शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश ५ का १० वटा सडक ‘रिस्क’ जोनमा !

बिहीबार, ०८ कात्तिक २०७५, ११ : ३५
बिहीबार, ०८ कात्तिक २०७५

बुटवल– तपाईं प्रदेश ५ मा सवारी हाँक्दै हुनुहुन्छ ? यदि हो भने ध्यान दिएर हाँक्दा मात्रै तपाईंको यात्रा सुरक्षित हुन्छ । 

यो प्रदेशको हाइवेमा सवारी चलाउँदा अधिकतम दुर्घटना हुने १० ठाउँलाई ट्राफिक प्रहरी कार्यालयले ‘रिस्क’ जोनको सूचीमा सूचीकृत गरेको छ ।

यो क्षेत्रमा दैनिक सानाठूला दुर्घटना हुने गरेका छन् । प्रदेश ५ को सङ्घीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार ती स्थानलाई रिस्क जोनमा राख्नुपर्ने १० वटा कारण यस्ता छन् ।

नवलपरासीको दाउन्ने एस मोड :

 दाउन्ने एस मोड यहाँको हाइवेमा सबैभन्दा बढी दुर्घटना हुने ठाउँ हो । चितवनबाट आउँदा नवलपरासी प्रवेश गरेपछि हाइवेमा खाना खाने चर्चित ठाउँ हो– दाउन्ने । यहाँ खाना खाएपछि बुटवल आउँदै गर्दा दाउन्नेको एस मोडमा सवारी ठोक्किने र पल्टिने गर्छन् । यही ठाउँमा धेरै दुर्घटना हुने गरेको प्रहरी रेर्कडमा छ । ‘पहाडी इलाकामा उकालो र साँघुरो घुम्ती छ । जहाँ सवारीहरू धेरै चल्ने गर्दा आपसमा ठोक्किने र सडकबाट खस्ने गरेका छन् । यहाँ ठूलो क्षति भएको रेर्कड प्रहरीसँग छ’, एसपी चन्दले भने । 

कपिलवस्तुको धानखोला :

 यो ठाउँमा पनि सवारी दुर्घटना धेरै हुने गरेको प्रहरीको तथ्याङ्क छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी चलाउँदा चालकले धेरै ध्यान दिनुपर्ने प्रहरीको सुझाव छ । यो प्रदेशमा धानखोला क्षेत्र पनि दुर्घटनाग्रस्त क्षेत्र भनेर चिनिन्छ । कपिलवस्तुको चन्द्रौटाबाट दाङतर्फ जाँदै गर्दा रोड अलि खुला हुन्छ । रोड खुला भएसँगै प्रायः चालकले गति बढाउँदै जान्छन् । धानखोला पुग्दा पहाडी इलाका भेटिन्छ जहाँ उकालो आरोलो छ । खाल्डाखुल्डी पनि धेरै छन् । जसका कारण धेरै सवारी दुर्घटनामा पर्छन् । 

पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्र :

 सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा वर्षा र हिउँद दुवै मौसममा सवारी दुर्घटना हुने गर्छ । बुटवलबाट पाल्पातर्फ यात्रा गर्दा करिब १० किलोमिटर दूरी पार गरेपछि दोभान क्षेत्र निकै जोखिम मानिन्छ । दोभान प्रहरी चौकिदेखि साढे तीन किलोमिटर क्षेत्रमा जति बेला पनि पहिरो जान सक्छ । ‘यो सडक खण्डमा माथिबाट ढुङ्गा खस्ने समस्या पनि छ । भीरबाट खस्ने पहिरोको धेरै ख्याल गर्नुेपर्ने हुन्छ’ प्रहरी प्रमुख चन्दको भनाइ छ । यो क्षेत्रमा भएका दुर्घटनामा विगत दस वर्षमा ६२ जना यात्रुले ज्यान गुमाएका छन् । करोडौँ धनको क्षति भएको छ ।  

सालझन्डीको फायरलाइन साइट :

बुटवलबाट  कपिलपस्तु जाँदा बीचमा सालझन्डी बजार आउँछ । त्यो बजार नजिकै फायरलाइन साइड पर्छ । जङ्गल क्षेत्रमा अलि खुला सडक छ । बीचमा साँघुरिएको फायर लाइन साइनमा चालकहरू प्रायः झुक्किन्छन् । चालकहरूले गति बढाएर सवारी चलाएका हुन्छन् । खुल्ला सडकमा जस्तै सवारी चलाइएपछि साँघुरो र घुमाउरो सडकमा सवारीहरू ठोक्किन पुग्छन् । जसबाट खासगरी मोटरसाइलकहरू धेरै दुर्घटना भएका छन् । 

पत्थरकोटदेखि भेडेमारा :

महन्द्र राजमार्ग सकिएपछि अर्घाखाँचीतर्फ जाँदा कपिलवस्तुको पत्थरकोटदेखि भेडेमारासम्मको सडक पनि दुर्घटनाग्रस्त क्षेत्र मानिन्छ । जहाँ उकालो र घुम्ती छ । समथरमा सवारी चलाएका चालकहरू पत्थरकोटदेखि भेडेमारासम्मको सडक पनि समथर नै भएको भनेर  झुक्किने गर्छन् । 

अर्घखाँचीको भूमिकास्थान–१० पुत्के दारिमपाटाका सरोज भुसाल दशैँमा घरबाट बुटवल फर्किँदा मोटरसाइकल लिएर आए । उनले त्यो ठाउँमा आउँदा फराकिलो बाटोको खोजीमा पटक पटक बाइक रोक्नु पर्यो । ‘घुम्ती, उकालो, ओराले र साँघुरो बाटोले गर्दा  निकै डरलाग्दो छ । मेरो साथीकोे गतवर्ष त्यही ठाउँमा मोटरसाइकल दुर्घटना परी खुट्टा फ्याक्चर भएको थियो’, उनले सुनाए ।  

अर्घाखाँचीको घुम्ती नरपानी  ः

यो ठाउँको नाम नै घुम्ती छ । अर्घाखाँची जिल्लाको सबैभन्दा ठूलो घुम्ती हो यो । बुटवलबाट जाँदा ओरालो र सन्धीखर्कबाट आउँदा उकालो पर्छ । साँघुरो बाटोमा बिहान कुहिरो र दिउँसो ट्रिपरको धुलोले सवारी चलाउन समस्या पर्ने अर्घाखाँची वाङ्ला निवासी नरेश अधिकारीले बताए । अर्कोतिर ट्रिपर आतङ्क पनि यही घुम्तीमा धेरै हुन्छ । प्रहरीको रेर्कडमा पनि यो स्थान अधिक सवारी दुर्घटना हुने क्षेत्र हो ।  

देवदहको भुलुही पुल आसपास

 पूर्व–पश्चिम राजमार्गअन्र्तगत बुटवलबाट देवदह प्रवेश गर्दा भुलुही पुलमा साना–ठूला सवारी दुर्घटना भइरहन्छन् । बुटवलतर्फ जाँदा जङ्गल क्रस गर्दा खुला सडक छ । पुलछेउ पुग्दा सडक साँघुुरो छ । पुलमा सवारी चाप पनि धेरै हुने गर्छ । दुवैतर्फ सवारी चाप एकै पटक हुने र साँघुरो सडक भएकाले यहाँ दुर्घटना वृद्धि हुने गरेको छ । यस स्थानमा विशेषगरी साना सवारी दुर्घटनामा पर्ने गरेका छन् ।

बुटवलको तिनाउ पुल :

 पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित बुटवलको तिनाउ पुल पनि सवारी दुर्घटनास्थल हो । यहाँ साना सवारी साधन दैनिक दुर्घटनामा पर्ने गरेको सङ्घीय ट्राफिक प्रहरी कार्यालय बुटवलको रेकर्डमा रहेको डी.एस.पी माधव बुढाथोकी बताउँछन् ।

बुटवलबाट पुलतिर लाग्दा करिब २ सय मिटर दूरी उकालो सडक छ । अर्कोतिर बेलवासतिरबाट आएको सवारी चाप पुलमा रोकिन्छ ।

बुटवलको सवारी चापले तिनाउपुलमा छोटो समय जामसमेत हुने गर्छ । जुनबेला चालकहरूले ओभरटेक गर्न थाल्छन्, त्यो बेला अगाडिको गाडी रोकिन्छ र पछाडिबाट आएको गाडी ठोकिन्छ । यहाँ दैनिक सवारी ठोक्किएका घटना ट्राफिक प्रहरीमा उजुरी छन् । 

बुटवल धागो कारखाना आसपास : 

देवदहको जङ्गलबाट बुटवल आउँदै गर्दा बुटवल धागो कारखाना नजिकै पर्ने चरगे जाने पुल नजिक पनि दुर्घटना हुने गरेका छन् । जहाँ जङ्गलबाट तीव्र गतिमा आएका सवारीहरू एकाक्सि रोक्निुपर्छ । यता बुटवलबाट आएका सवारी साधनको गति पनि उस्तै हुनेगर्छ । बीचमा साँघुरो र घुमेको सडक छ । पुल पनि साँघुरो छ । हाइवेमा खुला रूपमा चलाएर आएका चालकहरूले यसमा कम ध्यान दिन्छन् । जसले दुर्घटना भइरहन्छन् ।

पुष्पलाल पार्क :

प्रदेशको अस्थायी राजधानी बुटवलको  निकै व्यस्त रोड पुष्पलाल पार्क क्षेत्रमा साना सवारी धेरै दुर्घटना हुने गरेका छन् । विभिन्न ठाउँ हुँदै आएका सडकहरू पुष्पलाल पार्कमै जोडिन्छन् । यो पार्कमा गोलकार घुम्ती छ । घुम्ती फराकिलो भएकाले सवारी साधनको गति बढी हुन्छ । तीनतिरबाट आएका हल्का सवारीहरू एक आपसमा ठोक्किन्छन् । 

२५ जनाको मृत्यु 
सङ्घीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यो वर्षको घटस्थापना अर्थात असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्म यो प्रदेशमा ५६ वटा दुर्घटना भएका छन् । जसमा २५ जना मानिसको ज्यान गएको छ । ती सवारी दुर्घटनामा ७८ जना घाइते भएका छन् । तीमध्ये ४७ जना गम्भीर घाइते भएका छन् भने ३१ जना सामान्य घाइते भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप