शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सहिद’ अन्सारीले यसरी दिलाएका थिए इन्डियन मुजाहिद्दीनलाई नेपाली नागरिकता !

शनिबार, ०६ असोज २०७५, ११ : ०९
शनिबार, ०६ असोज २०७५

राजेश भण्डारी/एसके यादव

काठमाडौँ । सुनसरी भुटाहा–५ का खुर्सिद आलम अन्सारीलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ । तर, उनको हत्याबारे विभिन्न शंका–उपशंकाहरु कायम छन् । अन्सारीको आतङ्कवादी संगठनसँग साँठगाँठ भएकै कारणले हत्या भएको विश्लेषण गरिएको छ । 

सन् २००८ मा भारतको दिल्ली, गोरखपुर, फैजावाद, लखनउ, बनारस, जयपुर, अहमदावादमा भएको शृङ्खलाबद्ध बम विष्फोटमा संलग्न आतंकवादीहरुसँगको कनेक्सनमा खुर्सिद जोडिएको पाइएको छ । 
प्रहरी स्रोतका अनुसार खुर्सिदले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट दिलाएको नागरिकता र पासपोर्ट बोकेर ती आतंकवादीहरु दिल्ली पुगेका थिए । 

लामो समय शिक्षकको आवरणमा आतंकवादीहरुलाई आफ्नै घरमा सेल्टर दिएको खुलेपछि भारतीय सुरक्षा निकायले खुर्सिदलाई सुपुर्दगी गर्न भारतिय दूतावासमार्फत नेपाल पक्षलाई आग्रह गरेको थियो । 

तर, सत्ता र शक्तिसँग जोडिएका उनलाई सुपुर्दगी गरिएन । जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार भारतबाट आएका सादा पोशाकका प्रहरीले २०५३ सालमा उनलाई पटक–पटक पक्राउ गर्न खोजेका थिए । तर, उक्त प्रयास असफल भयो । बिहीबार भारतीय सुटरले सुनसरीमा गोली हानेर उनको हत्या गरेका छन् । 

२०६६ सालमा सुनसरी जिल्ला प्रशासन कार्यालयबाट डा. सहनवाज वादा साजिदले सहनवाज मियाँको नामबाट नागरिकता लिएका थिए । जिल्ला प्रशासन कार्याल सुनसरी स्रोतका अनुसार अबु रसिदले मोहम्मद अहमद हुसैन मियाँको नामबाट नागरिकता लिएको पाइएको छ ।

खुर्सिद अन्सारी ‘विशेष ब्यूरो’को सर्भिलेन्समा थिए, भारतले माग्दा नबुझाएपछि हत्या !

सलमान शेखले मोहम्मद फहद अन्सारीको नामबाट र मोहम्मद खालिदले इर्शाद आलम अन्सारीको नाममा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सुनसरी स्रोतले जनाएको छ । यसरी अर्काको नाममा नागरिकता लिने सहनवाज वादा साजिद र अहमद हुसेनको बुवा नरसिंहपुरका मोहम्मद समिम मियाँ बनेका थिए । इर्शाद आलम अन्सारी र फहद अन्सारीको बुवा मिसर मियाँ बनेका थिए । जिल्ला प्रशासन कार्यालय सुनसरीका एक अधिकृतको अनुसार उनीहरु समिम र मिसरका छोराहरु होइनन् ।  

मृतक खुर्सिदको रैयान नेसनल इंग्लिस बोर्डिङ स्कूलमा केही दिन शिक्षकका रूपमा काम गरेपछि उनीहरुले सुनसरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सफल भएका थिए । नागरिकता दिलाउनमा खुर्सिदको सहयोग रहेको बताइएको छ । 

यसरी खुर्सिदले नक्कली नाममा नागरिकता दिलाएकोबारे जिज्ञासा राख्दा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले उनीहरुले यहाँबाट लिएको नलिएको कुरा रेकर्ड हेरर मात्र थाहा हुने बताए । उनले भने, ‘शुक्रवार भएको कारण कर्मचारीहरु हिँडिसकेका छन्, अब आइतबार मात्र थाहा हुन्छ ।’ 

अनुसन्धानबाट खुर्सिद नागरिकता दिलाउनमा दोषी देखिए पनि जिल्ला प्रशासन कार्यालयमा उनीहरुमाथि कुनै कारवाही भएको देखिएको छैन । सहायक जिल्ला अधिकारी खड्का भन्छन्, ‘सञ्चारमाध्यममा चर्चामा आएपछि हामीले पनि खुर्सिदको बारेमा खोजविन गर्यौं तर उहाँमाथि त्यस्तो कुनै कारवाही चलाएको भेटिएको छैन ।’ 

खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सन् २००८ मा भारतमा शृङ्खलाबद्ध बम विस्फोट भएको थियो । बम विष्फोटमा संलग्न रहेकाहरुको साथमा नेपाली नागकिरता रहेको खुलेपनि भारत सरकारको आग्रहमा त्यसबारे छानविन समेत भएको थियो । छानविनका क्रममा नक्कली नागरिकताधारी समेत बम विष्फोटमा संलग्न रहेको खुलेको थियो । 

गृहमन्त्रालय स्रोतका अुनसार भारतीय रिसर्च एण्ड एनालाईसिस विङ (रअ) ले प्रहरी प्रधान कार्यालयलाई सन् २०१५ जनवरी २३ मा एउटा पत्र लेखेर यसको बारेमा छानविन गर्न आग्रह गरेको थियो । त्यसपछि गृहमन्त्रालयको सहयोगमा छानविन हुँदा चारैजनाले फर्जी नामबाट नागरिकता लिएको कुरा खुलासा भएको थियो ।

खुर्सिदले सेल्टर दिएकामध्ये सहनवाज २०७१ सालमा भारतकाे कानपुरमा समातिएपछि उनकाे साथबाट नेपाली पासपाेर्ट फेला परेकाे थियाे । त्यसपछि  भारतीय सुरक्षा निकायकाे अनुराेधमा नेपाल प्रहरीकाे विशेष ब्यूराेले यसबारे अनुसन्धान गरेकाे थियाे ।  

उनीहरुलाई आफ्नो घरमा राखेको र नागकिरता बनाइ दिएको कुरा थप प्रमाणित त्यतिबेला भयाे जतिबेला २०७४ सालमा इण्डियन मुजाहिद्दीनका अब्दुल सुभान कुरैसी र आरिज खान काठमाडाैंमा पक्राउ परे । 

नागरिकतापछि पासपोर्ट पनि प्राप्त गरेपछि उनीहरु सन् २००९ मा आतकंवादीका नेता इकबाल भटकल र रियाज भटकललाई भेट्न साउदी अरब पुगेको अनुसन्धानबाट खुलेको छ । उनीहरु त्यहाँ एक वर्षसम्म बसेर तालिम लिएका थिए । नेपाल हुँदै भारत गएका मोहम्मद फहद अन्सारी अर्थात सलमान शेख बमकाण्डका अरोपमा पक्राउ परेका थिए । अरु तीजना कहाँ गए हालसम्म खुलेको छैन । 

खुर्सीदको हत्या हुनुभन्दा चार दिन अगाडि सीमा सुरक्षा बल सशस्त्र प्रहरीले असोज १ गतेदेखि सीमा सुरक्षा कडा पार्ने निर्णय गरेको थियो । केही घटना हुने आशंकामा बैठक बसेर नै सीमा नाका कडा पार्ने निर्णय गरेको थियो । 

यसका बावजुद पनि नाकाबाट आएका बन्दुकधारीहरुले खुर्सिदको हत्या गरी पुनः त्यही बाटोबाट फरार हुन सफल भएका छन् । भारतको घुर्नामा बजारमा २४ घण्टा एसएसबीको गस्ती हुन्छ तर घटनाको समयमा त्यो दिन कोही पनि नरहेको नेपाली सुरक्षा अधिकारी स्रोत बताउँछ । 

घुरन बजारमा एसएसबीले सीसी क्यामरा पनि जडान गरेको छ । तर नेपाली सुरक्षा अधिकारीले हत्या गरी फरार भएको व्यक्तिको बारेमा जानकारी माग्दा केही जानकारी नरहेको भन्ने जवाफ दिँदै नेपाली सुरक्षा अधिकारीलाई एसएसबीले फिर्ता गरेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप