सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश ५ मा दुई विमानस्थल सञ्चालन, बाँकी ५ को अवस्था यस्तो छ

बिहीबार, ११ असोज २०७५, ०९ : ५६
बिहीबार, ११ असोज २०७५

बुटवल– ५ नम्बर प्रदेशमा सडक र सिंचाइका ठूला आयोजना जस्तै विमानस्थल निमार्णको काम पनि चलिरहेको छ । 

भएका विमानस्थलको स्तरोन्नति र नयाँ विमानस्थल बनाउन लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेकाले यस प्रदेशका बासिन्दाहरू आकास यात्राको आशमा दिन कटाइरहेका छन् । 

धेरैको चासोको विषय बनेको गौतम बुद्ध विमानस्थल भैरहवाको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । नेपालगञ्ज विमानस्थललगायत अन्य ५ वटा विमानस्थल पनि यही प्रदेशमा छन् । पहिला चलेको तर अहिले बन्द भएको दाङको तुल्सीपुर टरिगाउँ र रोल्पा विमानस्थल केही व्यवस्थापकीय पहल गरे सञ्चालन गर्न सकिने अवस्थामा छन् । यस्तै गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गत वैशाख ३१ गते भइसकेको छ । यो विमानस्थल आउँदो हिउँद महिनाबाट नियमित गर्ने तयारी भएको छ । 

अर्घाखाँचीको अर्घा भगवती विमानस्थलको निर्माण कार्य तीव्र पारिएको छ । जहाँ मैदान संरक्षण गर्ने, रुखहरू काट्ने काम सकिएको छ । 

पूर्वउपप्रधानमन्त्री एवम् नेकपा नेता टोपबहादुर रायमाझीको गृहजिल्लासमेत रहेको अर्घाखाँचीमा पनि आगामी वर्षबाट नियमित उडान गर्ने योजनासहित काम भइरहेको बताइएको छ ।

दाङको  तुल्सीपुर विमानस्थल सानो भएकाले अर्को विमानस्थल निमार्ण गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ ।

रोल्पा विमानस्थल र दाङ विमानस्थलमा अहिले जहाज उडान अवतरण रोकिएको छ । प्युठान विमानस्थलको पहिलो चरणको काम सकिएको छ ।

नेपाल नागारिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियर पुष्पराज  न्यौपानले प्रदेश ५ का सबै विमान स्थलहरूको काम तीव्र पारिएको बताए । 

टरिगाउँ विमानस्थलको विकल्प खोजिँदै 

दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल पुरानोमध्ये एक हो । तर सानो भएपछि सोही जिल्लामा अर्को विमानस्थलको खोजी भइरहेको छ । 

नेपाल नगारिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियर पुष्पराज न्यौपानले विमानस्थल सानो भएकाले नयाँ र ठूला विमान उडान गर्न नसकिएको बताए । 

नेपालका प्रायः विमानस्थलहरू पहिला पहिला चल्ने भए पनि अहिले ठूला जहाज थपिएसँगै साना हुन थालेका छन् । टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न नजिकै खाली जग्गा छैन  । इन्जिनियर न्यौपाने भन्छन् ‘दाङको विमानस्थल सानो छ, अनि ठूला जहाज पठाउन नपाउँदा साना जहाजमा काठमाडौँ आउन जान महँगो पर्छ ।’

अहिले यस्तो छ अवस्था 
टरिगाउँ विमानस्थलबाट पछिल्लो समय साप्ताहिक उडान हुँदै आए पनि केही महिनायता त्यही उडान पनि ठप्प बन्यो ।

केन्द्र सरकारले दाङको नारायणपुरमा वैकल्पिक विमानस्थल बनाउने घोषणासँगै विरोधसमेत भयो । तुलसीपुरको विमानस्थललाई ओझेलमा पारेर अन्यत्र लैजान थालेको भन्दै केही स्थानीयले विरोध गरेका हुन् ।
घोराही र तुल्सीपुर दुवैलाई मध्यनजर गरेर  नारायणपुरमा  विमानस्थल बनाउन वातावरणीय प्रभाव मूल्याङ्कनको काम भए पनि विरोध यसमा पनि छ । 

गत साता संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी नेपालगञ्जमा प्लेनबाट ओर्लिएर गाडीमार्फत टरिगाउँ विमानस्थल पुगे । त्यसक्रममा उनले दसँै अगावै टरिगाउँ विमानस्थल सञ्चालन हुने आश्वासन दिएका थिए । 

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले दसैँ अगाडि निजी कम्पनीका जहाज चलाएर भए पनि विमानस्थल सञ्चालनमा ल्याउने भन्दै जिल्लाबासीलाई आशवादी बनाएका थिए ।

मन्त्री अधिकारीले दाङ–काठमाडौँ तथा दाङ–भैरहवा हवाइसेवा सञ्चालन गर्ने बताएपछि स्थानीय बासिन्दा थप उत्साहित बने ।
तर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले टरिगाउँ विमानस्थलको भौतिक पूर्वाधार विकास गर्न नसकिने भन्दै वैकल्पिक विमानस्थल सञ्चालन नगर्दासम्म मात्रै टरिगाउँ विमानस्थल सञ्चालन हुने बताए । 

अर्घा भगवती विमानस्थलान ५ करोड बजेट
अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको २५ महिना भयो । तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेको यो विमानस्थलका लागि अहिले रूख कटानको काम सकिएको छ । सन्धिखर्क नगरपालिका वाड नं १० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको यो विमानस्थलको २०७३ साल असार १३ गते शिलान्यास भएको थियो ।

यो जिल्लाका जिल्लावासी सन्धिखर्कबाट रूपन्देहीको भैरहवामा पुगेर हावइयात्रा गर्न बाध्य छन् । 

रेसुङ्गा विमानस्थलमा हिउँदबाट उडान 
गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा गत वैशाख ३१ गते परीक्षण उडान गरियो । यहाँ अहिले पहिलो स्तरको ग्राभेल सम्पन भएको छ । २०५ किलोमिटरको हवाइ उडान यात्रामार्फत करिब ४० मिनेटभित्रमा काठमाडौँ पुगिने बताइएको छ । विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थीका अनुसार विमानस्थल निर्माणमा स्थानीयलाई मुआब्जासहित करिब १२ करोड खर्च भइसकेको छ  । रनवे, तारबार आदिको थोरै काम बाँकी भएकाले हिउँदबाट नियमित उडान भर्ने तयारी भइरहेको छ । 

स्वर्गद्वारीमा ७७ करोडको योजना 

प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी चाल्नेटार विमानस्थल निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । यो विमानस्थलका लागि रु ७७ करोड लाग्ने बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई हालै मात्र जानकारी गराएको छ ।

स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करिब ६०.७९ हेक्टर क्षेत्रफल ओगटेको छ । आयोजना निर्माणले चाल्नेटारका १२ र माथिल्लो दमारका दुई गरी १४ घरधुरीमा प्रभाव पर्नेसहित १३ घरधुरीका १०७ जना विस्थापित हुनुपर्ने मूल्याङ्कनमा समेटिएको छ । आयोजना निर्माणका क्रममा ५५.१८ हेक्टर वन अधिग्रहण गर्दा १८ प्रजातिका ६ हजार २५६ बिरुवा नोक्सान हुने वातावरण प्रभाव मूल्याङ्कन टोलीका प्रमुख डा. महेन्द्रनाथ सुवेदीले बताए ।

यस्तै ०.४ हेक्टर आवासलगायतका अन्य संरचनामा स्थायी रूपले असर पुग्ने  छ । 

स्थानीयवासी भन्छन्  ः उचित क्षतिपूति चाहिन्छ  
। वातावरण मूल्याङ्कन प्रभाव प्रतिवेदन सार्वजनिक भएसँगै आयोजनास्थलका प्रभावित बासिन्दाले उचित क्षतिपूर्तिको माग गरेका छन् । उनीहरूले विभिन्न ठाउँमा  क्षतिपूर्तिको माग गर्दै आन्दोलन जारी राख्नुका साथै क्षतिपूर्ति नपाए जग्गा नछाड्डे चेतावनी नै दिएका छन् । 

अधिग्रहण गर्दा व्यक्तिको जमिनलाई प्रतिरोपनी रु तीन लाखका दरले क्षतिपूर्ति दिइने प्रस्तावप्रति स्थानीयको असहमति छ ।  प्रतिरोपनी तीन लाखका दरले क्षतिपूर्ति दिँदा रु दुई करोड ७७ लाख पाँच हजार ६२५, पुनर्वास र पुनः स्थापनाका लागि रु तीन करोड ३९ लाख ८१ हजार ११० र क्षति हुन जाने अन्नबालीको रु ६७ हजार ६७७ गरी कूल रु ६ करोड १७ लाख ६२ हजार ४१२ खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।

रोल्पा विमानस्थल 
५ नम्बर प्रदेशको अर्को विमानस्थल हो रोल्पा । जहाँ कुनै समय विमान उडान अवतरण हुने गरेको थियो । तर व्यवस्थापकीय चासो कम हुँदा हाल उडान रोकिएका छन् ।  वरिष्ठ अधिकृत इन्जिनियर पुष्पराज न्यौपानले भने, ‘दाङभन्दा पनि रोल्पामा जहाज पठाउन व्यवस्थापीय समस्या छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप