बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेवाका हाकिमले ‘अख्तियारले एनजीओलाई केही गर्न सक्दैन आयुक्तलाई मिलाउँछु’ भनेपछि...

बुधबार, ३१ जेठ २०७४, १६ : ५४
बुधबार, ३१ जेठ २०७४

काठमाडौं–गोरखाका भूकम्प प्रभावितहरुका लागि संचालित खानेपानी तथा सरसफाई कार्यक्रमका लागि हेलिकोप्टर मार्फत सामान ढुवानीका क्रममा करोडौं रुपैया भष्ट्रचार भएको अभियोगमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) पानी नामक गैरसरकारी संस्थामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गर्ने भएको छ । साथै समाजकल्याण परिषदले पनि छानविन गरिरहेको छ । 

तर उजुरीकर्ताहरुले समाज कल्याण परिषदले प्रलोभनमा परी निष्पक्ष छानविन नगर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पनि उजुरी दिएको छ । २०७३ बैशाख ९ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा नेपाल स्वास्थ्यका लागि पानी नामक गैरसरकारी संस्थाका पूर्व पदाधिकारी तथा वर्तमान कार्यसमितिका बोर्ड सदस्यहरुले उजुरी गरेका थिए । 

गत बैशाख ११ गते प्रधानमन्त्री कार्यालयले छानविन गरी जानकारी गराउन भन्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई पत्र लेखेको थियो । नेपाल स्वास्थ्यको लागि पानीका पूर्व कर्मचारी तथा कार्यकारी बोर्ड सदस्यहरुको तर्फबाट प्रधानमन्त्रीको कार्यालयमा उजुरी दर्ता भएको थियो । 


उजुरी परेपछि आवश्यक छानविन गरी शीघ्र प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउन प्रधानमन्त्रीको कार्यालय अन्र्तगतको सदाचार प्रवद्र्धन तथा भष्टाचार निगरानी शाखाका उपसचिव विनोदप्रसाद उपाध्यायले समाजकल्याण मन्त्रालयलाई अनुरोध गरेका छन् । 

संस्थाका निर्देशक उमेश पाण्डे, उनका ससुरा पर्ने सचिव मोहनप्रसाद लोहनी, कोषाध्यक्ष मुकुन्द न्यौपाने र प्रशासन प्रमुख अशोक स्वाँरले बैदेशिक सहयोगबाट नेपाली जनतालाई प्राप्त अनुदानमा गरेको भ्रष्ट्राचार, अनियमितता, पदको दुरुपयोग गरेको उल्लेख गर्दै समाज कल्याण परिषदमा उजुरी परेको थियो । तर परिषदले निष्पक्ष, स्वतन्त्र र सबै बिषयको प्रक्रियागत ढंगले छानविन नगरी प्रलोभनमा परि उनीहरुको अनुकुलता अनुसारको प्रतिवेदन तयार पार्न लागेको जानकारी आएको भन्दै आर्थिक चलखेलको आशंका थप बढेको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी गरेका थिए । 


एनजिओलाई अख्तियारले केही गर्न सक्दैन ! 
गैरसरकारी संस्थाका पदाधिकारी अख्तियारले केही गर्न नसक्ने भन्दै ढुक्क रहेको नाम उल्लेख नगर्ने सर्तमा एक उजुरीकर्ताले बताए । प्रधानमन्त्री कार्यालयमा गरेको उजुरी पत्रमा पनि एनजिओलाई अख्तियारले केही गर्न सक्दैन, अरुसँग कुरा मिलाई हालिन्छ भन्दै जसले जे मुद्धा हालेपनि कसैले केही गर्न सक्दैन भन्दै निर्धक्कका साथ अनिनियमितता र भ्रष्टाचार, अनियमितता र मनपरी गर्दै आएको उल्लेख गरिएको छ । 


साधारण सदस्य भएको ५ महिना भित्र अध्यक्ष भएका संस्थाका अध्यक्ष पिताम्बर क्षेत्रीले अख्तियारमा आफूले चिनेका आयुक्तहरु छन् डराउनु पर्दैन, परे म मिलाँउछु भन्दै हिँडेपछि उजुरीकर्ताले प्रधानमन्त्रीको कार्यालयमा उजुरी गरेका हुन् ।  


यस्ता छन् नेवामाथि भष्ट्राचारका आरोपहरु : 


-    दार्तृ संस्थालाई छल्न एउटै व्यत्तिले व्यवस्थापन र संचालन गरेका विभिन्न फर्महरु कहिले हुल ट्रेड्स, कहिले महाशक्ति एग्री एण्ड टुल्स र कहिले एकुरेट सप्लायर्सको नामबाट प्रन्ध बर्षभन्दा लामो समय देखि प्रचलित बजार मुल्य भन्दा महंगो मुल्यमा निमार्ण सामग्री खरिद गरि वार्षिक २ करोडको भष्ट्राचार गर्ने गरेको, २५ बर्ष सम्मको करिब ५ अरब भन्दा बढी बजेटबाट निमार्ण सामग्री खरिद गर्दा करिब ५० करोड भन्दा बढिको भ्रष्ट्राचार गरेको । 


-    २५ बर्ष देखि जिन्दगीभर एउटै व्यक्ति एउटै संस्थाका महत्वपूर्ण पदहरु निर्देशक र सदस्य सचिव भई पद र शक्तिलाई आफ्नो हातमा केन्द्रित गरि पदको दुरुपयोग गरेको, विभिन्न क्षेत्रको दवाव पछि हाल कार्य समितिको सदस्य सचिव पद छोडेको । 


-    उमेश पाण्डे अहिले कार्य समितिको सदस्य नभए पनि उनैले नै बैठक बोलाउने र चाहेको निर्णय गराँउने गरेका छन् । आफू टिकिरहनका लागि बिभिन्न किसिमका हत्कण्डा प्रयोग गरी आफूखुसी नियम बनाई जालझेल गर्ने गरेको । 


-    भुकम्प पीडित नेपालीको लागि संचालित खानेपानी तथा सरसफाई कार्यक्रमको हेलिकोप्टर भाडामा करोडौँको भष्ट्राचार गरेको । 


-    सामान खरिद गर्दा कोटेशन प्रक्रिया पूरा गरेको देखाई कमिसन खाने, सामान खरिद नगरी बिल बनाई खाने गरेको । तिनवटा कोटेशन मिलाउन लागाई दररेट मिलाउने गरेको । 


-    उमेश पाण्डेले गरेका अनियमितता तथा भ्रष्टाचारलाई ढाकछोप गर्न आफ्नो भ्रष्टाचारमा साथ दिन सुनयोजित तरिकाले आफू अनुकुलका निर्णयहरु गराँउन आफ्ना नजिकका नातेदार, आफन्त तथा भ्रष्ट व्यक्तिहरुलाई संस्थाको साधारण सदस्य बनाई ६ महिना भित्रमा नै उन्लाई नै संस्थाको कार्यकारी बोर्ड सदस्य बनाएको । 


-    शूरुदेखि नै सम्बन्धित क्षेत्रमा काम नगरेका र अनुभव नभएका धेरै आफन्त र नजिकका मान्छेलाई संस्थामा जागिर दिई संस्थालाई उनीहरुको निजी कम्पनी बनाएको ।


-    विज्ञापनमा सम्बिन्धित क्षेत्रमा २ वर्षको काम गरेको अनुभव भएको मागेर कुनै संस्थामा १ दिन पनि काम नगरेको, संबन्धित क्षेत्रमा केही अनुभव नभएको , विज्ञापन अनुसार योग्यता नभएको व्यक्ति गोमा वलीलाई सुआहारा प्रोजेक्टमा जागिर खुवाएको ।
-    आयोजनाका सम्पूर्ण कार्य सम्पन्न नगरी बिल बनाई दातृ निकायलाई सम्पन्न भएको भनि प्रतिबेदन पठाएको ।


-    उमेश पाण्डेले अनियमितता, भ्रष्ट्राचार गरि सोबाट अकुत सम्पति आर्जन गरेको । 

हामीले नेवामाथि परेको भष्ट्रचारको उजुरी बारेमा प्रतिक्रिया लिनका लागि इमेल गरेका थियौँ तर यो समाचार प्रकाशन गर्ने बेलासम्म कुनै जवाफ प्राप्त भएको छैन । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप