कान खोलेर सुन !

म नबोलेको
बोल्न नसकेर हैन ।
तिमी हामी एक भएर
एउटा मौसुफलाई
शहीदको रगतको भेलमा
बगाई दिएका थियौँ
अनि तिमीलाई राख्यौ
विश्वासको कर्मासनमा ।
तिमीसँग हाम्रो
सुन्दर शान्त समुन्नत
नेपालको नासो थियो
त्यही भएर हो म नबोलेको ।
तर तिमीले
हाम्रो आस्थामा खेलबाड गरेर
हाम्रो मान्यतामा खेलाँची गरेर
हाम्रो विश्वासमा हाँसीमजाक गरेर
मलाई बोल्न बाध्य बनायौ ।
ए कथित मौसूफहरु,
अब सुन
कन्कर्नोले कोट्याएर मात्र हैन
झीरले नै कान खोलेर सुन
तिमी हामी मध्येकै
र हामीजस्तै मात्र हौ
तिमी भ्रममा नपर,
म अग्लो हुँ भनेर
हो, अहिले अग्लो देखिएका छौ
नयाँ बिहानका लागि
बलिदान भएका
नेपाल आमाका
सर्वोत्तम सन्तानको
चिहानमाथि उभिएर
त्यसैले तिम्रो उचाई
कम्तिमा पनि
‘नीलो रगत’वाला मौसूफ बन्नलाई हैन
हुँदै होइन ।
तिमी पनि हामीजस्तै भुइँमान्छे थियौ
ठालु पल्टनेलाई ठुला नठान्ने
तर, अहिले कसरी तिम्रो मतिभ्रष्ट भयो !
र, आफुलाई ठूलो ठान्दै ठालू पल्टिन थाल्यौ ?
तिमी हामी मध्येकै र हामीजस्तै मात्र हौ
तिमी भ्रममा नपर,
म हट्टाकट्टा छु भनेर
हो, तिमी अहिले मोटाएका छौ
किर्ना जसरी
जुका जसरी
जसमा आश्रित छौ
उसैको रगत चुसेर ।
अघाएको किर्ना र जुकाको
के हाल हुन्छ, थाहा छैन तिमीलाई !
त्यसैले तिम्रो मोटाई
कम्तिमा पनि
जनता चुस्ने नव मौसुफ बन्नलाई हैन
हुँदै होइन ।
हाम्रो आशिषबाट तिमी त्यहाँ पुगेका थियौ
तर अहिले कसरी तिम्रो मतिभ्रष्ट भयो ?
र, सम्प्रभु जनतालाई आशिष दिन थाल्यौ !
शहीदका रगतलाई भुलेर
रङ्गले अक्षता रङ्गाएर
घुँडा टेकाउँदै निधारमा टासिदिएर
कर्तव्यको झारा मेट्यौ
जनताको आशाजस्तै
हलक्क बढेको जमरा
स्वार्थी शीरहरुमा सिउरिदिएर
जिम्मेवारीको झारा तिर्यौ
तर तिम्रो आसन
कम्तिमा पनि
‘धर्मावतार’वाला मौसुफ बन्नलाई हैन
हुँदै होइन ।
तिमी फगत थाक्रो हौ
काक्रोको सहाराको
नठान म धनी हुँ काक्राको
तिमीसँग हाम्रो
सुन्दर शान्त समुन्नत
नेपालको नासो थियो
त्यही भएर मात्र हो
म नबोलेको
बोल्न नसकेर हैन ।
तर, तिमीले बोल्न बाध्य बनायौ
ए कथित मौसूफहरु,
अब सुन
कन्कर्नोले कोट्याएर मात्र हैन
झीरले नै कान खोलेर सुन
तिमी मौसुफ होइन,
हाम्रो आश भरोसाको
थाक्रो हौ, केवल थाक्रो
त्यसैले भुलेर पनि नभुल
नलहरिए काक्राका लहरा
थाक्रो बन्नेछन् मात्र दाउरा ।
४ कात्तिक २०७५
रानीवन, काठमाडौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु