शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी एउटै मञ्चमा पुगे देउवा, ओली र प्रचण्ड

शुक्रबार, ०६ साउन २०७४, १७ : २७
शुक्रबार, ०६ साउन २०७४


काठमाडौं–नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेवहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामो समयपछि एउटै सार्वजनिक मञ्चमा देखिएका छन् । यो संयोग भने निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था नेपाल उद्योग परिसंघ (सिएनआई) ले जुराएको हो । 


निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था नेपाल उद्योग परिसंघको १४ औं साधारणसभाको उद्घाटन कार्यक्रममा शुक्रबार प्रधानमन्त्री देउवा, ओली र प्रचण्ड राजधानीको सोल्टी होटलमा एउटै मञ्चमा देखिएका हुन् । प्रधानमन्त्रीवाट प्रचण्डले राजीनामा गरेपछि तीन नेता एउटै सार्वजनिक मञ्चमा देखिएको यो पहिलो पटक हो । 


एमाले अध्यक्ष केपी ओली सरकारलाई माओवादीले साथ नदिने र प्रधानमन्त्रीमा प्रचण्ड आफै अघि सर्ने भएपछि एमाले र माओवादी केन्द्रबीच सम्वन्ध चिसिएको थियो । ओलीको राजीनामा पछि काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि ओली र प्रचण्ड एउटै सार्वजनिक कार्यक्रममा कमै देखिएका थिए । तर, आज प्रधानमन्त्री देउवा, ओली र प्रचण्ड लामो समयपछि एउटै मञ्चमा देखिएका हुन् ।


माओवादी केन्द्र सहितको देउवा सरकारलाई अहिले समस्या पर्दै गएको ओली–प्रचण्ड नजिक हुन सक्ने अनुमान सुरु हुदै गर्दा यो पनि अर्को संयोग बनेको हो । यद्यपि, यो राजनीतिक कार्यक्रम भने होइन । 


सिएनआईले यसअघिनै साधारणसभाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि बनाउने र दुई पूर्व प्रधानमन्त्री ओली र प्रचण्डलाई विषेश अतिथि बनाउने निर्णय गरेको थियो । दिउँसो ३ वजे ३० मिनेटमा उद्घाटन हुने भनिएको यो कार्यक्रमको उद्घाटनसभामा पूर्व प्रधानमन्त्री प्रचण्ड सबैभन्दा अगाडी पुगेका थिए । त्यसपछि केपी ओली कार्यक्रममा पुगेका थिए । प्रधानमन्त्री देउवा भने ४ वजेर १० मिनेट जाँदा सोल्टी पुगेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप