शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौंको ‘भीआईपी जुवा अखडा’मा प्रहरी छापा, ४ तलाबाट हाम्फाल्दा दुईजनाको मृत्यु

शनिबार, २० असोज २०७५, ०६ : ५३
शनिबार, २० असोज २०७५

काठमाडौं - मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तला माथिबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् ।

प्रहरी अप्रेशनका क्रममा हामफालेका दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भने, ‘एक महिला सहित २३ जना पक्राउ परेका छन्, थप अनुसन्धान भईरहेको छ ।’

मुलपानी स्थित तामाङ थरका व्यक्तिको घरमा लामो समयदेखी ‘भिआईपी जुवा अखडा’ चलिरहेको सूचना पाएपछि राति १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए । प्रहरीले ताला फुटाएर जुवाखाल नियन्त्रणमा लिने क्रममा ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।

प्रहरी आएको थाहा पाएपछि अँध्यारोमा अचानक हाम्फालेका सरोज घले र सोमलाल तामाङको शुक्रवार राति नै ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो ।

बाहिरबाट च्यानल गेटमा ताला लगाएर सञ्चालन हुने उक्त जुवाघरमा मदिरा सहितको खानेकुरा सित्तैमा सर्भ गरेर जुवा खेलाईंदै आएको बताईएको छ ।

लामो समयदेखी यसरी जुवा अखडा चल्दै आए पनि महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम राईले उक्त अखडालाई संरक्षण गरेको आरोप लाग्दै आएको थियो । राईको संरक्षणमा जुवा अखडा चलेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाटै खटिएको प्रहरी टोलीले उक्त जुवा अखडामा छापा मारेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप