शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनाैंठो जनविश्वास रहेको छिन्नमस्ता भगवतीको मन्दिर : दशैंमा दर्शन गर्न जाँदै हुनुहुन्छ ?

मङ्गलबार, ३० असोज २०७५, १२ : १०
मङ्गलबार, ३० असोज २०७५

–एसके यादव
 

 सप्तरी सदरमुकाम राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने सखडा गाउँस्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता  भगवतीकाे मन्दीर भगवती धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित स्थान हो ।

प्रमुख ५१ शक्तिपीठमध्ये छिन्नमस्ता पनि एक हो । जहाँ दशैंका घटस्थापनादेखि नै भक्तजनहरुको भीडभाड लाग्ने गर्छ । छिन्नमस्ताको दर्शनका लागि भारतसहित देशैभरीका भक्तजनहरु पुग्ने गर्छन् । 

छिन्नमस्ता भगतवतीको मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । 

भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ । 

सखडेश्वरीको मस्तक अर्थात शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेका हुन् ।

ऐतिहासिक पक्ष
तत्कालिन राजा शक्रसिंह आफ्ना भाइ–भारदारको दबाबका कारण छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र गएका थिए । 

त्यतिबेला सो क्षेत्र घना जङ्गलले भरिएको थियो । राजा शक्रसिंहलाई भगवतीले सपनामा भनिन्,–तिमी जुन स्थानमा बसिरहेका छौ, त्यस स्थानमा त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरु मूर्ति पनि छेउ–छाउमा पाउने छौं । ती मूूर्तिहरूको पूजा–आजा गरेर बस, तिम्रो भलो हुनेछ ।’ 

देवी भगवतीले सपनामा दिएको निर्देशन अनुसार राजा शक्रसिंहले त्रिशूल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती छ । सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीको वेवसाइटमा उल्लेख छ ।

‘बली प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्ने, रगत लुगामा लागेपनि दाग नलाग्ने, पोखरीको पानीमा रगत मिसिदा रातो नहुने, बली प्रदान गर्ने नाममा राखिएका बोकालाई केही नहुँने, बलीका लागि खसी किन्नु अघि कुकुर वा स्याल टोकेको छ भने मन्दिर पुग्दा नपुग्दै मर्ने, बली प्रदान गरेको खसीबाट निस्किेको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुँने, जुठो वा अपवित्र पूजा सामग्री कुकुर र कागले छोएर चढाउन नहुने जस्ता  जनविश्वास र आस्था रहेको शक्तिपीठ हो, छिन्नमस्ता भगवती ।

एघारौं शताब्दीको अन्त्यतिर भारत कलकत्ताका शासक गयासुद्दीन तुगलकको मुसलमानी आक्रमणकारी दलले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ ध्वस्त ग¥यो । 

मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू समेत तोडफोड गरी जलाशयमा फ्याकिदिए । मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढ्यो । 

सोही क्रममा सखडादेखि १५ किमी पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरू समेत तोडफोड ग¥यो । 

मुसलमानी आक्रमणपछि पुनः सखडा क्षेत्र जङ्गलमा परिणत भएको अनुमान गरिन्छ । मन्दिरको पूर्वपटी घना झाडी थियो, जसलाई अहिले पंचमुखी नागवाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समय समयमा पंचमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरु बताउँछन् । 

मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करीब एक सय २५  वर्ष अघि सखडाको भगवती मन्दिर भग्नाशेष अवस्थामा थियो । जसलाई स्थानीय बासिन्दा च्याखुरी नानीर चूनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट संकलित रकमबाट सानो मन्दीर निर्माण गरेका थिए । सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा फेरि भत्किन पुग्यो ।  र, त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा संकलन गरी ग्रामिण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाए ।

वि.स.२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालिन भारतीय रेल मन्त्री ललितनारायण मिश्रको सहयोगमा पक्की मन्दिर भवन साथै तीन कोठे धर्मशाला बनाइयो । 

 त्यसपछि वि.सं. २०४४ सालमा तत्कालीन राजा बीरेन्द्र शाह भगवतीको दर्शनार्थ जाँदा पाँचलाख रुपियाँ चन्दा दिए । सो रकमबाट तत्कालिन सगरमाथा अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका थिए । 

यो पनि पढ्नुहाेस्

बागलुङ कालिका भगवतीबारे रोचक किम्बदन्ती

सखडा भगवतीको मन्दिर जति पल्ट निर्माण र पुनः निर्माण गरिए पनि त्यहाँको मूर्तिहरु शुद्ध पालवंशी शैलीमा बनाइएका छन् । 

नेपालमा पालशैली भारतबाट आएको हो । सत्यमोहन जोशीद्वारा लिखित पुस्तकमा पालवंश पछि सेनवंशको उदय भएको उल्लेख गरिएको छ । 

 सेनहरुको पालामा वैष्णव धर्मको प्रधानता देखिन्छ । सन् १८९९ मा मुसलमानी आक्रमणले गर्दा सेन वंशको पतन भयो र मुसलमानहरुले हिन्दु सभ्यतामाथि प्रहार गर्दै गए । त्यसकारण बिहार वंगालका

धर्म, संस्कृति र कलाका पे्रमीहरु आफ्नो संस्कृतिको सुरक्षार्थ भारतबाट आश्रय लिन नेपाल आएका थिए । 

यसरी पाल र सेन कलाको प्रभाव नेपाली कलाशैलीमा पर्न गएको कुरा इतिहास विद्ध हरिकान्त लाल दास बताउँछन् ।

विशेष पूजा
भगवतीको पूजामा फूलहैस विशेष पूजा हो । फूलहैसको तात्पर्य मनोरथ पूरा हुने भए शुभ सूचक संकेत स्वरुप देवीलाई चढाएको फूल झर्ने विश्वास गरिन्छ । 

सन्तान प्राप्ति, चाँडै विवाह, मुद्दा मामिलामा विजयी प्राप्ति आदिका लागि फूलहैस गराइन्छ । 

 मध्यरातमा छिन्नमस्ताको मन्त्र साधनाबाट सरस्वती सिद्ध हुने जनविश्वास रहेको पाइन्छ ।

मन्दिरमा नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरु खसी, बोका, भेडा, परेवा, हाँस र माछाको बलि गर्न  आउने पीठाधिश महन्थ महानन्द ठाकुर बताउँछन् ।

 प्रत्येक दिन ५० वटा भन्दा बढी तथा दशैंमा हजारौ बोका, खसी, भेडा, परेवा, हाँस र माछको बली चढाइन्छ । 

मनोकामना पूरा भएकाहरुले पञ्चबली प्रदान समेत गर्छन् । बोका, खसी, भेडा, परेवा, हाँस र माछको बलीलाई पञ्चबली भनिन्छ । ६ बिघा १७ धुर ७ कठा क्षेत्रफलको ओगटेको मूल मन्दिर भन्दा पूर्व शिव मन्दिर र हनुमानको मुर्ति रहेको छ ।

ऐतिहासिक पोखरी


भगवती मन्दिरको अग्रभागमा पाँच सय वर्गफिटको एउटा जलायश छ । जुन  कहिल्यै कहिल्यै सुक्दैन । 

‘जस्तोसुकै खडेरी आएपनि पोखरी (जलाशय) सुकेको हामीले सुनेका छैनांै’,  राजविराजका पत्रकार धिरेन्द्र साह भन्छन्, ‘जलाशयामा कमलको फूल फूल्थ्यो । त्यही कमलको माला गुँथेर देवीलाई समर्पण गरिन्थ्यो । जलाशयमा सुनको बुलाकी लगाएको विशाल कायाको माछा देखिन्थ्यो भनि जनविश्वास रहेको छ ।’

स्थानीय भक्तजनका अनुसार बयलगाडाका जमानामा व्यापारीहरुले सखडाको बाटो प्रयोग गर्दथे । 

उनीहरु जलाशयको डिलमा थकाई मार्थे र पोखरीको पवित्र जलले तिर्खा मेटाउँथे । 

वि.सं. २०१३ मा राजा महेन्द्रले मन्दिरको भ्रमणको क्रममा पोखरी जीर्णोद्वारका लागि एक हजार रुपैयाँ दिएका थिए । पोखरी जिणोद्धार गर्दा एउटा सिक्का भेटियो । सिक्कामा लेखिएको कुरा कसैले ठम्याउन सकेन । उक्त सिक्का विर्तवाल हेम कुमार उपाध्यायको घरमा राखियो  । पछि सिक्का काठमाण्डु लगिएको बताइन्छ ।

पीठमा चढाइने बोकाको रगत पोखरीमै मिसिए पनि जलाशयको स्वच्छतामा कुनै कमी आएको छैन । जलाशयको मध्यभागमा स्थापित स्तम्भमाथि कमलदलमा श्रीयंत्र अंकित गरिएको छ, जसले जलाशय र पीठको सौन्दर्य बढाएको छ । 

जलाशयको चारैतर्फ पक्की तथा व्यवस्थित घाट निर्माण गरी बगैंचा लगाइएको छ । मन्दिर क्षेत्रमा बनभोज स्थल, गाडी पार्किङ्ग पोखरीमा स्नान घाट निर्माण गरिएको छ । 
शक्तिपीठ परिसरमा निर्माणाधीन दश महाविद्या मन्दिरमा काली, तारा, त्रिपुर सुन्दरी, भुवनेश्वरी, त्रिपुर भैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमलाको मूर्ति स्थापना गरिने लक्ष्य रहेको छ ।

पर्यटकको आकर्षण
छिन्नमस्ता भगवती व्यवस्थान समितिले गतसाल नेपालको पूर्वदेखि पश्चिमसम्म र काठमाडौसम्म रथ यात्रा गरेको थियो । आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण गर्नका लागि सो रथ यात्रा गरेको थियो । रथ यात्रापछि अन्तरिक पर्यटकममा निकै वृद्धि भएको सप्तरीका पत्रकार श्यामसुन्दर यादव बताउँछन् ।


 
यहाँ भारतीय पर्यटकको आकर्षण रहेको छ । केही बंगालादेशी पर्यटक पनि आउने गरेका छन् । तेस्रो मुलुकको पर्यटक भित्र्याउनका लागि त्यही अनुसारको प्रचार प्रसारको आवश्यकता रहेको देखिन्छ ।

तेस्रो मुलुकको पर्यटकलाई आकर्षण गर्न त्यस क्षेत्रलाइै अझै आकर्षण बनाउनुपर्ने आवश्यकता रहेको छ । पूर्वमन्त्री उमेश यादव भन्छन्, आन्तरिक पर्यटकको यहाँ कमी छैन, तर आउने पर्यटकलाई यहाँ टिकाउन सकिरहेको छैन । कम्तीमा यहाँ आउने पर्यटकहरु एकरात यहाँ बसोस्, अनि मात्र यसको विकास सम्भव हुने देखिन्छ ।’

हालसम्म पर्यटकलाई बस्नका लागि यहाँ वासको व्यवस्था छैन । मन्दिर वरिपरी होटल अथवा लज नहुँदा यो समस्या देखिएको हो । 

 यदि कुनै पर्यटक आएर बस्न चाह्यो भने १० किलोमिटर टाढा राजविराज सदरमुकाममा गएर बस्नुपर्ने अवस्था छ । यद्यपी स्थानीय स्तरबाट त्यसका लागि पहल भइरहेको छ । 

पर्यटकहरुका वासमा लागि सुविधा सम्पन्न लज बनाउनुको साथै खानपिनको सुविधा प्रदान गर्नका लागि संरचनाहरु बनाउने पहल भइरहेको बताइएको छ ।
भारतका योग गुरु बाबा रामदेव २०७४ पुस महिनामा छिन्नमस्ता भगवतीको दर्शनका लागि आएका थिए । 

उनले दर्शन गरेपछि बली प्रथा अन्त्य गर्नुपर्ने बताउँदै महन्थलाई एकलाख रुपियाँ चन्दा दिएका थिए । तर, भगवतीप्रतिको  अस्थाका कारण बली प्रस्था रोकिएको छैन । दैनिक रुपमा भक्तजनहरुले त्यहाँ बलि चढाइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप