एकै परिवारका चार दृष्टिविहिन : अँध्यारो जीवन, उज्यालो भविश्य
बुटवल–रुपन्देहीमा एउटा यस्तो टोल छ, जसमा करिब ३५ घरपरिवार बसोवास गर्छन् । टोलमा रहेको एक घरमा बाहेक अरु सबै घरमा सपाङ्ग छन् । तर, एउटा घरका चारजना सदस्य भने दृष्टिविहिन छन् ।
टोलमा ६ घरका सदस्यले स्नातकमाथि पढेका छन् बाँकी सबै घरमा बढीमा माध्यामिक तहसम्म पढेका सदस्य छन् । टोलका एकै परिवारका चारजना दृष्टिबिहिनहरु पनि उच्च शिक्षाको उकालो लाग्दैछन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका–४ रमवापुरको बस्छन् उनीहरु । भैरहवा हुँदै जानुपर्छ दृष्टि विहिनहरुको घरमा । भैरहवाबाट ११ किलोमिटर हिडेपछि वेथाडी टोल आउँछ । त्यहाँबाट पनि ५ किलोमिटर अघि बढ्दा रिल्यान्स कम्पनीको फ्याक्ट्री आउँछ । त्यही नजिकै छ– चारजना दृष्टि विहिनहरुको घर ।
परिवारका सदस्यहरु विभिन्न शहरमा अध्ययनमा भएकोले उनीहरु चारैजनाको एकै साथ तस्वीर खिच्न सकिँदैन । दशैं, तिहारजस्ता पर्वमा भने उनीहरुको जमघट हुन्छ । ६० बर्षीय गोपी बानियाँको घर हो त्यो । उनले दृष्टिविहिन मालती बानियाँलाई विवाह गरेका थिए । मालती सानो छँदा आँखा देख्थिन् । तर, केही बर्ष नपुग्दै उनी पूर्णरुपमा दृष्टिविहिन भईन् ।
विवाहपछि पहिलो सन्तानका रुपमा उनले जेठी छोरी सुनिता जन्माईन् । उनी सपाङगनै छन् । तर, २०५० सालमा अर्की छोरी अनिता जन्मिईन् ।
अनिता केही बर्षपछि आमाजस्तै अज्ञात रोगले दृष्टिविहिन भईन् । तेश्रो सन्तानका रुपमा छोरा जीवन बानियाँ जन्मिए । उनी पनि केहि बर्षपछि दृष्टिविहिन बने । चौथो र अन्तिम रहरको सन्तानको रुपमा कान्छी छोरी जन्मिईन् । उनी पनि सानैमा त्यस्तै अज्ञात रोगले दृष्टिविहिन भईन् ।
दृष्टि विहिनताले दियो भित्री उज्यालो
गोपी बानियाँको अर्थिक अवस्था कमजोर छ । सामान्य किसान परिवारका गोपीले आँखा देख्ने एउटी जेठी छोरी बिहे गरेर पठाए । अब उनको घरमा आफुबाहेक अरु सबै दृष्टिविहिन रहे ।
पाँच बर्षको उमेरसम्म करिब ५ प्रतिशत आँखा देख्ने छोरा जीवनको आँखा अप्रेशन गर्न लगियो । तर, जब अप्रेशन गरियो तब उनका आँखा सँधैका बन्द भए । दुई छोरीहरुको उपचार र अप्रेशन गर्न पनि डराए गोपी । दृष्टिविहिन भएपनि छोरा जीवन सानैदेखि निकै टाठा थिए । मेहनत गरेरै रुपन्देहीकै नेपाल राष्ट्रिय मा.वि.बाट एसएलसी पास गरे ।
जीवन कक्षा ११ र १२ को अध्ययन गर्न बुटवल आए । बुटवलको कालिका तत्कालिन उच्च माविबाट पत्रकारिता बिषय लिएर प्लस टु को पढाई पुरा गरे । त्यस अवधिमा स्थानीय रेडियोहरुमा अपाङ्गतासम्बन्धी कार्यक्रम पनि चलाउन थाले । उनलाई कम्युटर सिक्न र अझ धेरै पढ्न मन थियो तर पैसा थिएन ।
उनी आफ्नो गाउँपालिकामा गए । कम्युटर र क्याम्पस पढ्नका लागि छात्राबृत्तिको सिफारिस मागे । त्यो लिएर उनी २०७४ को असार महिनामा काठमाडांै पुगे । किर्तिपुरको एक ईन्ष्च्यिुटमा भर्ना त भए तर फि बुझाउने उपाय नभएपछि भाग्ने अवस्थामा पुगे ।
जहाँ सञ्चारकर्मी नेहा भेटिइन्
जीवन भन्छन्– ‘मैले कम्युटर सिकिरहेको स्थानमा नेपाल टेलिभिजन र मेट्रो एफएमकी प्रस्तोता नेहा शर्मा दिदी आउनुभयो । उहाँको आगमन मेरा लागि स्वरतुल्य भयो । मैले दिदीलाई पैसा सकिएर घर फर्किने कुरा सुनाएँ । मेरो कुरा सुनेपछि उहाँले सबै फि बुझाईदिनुभयो ।’
मासिक ५ हजार रुपैयाँ होस्टेल खर्च तिरिदिने नेहाबाट बचन पाए उनले । त्यसपछि जीवनलाई क्याम्पस पढ्ने आँट आयो । ‘म अहिले चोभार होष्टेलमा बसेर रत्नराज्य क्याम्पसमा बिए प्रथम बर्षको परीक्षा दिएर दोश्रो बर्षको अध्ययन गर्दैछु’ जीवनले सुनाए ।
उनले थपे– ‘उहाँका अलवा हालै नेपाल सरकारबाट उपसचिवमा नियुक्ति पाएकी नेपाल खाद्य प्रतिष्ठानकी इन्दिरा बस्नेतलगायत थुप्रै दिदीहरु र दाजुभाईको सहयोगमा म खोज पत्रकारिताको उज्वल भविश्यको यात्रामा हिँड्दैछु ।’
जीवनले रविन्द्र मिश्र, रवि लामिछाने र ऋषि धमलाजस्तै चर्चित पत्रकार बन्ने धोको रहेको सुनाए । त्यसका लागि उनले तीनैजना पत्रकारलाई भेटेर आर्शिवाद समेत लिएका छन् ।
जीवनसँगै चोभारमै बसेर किर्तिपुरको मंगल कलेजमा बिएड दोश्रो बर्षमा पढ्दैछन् उनकी दृष्टिविहिन दिदी अनिता पनि । उनलाई निःशुल्क होस्टलमा राखेर पढाएका छन होस्टल वार्डेन मोती घिमिरेले । कान्छी दृष्टिविहिन बहिनीलाई नेपाल सरकार र अन्य संघ–संस्थाले बुटवल मणिग्रामको शान्ति माध्यामिक विद्यालयमा कक्षा १२ सम्म निशुल्क पढाइँदैछ ।
हाल बानियाँ परिवारकी कान्छी छोरी कक्षा ११ मा अध्ययनसँगै कम्प्युटर सिक्दैछिन् । दृष्टिविहिन आमाले छोराछोरी हुर्काईन् । छोराछोरीसहित लठ्ठीको सहाराले हिँड्ने उनकी आमाले श्रीमानलाई खाना पकाएर खुवाउने गरिरहेकी छन् ।
तीनैजना दृष्टिविहिन छोराछोरीले कम्प्युटर चलाउन सिकेका छन् । छोराछोरीले उच्च शिक्षा हाँसिल गरेपछि उनीहरुको जीवन अँध्यारो भए पनि भविश्य उज्वल हुनेमा बिश्वस्त भएको उनीहरुका बाबु गोपी सुनाउँछन् ।