बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के यो साउदी अरबका युवराज सलमानको अन्त्य हो ?

सोमबार, १९ कात्तिक २०७५, ०९ : १२
सोमबार, १९ कात्तिक २०७५

फ्रेंक गार्डनर, बीबीसी

‘यो उनको अन्त्य हो’, ‘उनी विषालु छन्’, ‘उनी हाम्रा हिरो हुन्’, ‘हामी उनलाई प्रेम गर्छौं’ ।

साउदी अरबका विवादित युवराज मोहम्मद बिन सलमानबारे मानिसहरुको धारणा यस प्रकार छन् ।

मोहम्मद बिन सलमान पश्चिममा एमबिएसको नामले चिनिन्छन् । टर्कीस्थित साउदीको वाणिज्य दूतावासमा अक्टोबर दुई तारिखमा साउदीकै चर्चित पत्रकार जमाल खासोग्गीको हत्यापछि पश्चिममा उनको एमबिएसको छवि वा जुन उनको ब्रान्ड थियो त्यो नराम्ररी धमिलिएको छ ।

साउदीले खासोग्गीको हत्यामा युवराजको हात भएको कुरा ठाडो अस्विकार गर्दै आएको छ । खासोग्गीको हत्याबारे विभिन्न खबर सार्वजनिक भएका छन् र युवराज सलमानका भित्री सर्कलका दिवान अल–मलिकीको यसमा निकै सक्रियता रहेको बुझिएको छ ।

खासोग्गीको हत्यामा विभिन्न प्रकारका सन्देह छन् जुन युवराज एमबिएसतर्फ पनि सोझिएको छ ।

खासोग्गीको हत्यामा साउदी अरबको तर्क पुरा दुनियाँको बुझाई बाहिर छ । खासोग्गीले खुल्ला रुपमा आलोचना गर्ने भएकाले उनीविरुद्ध केही कदम पक्कै चालिने खाडी देशले बताउँदै आएको थियो ।

एक रिपोर्टको दाबी अनुसार सलमानले हत्याको आदेश दिएका थिएनन् तर साउदीका रोयल कोर्टका सल्लाहकार सउद अल–काहतानीको यसमा संलग्नताले विभिन्न प्रश्न उब्जाएका छन् ।

समस्या यो छ कि साउदी बाहिर उनका यी तर्कमाथि कसैले पनि विश्वास गरिरहेका छैनन् । सुरुमा त साउदीले खासोग्गी साउदी वाणिज्य दूतावासबाट हराइरहेको कुरालाई नै अस्विकार गर्दै आएको थियो ।

साउदीले खासोग्गी दूतावासमा आउनेबित्तिकै सकुशल बाहिर निस्किएकोसमेत भन्न भ्याएको थियो । पछि खासोग्गी दूतावासमा आएपछि विवाद बढेको र मामला बढेपछि उनको हत्या गरिएको साउदीले बतायो ।

साउदीको अभियोजकले अब नयाँ बयान जारी गरेका छन् । उनका अनुसार खासोग्गीको हत्या पूर्वनियोजित थियो ।

खासोग्गीको हत्यापछि साउदीको बयान र व्यवहार पूर्ण रुपमा संदिग्ध छन् । यसबाट स्पष्ट हुन्छ कि यदि एमबिएसले राम्रा वकिलको मद्दत लिएका भए र राम्रो मिडिया सल्लाहकार भएका भए यस्तो स्थिती पैदा हुने थिएन ।

एमबिएस यो मामलामा पूर्ण रुपमा कठघरमा छन् । यो घटनापछि पश्चिमी सरकार र बहुराष्ट्रिय कम्पनीको साउदी अरबप्रतिको दृष्टिकोण परिवर्तन भएको छ ।

सन् १९३२ मा साउदी अरब एउटा देशको रुपमा एकीकृत भएको थियो । के खासोग्गी मामलामा साउदीका वरिष्ठ राजकुमारहरुका बीच एमबिएसको विषयमा शंका बढिरहेको छ ?

एमबिएसले अमेरिकालाई मात्र सन्तुष्ट बनाउन कोसिस गरिरहेका छन् भन्ने छवि बनेको छ । अर्कोतर्फ अब अमेरिकाबाटै साउदी अरबलाई हतियार दिने विषयमा अमेरिकाले पुनर्विचार गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ ।

के साउदीका युवराजको गद्दी सुरक्षित छ ? यहाँसम्म कि साउदी शाही परिवारमा पनि एमबिएसको व्यवहारमाथि गम्भीरतापूर्वक चर्चा भइरहेको छ । सत्ताधारी अल–सउद परिवारमा संकटको अन्दाज यो कुराबाट लगाउन सकिन्छ कि रियादमा मंगलबार अचानक राजकुमार अहमद बिन अब्देलअजिजको फिर्ती भयो ।

अहमद बिन अब्देलअजिज ८२ वर्षका राजा सलमानका भाइ हुन् । उनी लण्डनबाट आएका थिए र साउदी हाउरमा उनको भव्य स्वागत गरिएको थियो । यहाँसम्म कि एमबिएस उनलाई अँगालोसमेत हाले ।

राजकुमार अहमदले यमनविरुद्ध एमबिएसले सुरु गरेका युद्धबारे आवाज उठाइसकेका छन् । अहमद यमनमा भइरहेको युद्धको विरोधी हुन् । राजकुमार अहमदले यसअघि भनेका थिए, ‘मलाई रियाद फर्कन डर लाग्छ किनभने मलाई लाग्छ कि मलाई त्यहाँ नजरबन्द गरिनेछ ।’ अब उनी फिर्ता भएका छन् र साउदीको नेतृत्वमा मद्दत गरिरहेका छन् ।

एमबिएसलाई अरु कसैले चुनौती दिन सक्छ ?

अब युवराज मोहम्मद बिन–सलमानको भविष्य कस्तो छ भन्ने प्रश्न उठ्न थालेको छ । पहिलो कुरा त यो हो कि उनलाई कडा रुपमा चुनौती दिने दोस्रो व्यक्ति कोही छैन ।

३३ वर्षका युवराजको उदय र उनको चर्चा निकै तीब्र रुपमा भएको छ । गत वर्ष जूनमा युवराज बनेपछि उनले साउदीको सत्ता पूर्ण रुपमा आफ्नो हातमा लिएका छन् ।

मोहम्मद बिन सलमानको हातमा गृह मन्त्रालय, राष्ट्रिय सुरक्षाकर्मी र रक्षा मन्त्रालय छ । एमबिएस रोयल कोर्टका पनि प्रमुख हुन् । साथै, साउदीको आर्थिक नीति पनि एमबिएसले नै सञ्चालन गर्छन् । उनका बुवा सलमान देशका राजा भएपनि पूरा मुलुक एमबिएसको हातमा नै छ ।

अक्टोबरमा खासोग्गी संकट सुरु हुनअघि पनि एमबिएसको नीति निकै विवादित रह्यो । साउदी भित्र पनि एमबिएसको नीतिबारे विभिन्न प्रश्न उठाइए ।

पिता किंग सलमानको विश्वास र सत्तामा पूर्ण नियन्त्रणका कारण सन् २०१५ मा एमबिएसले आफ्ना साथीसँग मिलेर यमनविरुद्ध युद्ध सुरु गरेका थिए ।

यमन र साउदीबीचको लडाईं कहिले पनि समाप्त नहुने बताइँदै आएको छ । गत वर्ष एमबिएसले दर्जनौं राजकुमार, व्यापारी र वरिष्ठलाई रियादको रिट्ज कार्लटन होटलमा नजरबन्द गरेका थिए ।

कथित रुपमा भ्रष्टाचारमार्फत कमाएको सम्पत्ति सुम्पिन राजी नभएसम्म उनीहरुलाई नजरबन्द गरियो ।

अर्कोतर्फ एमबिएस आफ्नो जीवनशैलीमा लाखौं डलर खर्च गर्छन् । यसकारण छिमेकी देश कतारसँग साउदीको सम्बन्ध खराब छ ।

गत हप्ताको अन्त्यमा अमेरिकी विदेशमन्त्री जेम्स म्याटिसले कतारमा आफ्नो ठूलो एयरबेस भएकाले साउदीले कतारसँगको सम्बन्ध सुधार्नुपर्ने चाहना राखेका थिए ।

यसैवर्ष क्यानडाका विदेशमन्त्रीले साउदीमा मानवाधिकारको विषयमा एउटा मात्र ट्वीट गर्दा साउदीले क्यानडासँग सबै कूटनीतिक सम्बन्ध तोड्यो ।

साउदी अरबमा अब एमबिएसबारे गहन मन्थन चलिरहेको छ र उनको विवादित नीतिमा विचार गरिँदैछ ।

साउदीमा लाखौं युवाका लागि एमबिएस अहिले पनि एक आशा हुन् । उनलाई साहसिक, चमत्कारिक नेता र दुरदर्शी सुधारकको रुपमा हेरिन्छ ।

एमबिएसले महिलालाई गाडी चलाउने अधिकार दिलाए र मनोरञ्जनका विभिन्न माध्यमबाट प्रतिबन्ध हटाए ।

एमबिएस भिजन २०३० मा काम गरिरहेका छन् । उनी तेलबाहेक अन्य बाँकी क्षेत्रमा पनि रोजगार पैदा गर्न चाहन्छन् ।

साउदीमा राजतन्त्र छ । छिमेकी देशमा लोकतन्त्रकामे समर्थनमा अभियान चल्दा साउदीको शाही परिवारमा डरको स्थिती पैदा हुन्छ ।

तर मानिसहरुलाई यो पनि याद छ कि सन् २०११ मा अरबका विभिन्न देशमा जब लोकतन्त्रको विषयमा आन्दोलन सुरु भयो तब सिरियाका राष्ट्रपति बशर अल–असद पनि सत्ताच्यूत हुन्छन् कि भन्ने ठानिएको थियो तर यस्तो भएन र सात वर्ष पछि पनि उनी सत्तामा जमेका छन् ।

यस्तो अवस्थामा अहिले नै युवराजबारे कुनै पनि भविष्यवाणी गर्नु अनुचित हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप