतिपयले दौँतरी पनि भन्ने गर्छन् । उहाँ पनि काठमाडौँको, म पनि काठमाडौँको । उमेर पनि लगभग उस्तै । स्कुल पनि हामी दुवैको एउटै हो, पद्मोदय । त्यस बेलादेखि नै हाम्रो सामान्य चिनजान थियो । २०४६ पछि भने उहाँ र म मानव अधिकारका कारणले अलि बढी नै घनिष्ठ भयौँ ।
२०४८ सालको चुनावमा मेरो प्रतिद्वन्द्वीलाई उहाँले नै 'ब्याक' गराउनुभएको थियो । त्यसपछि त हामी झन निकट बन्यौँ । त्यो समयमा म एउटा पार्टी नेपाली काँग्रेस र उहाँ अर्को पार्टीबाट सँगै संसदमा प्रवेश गर्यौं । पछि म सभामुख भएँ । सभामुख र संसदको हैसियतमा हाम्रो सम्बन्ध हुने नै भयो । त्योभन्दा पनि, माओवादीले जनयुद्ध सुरु गरेपछिका घटनाक्रमले हामी साह्रै घनिष्ट भयौं ।
माओवादीका गतिविधि बढ्दै जाँदा विध्वंशकारी ऐन आयो । त्यसपछि पद्मरत्नले मानव अधिकारका पक्षमा वरिष्ठ वकिलहरू सबैलाई बोलाएर ठूलो मिटिङ गर्नुभएको थियो । त्यो मिटिङमा म पनि सहभागी थिएँ । मिटिङमा पद्मरत्नजीले त्यो ऐनको विरोधमा जाऊ भन्नुभयो । मलगायत सबै सहभागी त्यो भनाइमा सहमत भयौँ । त्यसपछि बामपन्थी, डेमोक्रयाट्स दुवैखाले बुद्धिजीवीहरू मिलेर प्रजातान्त्रिक अधिकार जोगाउ आन्दोलनका लागि १६ जनाको समिति बनायौँ । त्यसमा म र पद्मरत्नजी संयोजक छानिएका थियौँ । श्याम श्रेष्ठले पनि त्यसमा धेरै सक्रिय भएर काम गर्नुभयो । त्यसले देशव्यापी रूपमा शान्तिको पक्षमा वकालत गर्यो, माओवादीलाई वार्तामा आऊ भन्यो अनि संविधानसभाको पक्षमा जनमत निर्माण गर्यो ।
सहकार्यको यात्रा
२०५४ सालमा पद्मरत्नजी र म रोल्पा पुगेका थियौँ । मलाई पनि विध्वंशकारी ऐन चित्त बुझेको थिएन, यद्यपि त्यो ऐन माओवादी लक्षित थियो । त्यसले नागरिकका धेरै अधिकार सीमित गर्छ र खोस्छ भन्ने लागेकाले म त्यसको विरोधमा लागेको थिएँ। हामीले माओवादीलाई हतियार छोड, वार्तामा आऊ, २०४७ सालकै संविधानबाट आफ्ना कार्यक्रम लागू गर भन्यौँ ।
मैले त रोल्पामा केसम्म भनेको थिएँ भने, 'रोल्पावासी भएको भए म पनि माओवादी हुन्थेँ ।' त्यसपछि मैले पार्टी र सुरक्षा निकायहरूबाट धेरै आरोप खेप्नुपर्यो । तैपनि ‘खाओवादी बढ्यो भने माओवादी बढ्छ’ भनेर मैले ठोकुवा गरेँ । माओवादी घटाउने हो भने खाओवाद घटाउनैपर्छ भन्ने मेरो अडान रह्यो । त्यतिबेला देशव्यापी रूपमा खाओवाद भनेको भ्रष्टाचार थियो । भ्रष्टाचारीहरूले गरेको भ्रष्टाचारलाई मैले खाओवाद भनेको थिएँ । त्यो खाओवादले माओवाद बढायो भनेर मैले लक्षित गरेको थिएँ । ( प्रचण्डजीले हालै त्यो कुरा उद्धृत गर्दै दमनजीले त्यतिसम्म भन्नुभएको थियो भनेर स्मरण गर्नुभएको थियो ।)
त्यसरी रोल्पाबाट बनाउन सुरु गरेको जनमत हामीले लगातार सँगसँगै भएर बढाउँदै लग्यौँ । विभिन्न ठाउँमाअन्तरक्रिया, भेटघाट र कार्यक्रम गर्दै गयौँ । पद्मरत्न तुलाधर त माओवादी निकट नै हुनुहुन्थ्यो, तर म काँग्रेस थिए । देशभर काँग्रेस भनेर चिनिएको दमननाथ कसरी माओवादी भयो ? र, पद्मरत्नको पछाडि हिँड्यो भनेर प्रश्न पनि उठाइए ।
माओवादीले हतियार उठाइसकेका थिए र त्यो उपलब्धि नष्ट नहोस् भन्ने दृष्टिकोण पद्मरत्नजीको थियो जस्तो मलाई लाग्छ । किनभने क्रान्तिको अपूर्णता भन्ने कुरा माओवादीले हतियार उठाएर जनाएका हुन् भन्ने उहाँ भन्नुहुन्थ्यो । त्यो सन्देश जनतामा पुगिसकेपछि अब युद्ध रोक भन्ने होइन तर युद्ध गर्दै जाँदा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले फेरि तहस नहस गर्न पनि सक्छ भन्नुहुन्थ्यो । उहाँले त पेरुको साइनिङ पाथको अवसान पनि देख्नुभएको थियो ।
पद्मरत्नका तीन दृष्टिकोण
पद्मरत्नजीमा खासगरी तीनवटा दृष्टिकोण म पाउँथे । २०४६–२०४७ सालको परिवर्तनबात प्राप्त बहुदलीय संसदीय प्रजातन्त्र अपूर्ण हो भन्ने उहाँ ठान्नुहुन्थ्यो । त्यसले राज्यका उद्देश्यहरू पूरा गर्दैन भन्ने उहाँको एउटा दृष्टिकोण थियो ।
अर्को माओवादीले हतियार उठाउन त उठाए तर त्यसैले अब अर्को ठूलो परिवर्तनका लागि ढोका खोलोस् भन्ने उहाँको आकांक्षा थियो । तर त्यसो गर्दै गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू आउन सक्छन् भन्ने उहाँको अनुमान थियो । माओवादीलाई त्यसबेला राज्यले आतंकवादी करार नै गरिसकिएको थियो । त्यसकारण कतै न कतै अन्तर्राष्ट्रिय शक्तिहरू आएर तहसनहस पारिन्छ कि भन्ने चिन्ता पद्मरत्नजीमा देखिन्थ्यो । माओवादी जनयुद्धले २०४६ सालको परिवर्तन अपूर्ण हो भन्ने सन्देश दिएको थियो, त्यो उपलब्धि नष्ट नहुँदै माओवादीहरू वार्तामा आऊन् भन्ने दूरदर्शी दृष्टिकोण पद्मरत्नजीमा भएको मैले पाएको थिएँ ।
तर, म भने २०१७ सालपछि प्रजातन्त्रकै लागि जीवन समर्पण गरेको व्यक्ति थिएँ । त्यसैले यो माओवादीका कारण २०४६–२०४७ सालको उपलब्धि नमासियोस् भनेर म भन्थेँ । यदि बहुदलीय प्रजातन्त्र मासियो भने फेरी सामन्तीकै हातमा शासनसत्ता जान्छ भनेर मैले भन्ने गर्थें ।
यो दुईवटा दृष्टिकोणले हामीलाई साझा लक्ष्य बनाउन सहयोग पुर्यायो । जे जसरी भएपनि माओवादीलाई हिंसाबाट शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउनुपर्छ भन्नेमा हामी सहमत भयौँ । योभन्दा बढी मुलुक र जनताले क्षति व्यहोर्नुहुँदैन भन्ने हाम्रो मत बन्यो ।
क्रान्तिको अपूर्णताको उहाँको दृष्टिकोण र मेरो प्रजातन्त्र फेरि शिकार हुनहुन्न भन्ने दृष्टिकोणका कारण हामीले मिलेर शान्तिपूर्ण परिवर्तनका पक्षमा देशव्यापी जनमत बनायौँ ।
माओवादीसँगको वार्तामा सँगसँगै
जब २०५८ साल आयो, पद्मरत्नजी र मेरो जिम्मेवारी बढ्यो । राज्यपक्ष र माओवादीपक्षबाट हामीलाई सहजकर्तामा नियुक्त गरियो । म काँग्रेस र प्रजातान्त्रिक पृष्ठभूमिको मानिस । माओवादीले काँग्रेसलाई नै सत्रु ठानिरहेको थियो। काँग्रेसलाई सत्रु मानिरहेका बेला उनीहरूले मलाई पनि सत्रु मान्नुपर्ने हो । तर मलाई विश्वास गरे ।
त्यसपछि भएका सबै वार्तामा पद्मरत्नजी र म सँगै भयौँ । बाबुरामजीले नेतृत्व गरेको वार्तादेखि अन्तिमसम्म पनि हामी दुवैले सहजकर्ताको रूपमा काम गर्यौं ।
२०६२/६३ को जनआन्दोलनमा पनि हामी दुई जना सँगसँगै रह्यौं । टिचिङ हस्पिटल नजिकैको राजाको घर निर्मल निवास अगाडिको कफ्र्यु तोड्यौँ । त्यसमा नागरिक समाजका धेरै साथीहरु पनि थिए । हामी सँगसँगै गिरफ्तार भयौं ।दुवाकोट जेलमा पनि सँगै बस्यौं ।
सांसद हुने चेष्टा राखेनौं
आन्दोलपछि हामीले सांसद हुने वा संविधानसभामा जाने कुनै चेष्टा गरेनौं । बरु, हामी प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीबीच देखिएका मतभेद हटाउने, शान्ति प्रक्रिया र संविधान निर्माणताका देखिएका जटिलता र गाँठो फुकाउने काममा लाग्यौं ।
सबै नेताहरुकहाँ पुग्ने, भेट्ने र दोस्रो तहका नेताहरुसँग अन्तरसंवाद गर्ने उदेश्यले एनटीटीपीआई भन्ने समूह बनाएका थियौं । त्यस समूहमा सबै नेताहरु आउनुहुन्थ्यो । त्यहाँ बौद्धिक छलफल हुने गथ्र्यो । वास्तवमा भन्ने हो भने त्यसमा संयुक्त राष्ट्रसङ्घ सरकारी पक्षदेखि लिएर सबै दलको प्रतिनिधित्व हुन्थ्यो । त्यो अन्तरदलीय समूह थियो ।
त्यसमा पनि दुई जना संयोजक- पद्मरत्नजी र म नै थियौं । शान्ति प्रक्रिया नभड्कियोस् र संविधान निर्माण नभड्कियोस् भनेर । उनीहरू (सबै राजनीतिक दलहरू) लाई जहिले पनि केन्द्रमा ल्याएर राख्थ्यौं । हाम्रा कुरा उनीहरु गम्भीरताका साथ सुन्थे पनि । त्यसअनुसार काम पनि गर्थे । समग्रमा भन्दा हामीले जनआन्दोलन अगाडि शान्तिपूर्ण परिवर्तनका पक्षमा जनमत बनायौं र जनआन्दोलपछि शान्ति प्रक्रियाका अपूर्ण कामलाई पूर्णता दिने काम गर्यौं ।
नेपाल शान्ति प्रतिष्ठानमा परिणत
त्यही समूहलाई पछि हामीले नेपाल शान्ति प्रतिष्ठान संस्थाका रूपमा दर्ता गर्यौं । त्यसको संस्थापक अध्यक्ष म भएँ । पद्मरत्नजी संस्थापक कोषाध्यक्ष हुनुभयो । त्यो संस्था अहिले पनि चलिरहेकोछ । हामी जहिले पनि शान्ति प्रक्रिया र राजनीतिक सहमति बनाउने काममा लागिरह्यौँ । पछिल्लो समय पनि हामी हरेक बिहीबार मिटिङ गथ्र्यौं ।
शान्ति प्रतिष्ठानका साथीभाइसँग अटुट भेटघाट हुने गथ्र्यो । हामी शान्ति प्रक्रियाबारे चिन्तित थियौं । शान्ति प्रक्रिया टुङ्ग्याउने क्रममा बनाइएका दुईवटा आयोगलाई ऐन संशोधन गरेर त्यसका हातखुट्टा बाँधिने काम भएको छ भन्नेमा हाम्रो चिन्ता रहिरह्यो । फेरी देशमा अशान्ति नहोस्, द्वन्द्व नहोस् भन्ने हाम्रो अभिष्ट हो । त्यसैले ऐन संशोधन होस्, मेलमिलाप आयोग र बेपत्ता आयोगले निस्पक्षताका साथ काम गर्न सकून् । तर झण्डै तीन वर्ष हुन लाग्दा पनि ऐन संशोधन गरिएको छैन । यो के हुन लागेको हो ? अब अन्तर्राष्ट्रिय जगत त मान्नेवाला छैन । यो त हाम्रो देशका राजनीतिक दलबीच सहमति नभएको खण्डमा फेरि नेपाल ठूलो अन्तर्राष्ट्रिय घानमा पर्छ भन्ने चिन्ता पद्मरत्नजी र ममा रहिआएको थियो ।
होइनन् जातिवादी
पदमरत्नजीलाई कतिपयले जातिवादी नेता पनि भने । तर उहाँ नेपालकोे विविधता, राज्यको नीति र कार्यक्रम सबैमा लागू होस् भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँ कट्टर बामपन्थी क्रान्तिकारी हुनुहुन्थ्यो । उहाँलाई म चिर क्रान्तिकारी व्यक्तित्व पनि भन्ने गर्थे । उहाँलाई कुनै क्रान्ति र परिवर्तनले चित्त बुझ्दैन थियो । त्यसमा उहाँ केही न केही अपूर्णता नै देख्नुहुन्थ्यो ।
पदमरत्नजीको परिकल्पना हुने गथ्र्यो- राज्य भनेको सबैको साझा हुनुपर्छ, सबैलाई बराबरी व्यवहार हुनुपर्छ । संविधानमा कानुनी समानता लेखेर मात्र हुँदैन भन्नुहुन्थ्यो । उहाँ प्रश्न गर्नुहुन्थ्यो, कहाँ छ समानता ? भाषा, आस्था, व्यवहार कहाँ छ ? दलित- जनजाति दमित छन् । त्यसकारण सबै भाषा संस्कृतिको पनि उत्थान गर्नुपर्छ भन्नुहुन्थ्यो पद्मरत्नजी । काठमाडौंमा नेवार समुदाय छन् । उनीहरु सबै धनी छैनन् । उनीहरुमा कोही पीडित पनि छन् । नेवारका पनि आफ्नै पीडा छन्। उनीहरु स्कुल जान्छन् तर आफ्नो भाषामा पढ्न पाउँदैनन् ।
जे जति जातजाति, भाषाभाषी र संस्कृति छन्, उनीहरुको आफ्नो जुन रहनसहन छ । ती सबैको राज्यले उचित सम्मान गर्नुपर्छ भन्ने पद्मरत्नजीको मान्यता हो । त्यो वास्तवमा राष्ट्र बनाउने कुरा हो । राष्ट्र भनेको के हो त ? हरेकलाई आफ्नो पहिचानलाई राष्ट्रिय पहिचान बनाउने हो । आफ्नो पहिचान नै भएन भने के राष्ट्र ? राष्ट्रिय पहिचानले मात्रै मान्छेलाई पुग्दैन ।
पद्मरत्नजी सबैको जातीय पहिचान, भाषाको पहिचान र संस्कृतिको पहिचान होस्, देशको ठूलो मालामा सबै फूलहरु र सबै जातजातिहरु, भाषाभाषीहरुको संस्कृतिको सम्मान होस् भन्ने गर्नुहुन्थ्यो । त्यसैले उहाँ एकदमै उदार दृष्टिकोणको मान्छे हो ।
पद्मरत्नजीको विशेषता हो- सिद्धान्तमा कठोर र व्यवहारमा निकै कोमल । यस्तो गुण निकै कम मानिसमा हुने गर्छ ।कोमलता र कठोरता दुबैलाई मिलाएर लैजान सक्ने क्षमता पद्मरत्न तुलाधरमा थियो ।
अल बिदा साथी, अल बिदा पद्मरत्नजी !
(फणिन्द्र नेपालसँगको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म