शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

ओजोनको भ्वाङ र जीवन सम्यक पृथ्वीको भविष्य

आइतबार, ३१ भदौ २०७५, १४ : २९
आइतबार, ३१ भदौ २०७५

महान वैज्ञानिक स्टिफन हकिन्स् जीवनको अन्तिम कालतिर मनुष्यको भविष्यलाई लिएर चिन्तित देखिन्थे । आफ्ना पूर्वधारणा परित्याग गरी उनी अन्य कुनै ग्रह वा उपग्रहमा मानव बस्ती बसाउने चिन्तनमा निमग्न भएका थिए । 

आजसम्म चन्द्रमा (पृथ्वीको एक मात्र उपग्रह) मा बाहेक अन्य कुनै पनि ग्रह–उपग्रहमा मानव पाइलाले टेकेको छैन । हाम्रो सौर्यमण्डलका चारवटा ग्रहमा मात्र पृथ्वीजस्तो ठोस धरातल छ । पृथ्वीबाहेक अन्य तीन हुन्, बुध, शुक्र र मङ्गल ।

बाँकी सबै ग्रहमा ठोस धरातल छैन, सबै ‘ग्यासीय दानव’ हुन् । ग्यासीय दानव ग्रहहरूमा मानव बस्ती बसाउन सक्ने कुरै भएन, ठोस धरातल भएका बुध र शुक्रमा पनि मानव बस्ती बसाल्ने कल्पना वैज्ञानिकहरूले ‘डस्टबिन’मा फालिसकेका छन् । 

सौर्यमण्डलभन्दा बाहिरको कुनै स्थानको कल्पना गर्न पनि अहिलेको विज्ञानलाई कम्तीमा ५० वर्ष कुर्नुपर्ने हुन्छ । 

त्यसैले पृथ्वीबाहेक ‘मानव बस्ती बसाउने’ रमाइलो चर्चा गर्न पनि विकल्प अति न्यून छन्, पृथ्वीको चन्द्रमा र मङ्गल ग्रह मात्र । अति आशावादीहरूले बृहस्पति ग्रहका ६६ वटा चन्द्रमामध्ये आयो र युरोपा तथा शनि ग्रहको ६२ वटा चन्द्रमामध्ये रिया र टाइटनलाई पनि चर्चामा समावेश गर्छन् । 

मङ्गल ग्रह र चद्रमामा बस्ती बसाउने पनि गफ मात्रै हुन् । तपाईं बसेको पृथ्वी सामान्य ग्रह होइन । खर्बौं खर्ब संयोग र अर्बौं वर्षको प्राकृतिक परिवर्तनले यो जीवन हुर्किनका लागि अनुकूल भएको अजोडा ग्रह हो । मङ्गल वा चन्द्रमामा जीवन हुर्किने वातावरण छैन । हो, स्पेस सुट लगाएर वा स्पेस सुटजस्तै डोम (स्पेस सुटमा हुने सबै सुविधा सम्पन्न डोम) बनाएर मानिस केही दिन बाँच्न सक्छ । 

पृथ्वीमा जीवन छ, मानव मात्र जीवन होइन । तपाईं आफ्नो चारैतिर जे हेर्नुहुन्छ, सबै नै जीवन हो । अहिले त वैज्ञानिकहरू नै भन्छन्, ‘पृथ्वीमा जीवन हुनलाई एकका पछाडि  ‘२७ शून्य’ राखेर जुन सङ्ख्या बन्छ, त्यति संयोग जुटेर सम्भव भएको हो । 

तपाईंलाई आश्चर्य लाग्न सक्छ, यति सङ्ख्यामा त पृथ्वीभरिका समुद्र तटमा बालुवाका कण पनि छैनन् । यो सङ्ख्या ब्रह्माण्डभरि रहेका ताराहरूभन्दा पनि बढी हो । 

पृथ्वीभरिका झण्डै तीन लाख समुद्र तटमा झण्डै ४ का पछाडि २१ शून्य अङ्क सङ्ख्यामा मात्र बालुवाका कण रहेका छन् । 

क्याम्ब्रिज युनिभर्सिटीका प्रो. गैरी गिरमोरका अनुसार ब्रह्माण्डमा अर्बौं आकाशगङ्गा रहेका छन् । अर्बौं आकाशगङ्गामा २ का पछाडि २२ शून्य अङ्क सङ्ख्यामा तारा रहेका छन् । (ब्रह्माण्डको विशालताको विस्तृत चर्चा अर्को कुनै लेखमा गरौंला ।) 

अहिले भने प्रवेश गरौँ, आजको मूल विषयको ‘चियोचर्चोतिर ।

पृथ्वीमा जीवन छ, किनभने पृथ्वीमा जीवन उपयुक्त सम्यक वातावरण छ । पृथ्वी सतहबाट ८ देखि १४.५ किलो मिटरसम्मको वातावरण सबैभन्दा घना हो । यसलाई ‘ट्रोपोस्फेयर’ भनिन्छ ।

 बस्, यही सीमानासम्म पृथ्वीमा जीवन सुगम छ, जति जति उचाइ बढ्यो, यो सुगमता घट्ने क्रम प्रारम्भ हुन्छ । ८८४८ मिटर अग्लो सगरमाथा शिखरमै जीवन सहज हुन्न । यसभन्दा माथिको कल्पना आफैं गर्नुस् । 

 ट्रोपोस्फेयरपछिको अर्को वातावरणीय तह (झण्डै ५० किमि माथिसम्म) लाई स्टाट्रोस्फेयर भनिन्छ । यसपछि मेसोस्फेयर (८५ किमि), थर्मोस्फेयर (६०० किमि), आयनोस्फेयर (९६५ किमि) र  एक्जोस्फेयर (१०००० किमि) रहेका छन् । 

वास्तवमा आजको चर्चाको विषय छाता हो भन्न सकिन्छ । हामीलाई पानी पर्दा, घाम लाग्दा सुरक्षार्थ छाता आवश्यक हुन्छ । त्यस्तै पृथ्वीलाई पनि आफू र आफ्ना सन्तति सुरक्षित राख्न छाता चाहिन्छ । पृथ्वीसँग यो प्राकृतिक छाता छ, जुन हाम्रो जीवन सम्भव, सहज र निर्वाध रहनुको प्रमुख कारकमध्ये एक हो । 

पृथ्वीको वातावरणको दोस्रो तह स्टाटोस्फेयरसम्म यो छाता फैलिएको छ । यसलाई नै ओजोन लेयर भनिन्छ । 

ओजोन लेयर 
केही पाठकलाई ओजोनबारे संज्ञान नभएको हुन सक्छ । बुझ्नुस्, यो निलो रङको एउटा ग्यास हो । 

सामान्यतया पृथ्वीको धरातलबाट १० किलोमिटर देखि ५० किलोमिटर माथिसम्म रहेको यो ग्यासले पृथ्वीको पृथ्वीको जीवन सम्यक वातावरणको सुरक्षा गर्छ । 

कोबाट सुरक्षा ? 
पाठकवृन्द, यस महाप्रकृतिमा जीवन र मृत्युको स्रोत हामीले फरक फरक ठाने पनि सत्य हामी जनसामान्यको बुझाइभन्दा धेरै भिन्न छ । ओजोन लेयरले सूर्यबाट  हाम्रो सुरक्षा गर्छ । सूर्य, जसलाई हामी हाम्रो जीवनको पर्याय ठान्छौं– जीवनका अनेक तत्वसँगै मृत्युरूपी अनेक रेडिएसन सप्लाएर पनि सूर्य नै हो । 

सूर्यबाट आउने घातक रेडिएसन पराबैजनी किरण (अल्ट्राभाइलेट रेज)लाई रोक्ने काम यसै ओजोन लेयरले गर्छ ।

अचम्मित नहुनु होला, ओजोन अक्सिजनकै अर्को रूप हो । भनौं, अक्सिजनकै परिवर्तित वा संशोधित रूप ।

अक्सिजन तत्व ‘ओ’ (O) का दुई परामणु मिलेर ‘ओ२’ (O2) अक्सिजन ग्यास बनाउँछ भने तीन परमाणु मिलेर ‘ओ३’ (O3)  ओजोन ग्यास बन्छ । ओजोन लेयरले सूर्यबाट आउने झण्डै ९९ प्रतिशत यूभी रेज अवशोषित गरी बोट–विरुवा, जीवजन्तु, मनुष्यका लागि सुरक्षा कवचको काम गरेको छ । 

अब हेर्नुस् त, ओजोन ग्यास कस्तो ठिक्क ठाउँमा छ । यो ग्यास पृथ्वी धरातलको नजिक भए विष सरह हुने थियो । तर माथिल्लो भागमा ओजोन नभइदिए हाम्रो सुरक्षा हुने थिएन । वायुमण्डलमा ओजोनको उपस्थिति अन्य ग्यासको तुलनामा अत्यन्त न्यून छ, प्रति १० लाख अणुमा जम्मा १० अणु ओजोनका हुन्छन् ।

ओजोन बन्छ कसरी ? 
यसरी बुझ्नु– पृथ्वीको माथिल्लो सतहमा रहेको अक्सिजन ग्यास ओ२ (O2) माथि जब  यूभी रेजको प्रहार हुन्छ, त्यसबेला ‘ओ२’ (O2) दुईवटा नयाँ ‘ओ, ओ) (O, O)  परमाणुमा विखण्डित हुन्छ । 
O2 + Uv\ light = O + O

यी बनेका अक्सिजनका दुईवटा परमाणुले तीव्रतासाथ अक्सिजन ग्यास ‘ओ२’(O2) सँग संयोजन गरी ओजोन ‘ओ३’ (O3) बनाउँछ ।  o + O2=o3


ओजोन कमजोर र अस्थिर ग्यास हो । ओजोनमाथि परेको यूभी रेजले ओजोन विखण्डित हुन पुग्छ । परिणामस्वरूप O र O2 मा विभाजित हुन्छ । यो चक्रीय परिक्रिया निरन्तर चलिरहन्छ र स्टाट्रोस्फेयरमा सतत बन्दै, पुनः नष्ट हुँदै फेरि आकार ग्रहण गर्दै ओजोनले यूभी रेजलाई हामीसम्म आइपुग्नलाई रोकिदिन्छ । 

O3 + Uv\ Light = O+O2
चक्र घुमाउनुस्
O2 + Uv\ Light = O+O
पुनः
O+ O2 = O3
पुनः पुनश्चः
O3 + Uv\ Light = O + O2
ओजोन लेयरले मनुष्य मात्र होइन, जीवजन्तु, वनस्पति, खाद्यशृङ्खला, कहाँसम्म भने पदार्थलाई पनि अल्ट्राभायलेट रेडिएसनबाट जोगाउँछ । 

ओजोनको खोज 
ओजोन लेयरको खोज सन् १९१३ मा फ्रान्सका दुईजना भौतिकशास्त्री फैबरी चाल्र्स र हेनरी बुसोनले सर्वप्रथम गरेका हुन् ।  

ओजोन लेयरबारे विस्तृत अध्ययन अनुसन्धान गर्ने श्रेय भने बेलायतका मौसमविज्ञानी जीएमबी डोब्सनलाई प्राप्त छ । उनले एउटा उपकरण स्पेक्ट्रोफोटोमिटर बनाए, जसको सहायताले स्ट्राटोस्फेयरमा रहेको ओजोन मापन गर्न सम्भव बनायो । 

डोब्सनले सन् १९२८ देखि १९५८ को समयावधिमा संसारभरि नै ओजोन मापन गर्ने निगरानी केन्द्रको सञ्जाल खडा गरे । अहिलेसम्म यी निगरानी केन्द्रले कार्य गरिरहेका छन् । ओजोनको मात्रा मापन गर्ने युनिटको नाम नै डोब्सनको सम्मानमा डोब्सन युनिट राखिएको छ । 

भ्वाङ प-यो सुरक्षा कवचमा :
सन् १९८१ मा पहिलो पटक अन्टार्कटिकाको माथिल्लो वातावरणमा रहेको ओजोन लेयरमा प्वाल परेको घटना प्रकाशनमा आयो । 

पृथ्वीको यस स्थायी सुरक्षा चक्रबारे विश्व समुदाय चिन्तित बन्यो । ओजोन लेयर संरक्षणको सचेतता सन् १९८७ देखि थालनी ग¥यो । यसलाई मोन्ट्रियल सम्झौता भनिन्छ । 

क्यानाडाको मोन्ट्रियल सहरमा ३३ राष्ट्रले गरेको यस सम्झौतामा अहिले झण्डै एक सय ९० देशले हस्ताक्षर गरेका छन् । नेपालले सन् १९९४ नै यस सम्झौतामा हस्ताक्षर गरेको थियो । 

सम्झौतास्वरूप सहभागी राष्ट्रहरूले आआफ्नो देशमा ओजोन लेयरलाई हानी पु¥याउने रासायनिक पदार्थहरूको उत्पादन र तिनको प्रयोगमा कमी गर्दै लैजाने वचनबद्धता जाहेर गरेका थिए । 

२३ जनवरी १९९५ का दिन संयुक्त राष्ट्रसङ्घको महासभाले  यसप्रति जागरुकता ल्याउने हेतुले १६ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय ओजोन दिवसका रूपमा मनाउने प्रस्ताव पारित ग¥यो । 

तर १० वर्षपछि, सन् २००५ मा आर्कटिक क्षेत्रमा २४० लाख वर्ग किलोमिटर क्षेत्रफलमा ‘ओजोन लेयर’ क्षय भएको पाइयो । यो झण्डै युरोपको क्षेत्रफल बराबर हो । 

सेप्टेम्बर २००६ को सर्वेक्षणअनुसार अन्टार्कटिका माथिको ओजोन लेयरमा ४० प्रतिशत ह्रास रहेको पाइयो । यसलाई ओजोन भ्वाङ भनियो ।  

संयुक्त राष्ट्रसङ्घले सन् २०१० सम्म ओजोन् फ्रेन्डली वातावरण बनाउने लक्ष्य निर्धारण गरेको थियो तर त्यो लक्ष्य पूरा हुन सकेन । 

प्रधानमन्त्रीको भाषणमा पनि भ्वाङ 

विज्ञान विषयक लेखमा सान्दर्भिक नभए पनि हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम उल्लेख नगरी रहन सकिनँ । गत वातावरण दिवसमा उहाँको भनाइ थियो, ‘हामीले के वातावरण बिगारेका हौं र ? यो त सबै विकसित पश्चिमा मुलुकको काम हो । हामी त यसो चार गेडा मकै पोलेर खाने... ।’

प्रधानमन्त्रीज्यू, तपाईंले दिनहुँ सेवन गरेका औषधिका ¥यापर कसरी व्यवस्थापन हुन्छन् ? पानीका बोत्तल, कान कोट्याउने बड्स, पुराना ‘टुथब्रस, टुथपेस्टका खाली खोललगायत अन्य प्लास्टिक सामग्री कसरी व्यवस्थापन हुन्छन् ?

तपाईंले प्रयोग गर्ने रेफ्रिजेरेटर, एसीलगायत थुप्रै विद्युतीय उपकरणले वातावरणमा प्रतिकूल असर पारिरहेका हुन्छन् । प्रधानमन्त्रीलाई सबै विषयबारे ज्ञान हुनुपर्छ भन्ने आशय होइन । आशय यत्ति मात्र हो, प्रधानमन्त्रीको भाषणमा भ्वाङ पर्न हुँदैन । प्रधानमन्त्रीले सार्वजनिक रूपमा बोलेका कुरा मजाक बन्नु हुँदैन । विज्ञान विषयका विज्ञलाई सल्लाहकार टोलीमा थपे हुन्छ नि !

प्रधानमन्त्रीज्यू, हामीले प्रयोग गर्ने फ्रिज र एसीमा प्रयुक्त क्लोरा फ्लोरा कार्बन (सीएफसी) क्लोरिन, फ्लोरिन तथा कार्बनको यौगिक हो । यूभी रेजले वायुमण्डलमा पुगेको सीएफसीलाई विखण्डन गरिदिन्छ । सीएफसी विखण्डन भएर क्लोरिन र फ्लोरिनमा परिणत हुन्छ । क्लोरिन र फ्लोरिन दुवैले ‘ओजोन लेयर’लाई नष्ट गर्छन् । अचम्म नमान्नु होला, क्लोरिनको एक परमाणुमा एक लाख ओजोन अणु नष्ट गर्ने क्षमता हुन्छ । 

ओजोन नष्ट गर्नमा नाइट्रस अक्साइड ग्यासको पनि ठूलो भूमिका रहन्छ । यो ग्यास नाइनल उद्योगबाट प्रचुर मात्रामा उत्सर्जन हुन्छ । भौतिक सम्पन्नताको वर्तमान युगमा मान्छेले प्रयोग गरेका अनेक विलासिताका सामानका रसायनले ओजोन लेयर नष्ट गरिरहेका छन् । 

केही उद्योगले क्लोरिनको सट्टा ब्रोमिनको प्रयोग गर्न थालेका छन् । ब्रोमिन क्लोरिनभन्दा सयौं गुना हानिकारक प्रमाणित भएको छ, ओजोन लेयरका लागि । 
सरसफाइमा प्रयोग हुने अर्को रसायन कार्बन टेट्राक्लोराइडले पनि ओजोन लेयर नष्ट गर्छ । विश्वमा बढ्दो आणविक विष्फोट नाइट्रोजनमुक्त मलखाद, सुपरसोनिक विमानबाट पनि पृथ्वीको प्राकृतिक छातामा हानि पुग्छ । 

ओजोन बचाउन हाम्रो भूमिका के ?
हामी मानवले आफ्नो सजिलो, सुख, स्वार्थ, अर्थोपार्जन एवं विभिन्न अन्य कारणले ओजोन लेयर नष्ट गर्ने हानिकारक ग्यास र रसायनहरूको प्रयोगमा पावन्दी लगाएनौँ । 

ओजोन लेयर संरक्षणमा साँच्चै जागरुक हुने हो भने तपाईं हामीले पनि व्यक्तिगत तवरबाट समेत सहयोग पु¥याउन सक्छौँ । 

घरमा थन्केका पुराना रेफ्रिजेरेटर, एसीलाई राम्ररी डिस्पोज गरौं । यी उपकरणमा रहेका सीएफसी कम्पे्रसरबाट ग्यास सोझै वातावरणमा पुग्न नपाओस् । 

नयाँ रेफ्रिजरेटर वा एसी किन्ने बेलामा याद गर्नुस्, ओजोन फ्रेन्ड्ली सर्टिफाइड होस् । अलिक महँगो भए पनि वातावरणको सुरक्षाका लागि सो व्ययभार तपाईं हामीले बहन गर्नैपर्छ । 

जाँच गर्नुस्, यी उपकरणका कुलिङ सिस्टमका लागि सीएफसीको सट्टा एचएफसी (Hydro Floro Carbone) को प्रयोग भएको होस् । 

फोमबाट बनेको कुशन, म्याट्रेस, सिरानी आदि बनाउनमा हानिकारक रसायनको प्रयोग गरिन्छ । अहिले ओजोन फ्रेन्ड्ली उत्पादन आइसकेका छन् । ओजोन फ्रेन्ड्ली मात्रै किनौँ । 

एयरोसेल, स्प्रे कैन्स् (जस्तैः डियोड्रेन्ट, रुम फ्रेसनर, किटनासक, पेन्ट आदि) किन्दा होस् पु¥याउनुस् । चेक गर्नुस्, सीएफसी  फ्रि छ कि छैन ? 

आफ्नै लागि हो ओजोन 
पाठकवृन्द, तपाईं पुनर्जन्ममा विश्वास गर्नु हुन्छ भने फेरि फेरि जन्मन यो धर्तीमा जीवन सम्यक वातावरण कायम हुनुपर्छ । त्यसैले ओजोनको रक्षा गर्न सचेत हुनु तपाईंको विश्वासको रक्षा हो ।

तपाईं पुनर्जन्ममा विश्वास गर्नु हुन्न भने पनि आफ्ना सन्तानलाई पक्कै माया गर्नु हुन्छ । तपाईंका सन्तानले पनि आफ्ना सन्तानलाई माया गर्छन् । यस्तो मायाको निरन्तरताका लागि समेत यो धर्तीमा जीवन सम्यक वातावरण कायम रहनैपर्छ ।

सन्तान भए पनि वा नभए पनि, तपाईं आफ्ना भौतिक, बौद्धिक कृति वा नाम यो संसारमा त राख्न चाहनु हुन्छ नै ! ती कृति परख गर्ने मान्छे नै यो धर्ती भएनन् भने त्यसको के अर्थ ? त्यसैले यो धर्तीमा जीवन सम्यक वातावरण कायम राख्न तपाईं सचेत हुनै पर्छ । 

हैन, यो संसारमै एकका पछाडि  २७ शून्यसहितको सङ्ख्याका संयोग जुटेर सम्भव भएको अजोडा पृथ्वीको जीवन सम्यक वातावरण भत्काउने भिलेन नै बन्न चाहनु हुन्छ तपाईं भने त कसको के लाग्छ र ? !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप