रातोपाटी समाचार प्रभाव : तमसुक जफत, जग्गा फिर्ता
गुल्मी– ‘६ हजार दिएर १० लाखको तमसुक’ शीर्षकमा रातोपाटीले प्युठान वादीकोटका रेकमबहादुर खत्रीको रकमी धन्दाको पर्दाफास गरेसँगै उनी प्रहरीको फन्दामा परेका छन् ।
उनले छिमेकी जिल्ला गुल्मी मदाने गाउँपालिका वडा नम्वर ६ पुर्कोटदहका ७८ वर्षीय वृद्ध ज्ञानबहादुर घर्तीलाई ६ हजार रुपैयाँ दिई १० लाखको तमसुक गराई १० रोपनी जग्गा भदौं ५ गते जिल्ला मालपोत कार्यालयबाट दृष्टि पास गराएका थिए ।
समाचार प्रकाशित भएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले घर्तीलाई दिनुपर्ने १० लाख रुपैयाँ नदिएको स्वीकार गर्दै जग्गा फिर्ता गर्न मञ्जुर भएका छन् ।
शनिबार ईलाका प्रहरी कार्यालय पुर्कोटदहले प्युठान झिम्रिक गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष बलदेव महतराको सक्रियतामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
वडाध्यक्ष महतराले भने–‘ ‘मैले रातोपाटीमा रेकमबहादुरको कर्तुतको खबर हेरेपछि रेकम बहादुरलाई प्रहरीमा बुझाउन सहयोग गरेको हुँ । ’
पुर्कोटदह प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रविराज थपलियासँग उनले यसबारे ढाँट्न नछाडे पछि जिल्ला प्रहरी प्रमुख दिपक कुमार बस्नेतलाई भएको रिर्पोटिङ्ग को आधारमा रेकमबहादुर, उनका मतियार पुर्कोटदहका चिन्ताबहादुर कुँवर र तकमान थापालाई सदरमुकाम तम्घास पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा पनि उनले २०६९ सालमा ती बृद्धलाई ३ लाख रुपैयाँ दिएको , २०७१ मा ४ लाख र २०७४ मा डेढ लाख दिएको जिकिर गरेका थिए ।
सोही क्रममा केही पीडित उनीमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडल समक्ष डेलिगेशन गर्न समेत पुगेका थिए ।
पौडेलले रेकमबहादुरले ठगी धन्दा चलाएको स्पष्ट भएको बताउँदै जग्गा फिर्ता गर्न लगाइने बताए । सोही अनुसार घर्तीको जग्गा सोमबार मालमोतमार्फत रेकमबहादुरले फिर्ता गरेका छन् । रेकमबहादुरले गल्ती भएकाे स्वीकार्दै अाफूले जग्गा फिर्ता गरेकाे बताएका छन् ।
यसैबीच प्रमुख जिल्ला अधिकारी पौडेलले रेकमबहादुरको घरमा रहेका सबै तमसुकहरु प्रशासनले नियन्त्रणमा लिने र उनबाट लिएको रकम भने ब्याजसहित हिसाव गरेर भुक्तानी गराउन पहल गर्ने बताएका छन् ।
उनले जोजोबाट बढी रकम असुलेका छन् त्यो फिर्ता गर्न लगाइने पनि प्रजिअ पौडेलले बताए ।
नागरिक समाजका अध्यक्ष पदम पाण्डेले घटनाबारे छानविन समिति गठन गरेर उनीबाट पीडित सबैलाई न्याय दिलाउने गरी प्रशासन अगाडी बढ्न सुझाव दिए ।