बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला बलात्कार–हत्या प्रकरण : डिआईजी बस्न्यातको नेतृत्वमा अर्को अनुसन्धान कमिटी गठन

आइतबार, ३१ भदौ २०७५, १५ : २३
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा उच्च तहबाट छानविन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अर्को कमिटी गठन गरेको छ । समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् ।

यसअघि गठन भएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी बस्न्यातलाई आन्तरिक अनुसन्धान गर्ने जिम्मा दिएको छ ।

‘यसअघि उत्तम सुवेदीको कमाण्डमा गठन भएको समितिलाई पुनर्संरचना गरिएको हो’ प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डिआईजी धिरु बस्न्यात सापको नेतृत्वमा गठन भएको समितिलाई कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीबारे छानविन गर्ने कार्यादेश दिइएको छ ।’

घट्नास्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान शुरु गरेको प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्रै एसएसपी उत्तम सुवेदीको नेतृत्वमा दोस्रो समिति गठन गरेको थियो ।

उत्तम सुवेदीको नेतृत्वमा गठित समितिलाई उच्चस्तरीय बनाउँदै गठन भएको बस्न्यात नेतृत्वको कमिटीले निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न सिआईबी लगायतको निकायबाट खटिएका अनुसन्धानकर्ताहरुको भूमिकाबारे छानविन गर्नेछ ।

‘कञ्चनपुर घट्नामा प्रहरीको भूमिकाको सम्बन्धमा विस्तृत छानविन र प्राविधिक अनुसन्धान गर्नका लागि यो कमिटी बनेको हो’ प्रहरी प्रवक्ता क्षेत्रीले भने, ‘गृह मन्त्रालयबाट निलम्बित ६ जनासहित कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न सबै तहका प्रहरी कर्मचारीले खेलेको भूमिकाबारे अनुसन्धान हुन्छ ।’

बस्न्यात नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ । 

कञ्चनपुरका तत्कालिन एसपी विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घट्ना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेका थिए । ब्यूरोको टोलीले अनुसन्धानपछि सार्वजनिक गरेका ४९ वर्षीय दिलिपसिंह विष्ट बलात्कारमा संलग्न भएको बारे स्थानीयले विश्वास नगरेपछि कञ्चनपुरमा जारी आन्दोलनले उग्ररुप लिएको थियो ।

अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्यूरोको साख निर्मला बलात्कार प्रकरणमा खस्किएको छ । एउटै घट्नाले प्रहरी संगठनप्रति नकारात्मक छाप परेपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अधिकारी माथिनै छानविन थालेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप