शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘आफ्ना’ सन्तान सम्झेर भक्कानिरहेका छन् बृद्धाश्रमका ज्येष्ठ नागरिक

बिहीबार, ०१ कात्तिक २०७५, ०७ : ५६
बिहीबार, ०१ कात्तिक २०७५

काठमाडौँ । शहरबजार गाउँघर जताततै दशैँको रौनक छ यतिवेला । शहरबजारमा बस्नेहरु गाँउ फर्किएका छन् । विदेशमा रहेका नेपाली पनि दशैँ मान्न स्वदेश आएका छन् । पारिवारिक जमघटका तस्विरहरु सामाजिक सञ्जालमा छाएका छन् ।

सबैतिर दशैँको चहलपहल बढिरहँदा बृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरु भने ‘आफ्ना’ सन्तान सम्झेर भक्कानिरहेका छन् ।

काठमाडौँ बानेश्वरकी अम्बिका दाहाललाई चाडबाड नआइदिए हुन्थ्यो जस्तो लाग्छ । उमेरले ८० वर्षमा टेकेको बताउने अम्बिका ‘निःसहाय सेवा सदन’ (जेष्ठ नागरिक आवास गृह, बानेश्वर )मा आश्रित छन् ।
हामी बृद्धाश्रम पुग्दा उनी बाथरुममा सकिनसकी आफ्ना लुगा धुँदै थिइन् । 

‘उफ्, कस्तो ढाड दुख्यो नानी,’ बरण्डामा टुसुक्क बस्दै अम्बिकाले भनिन् ।

हामीले उनको परिवारको बारेमा सोध्यौँ । उनी आफ्नो विगत तिर फर्किइन् । 

अम्बिकाले भनिन्, ‘मेरा कोखबाट जन्मेका दुई छोरी मात्रै । त्यसपछि श्रीमानले दोस्रो विवाह गरे । कान्छीपट्टी चार छोरा र दुई छोरी भए । तर, ती पनि मेरै सन्तान त हुन् ।’

यसरी उनका ४ छोरा र ४ छोरी छन् ।

आफ्नो ठूलो परिवार भएको बताउने अम्बिकाका एक छोरा बुहारी अस्ट्रेलिया र अर्का छोरा बुहारी अमेरिकामा बस्छन् । 

एक छोराले विराटनगरमा घरजम गरेका छन् भने एकजना काठमाडौँमा नै बसोबास गर्छन् । 

चारै छोरीको पनि विवाह भैसकेको छ । 

अम्बिकाको पुरानो घर संखुवासभा । काठमाडौँमा घर बनाएको २०४० सालमा रे । 

बृद्धाश्रम आउनुभन्दा पहिला उनी त्यही घरमा बस्दै आएकी थिइन् रे । तर त्यो घर छोरा बुहारी विदेशबाट आएर बिक्री गरेछन् । 

उनको आँखामा आँशु टिलपिल गर्दै थिए ।

अम्बिकाले नालीबेली लगाइन, ‘बुहारीले हामी सबै विदेश हुन्छौँ । अब फर्केर आउँदैनौँ । तपाईंलाई घरमा हेरचाह गर्ने कोही हुँदैन, दुःख हुन्छ । बरु बृद्धाश्रम बसे सबै सुविस्ता हुन्छ भनेर यहाँ राखेर गइन् । छोरा त भेट्न पनि आएन ।’ 

उनले भनिन्,‘यहाँ आउनुभन्दा पहिला सबैलाई दिएर खाएको मान्छे । अहिले यहाँ यसरी हात थापेर खानु पर्ने अवस्था आयो । साह्रै नमजा लाग्छ ।’
उनी भक्कानिन् । केही बेर उनी बोल्नै सकिनन् ।

लामो सुस्केरा तान्दै उनले थपिन् ‘सबै दैवको खटन हो नानी,  म कस्तो परिवारको मान्छे कस्तो अवस्थामा आईपुगेँ ।’ 

त्यत्तिकैमा खाना खाने समयको संकेत गर्दै घण्टी बजेको आवाज आयो ।

‘घण्टी बजेको समय खाना खान नगए गाली खाइन्छ नानी । म जान्छु है ।’ 

उनले आँशु पुछिन् ।

हतार हतार उनी खाना खाने ठाउँ पुग्न भर्याङ झर्दै थिइन् । एक्कासी भर्याङमै आड लागेर  रोकिइन् । उनलाई भर्याङ झर्न कठिन भएको प्रस्टै देख्न सकिन्थ्यो । 

दोस्रो तलाको भर्याङमा पुगेपछि हामीतिर फर्कदै अम्बिकाले भनिन्, ‘परिवारसँग दशैँ नमनाएको धेरै वर्ष भयो । अहिले फेरी दशैँ आउँदा मन खिन्न भएको छ । यहाँ बसेदेखि चाडबाड आउँदा मेरो मन सधैँ रुन्छ । के गर्ने नानी, बाहिर देखाउन पनि नहुने, ठूलो परिवार भएको मान्छे । कति रमाइलो हुन्थ्यो सबै भेला भएर चाडबाड मनाउँदा । त्यस्तो परिवारको मान्छे अहिले यस्तो अवस्थामा आइपुगें । जिन्दगी यस्तै रै’छ नानी ।’ 

यति भन्दा नभन्दै फेरि उनका आँखाबाट आँसु बरर झरे । 

उनका आफ्नै कोखका दुई छोरी भने कहिले काहीँ त्यहीँ भेट्न आउँछन् रे । 

बृद्धाश्रमले एउटा कोठामा दुई जना बस्ने व्यवस्था मिलाएको छ । 

परिवारसँगको बिछोडको पीडा त्यहाँ बस्ने धेरैको उस्तै उस्तै छन् । 

त्यही बृद्धाश्रममा बस्ने तनहुँ दमौलीकी सीता हमाल त परिवारनै सम्झिन चाहँदिनन् । त्यो बृद्धाश्रममा बस्ने बृद्धबृद्धामध्ये उनी सबैभन्दा कान्छी । अलि हट्टाकठ्ठा पनि छिन् । 

उनी भने कोठामा एक्लै बस्ने रहिछन् । 

सीताले आफू बस्ने कोठा सफा र चिटिक्क मिलाएकी थिइन्। 

तर, मनभरिको पीडा अनुहारमा छर्लङ्ग देखिन्थ्यो उनको पनि । 

हामी त्यहाँ पुग्दा पूजा गर्दै थिइन् सीता । 

हामीसँग छोटो कुराकानीमा आफूले दुई सन्तानलाई जन्म दिएको बताइन् । एक छोरा, एक छोरी ।

छोरा १२ बर्षको हुँदा बित्यो । 

त्यसपछि श्रीमानले अर्को विवाह गरेका रहेछन् ।

सौतेनी सकसपछि उनी सानी छोरी काखमा च्यापेर काठमाडौँमा आएकी हुन् रे ।

त्यसरी काठमाडौँ आएको पनि ३६ वर्ष भएछ । 

उनी कसैको घरमा काम गर्थिन् रे । 

केही वर्षअघि छोरीले विवाह गरिन् । 

सीताले भनिन्, ‘छोरी पनि साथमा भै’न । अर्काको घरमा भाँडा माझ्दा खान त पाइन्थ्यो तर बस्ने ठाउँ भएन । ६० वर्ष भएपछि बृद्धाश्रम बस्न पाइन्छ भन्ने थाहा पाएँ । अनि आफैँ बुद्धाश्रममा आइपुगेँ । अहिले यहाँ बसेको पनि चार वर्षभन्दा बढी भयो ।’ 

‘धेरै दुःख सहेर सन्तानलाई हुर्काइयो, बढाइयो । के गर्नु, यी बुढेसकालमा बेसहारा भइने रहेछ’, सीताले भनिन्, ‘चाडबाड आउँदा पुराना घाउ बल्झिन्छन् । बरु, यस्ता चाडबाड पनि नआइदिए हुन्थ्यो ।’ 
बोल्दाबोल्दै उनको पनि वाक्य रोकियो । 

सन्तान प्राप्तीमा संसार जितेको महशुस गर्ने जो कोही आमाबाबुलाई पनि जीवनको उत्तरार्धमा तिनै सन्तानसँगै रमाउन मन लाग्नु स्वाभाविक हो । 

बृद्धाश्रममा बस्ने बृद्धबृद्धामध्ये कतिपयको आफन्त नै छैनन् । कतिका छोराबुहारीले बृद्धाश्रममा छाडेर विदेश गएका छन् । छोराछोरी नेपालमै भएर पनि बृद्धाश्रममा बस्ने बृद्धबृद्धाको संख्या पनि निक्कै छ । 
अम्बिका र सीता जस्तै बृध्दाश्रममा बस्ने प्रत्येक बृद्धबृद्धाका आ–आफ्नै कहानी र पीडा छन् । 

ती जेष्ठ नागरिकमध्ये कतिपय आफ्नै सन्तानका लागि घाँडो भएका ‘आमा बाबु’ हुन् । तर उनीहरुका आँखा वरिपरि भने सदा ‘आफ्ना’ सन्तान नै घुमिरहेका छन् । 
उनीहरु ‘आफ्ना’ सन्तानको खुशी र सुखको लागि बृद्धाश्रमबाट समेत कामना गरिरहन्छन् । 

सामाजिक कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति वृद्धाश्रम)मा बस्दै आएकी मना न्यौपाने भन्छिन्, ‘मलाई बृद्धाश्रममा ल्याएर राखेपनि मेरा सन्तानको राम्रो भएको सुन्न चाहन्छु ।दिनहुँ पुजापाठ गर्छु । भगवानसँग उनीहरुलाई सँधै राम्रो होस् भन्ने प्रार्थना गर्छु । चाडबाड आउँदा त छोरीहरुको याद झन् आउँछ ।’

दुई छोरीकी आमा हुन् मना छोरीहरु विवाह गरेर आआफ्नै घरमा गए, नातिनातिनासमेत भैसके । श्रीमानले दोस्रो विवाह गरेका छन् । श्रीमान आफ्नो परिवारसँग चरिकोटनै बस्दैआएका छन् । मना भने श्रीमानले घरबाट लखेटेकाले बृद्धाश्रममा बस्न थालेको ६ वर्ष भयो । 

‘नानी दशै आउँन लाग्यो । बाहिर त रमाईलो होला है ? खोई किन किन चाडबाड नजिकिँदा मन अँध्यारो हुन्छ । श्रीमानले दोस्रो विवाह गरेपछि मलाई चाडबाडको महिमा छैन,’ उनले भनिन्, ‘तरपनि चाडबाड आउँदा खोई किन किन मन खिन्न हुन्छ । दशैँको दिन यही बृद्धाश्रममा सबै मिलेर टिका लगाउँछौँ । तरपनि हामी कसैको मन रमाउँदैन ।’

वर्षमा जस्तै यो दशैँमा पनि पशुपति (सरकारी) बृद्धाश्रम र गैरसरकारी बुद्धाश्रममा दशैँको दिन टीका लगाउने कार्यक्रम छ । 

पशुपति बृद्धाश्रममा झन्डै दुई सय बृद्धबृद्धा बस्दै आएका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार उपत्यकाभित्र निजी र सरकारी गरी करिब १० वटा वृद्धाश्रम छन् । देशैभरमा करिब ८० वटा वृद्धाश्रम सञ्चालनमा छन् । नेपालमा विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब २२ लाख रहेको छ ।

बृद्धाश्रमको सहारा लिइरहेका  मनाजस्ता बृद्धबृद्धाहरुलाई चाडबाड नजिकिँदै गर्दा विगतले झन् पिरोल्ने गर्छ । स्वाभाविक रुपमै मन कुडिन्छ नै । त्यसैले त उनीहरु भन्ने गर्छन्, ‘यो चाडबाड नआईदिएकै भए राम्रो हुन्थ्यो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप