मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

यसरी दक्षिण–पश्चिम हिन्दमहासागरको जल–पारवाहनको भू–राजनीतिमा फसेका छन् माल्दिभ्स र सिसेल्स

बिहीबार, २५ असोज २०७५, १९ : ४३
बिहीबार, २५ असोज २०७५

आजको प्रस्तुितको बाँकी भागमा हामी माल्दिभ्स र सिसेल्सको बारेमा वर्णन गर्छौ ।  पहिले माल्दिभ्स बौद्ध बहुल राज्य थियो । १२ औं शताब्दीमा हिन्द महासागर क्षेत्र वरपरिका क्षेत्रहरुमा मुसलमानहरुको प्रभाव रहेको बेला त्यहाँका बौद्ध राजाले नै मुसलमान धर्म अंगिकार गरे । त्यसबेलादेखि यता बाँकी धर्म मान्नेहरुको त लगभग ‘क्लिन्जिङ्ग’ भयो । अहिले त माल्दिभ्सको नागरिक हुनलाई अनिवार्य इस्लाम धर्मावलम्बी हुनुपर्ने व्यवस्था छ ।  

औपनिवेशिक कालमा त्यहाँ पनि अन्य ठाँउमाजस्तै भयो । शुरुमा पोर्तुगालीहरु आएर कब्जा गरे । गोवा पनि उनीहरुले कब्जा गरेर बसेका थिए । श्रीलंका पनि पोर्तुगालीहरुले कब्जा गरेका थिए ।  सबै युरोपेलीहरु व्यापारको लागि समुन्द्रबाट भारत आउने बाटोको खोजीमा थिए । त्यो बेला समुन्द्री जहाजहरुमा सटिक दिशा पत्ता लगाउने प्रविधिको अभावमा कोही कता पुगे अनि कोही कता । 

कोलम्बस् क्यारेबियन तिर पुगे । उसले त्यसैलाई भारत ठान्यो, पछि त्यो वेस्ट इण्डिज भयो । डचहरु इण्डियन भनेर गएको इण्डोनेशिया पुगे । त्यसको डच इण्डिज नाम रह्यो ।  भारत वर्ष भनिने मूल इण्डियामा भने पोर्तुगिजहरु पहिले पुगे । उनीहरुले भारत वर्षको विभिन्न स्थानहरु कब्जा गरे । तर यहाँको ठूलो भागमा भने इष्ट इण्डिया कम्पनीको नाममा ब्रिटिशहरुले कब्जा गरे । 

त्यसपछाडि माल्दिभ्सलाई पनि पोर्तुगाली पछि डचले कब्जा गरे । सन् १७९६ मा डचहरु पनि ब्रिटिशहरुको खेदाईमा परे ।  महत्वपूर्ण रुटमा पर्ने भएकाले माल्दिभ्सले इतिहास देखिनै यस्तो कहर भोग्नु पर्यो । अहिले त माल्दिभ्स भारतीय सुरक्षा छाता अन्तर्गत बस्छ । उसको आफ्नै सेना पनि छैन । 

बेलायतको उपनिवेशबाट स्वतन्त्र भएपछि आधुनिक समयमा पनि त्यहाँ त्यतिकै ठूला खेलहरु भए । राष्ट्रपति हुनको लागि एउटाले अर्कोलाई ‘कू’ गर्छ । अर्कोले अर्कोलाई ‘कू’ गरेको छ । कहिले दुईटा राष्ट्रपति भएका छन् । हैरान भएर मोहम्मद गयुम आए, पछि ३० वर्ष शासन स्थिर रह्यो । बीचमा एकपटक ‘कू’को प्रयास हुँदा भारतको सहयोग पाएकाले उनलाई हटाउन सकेनन् ।  

अहिलेसम्म पनि माल्दिभ्सको यो स्थिति छ । हुनत, माल्दिभ्समा चीनको लगानी पहिलेदेखि भएको हो तर यामिन राष्ट्रपति भएपछि त्यसमा बृद्धि भयो । यो चारलाख जनसंख्या मात्र भएको ठाउँमा अढाई अर्ब डलर चिनियाँ लगानी छ । माल्दिभ्सको ऋण अनुपात कूल ग्राहस्थ उत्पादनको ५०% भन्दा बढी छ । त्यसलाई ‘डेब्ट ट्राप’ भन्छन् । यो एउटा देशको लागि आर्थिक रुपले गम्भीर कुरा हो । 

टाउकामा टिक्रा फोर्ने चीन छँदैंछ तर सामाजिक व्यवस्थापनमा त चीन निक्कै कमजोर छ । चीनले लिन नसकेको स्थान साउदीले लिएको छ ।  दुवै मुसलमान राष्ट्र भएकाले उसलाई साँस्कृतिक रुपमा सजिलो पनि भयो । त्यसपछि नै हो माल्दिभ्समा भारतसँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने राजनीतिज्ञहरु थुनिएका । हुँदाहुँदा तिनलाई थुन्न पाइँदैन भनेर मुक्त गरिदिने न्यायाधीशलाई समेत थुनियो । 

माल्दिभ्सको आर्थिक अवस्था कमजोर छ । अब चिनियाँहरुले उसको आर्थिक समस्या बोकेर हिड्ने हो कि ? हेभेनटोटाजस्तो सम्हाल्न नसकेर पुरै माल्दिभ्स चीनलाई भाडामा दिइने होकि भन्ने हदसम्मका प्रश्नसमेत उठेका छन् । फेरि त्यसो गर्नलाई साउदी शासकहरुले पक्कै पनि दिने छैनन् । भारत पनि चुप लागेर बस्ने स्थिति छैन । 

यसरी रणनीतिक स्थानमा रहेका साना तथा कमजोर राष्ट्रहरुले आफूलाई व्यवस्थापन गर्न नसक्दा कस्तो स्थिति हुन्छ भन्ने यो पनि अर्को उदाहरण हो । स्रोत पनि छ, महत्वपूर्ण स्थानमा पनि छ, त्यही कारणले दुःख पाको पाई छ । 

त्यसपछि अर्को एकदमै महत्वपूर्ण बिन्दूमा छ, सिसेल्स । सानो देश हो यो पनि । एक लाख जनसंख्या भएको राष्ट्र हो यो ।  सिसेल्सचाहीँ मरिसस्को सिधै उत्तरमा पर्छ । यो देश भू–मध्यरेखाभन्दा थोरै दक्षिणतर्फ पर्छ । केन्याको सिधै पूर्वतिर पर्छ । लगभग माल्दिभ्स र केन्याको बीचमा पर्छ यो मुलुक । 

सिसेल्सको इतिहास पनि कम दर्दनाक छैन । पहिले फ्रेन्चहरुले लिए । फ्रेन्चहरुलाई लखेटेर ब्रिटिशहरुको अधिनस्थमा रह्यो । त्यो मुलुकले सन् १९७६ मा स्वतन्त्रता पायो । त्यसको तीन वर्षपछिनै रुसको हस्तक्षेपले समाजवादी राज्य स्थापना भयो ।  

९० को दशकमा रुसमा कम्युनिष्ट शासन ढलेपछि यहाँ पनि समाजवादी शासन अन्त्य भयो । अब त तंग्रिन्छ होला भन्ने कामना गरेका थिए । तर त्यसो हुन सकेन । रुसको प्रभाव हुँदा त्यहाँ भारतको नेभल स्टेशन बन्यो किनकि त्यो समयमा भारत र रुसको कुरा मिल्थ्यो  । 

अब अहिले त्यहाँ आएर त्यस नेभल बेसको बिरुद्ध निक्कै ठूलो विरोध भइरहेको छ ।  यो क्षेत्रमा भारत र पश्चिमाहरुको द्वन्द्व त देखियो । अब यो क्षेत्रमा भारतमाथि दबाब दिएर अथवा चीनको दबाब भारतले थेग्न नसकेर पश्चिमाहरुको गुटमा भारत लाग्ने संकेत देखिन्छ । त्यसैले यो रुटचाहीँ चोकिंग भयो भने चीनलाई अफ्ठ्यारो हुन्छ ।   किनकि चीनको धेरै सामानहरुको ओसारपसार यही बाटो भएर हुन्छ ।

फेरि चीनले आफूलाई आवश्यक तेल यही बाटोबाट लान्छ । चीनले धेरै तेल खरिद गर्ने राष्ट्रहरुमा एउटा अफ्रिकी मुलुक अंगोला पनि हो । चीनलाई पनि यो क्षेत्रमा कसरी आफ्नो नियन्त्रण बढाउने भन्नेछ । अहिलेसम्म चीनको सैन्य तैनाथी जिब्बुट्टीमा मात्र रहेको छ । तर जुन हाई सी भनिने अन्तर्राष्ट्रिय समुन्द्री इलाका छ, त्यो क्षेत्रमा सबै देशको जहाजहरु लैजान पाइन्छ । त्यहाँ त चीनले आफ्नो पनडूब्बी नै तैनाथ राखेको छ । कहिलेकाहीँ युद्धअभ्यास भएका कुराहरु  पनि अन्तर्राष्ट्रिय मिडियाहरुले कभर गरिरहेका हुन्छन् । 

अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेर भएपनि चीनले कुनै न कुनै खालको आफ्नो उपस्थिति जनाइरहेको छ । रुसले पनि यो क्षेत्रमा आफ्नो उपस्थिति जनाउन खोजिरहेको छ । व्यापार त गर्नैपर्यो । पहिल समाजवादी कालका आफ्ना सहकर्मीहरु त एक पछि अर्को ढले । माडागास्करमा पनि ढल्यो, सिसेल्समा पनि ढल्यो । अरु स्थानहरु सोमालिया र इथियोपियामा पनि ढल्यो । 

यता मध्यपूर्वमा रहेको दक्षिण यमनमा पनि ढलेपछि यो क्षेत्रमा रुसको प्रभाव बीचमा नामेटनै भयो । नयाँ किसिमले कसरी गर्ने भनेर उ सोचिरहेको छ । भारतलाई बनाउँदा पहिलेजस्तो अवस्था रहेन । उ रुसभन्दा अमेरिकातर्फ ढल्किदै गएको छ । 

यता पाकिस्तानको पनि कुरा त्यही हो । पाकिस्तानको सेनामाथि त्यहाँको राजनीतिको कुनै नियन्त्रण छैन । रुसले पछिल्लो समय यो क्षेत्रमा आफ्नो पाउ राख्नको लागि चीनसँग बैरभावपूर्ण सम्बन्ध भएका र अमेरिका परस्त नभएका राष्ट्रहरुसँग नज्दीकी खोजिरहेको छ । त्यस्तो राष्ट्रहरुमा एउटा भियतनाम पर्छ । 

उसको अमेरिकासँग त्यति नजदिकी छैन । चीनसँग त साउथ चाइना सीको स्वामित्वलाई लिएर बैमनस्यता निम्तिएको छ । अर्को भनेको भारतनै हो । अमेरिकातर्फ ढल्किएको भनिए पनि परम्परागत रुपमा भारत अमेरिका परस्त राष्ट्र होइन । चीनसँग त उसले सन् १९६२ मा लडाईंनै लडिसकेको छ ।  

यसको अर्थ भारतसँग पनि नजिक हुने प्रयासमा छ रुस । अब यी देशसँगको सम्बन्धले रुसको यो क्षेत्रमा प्रत्यक्ष सैन्य उपस्थिति त हुँदैन तर प्रत्यक्ष नभए पनि अप्रत्यक्ष सैन्य उपस्थितिको लाथि रुस भयंकर दौडधुप गरिरहेको छ ।

रुसले हिन्द महासागरमा आफ्नो प्रभावको लागि पछिल्लो समय कोमोरसको चाकरी गरिरहेको छ । उसको स्वार्थ मोजाम्बिक र तान्जानिया क्षेत्रमा भेटिएको तेल भण्डारमा रहेको छ ।  पछिल्लो समय दक्षिण अफ्रिका पनि यो क्षेत्रको क्षेत्रीय शक्तिको रुपमा उदाईरहेको छ । दक्षिण अफ्रिाकाले कोमोरसमा फ्रेन्च परस्त राष्ट्रपतिको बिरुद्ध आफ्नो सेना पठाएर जबरजस्ती अपदस्थ गराएको छ । 

सन् १९८९ को अन्त्यमा अमेरिकाले पानामामा गरेजस्तै गर्यो कोमोरसमा द.अफ्रिकाले । अमेरिकाले होण्डुरसको बेसबाट लगेर पानामाको राष्ट्रपति भवननै कब्जा गरेर एकरातमै अर्को राष्ट्रपति अपदस्थ राष्ट्रपति म्यानुयल नोरिएगालाई अमेरिका लगेर कैद गरेको थियो । जेलमा उनलाई दिइएको कैदी नम्बर ३८६९९–०७९ त्यो बेला चर्चामा आएको थियो ।

 हो त्यस्तै दक्षिण अफ्रिकाले सन् २००८ मा कोमोरसमा गर्यो । उसले सैन्य हस्तक्षेपबाट फ्रान्समा तालिमप्राप्त राष्ट्रपति कालोनेल मोहम्मद बकारलाई हटादियो ।  विश्व राजनीतिमा प्रभाव पार्न जेसुकै गर्नुपर्ने रहेछ भन्ने संस्कृति केहिदशक अघि भेदभावपूर्ण शासनबाट बाहिर आएको दक्षिण अफ्रिकाको व्यवहारबाट देखिन्छ । 

पछिल्लो समय चीनलाई हिन्द महासागरमा काउन्टर दिनको लागि एउटा गुट बनेको चिनियाँहरु आरोप लगाइरहेका छन् । चिनियाँहरुले ‘क्वाड’ भनिरहेको यो गुटमा अमेरिका, जापान, अष्ट्रेलिया र भारत छन् । चारवटा देश भएकाले अंग्रेजी नामनै ‘क्वाड’ रह्यो । यी चार देश फेरि भूगोलमा पनि चीनको वरपर रहेका छन् । 

फेरि उस्तै डर भारतीयहरुको पनि छ । उनीहरु चीनले आफूहरुलाई घेर्न ‘स्ट्रिङ् अफ पर्ल’ नीति बनाएर माल्दिभ्स, श्रीलंका र पछिल्लो समय पाकिस्तानको ग्वादरमा आफ्नो आधार बनाएको आरोप लगाइरहेका छन् ।  यी सबै गतिविधि हेर्दा यो क्षेत्र शक्ति राष्ट्रहरुको रणभूमिमा बदलिदैंछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुण कुमार सुवेदी
अरुण कुमार सुवेदी

सुवेदी भूराजनीतिक विश्लेषक हुन् । 

लेखकबाट थप