बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजी समुदायका छोराछोरी प्राविधिक शिक्षा पढ्दै

मङ्गलबार, ०६ कात्तिक २०७५, १३ : ०१
मङ्गलबार, ०६ कात्तिक २०७५

–दुर्गा देवकोटा 

लम्की– कैलालीमा रहेका राजी समुदायका छोराछोरी विस्तारै प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा पढ्दा रोजगारी पाउन सजिलो हुने भएपछि राजीका अधिकांश छोराछोरी उच्च शिक्षामा प्राविधिक विषय रोज्न थालेका हुन् । 

कैलाली जिल्लामा एसएलसी अर्थात एसइई उत्तीर्ण गरेका राजी समुदायका ३५ जना विद्यार्थीमध्ये ११ जनाले प्राविधिक विषय अध्ययन गरिरहेका छन् । राजी शाल्म समाजका अध्यक्ष चित्रबहादुर राजीका अनुसार तीमध्ये चारजना इञ्जिनियर पढ्छन्, पाँचजना अनमी र दुईजना बाली विज्ञान विषयमा आइएससी एजी पढिरहेका छन् । प्राविधिक विषय अध्ययन गर्ने केहीले पूर्ण छात्रवृत्ति त कोही ५० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । 

चित्रबहादुरको आफ्ना चार सन्तानमा तीनवटाले प्राविधिक विषय अध्ययन गरिरहेको बताए । उनका छोरा चितवन पोलिटेक्निक इन्ष्टिच्युटमा इञ्जिनीयर, छोरी स्वास्थ्य सहायक (एचए), बुहारी टीकापुर पोलिटेक्निक इन्सिच्युटमा बाली विज्ञान आइएससी एजी पढ्छिन् । टीकापुर–१ ज्योतिनगरवासी चित्रबहादुरले गाई र बाख्रापालन गर्दै आएका छन् । 

उनले भने, ‘‘सामाजिक सुरक्षा भत्ताको रकमले घरखर्च चल्छ । गाईको दूध बेचेर र बाख्रापालनबाट हुने आम्दानी छोराछोरीको पढाइमा खर्चेको छु ।’ इञ्जिनीयर अध्ययन गरिरहेका छोरा रामेश्वरले ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । 

रामेश्वरले भने, ‘‘सरकारले राजी समुदायलाई छात्रवृत्तिजस्ता अवसरमा प्राथमिकता दिएकाले पढिरहेको छु । मासिक रुपमा पाइने दुई हजार सामाजिक सुरक्षा भत्ताले पकेट खर्च चल्ने गरेको छ ।’ रामेश्वरले भने, ‘‘बाँकी अपुग रकम घरबाट बुबाआमाले मजदुरी गरेर पठाउनु हुन्छ, केही ऋणसमेत लागेको छ । पढेपछि कमाएर तिर्छु ।’ 

कपिलबस्तुमा छात्रवृत्तिमै अनमी अध्ययन गरिरहेकी कान्ति राजीलाई एसएलसी पासपछि अनमी पढ्न पाउछु जस्तो लागेको थिएन, आवेदन खुलेको थाह पाएपछि दाजु प्रेम राजीले फारम भराइदिए । छात्रवृत्तिमा नाम निस्किँदा कान्तिको खुशीको सीमा रहेन । कान्ति भन्छिन्, ‘‘म अनमी पढेर सकेपछि कैलालीमै गएर सेवा गर्ने रहर छ । मेहनत गरेर पढिरहेकी छु । खुशी लागेको छ ।’ 

टीकापुर नगर कार्यपालिकाका सदस्य डम्बर राजीले विगतमा नदी किनारमा माछा मार्ने, सुन चाल्ने काम गरेर जीविका चलाउँदै आएका राजी समुदायका मानिस पछिल्लो समय व्यवसायतिर पनि आकर्षित हुन थालेका बताए ।

राजीले भने, ‘‘आजभोलि हाम्रो समुदायका मानिस बाख्रापालन, खेतीपाती, कुखुरापालन, किराना पसल सञ्चालनजस्ता कार्य गरिरहेका छन् । अब जीविकोपार्जनका लागि माछा मार्नुपर्ने वा पेट पाल्नका लागि गिठा भ्याकुर खोज्न जङ्गल जाने कार्य अन्त्य भइसकेको छ ।’ 

वि.सं २०४० भन्दा अघि जिल्लाभरिका राजी परिवार साविकको सुगरखाल गाविस हालको मोहन्याल–६ सोल्टामा नदी किनारमा बस्थे । उनीहरुको रोजीरोटी भनेको दिनभरि नदीमा माछा मार्ने, सुन चाल्ने र खानेकुरा जङ्गलको गिठा र भ्याकुर हुन्थ्यो । हाल राजीको खानपान र जीवनशैली समेत बदलिएको छ । डम्बर भन्छन् ‘‘आजभोलि राजीले छोराछोरी पढाउनुपर्छ भन्ने बुझेका छन् । सबैका बालबालिका विद्यालय जान्छन् ।’ 

बाउन्न बर्षीया रिठीदेवी राजीले मजदूरी जस्ता काम गरेर जीविका चलिरहेको बताउँदै भने, ‘‘कहिलेकाही समयमै भत्ता पाइँदैन । सरकारले राम्रै गरेको छ । हामीलाई सहयोग गरेकै कारण हाम्रा बालबालिकाले पढ्न पाए ।’ 

टीकापुरमा राजीका हरेक परिवारसँग टीकापुर विकास समितिले २०४० सालमा दिएको दुई÷दुई कठ्ठा जमीन मात्रै छ । उनीहरुको घर ज्याला मजदूरीको भरमा चल्छ । राजी समुदायका सबै नागरिक छिमेकमा मजदूरी गर्छन् । पछिल्लो समय राजी समुदायका युवा मोटरसाइकल मर्मत, वाइरिङ जस्ता कार्य समेत गर्न थालेका छन् । 

कैलाली जिल्लामा चार सय परिवार राजी बस्दै आएका छन् । जसमा दुई हजार ७३ जनाले सामाजिक सुरक्षा भत्ता मासिक दुई हजार बुझ्दै आएका छन् । सरकारले जनता आवास कार्यक्रममार्फत् सबै राजी परिवारलाई दुई कोठे पक्की घरसमेत निर्माण गरिदिएको छ । राजी समुदायका लागि सरकारले पनि क्षमता विकास, आयआर्जन जस्ता कार्यमा सघाउने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप