बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं विशेष : दीर्घरोगीले के खाने के नखाने ?

बुधबार, ३१ असोज २०७५, १० : ५९
बुधबार, ३१ असोज २०७५

काठमाडौं–दशैं खानपिनको मुख्य पर्व हो । दशैंको समयमा बढीमात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यको लागि आवश्यक भए पनि धेरै खानु स्वास्थ्यको लागि फाइदाजनक मानिँदैन ।
कतिले दशैंको समयमा रोगको ख्यालै नगरी मासु र मादक पदार्थ समेत सेवन गर्ने गर्छन् । 

दशैंमा दीर्घरोगको समस्या भएकाहरुले कस्तो खाना खाने भन्ने विषयमा डा पारस पञ्जियारले रातोपाटीकी अञ्जु तामाङमार्फत जानकारी गराएका छन्ः 

दशैंमा विशेषतः खानपानमै जोड दिएर रमाइलो गर्ने चलन रहेको छ । तर दशैंको समयमा खानापानमा विशेष ध्यान दिन जरुरी हुन्छ । विशेषतः दीर्घरोगीहरुले दशैंको समयमा खानपानमा सावधानी अपनाउनु पर्ने हुन्छ । दशैंमा खानापाना बढी हुन्छ तर जति हामीले शारीरिक व्यायाम गर्नुपर्ने हो त्यो भने हुँदैन । दशैं अवधिमा बस्ने र खाने क्रममात्र चल्दा निरोगी मानिसलाई समेत स्वास्थ्यमा समस्या आउन सक्छ । 

त्यसैले कम खाने र समय÷समयमा खाँदा स्वास्थ्यको लागि राम्रो मानिन्छ । दशैंमा  दीर्घरोगीहरु जो हुनुहुन्छ उहाँहरुले थप सावधानी अपनाउनु जरुरी हुन्छ ।

मधूमेह
मधूमेहका बिरामीले यदि औषधि खाइरहनु भएको छ भने आफ्नो औषधि नछुटाउनु होला । नियमित औषधि सेवन गर्नुहोला । दशैंमा मासु खाने, अल्कोहल लिने हाम्रो एउटा संस्कार जस्तै भइसकेको छ ।
 यस्ता बिरामीले मासु ठीक परिमाणमा खानुपर्छ । सकेसम्म रातो मासु र बोसो भएको मासु पनि खानु हुँदैन । चिल्लो पिरो पनि मधूमेहको बिरामीले कम खाने गर्नुपर्छ । 

 मधूमेहको बिरामीले चिनी खानु हुँदैन । चामलको भात कम खाँदा बेस हुन्छ । खानै पर्ने अवस्था आए आफ्नो सुगरको लेवल हेरेरमात्रै खाने गर्नुहोला ।

यदी खानु परेको खण्डमा एक किसिमको रेड वाइन पाइन्छ, आफ्नो सुगरको लेवल हेरेर महिलाले दिनमा एक प्याक र वयस्क पुरुषले दिनमा २ प्याक सम्म सेवान गर्न सकिन्छ । अरु अल्कोहल भने सेवन गर्न हुँदैन । 

अर्काे महत्वपूर्ण कुरा शारीरिक व्यायाम गर्न छुटाउनु हुन्न । किनभने खानामा मात्रै ध्यान दिने हो भने क्यालोरी हाम्रो शरीरमा थुप्रिँदै जान्छ र सो क्यालोरिले ब्लड प्रेसर र सुगर बढाउँछ । त्यसैले मधूमेह भएका रोगीहरुले दशैंमा नियमित औषधि खाने, खानापानमा ध्यान दिने र शारीरिक व्यायाम पनि गर्न छुटाउनु हुन्न ।
 

ग्याष्ट्रिक 
ग्याष्ट्रिकका बिरामीले पनि दशैंको समयमा धेरै सजक अपनाउनु पर्ने हुन्छ । तेल, नुन, मसला बढी लगाएको खानेकुरा खान हुँदैन । 

सकेसम्म रातो मासु र छाला भएको मासु नखाएकै राम्रो हुन्छ भने कुखुराको मासु हितकर हुन्छ । 

 माछा पनि स्वास्थ्यको हिसाबले राम्रो हो । यस्तै अष्ट्रिजको मासु पनि यस्ता बिरामीको स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । थोरै र पटक÷पटक खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । दशैंमा मात्रै होइन अरु समयमा पनि ग्याष्ट्रिकका बिरामीले अल्कोहल सेवन गर्न हुँदैन ।
 

मुटु
मुटुको बिरामीले पनि यो समयमा विशेष सजक अपनाउनु पर्ने हुन्छ । नियमित गर्दै आइरहेको    व्यायामलाई निरन्तरता दिनुपर्छ । मुटुको औषधि सेवन गरिरहेकाले यो क्रमलाई निरन्तरता दिनुपर्छ ।  मुटुका बिरामीले बोसो, छाला र रातो मासुका साथै चिल्लो तथा पिरो खानेकुरा खानु हुन्न ।
 

यूरिकेसीड 
यूरिकेसीड रातो मासु बढी खाएर हुने समस्या हो । दशैंको समयमा बढी रातो मासु प्रयोग गर्नुभयो भने रोग बल्झिने बढी सम्भावना हुन्छ । यूरिकेसीडको बिरामीले रातो मासु अल्कोहल खानुहुन्न ।
 

किड्नी 
अन्य दीर्घरोगमा जस्तै किड्नीको समस्या भएकाले पनि मासु खाँदा सजगता अपनाउनु पर्छ । किड्नीको समस्या भएको व्यक्तिले रातो मासु र अल्कोहल नखादानै राम्रो हुन्छ । दशैंको समयमा धेरै खाने भन्दा पनि ठिक खाने र स्वास्थ्यको ख्याल उचित ख्याल गर्नुपर्ने हुन्छ । यस्तै चिल्लो पिरो पिरो पनि खानुहुन्न । नियमित खाने औषधि चिकित्सकको सल्लाहमा सेवन गरिरहनु पर्छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप