शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकर्सको दशैँ, कसको कस्तो ?

मङ्गलबार, ३० असोज २०७५, ०८ : ०९
मङ्गलबार, ३० असोज २०७५

काठमाडौँ । यतिबेला हिन्दू धर्मावलम्बीको महान चाड दशैँको रौनक गाउँदेखि शहरसम्म जताततै छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दशैँको सामाजिक, सांस्कृतिक र राजनीतिक महत्व पनि उत्तिकै छ । 

आफ्ना नाता, कुटुम्ब, ठूला, बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँ–नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाने खुवाउने भएकाले दशैँलाई विशेष चाडका रुपमा लिइन्छ । 

दशैँ भन्ने बित्तिकै पारिवारिक जमघट र खानपान नै अगाडि आउँछ । तर अहिले समय बदलिएको छ । लामो बिदा हुने भएकाले दशैँको समय प्रायः देश–विदेश घुमेर दशैँ मनाउने चलन बढेको छ । 

हरेक वर्ग समुदाय र पेशामा भएकाहरुले आ–आफ्नो गक्ष र क्षमता अनुसार दशैँ मनाउँदै आएका छन् । 

सधैंजसो व्यस्त हुने अनि चाडबाड अथवा बिदाको दिनमा पनि सेवामा खटिनु पर्ने भएकाले बैंकर्सहरुको लागि दशैँ बिदा अझ बढी महत्वपूर्ण हुने गरेको छ । 

दशैँमा पहिले ७ दिन बिदा हुने गरे पनि अहिले यो बिदा कटौती भएर ५ दिनमा झरेकोले यसपटकको दशैँमा पाँच दिन बैंक बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फुलपातीदेखि कातिक

३ गते एकादशीसम्म बैंक बिदा हुनेछ  । यस्तोमा बैंकर्सहरुको दशैँ भने कस्तो हुन्छ त ? 

नेपालका केही चर्चित बैंकर्सहरुले हामीसँग दशैँ अनुभव र योजना यसरी साटेका छन् । 

दक्षिण छुट्ने पिरले सताउँथ्यो : अनुपमा खुञ्जेली, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक
दशैँ आयो कि बाल्यकाल बढी याद आउँछ । नयाँ लुगा पाइने, दक्षिणा पाइने अनि त्यो दक्षिणा आफ्नो हिसावले खर्च गर्न पाइने, के चाहियो त्यो भन्दा । अझ लामो बिदा हुँदा सबै परिवार सँगै हुने । 

मासु निकै मन पर्छ मलाई । खसीका विभिन्न पकवान पाक्छ घरमा । अझै पनि हरेक दशैँमा घरमा खसी काट्ने चलन छ । खसीको मासुका परिकार बनाएर खान निकै मन पर्छ । 

पुर्ख्यौली घर इलाममा छ । इलाम घरमा टिका थाप्न जाँदा खसीको पक्कु निकै मिठो लाग्छ मलाई । यो वर्ष यो सबै मिस गर्नेछु, किन भने यो दशैँमा विदेशमा रहेकी छोरीसहित सपरिवार थाइल्यान्ड घुम्न जाँदैछौ । 
गत वर्ष पनि पोखरा घुम्न गएका थियौँ । अन्य समय परिवार सबैको छुट्टी नमिल्ने हुनाले दशैँमा घुम्ने योजना बनाएका हौँ । 

मेरो माइती ठमेलको नरसिंह राणाको परिवार, निकै ठूलो परिवार छ हाम्रो । त्यसैले घर–घर टिका थाप्न जाँदा धेरै समय लाग्ने भएकाले एकै ठाउँमा जम्मा भएर टिका लगाउने चलन छ । 

सानो छँदा टिका लगाउन लाइन लागेर बस्नुपर्ने अनि कतै टिका थाप्दा दक्षिणा छुट्ने हो कि भन्ने चिन्ताले सताउँथ्यो मलाई । किनभने एक दुई पटक छुटेको पनि थियो । दशैँको उमङ्ग नै फरक हुन्थ्यो । जति ठूलो हुँदै गयो त्यो उमङ्ग कम हुँदै जाने रहेछ । 

सबैभन्दा धेरै दक्षिणा काका बुबाले दिनु हुन्थ्यो । त्यसैले उहाँको घरमा टिका लगाउन जान निकै हतार हुन्थ्यो, अनि टिका लगाए पछि बाहिर निस्किएर खाम खोल्न नै हतार हुने । मेरो मावली जंगथापाहरु वहाँहरुले पनि दक्षिणा धेरै दिनुहुन्थ्यो । दक्षिणा पाइने भएर पनि दशैँ कहिले आउँला जस्तो हुन्थ्यो । 

चङ्गा नउडाइ बस्नै सक्दिन : अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, नविल बैंक

दशैँ भन्ने बित्तिकै चङ्गा पहिलो नम्बरमा आउँछ । हरेक दशैँमा जस्तै यो दशैँमा पनि चंगा उडाउने र साथीभाई अनि परिवारका साथ दशैँ मनाउने सोचमा छु । 

दशैँमा आफ्नो बालापन बितेको काठमाडौंको कालिमाटीको घर अनि स्वर्गीय भाईको सम्झनाले सधैँ सताउँछ । दशैँमा भाईसँग मिलेर चङ्गा उडाएको र खसीको मासुको परिकार खाएको धेरै याद आउँछ । 

विहान उठेदेखि घाम नअस्ताएसम्म मेरो र भाईको काम चङ्गाको लट्टाई बनाउने धागो बेर्ने अनि उडाउनेमै वित्थ्यो । चङ्गा बिनाको दशैँ त के दशैँ । 

मेरो सबैभन्दा मन पर्ने खाना खसीको मासु हो । ड्रिङ्क्स भने गर्दिन । डाक्टरले अहिले माछा मासुमा प्रतिबन्ध लगाएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ । त्यसैले अहिले हरियो साग सव्जी, मासको दाल, भुजा अनि हरियो खुर्सानी भए पुग्छ मलाई । 

यो दशैँमा परिवारका साथ पोखरा घुम्न जाने योजनामा छु । छोरीको जन्मदिन पनि पर्ने भएकाले पोखरामै छोरीको जन्मदिन मनाउने र म्याग्दीभन्दा केही माथि रहेको मल्लाज दरवार रिसोर्ट घुम्न जाने योजना बनाएको छु । 
म हरेक दिन पूजापाठ गर्छु । दशैँमा नवदुर्गाको पूजाको लागि मन्दिर धाउनु भन्दा त्यो समय साथीभाई र परिवारसँग विताउन उचित लाग्छ । 
अन्य दिन पूजासम्म पनि नगर्ने तर दशैँको बेला भने मन्दिर मन्दिर चाहर्नेहरु देख्दा अनौठो लाग्छ मलाई मन्दिर भन्दा पहिला मनले भगवानको पूजा गर्नुपर्छ हरेक दिन चोखो मनले भगवान मान्ने भएकाले म दशैँमा मन्दिर जान्न ।

कहिले दशैँ आउला र घर जाउँला जस्तो हुन्थ्यो : सुमन शर्मा, प्रमुख कार्यकारी अधिकृत माछापुच्छ्रे बैंक 
दशैँमा परिवार र साथीभाईको जमघट पहिलो प्राथमिकतामा पर्छ मेरो लागि । परिवार, आफन्त अनि साथीभाईसँगको जमघटमै दशैँको बिदा व्यतित गर्न रुचाउँछु म । विशेष गरेर आफन्तकोमा जाने टिका थाप्ने अनि आर्शिवाद लिने भएकाले दशैँ निकै महत्वपूर्ण लाग्छ । 

यो वर्षको दशैँ भने अष्ट्रेलियामा छोरासँग मनाउने योजना छ । छोरा विदेशमा भएकाले घुमफिर हुने अनि भेटघाट पनि हुने भएकाले अष्ट्रेलिया जाँदैछु । खानपिनमा त्यति रुची छैन । फेरी उमेर बढ्दै गएपछि सवैकुरा विचार गर्नुपर्ने भएकाले खानामा विशेष ध्यान दिन्छु । जुवातास खेल्ने बानी पनि नभएकाले समय मिलेसम्म घुम्न नै मन लाग्छ । 

२० वर्षदेखि काठमाडौंमानै दशैँ मनाउँदै आएको छु । पुख्र्यौली घर अर्घाखाँची भए पनि पछि बसोवास विराटनगरमा सर्यो । 

कलेज पढ्ने समय कहिले दशैँ आउला र घर जाउँला जस्तो हुन्थ्यो । दशैँ भन्ने वित्तिकै घर अगाडी आउँथ्यो । 

नयाँ लुगा, नयाँ जुत्ता लगाएर टिका थाप्न हिड्नुको मज्जा अव कहाँ पाउने ? अव भने परिवार र आफन्तसँगको भेटघाट नै बढी महत्वपूर्ण हुने रहेछ । 

दशैँको वासना नै भिन्दै आउँथ्यो : लिलाप्रकाश सिटौला, प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक

मेरो दशैँ सामान्य तरिकाको हुन्छ । तडकभडक मन पर्दैन । पुर्ख्यौली घर तेह्रथुम हो अहिले आमा बुवा झापा बस्नु हुन्छ । हरेक वर्ष जस्तै अहिले पनि आमा बुवाको हातको टिका थाप्न सपरिवार झापा जान्छौं । 
अनि मावली पनि छुटाउँदिन । आफन्तसँग भेटघाट हुने भएकाले दशैँ मेरोलागि विशेष हुन्छ । 

दशैँ पहिलेको जस्तो छैन अहिले । विभिन्न प्रविधिको विकास अनि रंगिचंगी आविष्कारले पुराना संस्कृति विमुख हुँदै गएको महसुुुस हुन्छ । 

पहिले दशैँको वासना नै भिन्दै आउँथ्यो । त्यो वासना हराएको छ अहिले । 

दशैँ आयो कि १०–१५ दिन सम्म घरको खाटमा लुगा सिउने हुन्थे । अनि नयाँ लुगा लगाएर टिका थाप्न जाँदाको मज्जा कहाँ पाउनु अव । नयाँ लुगामा म्याचिङ जुत्ता लगाउन पाउँदाको क्षणको कुनै वर्णन गर्न सकिन्न । 

यो सब सम्झनामा मात्र छन् । 

गाउँघरमा दशैँ भनेको पिङ भनेर बुझिन्थ्यो । कतै लिंगे पिङ त कतै रोटे पिङ । खानाको वास्ता हुन्नथ्यो पिङ पाएपछि । पालो कुर्दै पिङ खेल्नको मज्जानै भिन्दै ।

नयाँ नोट पाइने भएकाले मामाघर पहिले जान्थे : मनोज ज्ञवाली, प्रमुख कार्यकारी निर्देशक, ज्योती विकास बैंक

पहिलो पटक काठमाडौंमा दशैँ मनाउँदै छु । हरेक वर्ष बर्दिया घरमा दशैँ मनाउन जान्थे । यो साल भने आफन्तको निधन भएकाले टिका छैन । 

फेरी दशैँ क्वार्टर इन्डमा परेकाले अफिसियल काम पनि नसकिने, फेरी अहिलेनै बैंकको एजिएम पनि परेको छ । अझ यो सालबाट बिदामा कटौती भएकाले निकै छोटो समय छ । 

दशैँ भन्ने बित्तिकै घर जाने परिवार आफन्तहरुको पुनर्मिलन अनि गाउँघरका साथीभाईसँगको रमाइलो नै फरक हुन्छ । यो साल यो सवै मिस हुने भयो । 

खानपानमा पहिले निकै रुचि थियो उमेर बढेसँगै सबै नियन्त्रण गर्नुपर्ने भयो । यूरिक एसिडको समस्या छ । त्यसैले गर्दा खसीको मासु, ड्रिङ्स सवै बन्देछ गरेको छु ।

सानामा नयाँ लुगा लगाएर झोलाभरी सेलरोटी हालेर घर घर टिका थाप्न हिँडेको निकै याद आउँछ । अझ मामा बैंकको जागिरे, नयाँ नयाँ नोट दिने भएकाले मामाघर छुटाउने कुरै हुन्न थियो । सबैभन्दा पहिले मामाघर पुग्थे । 

पहिले र अहिले दशैँ मनाउने शैली धेरै नै परिवर्तन भएको छ । केही रुढीवादी परम्पराहरु हट्दै गएको छ यसमा चाँहि खुसी लाग्छ तर केही राम्रा परम्परा नै हराउन खोजेको देख्दा भने दुःख लाग्छ । 

देखावटी शैलीभन्दा पनि आफ्नो गक्ष र हैसियत अनुसारको दशैँ मनाउन म सवैलाई आग्रह गर्छु । 

अहिलेको दशैँ आर्टिफिसियल लाग्छ : अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक

मेरो घर बाग्लुङ हो । हरेक वर्ष म घर जान्छु । अनि बाग्लुङको माईथानमा पूजाआजा गर्ने बली दिने चलन छ । 

बुबामुवासँगै घरमा दशैँ मनाउँदाको मज्जा त्यसमा पनि गाउँघरको साथीभाई अनि आफन्तहरुको जमघटले मेरो दशैँ सँधैनै विशेष हुन्छ । घरमै खसी काटिन्छ अनि विभिन्न परिकार बनाएर खान रमाइलो लाग्छ । 

चाडबाडको समय घुमफिर गर्नु राम्रो लाग्दैन मलाई । वर्षदिनमा आउने चाडमा घुम्नभन्दा त्यो चाडको वास्तविक मज्जा लिनु पर्छ जस्तो लाग्छ । घुमफिर त अरु समयमा पनि गर्न सकिन्छ । 

अहिलेको बच्चाहरुले वास्तविक दशैँ कस्तो हुन्छ भनेर थाहा पनि नपाउने हुन् कि भन्ने चिन्ता छ मलाई । दशैँ मनाउने तरिकामा धेरैनै परिवर्तन भएको छ । 

पहिले दशैँ आयो कि नयाँ लुगा लगाएर टिका थाप्न हिँडिन्थ्यो । सवैभन्दा पहिले मामाघर गइन्थ्यो किन कि मामाघरमा टिका लगाएर धेरै पैसा पाइने अनि त्यो पैसाले आफूले चाहेको नयाँ समान किन्न पाइने । त्यो दिनहरु निकै याद आउँछ । 

पहिले दशैँ भन्ने बित्तिकै पिङ खेल्ने, मेला जाने, मन्दिर जाने भन्ने हुन्थ्यो अब त्यसमा परिवर्तन भएको छ । अहिलेको दशैँ त आर्टिफिसियल लाग्छ मलाई । 

दशैँ आयो कि चिउरा कुट्ने, पिठो कुट्ने, सेल पकाउने, खसी काट्ने अनि रंगरोगन बाटोघाटो सरसफाई सवै एकै ठाउँ जम्मा भएर गफ गाफ कति आनन्ददायक थिए ति दिन । 

दशैँको लागि भनेर मरमसला बनाउने, तेल पेल्नेदेखि हरेक कुरा घरमै बन्थे तर अहिले सवै सामान बजारिया प्रयोग हुन थाले । 

हाम्रो संस्कृती विस्तारै हराउँदै गएको भान हुन्छ । 

दशैँबारे यी सामाग्रीहरु पनि पढ्नुहोस्

दशैंमा सबैभन्दा भिन्न र सुन्दर देखिन चाहनुहुन्छ ? मेकअप आर्टिस्टका यी टिप्स अपनाउनुस्

दशैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? ट्राफिक इन्सपेक्टर हाछेथुको यस्ता छन् २५ टिप्स

दशैं बिदाको दिनपनि बैंक खुला रहने, कुन बैंकको कुन शाखाले कतिबजेसम्म सेवा दिन्छन् ? (विवरणसहित)

प्रहरी प्रमुखको दशैँ : ‘मोबाइल अफ गरेर पढ्न पाए हुन्थ्यो’

इन्टरपोलको रेड नोटिस : ३३ किलो सुन तस्करदेखि दरबारमार्गका बलात्कारीसम्म (सूचीसहित)

मनोज पण्डितको नजरमा दशैंको फुर्सदमा हेर्नैपर्ने फिल्म

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप