शाकाहारीको दसैँ
दसैं भन्नासाथ मासु र मदिराको चाड हो भनेर बुझ्ने गरिन्छ । मासुविनाको चाडबाड खल्लो हुन्छ भन्नेको नेपाली समाजमा बाहुल्य छ । मूलतः अन्य समयभन्दा चाडबाडमा नेपाली भान्छामा मासुका परिकार धेरै पाक्छन् । ऋणपान गरेरै भए पनि दसैंमा मासु खानेहरू नभएका होइनन् । मासु खाएपछि मात्रै दसैँ दसैँजस्तो हुन्छ भन्नेहरू पनि छन् ।
तर, मासु र मदिराविना पनि दसैंलाई दसैंजस्तो बनाउन सकिन्छ भन्नेहरू बढ्दै गएका छन् । त्यसमध्येका एक हुन्– कृष्ण गुरुङ । भानु नगरपालिका–१३ तनहुँनिवासी गुरुङ संवत् २०५५ देखि शाकाहारी भएका हुन् । ‘आफू मांशाहारी हुँदा र शाकाहारी भएपछिको दसैँमा त्यति फरक छैन,’ उनले खुसी व्यक्त गरे, ‘शाकाहारी भएपछिको दसैँ झन् रमाइलो लाग्न थालेको छ ।’
किन ?
पंक्तिकारको सोधाइमा उनले थपे, ‘त्यतिबेला दसैँमा मासु धेरै खाएर स्वास्थ्यमा समस्या आउँथ्यो । शाकाहारी भएपछि त हाइसन्चो भएको छ । शाकाहारीले दसैँमा मासुमात्रै नखाने हो । हामी मासुको सट्टा हरियोपरियो, फलफूल र जुस खान्छौँ । स्वस्थ रहन्छौँ ।’
तनहुँका कृष्ण गुरुङजस्तै पुतलीसडक काठमाडौँकी मधु शर्मा भण्डारीसमेत शाकाहारी हुन् । महात्मा गान्धीको आत्मकथा पढेर शाकाहारी बनेकी शर्मा गुरुङजस्तै सानैदेखि शाकाहारी बने पनि बिहेलगत्तै एक/दुईपटक मासु खाइन् । स्वास्थ्यले साथ नदिएपछि छाडिन् ।
लेखकसमेत रहेकी भण्डारी शाकाहारी भए पनि भान्छामा मासु पाक्छ । घरमा काटमार कहिल्यै नगरे पनि श्रीमान् मांशाहारी भएकाले भान्छामा मासु पाक्नु अनौठो होइन । ‘परिवारमा मांशाहारी र शाकाहारी भएपछि सम्झौता गर्नुपर्छ,’ उनले सुनाइन्, ‘अरूले रमाइलो गर्न खोज्दा आफूले खल्लो बनाइदिनुभएन । आफूले नखाए पनि परिवार र पाहुनापाछालाई खुवाउन मासु पकाउँछु । माछा मासु नखाए पनि पकाएर खुवाउँदा आफूले खाएजस्तै लाग्छ ।’
त्यसो भए शाकाहारीले माछा मासुको सट्टा के खालान् ?
शाकाहारीले माछा मासुको साटो यही खाने भनेर निष्कर्ष निकालेका छैनन् । तर, माछा मासुबाहेक सम्बन्धित परिवारसँग उपलब्ध खानेकुरा खाएर रमाउन सकिन्छ । भण्डारीको बुझाइ छ, ‘माछा मासुबाहेक पनि हामीसँग धेरै खानेकुरा छन् । खानेकुराको चिन्ता छैन ।’
आज दसैँको सातौं दिन । दसैंमा जताततै काटमार गरेको देख्दा भण्डारीलाई असाध्यै पीडा हुन्छ । पीडा लुकाउने उपाय पनि होला नि ? ‘त्यतिबेला,’ भण्डारीले थपिन्, ‘काटमार देख्न नपरोस् भनेर दसैँमा घुम्न निस्कन्छौँ । घुम्नु भनेको रिफ्रेस हुनु पनि त हो ।’
दसैँ मनाउन घर (तनहुँ) पुग्दा गुरुङलाई समेत भण्डारीको जस्तै समस्याले पिरोल्छ । काटमार देख्न नपरोस् भनेर उनी पनि सकेसम्म छलिन्छन् ।
चाडबाड (दसैँ) मा मात्रै होइन, अन्य समयमा पनि शाकाहारीले माछा मासुको सट्टा दूध, दही, मोही, फलफूल खाने गरेको गुरुङले सुनाए । त्यतिमात्रै होइन, मसरुम, पालक पनिर, मटर पनिर, तोफुका परिकार खाएर दसैँमा रमाउनुको आनन्द अरूसँग तुलना गर्न नसकिने शाकाहारीहरूको ठम्याइ छ ।
भन्ने गरिन्छ, ‘मानिसको स्वभाव खानपानसँग सम्बन्धित हुन्छ ।’ उल्लिखित भनाइसँग डा. नम्रता पाण्डे सहमत छिन् । ‘हामी जुन प्रकृतिका खानेकुरा खान्छौँ, रगत त्यस्तै बन्छ,’ डा. पाण्डेको तर्क छ, ‘रगतका प्रकृतिअनुसार शरीरमा त्यसले प्रतिक्रिया देखाउँछ ।’ उनका अनुसार शाकाहारीको तुलनामा मांशाहारी डरलाग्दो र क्रोधी हुन्छन् ।
माछा मासुसँग टाढै रहने शाकाहारीको मान्यता छ, ‘खानपानले मानिसलाई करुणवान्, शान्त, प्रेमपूर्ण र सुन्दर बनाउनुपर्छ ।’ त्यस्तो मानिस र समाज बनाउन सके संसार त्यत्तिकै सुन्दर हुन्थ्यो । सुन्दर समाज बनाउने प्रयत्न गर्नुपर्छ । समय लाग्ला । समय लाग्ला भनेर निराश हुनुपर्दैन ।
मांशाहारीको तुलनामा शाकाहारी स्वस्थ र आयुदारी हुन्छन् भन्नेहरू पनि नभएका होइनन् । त्यसो भए स्वस्थ र आयुदारी बन्न जोकोहीले प्रयत्न गर्दा भलो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
-
खुमलटारमा शंकास्पद वस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता