शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा ज्यानमारा भ्वाङ : कसले टेर्ने प्रधानमन्त्री कार्यालयको निर्देशन ? (भिडियोसहित)

सोमबार, १९ कात्तिक २०७५, १० : ५५
सोमबार, १९ कात्तिक २०७५

काठमाडौँ । काठमाडौँको मध्यबानेश्वरस्थित मिलनचोकको मुख्य सडकमा १ वर्षदेखि २ वटा भ्वाङ उस्तै छन् । पाँचवटा सडक जोडिएको यो चोकमा १ वर्षदेखि सडकमा ढलको काम गर्दा पारिएको भ्वाङ टाल्नका लागि कुनै सरकारी निकाय पुगेको छैन । न सडकसँग सरोकार राख्ने निकायलाई मतलब छ न ढल विभागलाई मतलब छ । अरू त अरू स्थानीय सरकारका रूपमा रहेको महानगरपालिका र त्यसअन्र्तगतको वडा कार्यालयलाई पनि मतलब छैन । 

अघिल्लो वर्षमा भएका स्थानीय तहको निर्वाचन तथा प्रतिनिधि सभाको निर्वाचनका बेला भोट माग्नका मान्छे धेरै भेला हुने गरेको सोही सडकमा अहिले ठूला भ्वाङ पर्दा पनि कसैले चासो नराखेको स्थानीय बताउँछन् । सो स्थानमा पटक पटक सवारी दुर्घटना भएको बताउँदै सो भ्वाङ छोप्न कोही नआएको उनीहरूले गुनासो गरे । 

मिलनचोकको सडक छेउ पसल व्यवसाय गर्ने राजनकुमार गजमेरले सो भ्वाङमा धेरै पटक सवारी साधान फसेको देखेका छन् । दुर्घटनामा परेका कतिपय मोटरसाइकल चालकको उद्धार पनि गरेको उनले बताए । चुनावका बेला जितेपछि तुरुन्तै सडक पिच गरिदिन्छौँ भन्ने नेताहरू अहिले कतै नदेखिएको उनको गुनासो छ । उनले भने– ‘यहाँ गाडीहरू पसेको पस्यै गर्छन्, बाइकहरू पनि पस्छन्, उद्धार गरेर पठाउँछौँ । यो ढलले गर्दा धेरै नै समस्या भइरहेको छ । राज्यले गर्नुपर्ने काम हो, केही गर्दैैनन् । यो क्षेत्रको नेता पनि ठीक लागेनन् । चुनावका बेला पर्चाहरू लिएर निकै आइख्नुहुन्थ्यो र अहिले आउनुहुन्न । यहाँ धेरै लापरवाही भइरहेको छ ।’ 

सोही चोकबाट हरेक दिन ट्याक्सी गुडाउँदै आएका चालक यज्ञराज कार्कीले पनि सो स्थानमा धेरै पटक दुर्घटना भएको बताए । 

उनले भने– ‘यहाँ धेरै दुर्घटना भएको छ, सरकारको आँखा कहाँ पुगेको हो थाहा छैन । अस्ति साइकल यात्री पनि यस्तै खाल्टोमा खसेर मरे । काठमाडौंमा सबैतिर यस्तै छ । यहाँ यस्तो भएको १ वर्ष भयो, धेरै दुर्घटना भइसकेको छ ।’

उनले काठमाडौँमा धेरै खाल्टाखुल्टी रहेको र सवारी साधान चलाउन पनि जोखिम रहेको बताए । 

सङ्घीय संसदको छेउमा रहेको मिनभवन सडकको बीचमा अर्को भ्वाङ छ । त्यहाँ पनि पटक पटक सडक दुर्घटना भएको स्थानीयले बताए । रातिको समयमा भ्वाङमा पटक पटक कुकुर खस्ने गरेको छ । बिहान थाहा पाएपछि स्थानीयले निकालिदिने गरेको मोट्साइकल वर्कसप सञ्चालक विकास सिंहले रातोपाटीलाई बताए ।  

प्रधानमन्त्री कार्यालयको निर्देशन कसले टेर्ने ? 

गत साता काठमाडौँको कीर्तिपुरमा सडकको यस्तै भ्वाङमा परेर साइकल यात्री श्यामसुन्दर श्रेष्ठको ज्यान गयो । सडकमा रहेको भ्वाङ नपुर्ने सरकारी निकायहरूले एक अर्कालाई देखाएर पानीमाथिको ओभानो हुने प्रयत्न गरे । प्रधानमन्त्री कार्यालयले सडकको भ्वाङ पुर्नका लागि ३ दिनअघि आफ्ना मातहतका सरकारी निकायलाई निर्देशन पनि दियो । तर सडकमा रहेका भ्वाङहरू उस्तै नै छन् । बरु सरकारी निकायहरू एक अर्को कार्यालयलाई कारक देखाएर बसिरहेका छन् । 

सडक विभाग, डिभिजन कार्यालय काठमाडौंका प्रमुख कैलाशकुमार श्रेष्ठले खानेपानी वितरण पाइपबाट पानी लिकेज भएका कारण धेरै ठाउँमा सडकमा खाल्टाखुल्टी परेको दाबी गरे । उनले आफ्नो कार्यालयको कार्यक्षेत्र काठमाडौँको मुख्य सडक मात्र रहेको र भित्री सहायक सडक काठमाडौँ महानगरपालिकाको कार्यक्षेत्र भएकाले आफ्नो कार्यालयले नहेर्ने बताए ।

खानेपानीका कारण भएको सडकको खाल्टो पुर्न खानेपानी कार्यालय केयूकेयललाई चिठी लेखेको बताउँदै उनले भने– ‘सडकमुनिबाटै खानेपानी, ढल, बिजुली सबै लानुपर्ने फेरि रोड चिल्लो हुनुपर्ने, यो गाह्रो छ । अहिले हामीले काठमाडौंमा दैनिक २ सय स्क्वायर मिटर खाल्टाखुल्टी टालिरहेका छौँ ।’

उनले प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन मानिरहेको बताउँदै काठमाडौं उपत्यकाभित्र रहेका ८ मिटरभन्दा चौडा वा सोभन्दा ठूला सडकहरू काठमाडौँ डिभिजनले हेर्ने गरेको र भित्री सडकहरू काठमाडौँ महानगरपालिकाले हेर्ने बताए । सडक विभाग डिभिजन कार्यालय काठमाडौंले चावेलदेखि गौशालाको सडक हेरिरहेको र पानी चुहावटका कारण धेरै खाल्टाखुल्टी भएको बताए । 

महानगर भन्छ– ‘वडा कार्यालयहरूलाई पूर्वाधार विकासमा ७५ करोड दिएका छौँ 

यता काठमाडौँ महानगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र पर्ने ९० प्रतिशत खाल्टाखुल्टी पुरेको दाबी छ । तर महानगरपालिकाको जिम्मेवारीभित्र रहेका काठमाडौँका भित्री सडक हेर्ने हो भने अधिकांश क्षेत्रमा खाल्टाखुल्टी र दुर्घटना बढाउने भ्वाङहरू भेटिन्छ । काठमाडौँ महानगरपालिकाले अघिल्लो वर्ष मङ्सिरदेखि सडक मर्मतका लागि पाँच पाँच करोडको प्याकेज बनाएर २५ करोड रूपियाँ छुट्याएको महानगरपालिकाका सहप्रवक्ता नमराज ढकालले बताए । अहिलेसम्म २ लाख वर्गकिलोमिटर सडकका खाल्टाखुल्टी पुर्ने काम गरेको र ३० किलोमिटर सडक कालोपत्रे गरेको उनको दाबी छ । 

उनले कतिपय ठाउँबाट नागरिकले सूचना नदिएका कारण र अनुगमन प्रभावकारी गर्न नसकेको महानगरको कमजोरीका कारण पनि कतै कतै सडकमा ठूला भ्वाङहरू रहेको बताए । महानगरले अहिले आफ्ना वडा कार्यालयहरूका लागि ७५ करोड पूर्वाधार विकासका लागि र ७८ करोड सामाजिक विकासका लागि पठाएको जनाकारी दिए । उनले भने– ‘अहिले महानगरको वडा पनि सानातिना नगरपालिकाको जति बजेट खर्च गर्न सक्ने भएका छन् । प्रत्येक वडाका लागि पूर्वाधार विकासका लागि डेढदेखि ३ करोड र सामाजिक विकासका लागि ३ करोडसम्म पठाएका छौँ । उनीहरूले आफ्नो वडामा सडक मर्मतका लागि १० प्रतिशत मात्र खर्च गर्ने हो भने पनि ३० लाख खर्च गर्न सक्छन् ।’

महानगरका जनप्रतिनिधिहरू सक्रिय नहुँदा पनि महानगरभित्रका सडकमा समस्या आएको उनको भनाइ छ । आफ्नो वडा कार्यालयलाई चिटिक्क बनाउन सक्ने पैसा महानगरपालिकाले दिएको बताउँदै उनले नागरिकले जानकारी नदिने र माग नगर्दा पनि कुनै ठाउँका सडक जोखिमयुक्त अवस्थामा रहन सक्ने उल्लेख गरे । 

काठमाडौँका विभिन्न सडकको जिम्मेवारी फरक फरक निकायलाई दिइएको र ढल तथा खानेपानी निकाससम्बन्धी कार्यालयहरू बीच समन्वय नहुँदा काठमाडौंमा अलपत्र छोडिएका ठूला खाल्टाखुल्टी तथा भ्वाङमा परेर दुर्घटनाहरू बढिरहेका छन् । 

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप