केन्द्रीय संस्करण
मिर्गौला तस्करी–२

‘जब बिहेका लागि गहना र जन्ती मागे, मैले मिर्गौला बेचिदिएँ’

person explore access_timeअसोज १, २०७५ chat_bubble_outline0

सञ्चार माध्यममा एक पटक चीनका एक युवाले आइफोनका लागि आफ्नै मिर्गौला बेचे भन्ने समाचार आयो । चीन, भियतनाम लगायतका देशबाट आउने यस्ता समाचार सुन्दै अचम्म र पत्याउन पनि गाह्रो हुने प्रकृतिका हुन्छन् । यद्यपि यस्ता समाचारबार बारम्बार आइरहन्छन् । 

मानिसका आवश्यकता र शौख जब बढ्दै जान्छन् तब उनीहरू विभिन्न हर्कत गरेरै भए पनि आफ्नो आवश्यकता पूर्ति गर्न अगाडि बढ्छन् । 

तर केही आवश्यकता यस्ता बाध्यात्मक बनिदिन्छन् कि न त्यसलाई छाड्न सकिन्छ, न त स्वीकार गर्न नै त्यति सहज हुन्छ । 

नेपालमै एउटा यस्तो घटना भयो, जहाँ विवाह गर्नका लगि एक युवकले आफ्नै मिर्गौला बेचे ।

काभ्रेको पाँचखालस्थित भिरमा एउटा सानो छाप्रो छ । यद्यपि उनीहरूका लागि यो छाप्रो नभएर घर नै हो । 

घरमा २ वटा कोठा छन् । 

एउटा कोठामा ४ जनाको एउटा परिवार बस्छ भने अर्को कोठामा ३ जनाको अर्को परिवार । 

पहिलो कोठामा ठूलोभाइ सुनुवारको परिवार बस्छ र दोस्रो कोठामा उनका सालो र उनको परिवार ।

उमेरले ३६ वर्ष लागे ठूलोभाइ सुनुवार । घरमा श्रीमती र १३ वर्षका एक छोरा छन् । छोरा कक्षा ७ मा पढ्छन् ।

खासमा ठूलोभाइको वास्तविक घर पलाञ्चोक पनि होइन । काभ्रेकै अर्को स्थानबाट बसाइ सरेर आएका हुन् उनी । यहाँ करिब २ आना जग्गा किनेर सानो छाप्रो हालेका छन् र यही छाप्रोमा आफ्नो जीवन बिताइरहेका छन् उनी । 

पलाञ्चोकमा ठूलोभाइलाई सबैले घन ठकुरी भन्छन् । फलामको काम गर्ने र ‘घन ठोक्ने’ भएकाले उनलाई घन ठकुरी भनिएको रहेछ । यद्यपि उनले घरमै फलामको काम गर्न एउटा सानो आरन पनि राखेका छन् ।

औपचारिक कुराकानी गर्दै गर्दा करिब ३५, ३६ वर्षकी एक महिला आइपुगिन् । ठूलोभाइले सुनाए, ‘उनीचाहिँ मेरी श्रीमती ।’ उनी मुसुक्क हाँसिन् । 

मैले आफ्ू रातोपाटी अनलाइनबाट आएको र पत्रकार भएको परिचय दिएँ ।

दुवै जनाले यो कुन टिभीको कार्यक्रम हो र कतिबेला आउँछ भनेर सोधे । मैले टिभी नभएर कम्प्युटर वा मोबाइलमा पढ्ने पत्रिका भएको बताएँ । नबुझे पनि उनीहरूले ‘ए !’ भनेर चुपचाप बसे । 

यसकारण बेचियो मिर्गौला

घर ठकुरी अहिले ३६ वर्ष लागे । त्यतिबेला उनी मात्र २२ वर्षका थिए । घरमा बुबा, आमा, दाजु र भाउजू पनि थिइन् ।

परिवार आर्थिकरूपमा कमजोर थियो । ठूलोभाइ त्यतिबेला कहिलेकाहीँ मात्रै काम गर्थे । त्योभन्दा ठूलो समस्या उनी धेरै रक्सी पिउँथे । 

जति कमाए पनि त्यो कमाइ रक्सीमै ठिक्क हुन्थ्यो । 

बिहे गर्ने उमेर भइसकेको थियो । एउटी केटी मन पनि परेको थियो । मन परेर मात्रै भएन, सँगै बस्न र श्रीमती बनाउन त बिहे नै गर्नुपर्यो । 

ठूलोभाइले युवतीसँग भागेर बिहे गरौं भनेर प्रस्ताव राखे । 

तर ठूलोभाइको प्रस्ताव युवतीले अस्वीकार गरिदिइन् । बिहे गर्न तयार भएको तर बिहेका लागि घरमै आएर माग्नुपर्ने कुरा युवतीेले बताइन् । 

ठूलोभाइ बिहेको प्रस्ताव लिएर केटीको घरमा पुगे । युवतीको परिवार बिहेका लागि मञ्जुर त भयो तर सशर्त । 

शर्त थियो बिहे गर्न केही गहना र जन्ती लिएर आउनुपर्छ भन्ने थियो । 

अब पर्यो आपत ।

त्यतिबेला अति सामान्य गहनासहित जन्ती लैजान पनि ४० देखि ५० हजार खर्च हुन्थ्यो । 

तर ठूलोभाइसँग त्यति रकम थिएन । 

परिवारका अन्य सदस्यले पनि ठूलोभाइलाई खासै वास्ता गरेका थिएनन् । 

दाजुको कमाइ ठीकै भए पनि दाजुले पनि वास्ता गरेनन् । 

१ लाख रुपैयाँ दिने सहमति

यहीबीचमा फेला पर्यो एक दलाल । 

ठूलोभाइले आफ्नो समस्या सुनाए । दलालले उनलाई के प्रस्ताव राखे भने एउटा मिर्गौला ‘दान’ दिनेभए करिब १ लाख पैसा आउँछ । 

दलालले उनलाई भने– मान्छेको दुईवटा मिर्गौैला हुन्छ, एउटा मिर्गौला नभए पनि केही फरक पर्दैन । तर दुईवटै मिर्गौला बिग्रियो भनेचाहिँ मान्छे मर्न पनि सक्छ । 

दलालले अझ विभिन्न व्यक्तिको नाम लिँदै फलाना फलानाले पनि मिर्गौला बेचेको छ तर मज्जाले काम गरेर हिँडिरहेको छ भन्दै दृष्टान्त पनि देखाए । 

काभ्रेमा करिब २ सय जनाले आफ्नो मिर्गौला बेचेको विभिन्न सङ्घसंस्थाको रिपोर्ट छ । उनीहरूमध्ये धेरै पाँचखाल वरिपरिका गरिबहरू छन् । 

ठूलोभाइले पहिले मिर्गौला बेचेकाहरूको अवस्था हेरे । त्यतिबेला सबै ठीकै थिए । 

यता बिहेका लागि उनीसँग् अर्को विकल्प पनि थिएन । उनी मिर्गौला बेच्न राजी भए । 

करिब १ लाख रुपैयाँ दिने सहमति भयो । 

मद्रास पुर्याएर झिकियो मिर्गौला

गाउँनजिकैको तामाङ थरका एकजना युवाले ठूलोभाइको ब्लड टेस्ट र ग्रुपिङ गराए । सबै ठीक आयो । त्यसपछि उनलाई प्रेम बजगाईंको मातहतमा रहेर काम गर्ने उक्त युवाले प्रेमकै निर्देशनबमोजिक मद्रास पुर्याए । 

मद्रास पुगेको १२औँ दिनमा उनको अप्रेसनको पालो आयो । अप्रेसन भयो र उनको एउटा मिर्गौला झिकियो अनि दोस्रो व्यक्तिलाई उक्त मिर्गौला प्रत्यारोपण गरियो । 

केही दिन अस्पताल र बाँकी केही दिन दलालले नै मद्रासमा तयार पारेको कोठामा उनी बसे । 

मिर्गौला ‘दान’ गर्ने अन्य केही व्यक्ति पनि उनीसँगै दलालको उक्त फ्ल्याटमा केही दिन बसे । 

दलालले खानपिनमा कुनै कसर बाँकी राखेनन् । 

मद्रास पुगेको एक महिनामा बल्ल उनी नेपाल फर्किए । दलालले जोसँग पैसा लिने हो उनको नाम र फोन नम्बर दिएका थिए । 

उनले काठमाडौं आएर सम्पर्क गरे । 

बानेश्वरमा दुईजना युवती स्कुटरमा आए र ठूलोभाइको हातमा ७५ हजार थमाइदिए । यत्ति दिनु भनेको छ, बाँकी कुरा आफै गर्नुस् भनिन् । 

ठूलोभाइ त्यही ७५ हजार लिएर गाउँमा फर्के । केटीपक्षको मागबमोजिम उनले सामान्य गहना र जन्ती लिएर आउने कुरा सुनाए । 

त्यसको केही समयपछि नै ठूलोभाइको विवाह भयो ।

बिहेलगत्तै उनको ठूलोभाइको बुबाको मृत्यु भयो । बचेको केही पैसा बुबाको मृत्युसंस्कारका लागि खर्च गरे ।

ठूलोभाइले मिर्गौला दिएको अहिले १४ वर्ष पूरा भयो । यद्यपि उनलाई अहिलेसम्म स्वास्थ्य समस्या नआएको उनी बताउँछन् । 

यद्यपि मिर्गौला बेच्नु गलत कदम भएको भने उनी स्वीकार गर्छन् । अहिले कुनै समस्या नभए पनि भोलि समस्या हुने हो कि भन्ने उनलाई चिन्ता छ । किनभने मिर्गौला बेचेका ३ जनालाई प्यारालाइसिस भएको र ५ जनाको मृत्यु भइसकेको उनले राम्रैसँग देखेका छन् । त्यसकारण उनी केही डराउँछन् । 

उनको छोरो अहिले १४ वर्ष लाग्यो । छोरोको पढाइ तेज भएकाले भविष्यमा केही बन्छ कि भन्ने उनलाई आशा छ । यही छोरोलाई राम्रोसँग पढाउन पाए हुन्थ्यो भन्ने चाहना छ ठूलोभाइको । 

ठूलोभाइलाई अर्को पनि बच्चा जन्माउने रहर थियो । तर श्रीमतीले एउटैलाई राम्रोसँग पाल्ने भनेपछि उनी पनि चुप भए ।

उनकी श्रीमतीले यहीबीचमा खाना पकाइन् । 

मैले सोधें, ‘कत्तिको माया गर्नुहुन्छ एकअर्कालाई ?’ ठूलोभाइ मुसुक्क हाँसे । 

‘मन पराएर, यत्रो गरेर ल्याएकी श्रीमतीलाई माया नगर्ने भन्ने त कुरै भएन नि’ ठूलोभाइ बोले ।

म ठूलोभाइकी श्रीमतीसँग पनि कुरा गर्न चाहन्थे । तर उनी तयार भइनन् । मैले थप प्रयास गरिनँ ।

ठूलोभाइकी श्रीमती फेरि कतै निस्किइन् । यहीबीचमा उनले भने– ‘श्रीमती धेरै मिहिनेती छिन् । हामीले अर्काको जग्गा पनि कमाएका छौँ । उनी त्यहीँ तरकारी तथा बाली लगाउँछिन् । उनको कमाइले घरव्यवहार चलेकै छ ।’

‘अनि तपाइँको कमाइ नि !’ मैले सोधेँ ।

मेरो कमाइ खासै राम्रो छैन । म आरनको काम गर्छु । कहिलेकाहीँ घर बनाउने स्थानमा ज्यामीको काम पनि गर्छु । अलिअलि भएको पैसाले यो घर भएको जग्गा किनेको हो । चाडबाडमा मासु खान र कपडा किन्न पुग्छ । केही पैसा रक्सीमा खर्च हुन्छ ।’

‘एउटा मिर्गौला नै नभएको मान्छेले फेरि रक्सी खान्छन् त ?’, मैले भने । 

‘के गर्नु सर, थकाइ लागेको हुन्छ । आदत बसेको छ । नखाई त केही गर्नै सक्दिनँ ।’ उनी फिस्स हाँसे ।
 
‘तपाईंलाई कहिलेकाहीँ किन मिर्गौला बेचेँ भनेर पश्चाताप लाग्दैन ?’

उनले कहिल्यै त्यस्तो पश्चाताप नभएको बताए । उनले भने । म आफ्नै रहर र बाध्यताले गएको हुँ । कसैले मलाई जबरजस्ती गरेको होइन । केटी मन परेको थियो, छोड्न सक्दिनथेँ । तर बिहे गर्न पैसा थिएन । परिवार र इष्टमित्र कसैले सहयोग गरेनन् । त्यही भएर मिर्गौला बेचेर भए पनि बिहे गरेँ । अहिले म श्रीमतीसँग खुसी छु । 

कहिलेकाहीँ डर लाग्छ, म बिरामी भइहालेँ भने चाँडै नै मर्छु कि भन्ने । एउटा सानो बलियो घर बनाउने सपना छ । त्योभन्दा ठूलो सपना छोरोलाई राम्रोसँग पढाउने र ठूलो मान्छे बनाउने छ ।

१० कक्षासम्म त सबै कुरा फ्री नै छ तर कक्षा १० पछि पाउँदैन भनेका छन् । त्यसपछि कसरी पढाउने भन्ने चिन्ता छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.