मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सरकारसँग एक नागरिकको बकपत्र

आइतबार, ०७ असोज २०७५, १३ : ५०
आइतबार, ०७ असोज २०७५

सौगात पोखरेल

म त साह्रै भाग्यमानी देशको नागरिक रहेँछु । मेरो देशका प्रधानमन्त्रीले घरघरमा खाना ल्याइपु¥याउँछन् । अब माटोलाई मुटुमा राखेर राष्ट्रिय झण्डालाई टिसर्टमा टाँसेर ‘हे नेपाली शिर उचाली विदेशमा लम्किन्छ’ भन्दै जीविका चलाउनकै लागि विदेश उडान भर्नुपर्दैन । दुईतिहाईको सरकार बनेपछि महिनैपिच्छे सरकार बनाउने गिराउने खेलको दर्शक पनि बनिरहनुपर्दैन भनेर ढुक्क थिएँ । 

तर सोचेजस्तो नहुँदोरहेछ जीवन । हरेक दिन रोजीरोटीका लागि विदेशिनेहरूको भीड उस्तै छ । बाकसभरी पैसा ल्याउने सपना सजाएर बाकसमा लास बनेर फर्किएको युवाको परिवारको खुशी खोसिएकै छ । विकास कुरेर बसेको मेरो गाउँको अवस्था उस्तै छ । आजकाल संसदहरू गाउँ पस्दैनन् । उनीहरूलाई गाउँपस्दा पाखे भइन्छ भन्ने डर छ । काम खोज्ने कामले लखतरान परेका युवाहरूको दैनिकि पनि उस्तै छ । फेरियो त शासकहरूको मुहार शासन भने उस्तै छ । अरूबेला भन्दा यो बेलाको सरकार अलिक फरक छ । केही गर्न नसके पनि त प्रधानमन्त्रीज्यूले आफ्नो भाषणमार्फत मतदाताहरूलाई चुड्कीलासहितको सेवा प्रदान गरिरहेका छन् ।

माफ गर्नुहोस् प्रधानमन्त्रीज्यू,हामी भोको पेटलाई पटुकीले कसेर सधैँ तपाईंको चुड्किला सुनिरहन सक्दैनौँ । न सक्छौँ चन्द्रमा जाने सपना देखेर खुल्ला आकासमुनि मस्त निदाउन । भुइँचालोले घर लगेको यतिका वर्षसम्म हामी घरविहीन छौँ । तपाईं पानी जहाजको कुरा गर्नुहुन्छ, मेरी भाउजू अझै घण्टाँै लगाएर पानी लिन पँधेरो जानुहुन्छ । अब भन्नुस् म पानी जहाजको सपना देखेर पानी खान छोडिदिऊँ ? कि छाडिदिऊँ घण्टौँ लगाएर विद्यालय हिँडिरहेकी मेरी बहिनीलाई पढाउन ।

आजकाल नानीहरू घरबाट  बाहिर निस्कन डराउँछन् । उनीहरू झिसमिसेमा पँधेरोसम्म पनि जान मान्दैनन् । स्कुल कलेज छोड्न जानपर्छ । आजकाल उनीहरू बाघ भालुहरूसँग भन्दा मान्छेहरूसँग ज्यादा डराउँछन् । उनीहरूलाई सबैभन्दा ठूलो डर त यो देशको सरकारसँग लाग्छ । कुनै फिलिमले सफलता हाँसिल गरेको दिनजस्तै गरी मेरी छोरीले अपराधी लुकेको  ५५ दिन  भनेर भित्तामा लेखेकी छ । यो मेरी छोरीको अविश्वास अपराधीसँगको मात्र होइन, सरकारसँगको पनि अविश्वास हो । 

   मेरी हजुरआमाले दिनदिनै तपाईंलाई धारे हात लगाएर सराप्छिन् । अर्को चुनावमा आउलान् नि भन्दै इष्र्या पालेर बसेकी छिन् । तिम्रो विजयसँगै मेरो गाउँले नै अनेक सपना सजाएका थिए । तर आज तिनै गाउँले ‘बेहाल भयो जिन्दगी यो त्यही मोराको जालमा परी’ भन्ने गीत गाइरहेका छन् । मेरो बाले बडो श्रद्धाले  राखेको तिम्रो फोटो हिजो बहिनीले च्यातचुत पारेकी छे । आजकाल तिम्रो लागि झण्डामा डण्डा हालेर जिन्दावाद र मूर्दावादको नारा लगाउँदै हिँडेको रामे भाइ तिम्रो घोषणापत्र हेरेर छात्ती पिट्दै रोइरहेको छ । सपना देखाउनु खासमा ठूलो कुरा होइन । सपनालाई पूरा गर्न इमानदारीपूर्वक लाग्नु र आफ्नो जिम्मेवारीप्रति गम्भीर रहनु ठूलो कुरा हो । 

  म कहिलेकाही तपाईंलाई सुन्छु । तपाईंको भाषा बुझ्न खोज्छु । त्यो बेला लाग्छ के प्रधानमन्त्रीले बोल्ने भाषा यही नै हो । विभिन्न किसिमका घटनाहरूको बारेमा दिइरहने प्रतिक्रिया किन यति हलुका हुन्छ ? के हाम्रो संवेदनशीलता हराएको हो ? छोरीचेलीहरूले अपराधी पत्ता लगाउनकै लागि यत्रो आन्दोलन गर्नुपर्ने हो ? सायद तपाईंले पोखराको नमिता सुमिता हत्या काण्ड  भुल्नुभएको छैन होला । निर्मलाको हत्याकाण्डलाई पनि तपाईंहरूले नमिता सुमिता हत्यकाण्डजस्तै रहस्यमयी होस् भन्न चाहनुहुन्छ । 
होइन भने किन सरकार हत्याराको खोजीमा भन्दा आलटालमा अगाडि बढिरहेको छ । समाचारमा सुनेको थिएँ, ‘तपाईंकै अगाडि तपाईंको पार्टीको संसदले निर्मलाकी आमालाई तपार्इं अरूले उचालेर धेरै उफ्रिनुभाछ । धेरै प्रयोग नहुनुहोस् ।’ भनेर । के आफ्नो छोरीको बलत्कारपछिको हत्या पश्चात अपराधीको खोजी पाऊँ भन्नु प्रयोग हुनु हो ? देशको प्रधानमन्त्री हुनुको नाताले यी घटनाहरूप्रति संवेदशील हुनुहुन्छ ? 

अर्कोतर्फ म तपाईंको सरकार स्थापना ताकाको केही मुद्दा सम्झन्छु ।
गृहमन्त्रीले सिन्डिकेट हटाउँछुभन्दा जनताको मुहारमा खुशी छाएको थियो । जनताहरू सिन्डिकेट खारेज गराउन र सरकारको साथ दिन भन्दै केही दिन सडकमा पनि हिँडे । तर हात हाल्यो शून्य, सिन्डिकेट त हटेन । बरु गाडीमा झुण्डिन पाउनुलाई पनि पुरस्कार सम्झेर हामी झुण्डिएरै जिन्दगी चलाएका छौँ । उता सुनकाण्डको छानबिनले फेरि नयाँ आशा जगायो तर त्यसले पनि पार लगाउन सकेन ।

समयावधिमा नै काम नसक्ने ठेकेदारलाई कारवाहीको कुराले खुब चर्चा पायो तर त्यसले निरन्तरता पाउन सकेन । तपाईंहरूको निर्णयले जनतालाई सपना देखाएर पछार्नेबाहेक अर्को काम गर्न सकेन । गोविन्द केसीसम्म आइपुग्दा त तपाईंहरू स्वास्थ्य माफियाको पक्षमा खुलेर लाग्न छाड्नु भयो । गोविन्द केसीको पक्षमा बोल्ने मान्छेलाई विरोधी दलको एजेन्ट देख्न थाल्नुभयो । त्यहीँबाट तपाईंहरूको स्खलन सुरु भयो । निर्मला हत्या काण्डसम्म आइपुग्दा त तपाईंहरूलाई पूरै असफल बनाइदियो । असफल हुनुभन्दा विश्वासको मत फिर्ता हुनु मात्र पनि होइन । 

जनताहरू जब निर्मलाको हत्याकाण्डको अपराधीलाई पक्रेर कारबाहीको माग गर्दै सडकमा उत्रे अनि तपाईंले दुई चार थान कार्यकर्ता बटुलेर अरिङ्गलझैँ झम्टिन भन्नुभयो । हामीले ल्याएको गणतन्त्रमा जनतालाई बोल्ने अधिकार छैन भन्ने मलाई लाग्यो । हिजोका राजामहाराजाहरूले गर्ने व्यवहार र तपाईंको व्यवहार उस्तै लाग्यो । कि कुर्सीमा बसेपछि मान्छेले आफ्नो विगत बिर्सन्छ ? गलतलाई गलत र सहीलाई सही भन्न नपाउने हो ।

जनता सबैभन्दा सर्वशक्तिमान हुन भन्ने कुरा तपाईंले बिर्सनुभयो भने जनतालाई पनि तपाईंको गरिमालाई बिर्सन सक्छन् । प्रधानमन्त्रीजस्तो गरिमामय स्थानमा बसेर द्वन्द्व भड्काउने गरी कार्यकर्तालाई अरिङ्गाल बन्न उक्साउनुभयो भने सबै जनता आगो खोज्न निस्कन सक्छन् ।
 सचेत हुनु होला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप