प्रहरी जनताको घरदैलोमा पुगेमात्र सरकार प्रभावकारी : प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी जनताको घर दैलोमा पुगे मात्र सरकारको काम प्रभावकारी देखिने बताएका छन् ।
६३ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ओलीले भने, ‘प्रहरी जति धेरै जनताको दैलोमा पुग्न सक्छ, सरकारको काम त्यति नै प्रभावकारी देखिन्छ ।’
तत्कालिन जनमुक्ति सेनालाई व्यवस्थापन गरेर नेपाली प्रहरी स्थापना गरेको स्मरण गर्दै ओलीले प्रहरीलाई उत्तरदायित्व वहन गर्ने वातावरण तयार गर्न आफू प्रतिबद्ध रहेको जिकिर गरे ।
उनले आतंकवाद, अन्तरदेशीय अपराध जस्ता नयाँ सुरक्षा चुनौति दिन प्रतिदिन बढेको बताउँदै प्रहरीलाई समयसापेक्ष प्रविधिले सुसज्जित गर्न सरकारको ध्यान गएको जिकिर पनि गरे ।
‘संघीयता कार्यान्वयनमा प्रहरील देखाएको तत्पतरा सहरानीय छ,’ प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब संघीय प्रहरी ऐन अविलम्ब जारी गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्नसक्ने वातावरण निर्माण गर्न आफू कटिबद्ध रहेको बताए ।
उनले राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका लागि सञ्चालित मिसनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको छ ।
‘सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले मुलुकको आन्तरिक सुरक्षामा खेलेको भूमिका प्रशंसायोग्य छ’, उनले भने । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई थप व्यावसायिक बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले तथ्याङ्कअनुसार प्रहरीले ९० प्रतिशत घटनाको सफलतापूर्वक ढङ्गले अनुसन्धान गरेर अभियुक्त पत्ता लगाए पनि यसलाई पर्याप्त मान्न नसकिने बताए । ‘तथ्याङ्कले राम्रो अनुसन्धान गरेको देखाए पनि एउटा संवेदनशील मुद्दामा तपाईहरु यदि असफल हुनुभयो भने यसले पुर्याउने चोटलाई सजिलै भरपुर गर्न सकिँदैन,’ उनले भने ।
उनले प्रहरीलाई व्यावसायिक र सुदृढ सङ्गठन बनाई विदेशस्थित नेपालका विभिन्न दूतावासमा राख्ने जनशक्ति व्यवस्थापनमा नेपाल सरकार गम्भीर रहेको बताए । सङ्घीयता कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिका मुलुक र जनताका लागि महत्वपूर्ण भएको उनको भनाइ थियो ।
मुलुक सङ्घीयतामा गएसँगै प्रहरी सङ्गठनलाई पनि सङ्घीय ढाँचाको रुपान्तरणमा लैजानका लागि आवश्यक सङ्घीय प्रहरी ऐन निर्माणमा नेपाल सरकार लागिरहेको प्रधानमन्त्री ओलीले बताए । प्रहरी आम नागरिकभन्दा पृथक र उदाहरणीय हुनु जरुरी रहेको उनको भनाइ थियो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमूना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको बताए । ‘हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ, घटनाको अनुसन्धानका लागि समय र धैर्यता आवश्यक छ,’ उनले भने ।
महानिरीक्षक खनालले मुलुकको शान्ति सुरक्षाका लागि सबैले आआफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले दैनिक १८ घण्टा मुलुक र जनताको सेवा गरेको उल्लेख गरे ।
गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजनालाई कार्यान्वयन गर्दै आगामी दिनमा नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रधान कार्यालय लागिरहेको उनको भनाइ थियो । ६३ औँ प्रहरी दिवसका अवसरमा आज ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले राजनीतिक क्षेत्रबाट प्रहरी सङ्गठनलाई अलग राख्न सके मात्र प्रहरीले सोचेअनुसारको काम गरेर नतिजा दिनसक्ने बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले कामको सिलसिलामा यस वर्ष वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थिए । यस्तै, प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनालले वीर प्रहरीका परिवारलाई राहत प्रदान गरेका थिए ।
कार्यक्रममा यस वर्ष कार्यालय सहयोगी हरिबहादुर गुरुङ, महन्थ चौधरी, प्रहरी जवान राजकुमार आले, शेरसिंह साउद, सुशील बानियाँ, प्रदीपकुमार यादव, रामप्रसाद पौडेल, विष्णुप्रसाद न्यौपाने, प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्ना र प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामीले कामको सिलसिलामा वीरगति प्राप्त गर्नुभएको जानकारी दिए ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नी खरेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई तथा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे