शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केशव स्थापितको बर्खास्ती : मिटु विवाददेखि मुख्यमन्त्रीसँग झगडासम्म

शुक्रबार, १६ कात्तिक २०७५, १७ : ०१
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौँ । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित बर्खास्तीमा परेका छन् । 

बुधबार बसेको प्रदेश नम्बर ३ को मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री डोरमणि पौडेलसँग भनाभन परेपछि मन्त्री स्थापितमाथि ‘एक्सन’ लिइएको हो । मुख्यमन्त्री पौडेलले उनलाई पदबाट हटाएको बेहोराको पत्र प्रदेश प्रमुखको कार्यालयमा समेत पठाइसकेका छन् । 

मुख्यमन्त्री पौडेलले स्थापितले पदीय जिम्मेवारी नसम्हाली अमर्यादित ढंगले संसद र मन्त्रीपरिषदको बैठकमा प्रस्तुत हुने गरेको, मन्त्री तथा माननीय सांसदहरुलाई मार्यादित ब्यवहार नगरेको, बुधबार मुख्यमन्त्रीलाई अपशब्द प्रयोग गर्दै अमर्यादित ब्यवहार गरेको भन्दै पदबाट बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले रातोपाटीलाई जानकारी दिए । 

बुधबारको मन्त्रीपरिषदको बैठकपछि स्थापितले मुख्यमन्त्री प्रति अराजक शैलीमा गाली गलौज गरेको अन्य मन्त्रीहरुले बताएका छन् । 

उनले मुख्यमन्त्रीलाई ‘तँ’ भनेर सम्बोधन गर्दै आफूलाई केही गर्न नसक्ने भन्दै अपशब्द प्रयोग गरेको मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले बताए । 

मुख्यमन्त्रीप्रति उनले झन्डै १५ मिनेटसम्म अभद्र व्यवहार प्रस्तुत गरेको बताइएको छ । तर मुख्यमन्त्री पौडेलले तत्काल त्यसको प्रतिक्रिया जनाएका थिएनन् । 

एक मन्त्रीले रातोपाटीलाई भने, ‘स्थापितको गाली र असभ्य प्रस्तुति मुख्यमन्त्री डोरमणि पौडेलप्रति लक्षित थियो । तर, पनि मुख्यमन्त्री पौडेल लगायत कसैले उनको त्यसबेला प्रतिवाद गरेनन् । उनी आफै बोल्न छाडे, त्यसपछि सबै सदस्य उठेर आ–आफ्नो गन्तव्यतर्फ लागे’ । 

मुख्यमन्त्री पौडेलले सबैभन्दा धेरै बजेट भएको मन्त्रालय सम्हालेर पनि प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै स्थापितलाई सचेत गराएका थिए । तर स्थापितले ‘तँ–तँ र म–म’ को शैलीमा अर्यादित ढंगले प्रस्तुत भएको उनीमाथि आरोप छ । 

स्थापितको उक्त व्यवहारपछि बिहिबार काठमाडौँ आएर मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री तथा पार्टी नेताहरुसँग छलफल गरेका थिए । पार्टीका नेताहरुको परामर्शपछि उनलाई बर्खास्त गरिएको स्वकीय सचिव पौडेलले बताए । स्थापितले उक्त घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न खोजेपनि ओलीले भेट दिएनन् ।

यौन दुर्व्र्यवहारको आरोप 

मुख्यमन्त्रीसँगको विवाद अघि स्थापित यौन दुर्व्यवहारको विवादमा फँसेका थिए । काठमाडौ महानगरपालिको मेयरमा छँदा महानगरकी कर्मचारी रहकी रश्मिला प्रजापतिलाई यौन दुब्र्यवहार गरेको उनीमाथि आरोप लागेको थियो । सामाजिक सञ्जालमा फैलिएको यौन दुर्व्यवहारसम्बन्धी अन्तर्राष्ट्रिय अभियान मिटु अन्र्तगत रश्मिला प्रजापति र अर्की एक पत्रकार उज्वला मर्हजनले स्थापितले यौन दुब्र्यवहार गरेको भनेर सामाजिक सञ्जालमा लेखेका थिए । 

उक्त विवादपछि स्थापितले उक्त आरोप प्रमाणित गर्न चुनौति दिँदै आफू अदालतमा जाने चेतावनी दिएका थिए । मिटु विवाद सेलाउन नपाँउदै फेरी अर्को विवादमा तानिएपछि स्थापितको मन्त्री पद धरापमा परेको हो । 

मन्त्रीपदबाट हटेपछि यसबारे उनीसँग प्रतिक्रिया खोज्दा उनको मोबाइल अफ भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप