औंलानै नचल्नेले पनि यसरी गर्छन् टाईप
बुटवल– हातखुट्टा र औंला समेत चल्दैनन् । दिशा पिशावसमेत बृद्ध आमाले गराउनुपर्छ । एउटा कठिन संघर्ष । कारुणिक जीवन भोगाई । पूर्ण अपाङ्गता तर क्षमता अद्भूत । नाम हो शालिकराम खत्री । गाउँलेले दिएको उपनाम ईन्टरनेटको किरो ।
उमेर ३० बर्ष, ठेगना मुसिकोट नगरपालिका–३, तोलादी, गुल्मी । उनको आर्थिक अवस्था दयनीय छ भने स्वास्थ्य अवस्था नशा सम्बन्धि रोगले नाजुक । हातखुट्टा दुबैका औंला नचले पनि शालिकराम चिउँडोको सहाराले सपाङ्गता भएका मानिसका औंलाले भन्दा छिटो टाईप गर्छन् । इन्टरनेटका सबै सुविधा उपभोग गर्छन् ।
अनलाईन मिडिया एक्लैले चलाउँछन् । चौबिसै घण्टा अपडेटमा रहन्छन् । मध्यरातको दुर्घटनादेखि हरेक आकस्मिक घटनाको समाचार उनले रातविरात अपडेट गर्छन् । कक्षा ८ सम्म पढेका छन् । तालिम लिएका छैनन, तर समाचारमा पूर्णता छ । साहित्यिक लेखन शैली उत्कृष्ट छ ।
रेडियो कार्यक्रम ओझेलका खबरको ब्यवस्थापनसँगै कार्यक्रमकै नामबाट साईड सञ्चालन गरेर देश विदेशसम्म जिल्लाका समाचार प्रवाह गरेका छन् । तस्विरदेखि अनलाईनलाई आवश्यक सबै प्रकारका स्केच र डिजाईनिङ्ग गर्न खप्पिस छन उनी । हरेक स्टोरीको बीच–बीचमा क्याप्सन लेख्नमा दिग्गज सम्पादकहरुलाई माथ खुवाउने कला त छँदैछ ।
बाध्यता गरिबीको
उनीसँग एउटा कम्युटर, आवश्यक अन्य सामग्री, फर्निचर र कोठाको भाडा तिर्ने पैसा भइदिएको भए शहरको एउटा चोकमा बसेर पनि सजिलै जिविका चलाउन सक्ने कला छ । त्यसैलाई ध्यानमा राखी गुल्मीबाट विभिन्न मुलुकमा पुगेका नेपालीहरुले गठन गरेको गुल्मी केयर विश्व सञ्जाल नामक संस्थाले उनलाई करिब ३ लाख रकम जुटाएर पठायो । तर त्यो पैसा उनको उपचारमै ठिक भयो ।
उनी उपचार गर्न काठमाडौ पनि नपुगेका होइनन् । थप उपचारका लागि काभ्रेको एक अस्पताल पनि पुगे । अस्पतालमा महँङ्गो खर्च लाग्ने भएपछि उनी घर फर्किन बाध्य भए । अहिले पनि उनलाई बेला–बेलामा अस्पताल जान र औषधी खानु पर्छ तर उपाय छैन । हुलाकको हलकरा थिए बाबु । जसको दश बर्षअघि मृत्यु भयो । उनको साहरा बृद्धा आमा छन् । जीवन संगिनी र अन्य साथी मात्र एउटा मोवाईल फोन ।
अब्बल विद्यार्थी
साविकको बडागाउँ गाविस वडा नम्वर ८ तोलादीका मिनबहादुर खत्री र भिमकुमारी खत्रीको कोखबाट २०४६ कातिक १५ गते जन्मिएका हुन् उनी । १३ बर्षको उमेरसम्म घरबाट पौने घण्टाको बाटो हिँडेर महेन्द्र आदर्श माध्यामिक विद्यालय वामिटक्सरमा पढ्न जान्थे ।
उक्त विद्यालयका तत्कालीन प्रधानध्यापक भिमलाल सापकोटाका अनुसार शालिकराम ८ कक्षा पढ्ने बेलासम्म सपाङ्ग, फुर्तिला र अब्बल विद्यार्थी थिए । खेल र दौडमा पनि उनका दौतरी उमेरका विद्यार्थीले फेला पार्न उनलाई सक्दैनथे ।
‘१३ बर्षको उमेरसम्म यस्तो हुँला भनेर कल्पनानै गरेको थिइँन । १४ बर्षको उमेर लाग्दा अलिअलि घुँडा र औलाहरु सिरिङ्ग गर्न थाले । नशाको रोग भन्ने थाहा छ । अहिले त दिशा पिसाव हुने गरी थला परें’ उनले विगतको स्मरण गरे ।
नियतिले उनको उच्च शिक्षा हासिल गर्ने सपना पनि चुँडाइदियो । उनलाई अरु कुरामा खिन्नता छैन । बृद्ध आमाले बोकेर दिशापिशाव गराउनुपर्दा दिक्क लाग्छ । त्यसैले उनले आफुलाई ‘ज्युँदो शालिक’ भन्छन् ।
अन्धविश्वासले कष्ट दियो
नसा सम्वन्धि रोगले छोपेको रहेछ उनलाई । तर सोझासिधा बाबुआमा पूरानै जमनाको भ्रममा परे । अनि परे धामी झाँक्रीको शरणमा । तर, उनी पछि झन् थला पर्दै गए । जतिबेला अस्पताल पुर्याइयो अस्पताल र डाक्टरको क्षमताभन्दा बाहिरका बिरामी भइसकेका थिए । उपचार खर्च पनि पहुँचभन्दा धेरै माथिको भइसकेको थियो ।
केही सहयोगीको साथमा वीर अस्पतालको न्यूरो विभागमा उपचार गर्न गए । त्यसअघि लठ्ठीको सहाराले मुस्किलैले भएपनि वरपर गर्न सक्ने उनी अप्रेशनपछि जहाँ फाल्यो त्यही फालिने भए ।
छोराप्रति आमाको बिलौना
आमा भिमकुमारीलाई छोराको कलेस छ । छोराको विपद् देख्दा डाको छाड्छिन् उनी । ‘माईतीले दिएका गहना पनि सकिए । पहाडको जमिन बिक्न छाड्यो । जिउनीको टुक्रो बेचेर पनि छोरालाई बचाउन सक्छुकि भन्ने छ । तर जमिन खाइदिने कोही छैन’ उनले पीडा सुनाइन् ।
आफैंले आफैंलाई सराप्छन्
कहिलेकाही विमारले गाल्छ र उनी निराशा पोखेर स्टाटस लेख्छन् । गहभरी आँसु पार्दै भन्छन्– ‘म सबैसँग जीवनको दुहाई माग्छु । म धेरै फुर्तिलो भएर त बाँच्न सक्दिँन तर राम्रा ठाउँमा उपचार भए लठ्ठीको साहरामा बाँच्न सक्छु । कम्युटर, मोवाईल मर्मत गरेर पनि जिविका चलाउन सक्छु ।’
उनको सवैभन्दा ठुलो पीडा हो अरुले दिशापिसाव गराई दिनुपर्ने । भन्छन् ‘यो पीडाबाट म मुक्त हुन चाहन्छु ।’ उनले संसारका आफुजस्ता धेरै मान्छेहरु ह्वीलचेयरमा शानदार जीवन बिताएको देखेका छन् । तर, उनका लागि प्लाष्टिकको कुर्सीनै सबैथोक हो । ‘यसैमा बस्छु यसैमा निदाउँछु’ शालिकराम भन्छन् ।