बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? ट्राफिक इन्सपेक्टर हाछेथुको यस्ता छन् २५ टिप्स

आइतबार, २८ असोज २०७५, १३ : ३७
आइतबार, २८ असोज २०७५

ललितपुर– दशैं–तिहार तथा छठ पर्व हाम्रो घर आँगनमा आइसकेको छ । चाडपर्व मनाउन काठमाडौं उपत्यका लगायतका शहर छाडेर आफ्नो पुख्र्यौली थातथलो फर्कनेहरुको ताँती नै हुन्छ । त्यस्तोमा कोही मोटरसाइकलमा लामो यात्रा गर्छन्, कसैले लामो दूरीको बसमार्फत आफ्नो गन्तव्य पहिल्याउँछन् । 

लामो दूरीको यात्रा गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ, किनकी सामान्य हेलचेक्रयाइँले पनि दुर्घटना हुनसक्छ । दुर्घटनाले ज्यान जान पनि सक्छ, घाइते मात्रै भएमा पनि तपाईँ मात्र हैन, परिवारकै दशैं–तिहार खल्लो हुनपुग्छ । 

ट्राफिक व्यवस्थापनमा २८ वर्ष बिताएका ट्राफिक प्रहरीका इन्सपेक्टर सीतारामा हाछेथुले लामो दूरीको यात्रा गर्ने यात्रुहरुले २५ कुरामा ध्यान दिनुपर्ने बताएका छन् । 

रातोपाटीसँग कुरा गर्दै इन्सपेक्टर हाछेथुले भने, ‘बसमा यात्रा गर्ने र मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरुले आफू सचेत भएर यात्रा गरेमा दुर्घटना हुँदैन, गन्तव्यमा पनि सहजै पुगिन्छ ।’   

इन्सपेक्टर हाछेथुका अनुसार लामो दूरीको बसमा यात्रा गर्नेले तलका ९ बुँदामा ध्यान दिनुपर्छ । मोटरसाइकलमा परिवारसहित जानेहरु भने अझै बढी सचेत हुनुपर्छ । मोटरसाइकल चालक र पछाडि बस्नेहरुले थप १६ ओटा बुँदाहरुलाई ध्यान दिनुपर्छ । पढ्नुहोस् ट्राफिक इन्स्पेक्टर हाछेथुका २५ टिप्सः  

बसमा यात्रा गर्दाः 
– कुन बसमा यात्रा गर्ने हो, त्यो बसको कन्डिसन थाहा पाउनुपर्छ । गाडी बिग्रेको हुनसक्छ, बस पुरानो हुनसक्छ । 

– बसमा यात्रा गर्दा झ्यालबाट शरीरको अंग निकाल्नु हुँदैन । केही दिनअघि बसबाट टाउको निकाल्दा नारायणघाटमा दुर्घटना भएको थियो । 

– छतमा कहिल्यै पनि यात्रा गर्नु हुँदैन ।

– झुन्डिएर यात्रा गर्दा तल भुँइमा खस्न सक्ने खतरा हुन्छ । 

– चालकले गाडी चलाएको कन्डिसन हेरेर मापसे गरेको नगरेको थाहा पाउनुपर्छ । मापसे गरेको शंका लागेमा प्रहरीलाई खबर गरौं ।  

– धेरै गाडीहरुले बिहान काठमाडौंबाट लगेको प्यासेन्जर डेस्टिनेशनमा छाडेर राती नै काठमाडौं फर्कनुपर्ने भन्दै तीब्र गतिमा गाडी चलाउँछन् । चालकले तीब्र गतिमा गाडी चलाएमा यात्रुहरु आफैंले बिस्तारै चलाउन आग्रह गर्नुपर्छ ।

– करिब २ घण्टा गाडी चलाएपछि केहीबेर रोकेर आराम गरेपछि मात्र गाडी चलाउनुपर्छ । त्यसमा चालक सचेत हुनुपर्छ । 

– यात्रुहरुले धेरै सामाना लिएर जाँदा आभेरलोड हुनसक्छ । सकभर सामान थोरै बोक्नुपर्छ । 

– चाडपर्वमा धेरैले रिजर्भ गाडी लैजाने गरेको पाइन्छ । आफूले रिजर्भ लाने बस, मिनीबसको चालक अर्कै रुटमा चल्ने भएमा उनीहरुलाई बाटोको अवस्था, खाल्डाखुल्डी लगायतका विषयमा जानकारी हुनुपर्छ । जानकारी नभएको चालक भएमा आफैंले जानकारी गराउनुपर्छ ।  

मोटरसाइकलमा यात्रा गर्दाः 
–पन्जा, ज्याकेट र बाक्लो लुगा लगाएर मोटरसाइकल चलाउनुपर्छ । 

– चश्मा, र माक्स लगाउनु भुल्नु हुँदैन । 

– मोटरसाइकलको पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनुपर्छ । 

– बच्चालाई मोटरसाइलकका अगाडिपट्टी ट्यांकीमा राखेर यात्रा गर्नु हुँदैन ।

– लेन अनुशासन पालना गर्नुपर्छ, मादक पदार्थ सेवन गर्नु हुँदैन । 

– ५० किलोमिटर मोटरसाइकल चलाएपछि एकछिन रोकेर आराम गरेरमात्र चलाउनुपर्छ । 

– मोटरसाइकलमा यात्रा गर्दा अस्वाभाविक लाग्ने ठूला ब्याग बोक्नु हुँदैन । 

– मोटरसाइकल पछाडि बस्नेले कुर्ता सलवार वा पाइन्ट लगाएर बस्दा राम्रो हुन्छ । साथै, पछाडी बस्नेले एकतार्फ नबसी मोटरसाइकलको दुबैतर्फ खुट्टा झारेर बस्नुपर्छ । 

– हाइवेमा गुड्ने अरु मोटरसाइकलसँग प्रतिस्पर्धा गरेर तीब्र गतिमा चलाउनु हुँदैन । 

– ट्राफिक छैन भनेर मापसे गर्नुहुँदैन् । ट्राफिक नभएपनि नियम पालना गर्नुपर्छ । 

– आफूभन्दा अगाडीको सवारीसँग दूरी कायम गर्नुपर्छ । 

– खतरापूर्वक ओभरटेक गर्नु हुँदैन । 

– पैदलयात्रुले अचानक बाटो काट्नसक्ने बारे सचेत हुनुपर्छ । 

–बालुवा, गिट्टी र सडकमा खाल्डाखुल्डी हुनसक्छ, जसले दुर्घटना गराउँछ । गिट्टी भएको ठाउँमा विस्तारै चलाउनुपर्छ । 

– मोबिल लगायतका चिप्लो बस्तु सडकमा पोखिएको हुनसक्छ, जसले दुघर्टना निम्त्याउँछ । 

– आफ्नो गल्तीले नभइकन अरुको गल्तीले पनि दुर्घटना हुनसक्ने भएकाले सचेततापूर्वक सवारी चलाउनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप