विद्यालयमा अङ्ग्रेजीको भोक र दुष्परिणाम
सङ्गम चौलागाईं
एक समय थियो जतिबेला म एउटा प्राथमिक तहको बोर्डिङ स्कुलमा पढाउँथेँ । स्कुलमा एकजना म्याडम हुनुहुन्थ्या,े जो सामाजिक विषय पढाउनुहुन्थ्यो । एक दिन ती म्याडमले कक्षा ५ मा पढाउँदै गर्दा म अर्को कक्षामा पढाउँदै थिएँ । पढाउँदापढाउँदै ती म्याडम असिनपसिन बन्नुभयो । उहाँ केही कुरा बुझाउन खोज्दै हुनुहुन्थ्यो तर भाषाको समस्याका कारण सकिरहनुभएको थिएन ।
स्कुलमा नेपाली बोल्न प्रतिबन्ध थियो भने उहाँको अङ्ग्रेजी कमजोर थियो । त्यसैले विषयवस्तुको राम्रै ज्ञान भएर पनि उहाँलाई प्रायः सकस परिरहेको देखिन्थ्यो । झण्डै आठ वर्षको विद्यालय तहको शिक्षण अवधिमा मैले लामो समय सामाजिक विषय पढाएँ । अङ्ग्रेजी साहित्यको विद्यार्थी भएकाले भाषामा त त्यति समस्या परेन तर पनि अङ्ग्रेजी भाषामा सामाजिक पढाउने र बुझाउने कुरो मेरा लागि पनि सकसपूर्ण नै रह्यो ।
यो प्रसङ्ग उठाउनुको कारण के हो भने हाम्रो समाजमा विद्यालय स्तरको शिक्षा पद्धति र खासगरी भाषाको माध्यमको विषयमा धेरै भ्रमपूर्ण र अल्पज्ञानी विचार व्याप्त छन् । हाम्रा विद्यार्थीहरूलाई कसरी अध्ययनमा लगनशील गराउन सकिन्छ ? उनीहरूको ज्ञान, सीप र दक्षताको विकास कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा खासै अध्ययन भएको देखिँदैन ।
तर जबर्जस्त रूपमा के मान्यता स्थापित हँुदै गइरहेको छ भने अङ्ग्रेजी माध्यममा पढाइ भयो भने शिक्षाको गुणस्तर अभिवृद्धि हुन्छ । यही मान्यताबाट अभिप्रेरित हुँदै आजकाल सरकारी विद्यालयहरूमा पनि अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने लहरै चलेको छ । तर यो मान्यताले भोलि निम्त्याउने दुष्परिणामको बारेमा धेरैले हेक्का राखेका छैनन् ।
निजी विद्यालयहरूको सिको
नेपालको सहरी क्षेत्रमा खुलेका निजी विद्यालयहरूको शैक्षिक गुणस्तर सरकारी विद्यालयहरूको तुलनामा निकै उच्च देखिन्छ । विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत र उनीहरूले आर्जन गरेको ज्ञान, सीप तथा दक्षतालाई हेर्ने हो भने सरकारी विद्यालयहरूको अवस्था दयनीय छ ।
भाषाका माध्यमको सवालमा सबैजसो निजी विद्यालयले आफ्नो पढाइ अङ्ग्रेजी माध्यममा चलाएका छन् भने एकाधबाहेक धेरैजसो सरकारी विद्यालयले नेपाली माध्यममा पढाएका छन् । त्यसैले पनि धेरै मानिसको धारणा के बनेको छ भने अङ्ग्रेजी माध्यममा पढायो भने गुणस्तरीय शिक्षा प्राप्त हुन्छ र बालबालिकाको भविश्य सुरक्षित हुन्छ ।
निजी विद्यालयहरूको पठनपाठन प्रभावकारी हुनु अनि सरकारीहरूको अवस्था दयनीय हुनुमा दर्जनौँ कारणहरू छन् । त्यसमा भाषाको माध्यम प्रमुख कारणहरूभित्र पर्दैन । तर आजकाल भाषाको माध्यमलाई नै प्रमुख र एक मात्र कारण ठान्ने प्रवृत्ति आम शासक, प्रशासक तथा अभिभावकहरूमा व्याप्त रहेको देखिन्छ ।
हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने अङ्ग्रेजी एउटा भाषा हो; ज्ञानको विषय होइन । हामीले स्कुल या क्याम्पसमा पढ्ने भनेको ज्ञान, सीप र दक्षताको विकासका लागि हो, भाषा सिक्न होइन । भाषा सिक्ने कुरा त खासै ठूलो विषय नै होइन ।
इन्स्टिच्युटहरूमा केही महिना क्लास लिएर पनि भाषा सिक्न सकिन्छ । यसका लागि धेरै खर्च पनि आवश्यक पर्दैन र धेरै पढेलेखेको पनि हुनु पर्दैन । तर ज्ञान, सीप र दक्षता आर्जन गर्ने कुरा जटिल हुन्छ, जुन निरन्तर चलिरहन्छ । वास्तवमा ज्ञानको कुनै भाषा नै हुँदैन र विनाज्ञानको भाषिक दक्षताको अर्थ पनि रहँदैन । त्यसकारण कुन भाषामा ज्ञान, सीप र दक्षता हासिल भयो भन्ने कुरा प्रधान होइन ।
सरकारी विद्यालयको वास्तविकता
आजकाल सहरी क्षेत्रका कतिपय सरकारी विद्यालयहरूले अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरेर सफल भएका कथाहरू पनि सुन्न पाइन्छ । तर ती विद्यालय सफल हुनुमा भाषाको माध्यमभन्दा पनि अरू नै कारणहरू प्रधान रहेका हुन्छन्, जसको विषयमा खासै बहस गरिँदैन ।
तिनै सफलताका कथाहरूबाट प्रेरित भएर अब सबै सरकारी विद्यालयहरूमा अङ्ग्रेजी माध्यम अनिवार्य गर्नुपर्छ भन्ने मानसिकता सरोकारवालाहरूमा विकसित भइरहेको देखिन्छ । उता, नेपालका सरकारी विद्यालयहरूको हालको दुरावस्था र हाम्रा विद्यार्थीहरूको सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्थाका कारण यो तत्काल आवश्यक र सम्भव दुवै देखिँदैन । सम्भव नहुनुका कारणहरू निम्न बमोजिमका देखिन्छन् ।
१. सरकारी विद्यालयको आधारभूत तहमा पढाउने बहुसङ्ख्यक शिक्षक शिक्षिकाहरू पाको उमेरका र अङ्ग्रेजी भाषामा खासै दक्षता नभएका व्यक्तिहरू छन्, जसबाट प्रभावकारी अङ्ग्रेजी माध्यमको शिक्षण सम्भव नै छैन ।
२. सरकारी विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू प्रायजसो कमजोर वर्ग र समुदायको हुने भएकाले निजी विद्यालयका विद्यार्थीहरूको जस्तो घरपरिवारबाट पढाइमा साथ सहयोग कठिन हुन्छ । परिवारको साथ सहयोगविना अङ्ग्रेजी माध्यम र गुणस्तरीय शिक्षा कठिन हुन्छ ।
३. पचास प्रतिशतभन्दा बढी नेपाली बालबालिकाहरू नेपाली बाहेकको अन्य भाषिक समुदायका छन् । उनीहरूले आफ्नो मातृभाषा, नेपाली र अङ्ग्रेजी एकै पटक सिक्नुपर्दा सिकाइ बोझिलो हुन जान्छ । अर्कोतर्फ अङ्ग्रेजीलाई बढी प्राथमिकता दिँदा अरू भाषाहरू कमजोर हुँदै जान्छन् ।
४. सानो उमेरका बालबालिकाहरूले आफ्नै मातृभाषामा सिक्न पाए भने त्यो सिकाइ बढी प्रभावकारी हुन्छ र उनीहरूले सजिलै बुझ्छन् । अङ्ग्रेजी भाषा व्यावहारिक रूपमा कतै प्रयोगमा नआउने भएकाले उक्त भाषामार्फतको सिकाइ रचनात्मक, सिर्जनात्मक, मौलिक तथा तार्किक बन्न सक्तैन । घोकन्ते शैलीको विकास बढी हुन जान्छ ।
५. सामाजिक, नैतिक जस्ता संस्कार, संस्कृति, चालचलन, मौलिकता तथा व्यावहारिकतासँग सम्बन्धित विषयहरू अङ्ग्रेजी भाषामा पढाउँदा विषयवस्तुको गम्भीरता अनुसारको गहिराइमा पुगेर बुझ्न र बुझाउन सकिँदैन ।
अबको बाटो
अङ्ग्रेजी भाषाको विश्वव्यापीकरण तथा विज्ञान प्रविधिको बढ्दो प्रभावको कारण अङ्ग्रेजी भाषाको प्रयोगलाई कसैले नकार्न सक्दैन । साथै आजको समयमा न्यूनतम स्तरको भए पनि अङ्ग्रेजी भाषाको ज्ञान सबैलाई हुनु अनिवार्य छ । विश्वविद्यालयहरूले पनि उच्च शिक्षामा अङ्ग्रेजीको उपयोगितालाई कसिलो बनाउँदै लगेकाले विद्यालय स्तरमै अङ्ग्रेजी भाषाको सिकाइ प्रभावकारी बनाउनुपर्ने हुन्छ । तर अङ्ग्रेजी राम्रो बनाउनु भनेको अङ्ग्रेजी माध्यममा पढाइ हुनु भन्ने होइन ।
त्यसैले विद्यार्थीहरूले बुझे पनि नबुझे पनि; सके पनि, नसके पनि; चाहे पनि, नचाहे पनि अङ्ग्रेजी माध्यम लाद्ने कार्यले उनीहरूको मौलिकता र सिर्जनशीलतामा ह्रास आउँछ । नेपालको विद्यालय शिक्षालाई सही बाटोमा अघि बढाउनका लागि निम्न कुराहरू बुझ्नु आवश्यक देखिन्छ ।
१. विद्यार्थीहरूले आफ्नो पढाइबाट ज्ञान, सीप र दक्षताको विकास गरी सिर्जनात्मकता, रचनात्मकता र तार्किक क्षमताको अभिवृद्धि गर्ने कुरा प्रधान हो, भाषाको माध्यम गौण कुरा हो ।
२. अङ्ग्रेजी भाषामा राम्रो दक्षता हुनेलाई विद्वान ठान्ने र अङ्ग्रेजी राम्रो नहुनेलाई कमजोर ठान्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ ।
३. विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नियमित पठनपाठन हुने र शिक्षकहरू आफ्नो कर्तव्यप्रति इमानदार हुने वातावरण निर्माण गर्नु पहिलो आवश्यकता हो; अङ्ग्रेजी माध्यम प्रमुख आवश्यकता होइन । निजी विद्यालयप्रतिको आकर्षण अङ्ग्रेजी माध्यमको कारणले मात्र होइन ।
४. अङ्ग्रेजीमा सक्षम बनाउन पहिलो ग्रेडदेखि नै अङ्ग्रेजी पढाउनु उपयुक्त हुन्छ तर सबै विषय अङ्ग्रेजीमा पढाउनु उचित हुँदैन । विज्ञान, कम्प्युटर जस्ता विषयहरू अङ्ग्रेजीमा पढाउँदा ठीकै हुन्छ तर सामाजिक, नैतिक, गणितजस्ता विषयहरू अङ्ग्रेजीमा पढाउनु राम्रो होइन । बरु अङ्ग्रेजी भाषा विकासका लागि भाषिक सञ्चारको छुट्टै कक्षा थप गर्न सकिन्छ ।
अन्त्यमा, अङ्ग्रेजी भाषाको महत्व र आवश्यकता भए पनि अवस्था र परिस्थिति नबुझी अर्काको भाषालाई ती कलिला बाल मस्तिष्कहरूमा जबर्जस्ती थोपर्नु न्यायोचित हँुदैन । निजी विद्यालयले पनि सामाजिक जस्ता विषयहरू नेपाली माध्यममा पढाउनु उचित हुन्छ । धरातलीय यथार्थताको वस्तुगत रूपमा विश्लेषण नगरी सबै सरकारी विद्यालयहरू अङ्ग्रेजी माध्यमको लहडमा अघि बढ्ने हो भने भविश्यमा अकल्पनीय दुर्घटना निम्तिने निश्चित छ । बेलैमा सोचेर काम गरौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम