मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जसले गीत गाउनका लागि आफ्नै मिर्गौला बेचे, तर...

आइतबार, ३१ भदौ २०७५, १० : १५
आइतबार, ३१ भदौ २०७५

मिति : २०७५ भदौ २४ गते शनिबार
स्थान : पाँचखाल नगरपालिका १२ बालुवा
समय : मध्यान्ह १२ बजे

भदौको चर्को घाम । त्यतिबेला पाँचखाल नगरपालिका वडा नं १२ बालुवाको बाहिरी तापक्रम थियो ३२ डिग्री सेन्टिग्रेड ।

श्री आजाद उच्च माविको ठीक अघिल्तिर एउटा सानो छाप्रो छ । करिब पुगनपुग ६ फुट अग्लो जस्ताको छाप्रोमुनि एउटा अपाङ्ग युवक अस्पतालमा प्रयोग हुने बेडमाथि सुतिरहेका छन् । 

तस्बिरमा देखिएका यी युवक हुन् निरोज सुनार । उमेरले भर्खर २७ वर्ष लागे । अनुहार सुन्दर छ । कुराकानी साह्रै मीठो गर्छन् । तर दुर्गाभ्य निरोज यतिबेला हिँडडुल गर्न सक्दैनन् । कम्मरभन्दा तलको भाग चल्दैन निरोजको । प्यारालाइसिसको कारण हिँडडुल गर्न नसक्दा अधिकांश समय निरोज ओछ्यानमै हुन्छन् । बेडसोरको कारण कम्मरभन्दा तलको विभिन्न भागमा निरोजको घाउ भएको छ ।

निरोजको घरमा जे देखियो

करिब ६ फिटको उचाइ भएको जस्ताको छानामुनि र निरोजको बेडबाट छानोसम्मको दूरी करिब ३ फिट मात्रै छ । जसको कारण तातो घाममा फ्यान चलाएर निरोज सुतिरहेका थिए । 

मध्याह्न हामी निरोजको घरमा पुग्दा उनका बुवा र आमा पनि शितलता लिने प्रयास गरिरहेका थिए । मध्याह्नको चर्को घाम, त्यसमाथि जस्ताको छानो र जमिन तथा छानोबीचको दूरी पनि एकदमै कम । बाहिरको तापक्रमभन्दा बढी त भित्रकै गर्मी थियो । 

पाँचखालबाट करिब ९ किलोमिटरको यात्रा गरेर हामी बालुवा भन्ने स्थानमा पुगेका थियौँ । बनेपामा रहेकी सामाजिक अभियन्ता कृष्णप्यारी नकर्मीले हामीलाई निरोजको घरबारे जानकारी दिएकी थिइन् । त्यही जानकारी पछ्याउँदै हामी निरोजको घरसम्म पुगेका थियौँ । निरोजको फोन बिग्रिएकाले हामीले निरोजलाई सम्पर्क गर्न सकेका थिएनौँ । तर ‘लोकेसन म्याप’ पछ्याउँदै जाँदा हामी सहज ढङ्गले निरोजको घरमा पुगेका थियौँ । 

भर्खरै खाना पकाएको जुठा भाँडा पनि सानो छाप्रोभित्र नै थियो । निरजका बुबा र आमा पनि निरोजसँगै थिए । 

अपरचित मान्छे निरोजको घरमा एक्कासि पुग्दा उनीहरू पनि अलमलिए । हामीले आफूहरू पत्रकार भएको बताउँदै सामान्य भेटघाटका लागि आएको बतायौँ । 

परिस्थितिलाई सामान्य बनाउने प्रयास गर्दै हामीले आफ्नो परिचय दियौँ । मुख्यतः हामी समाचारका लागि भन्दा पनि भेटघाटका लागि मात्रै आएको भनेपछि उनीहरू पनि सामान्य बने । 

निरोजको हालको स्वास्थ्य अवस्थाबाटै कुराकानीको सुरुवात गरियो । 

‘के हुनु र सर, ५ वर्ष भयो, प्यारालाइसिस भएको । पहिले सामान्य ज्वरो आएको थियो । अस्पताल जाँदा म्यानेन्जाइटिस भएको छ भने तर म्यानेन्जाइटिसको उपचार गर्दागर्दै प्यारालाइसिस भयो । अहिले कम्मरभन्दा मुनिको भाग चल्दैन । दिसापिसाब आएको थाहा हुन्छ तर रोक्न सकिँदैन । त्यही भएर सधैँ क्याथेटर लगाउने गरेको छु ।’ निरोजले भने ।

निरोजको कम्मरमुनिको भाग नचल्दा उनलाई हेर्न उनका बुवा र आमा सधैँ घरमै बस्नुपर्छ । दिसापिसाब सोहोर्ने काम पनि तिनै बुवा आमाको हो । एउटा भाइ छ, जो कक्षा ६ मा पढ्दैछ । अर्की एउटी बहिनी छिन्, जो घरमा सघाउँछिन् । यो सानो छाप्रोमा परिवारको ५ सदस्य बस्छन् ।

निरोजको कम्मरमुनिको भाग नचल्दा उनलाई हेर्न उनका बुवा र आमा सधैँ घरमै बस्नुपर्छ । दिसापिसाब सोहोर्ने काम पनि तिनै बुवा आमाको हो । एउटा भाइ छ, जो कक्षा ६ मा पढ्दैछ । अर्की एउटी बहिनी छिन्, जो घरमा सघाउँछिन् । यो सानो छाप्रोमा परिवारको ५ सदस्य बस्छन् । दुई बहिनीको बिहे भएर आफ्नै घरमा छन् भने दाजु साँगामा सामान्य काम गरी परिवारसँग बसेका छन् ।

हामीले सोध्यौँ, ‘सधैँ यसरी नै ओछ्यानमै सुतिरहने हो कि केही हलचल पनि गर्नुहुन्छ ?’ निरज फिस्स हाँसे । बेडको अगाडि रहेको ह्विलचेयर देखाउँदै भने ‘एउटा यही ह्विलचेयर हो । त्यही पनि बिग्रिसकेको छ । कहिलेकाहीँ त ह्विलचेयरमा बस्थे । अहिले त निस्कन पनि गाह्रो छ । त्यही भएर धेरै भयो बाहिर ननिस्किएको ।’

लामो समयसम्म ओछ्यानमै थलिनुपर्दा निरजको शरीरका विभिन्न भागमा घाउसमेत भएको छ । चिकित्सकीय भाषामा यसलाई बेडसोर भनिन्छ । यस्तो घाउ निको हुन पनि लामो समय लाग्छ ।

सामान्य औपचारिकता सकिएपछि सुरु भयो निरोजको भित्री पाटोको कथा । हामीले निरोजलाई सुरुमै सोध्यौँ, के हामी तपाईंसँगको कुराकानी रेकर्ड गर्न सक्छौँ ? समाचार नबनाउने भए बरु नबनाउँला । 

निरोज फिस्स हाँसे । अब पत्रकार केका लागि नै पो आउँछन् र । मलाई खोज्दै आउनुभएको छ, त्यही समाचारकै लागि । ठीक छ, समाचार नै बनाउनुस् न । 

हाम्रो अनुहारमा पनि केही चमक आएको निरोजले स्पष्टसँग देखे । 

एउटा डीएसएलआर क्यामेरा क्यामेरा निकालियो र सुरु भयो निरोजको वास्तविक कथा ।

निरोजको काठमाडौं कथा

निरोज कक्षा ६ पढ्दापढ्दै भागेर साथीहरूसँगै काठमाडौं पुगेका थिए । त्यहाँ गलैंचा कारखानामा काम गर्थे निरोज । आम्दानी ठिकै थियो, दैनिकी चलिरहेकै थियो । 

यहीबीचमा निरोजको भेट भयो निरोजको घर नजिकैको अर्को गाउँका राजु भन्ने साथीसँग । राजुसँगै अर्का व्यक्ति पनि सधैँ हुन्थे । 

उनीहरूको हाईफाई धेरै राम्रो थियो । उनीहरूसँग १५–२० हजारको खाँचो कहिल्यै हुँदैनथ्यो । जबकि निरोजलाई एकै पटक १५–२० हजार देख्न पनि मुस्किल थियो ।

कहिलेकाहीँ रेस्टुरेन्टमा खाजा खान जाँदा निरोज राजुलाई गीत सुनाउँथे । स्वर एकदमै राम्रो भएको भन्दै राजुलगायतको समूहले फुर्काइदिन्थे । वास्तवमै निरोजको स्वर पनि मीठो नै थियो । 

यहीबीचमा राजुले निरोजलाई भने ‘यति राम्रो स्वर छ एल्बम किन निकाल्दैनौँ ?’ राजुको प्रस्तावले निरोजलाई पनि चिमोट्यो । स्वर त राम्रो छ तर एल्बम निकाल्नका लागि पैसा त टन्नै चाहिन्छ । त्यतिबेला अडियो क्यासेट मात्रै निकाल्न पनि करिब १ लाख रुपियाँ लाग्थ्यो ।

निरोजले गीत गाउन र एल्बम निकाल्न रहर भएको तर आफूसँग पैसा नभएको बताए ।

त्यसपछि निकालियो उपाय । 

राजुले निरोजलाई कोही धनी मान्छेको दुईवटै मिर्गौला फेल भएको र एउटा मिर्गौला खोजिरहेको भन्दै मिर्गौला दिएमा १ लाख ५० हजारसम्म पैसा दिने बतायो । 

सुरुमा निरोजले त्यस्तो प्रस्ताव अस्वीकार गरे । तर पछि एउटा मिर्गौला दिँदैमा केही स्वास्थ्य समस्या नआउने, एउटा मिर्गौलाले पनि मान्छेले सबै काम गर्न सक्ने र मिर्गौला दिँदा पनि गोप्य ढङ्गबाट हुने भन्दै निरोजको ‘ब्रेनवास’ गरे । 

जब १ लाखको आशामा मिर्गौला बेचियो...

मानिस एउटै मिर्गौलाले पनि बाँच्ने सक्ने र सबै काम गर्न सक्ने भएपछि दुईवटा मिर्गौला किन चाहियो र ! अन्ततः एउटा मिर्गौला दिएबापत १ लाख ५० हजार पाउने भएपछि निरोज मिर्गौला बेच्न तयार भए । उनले आफू तयार रहेको जानकारी गराए । 

निरोज तयार भएलगत्तै उनको ब्लड ग्रुप पत्ता लगाउनेदेखि रोग लागेको नलागेको बारे जाँच सुरु भयो । भर्खरै १६ वर्षको केटो । के पो रोग लाग्छ र ! निरोज फिट देखिए । 
त्यसपछि तिनै राजुले अरू काम गरे । कागजात बनाउनेदेखि सबै काम राजुकै मातहतबाट भयो । 

निरोजले निराश भएर मिर्गौला बेचेको कुरा परिवारलाई बताए । निरोजको कुराले परिवार पनि विचलित भयो । तर जे नहुनु थियो, त्यो भइसकेको थियो । बरु निरोजको बुवाले राजु भन्ने दलाललाई खोज्न थाले । राजु भन्ने दलाल सहरभन्दा टाढा कोठा लिएर बसेको थाहा भयो । निरोजका बुवा वीरबहादुर सुनार त्यहीँ पुगे र दलाललाई समाते । ४ दिनसम्म राजुलाई उनकै कोठामा बन्धक बनाएर बाँकी रकम माग गरियो । तर उसले आफूसँग पैसा नभएको बतायो । अन्ततः राजुसँग रहेको १८ हजार पर्ने मोबाइल लिँदै फेरि यस्तो काम नगर्ने शर्तमा राजुलाई छाडियो ।

कागजात तयार पारेर निरोजलाई भारत पुर्याइयो । तर कुन सहर हो भन्ने त्यति जानकारी भएन । भारत पुगेपछि नै थाहा भयो, उनले मिर्गौला दिन लागेका व्यक्ति धरानका राम राई भन्ने रहेछन् । निरोजलाई रामको भाइ बनाएर मिर्गौला ‘दान’ गर्न लागिएको रहेछ । 

अन्ततः भारत पुगेर निरोजको एउटा मिर्गौला अर्का व्यक्तिलाई ‘दान’ गरियो, १ लाख ५० हजार पाउने आशामा । 

मिर्गौला बेचेबापतको पैसा नेपालमै दिने भनियो । तत्कालका लागि १२ हजार मात्रै रकम दिइयो । 

तुहियो एल्बम निकाल्ने सपना

निरोज नेपाल फर्किए र एल्बम निकाल्नका लागि तयारी थाले । 

तर जसले निरोजलाई भारत पुराएका थिए, उनी सम्पर्कमै आएनन् । राजु भन्ने व्यक्ति त्यसपछि फरार भयो । फोन नम्बर पनि परिवर्तन गरिसकेको रहेछ । निरोजले जति खोजे पनि राजु फेला परेनन् । 

निरोजले निराश भएर मिर्गौला बेचेको कुरा परिवारलाई बताए । निरोजको कुराले परिवार पनि विचलित भयो । तर जे नहुनु थियो, त्यो भइसकेको थियो । बरु निरोजको बुवाले राजु भन्ने दलाललाई खोज्न थाले । राजु भन्ने दलाल सहरभन्दा टाढा कोठा लिएर बसेको थाहा भयो । निरोजका बुवा वीरबहादुर सुनार त्यहीँ पुगे र दलाललाई समाते । ४ दिनसम्म राजुलाई उनकै कोठामा बन्धक बनाएर बाँकी रकम माग गरियो । तर उसले आफूसँग पैसा नभएको बतायो । अन्ततः राजुसँग रहेको १८ हजार पर्ने मोबाइल लिँदै फेरि यस्तो काम नगर्ने शर्तमा राजुलाई छाडियो ।

यता गीत गाउने सपना सजाएर आफ्ना मिर्गौला बेचेका निरोज भने तनावमा रहे । अब के गर्ने भन्ने योजना र सपना निरोजसँग रहेन । 

जसका लागि मिर्गौला दिएका थिए, ती व्यक्ति निरोजकै सम्पर्कमा थिए । धरानका राम राई भन्ने व्यक्ति चावहिलको ओम अस्पतालमा काम गर्ने गरेको निरोजले जानकारी पाए । उनी राम राईलाई भेट्न गए । राईले निरोजले अस्पतालमा भेट्न मानेन र बाहिरै भेट्यो । राम राईले आफू ओम अस्पतालको गाडी चलाउने ड्राइभर भएको बतायो । निरोजले धेरै जान्नै चाहेनन् । 

राम राईले केही अप्ठेरो परे सम्पर्क गर्न भनेको निरोज बताउँछन् । पछि पनि सहयोग गर्छु त भनेका थिए तर उक्त व्यक्ति पनि पछि सम्पर्कमा आएनन् । जसका लागि निरोजले मिर्गौला दिए उनी साँच्चिकै ओम अस्पतालको सवारीचालक मात्रै थिए कि अरू केही निरोजलाई त्योभन्दा बढी केही थाहा छैन । तर उनी ओम अस्पतालमै कार्यरत रहेको निरोजलाई थाहा थियो । 

निरोजको मिर्गौला बिक्री प्रकरणको कथा गैरसरकारी संस्थाले थाहा पाए । निरोजलाई पुनः पढाउने र गीत सिकाउने भन्दै धुलिखेलमा राखेर पढाउन थालियो । निरोज होस्टलमै बसेर पढ्न पनि थाले । 

तर यहीबीचमा निरोज बिरामी परे । अस्पताल लगियो । सामान्य ज्वरोबाट सुरु भएको उनको बिरामी म्यानेन्जाइटिस हुँदै प्यारालाइसिससम्म पुग्यो । करिब डेढ वर्ष उनले धुलिखेल, बनेपा लगायतका अस्पतालमा उपचार गराए । तर उनको प्यारालाइसिस ठीक भएन । अन्ततः उनलाई घर ल्याइयो । उपचारका क्रममा परिवारले भएको आफ्नो सबै सम्पत्ति सकाए । त्यसपछिको दैनिकी सुरुवातमै उल्लेख गरिएको छ । 

एउटा १६ वर्षको केटो, जसको गीत गाउने सपनाले एउटा मिर्गौला बेच्नुपर्यो र अहिले प्यारालाइसिसको शिकार भएका छन् ।

हामीले निरोजलाई मिर्गौला बिक्री र प्यारालाइसिसबीचको सम्बन्ध हुनसक्छ भनेर सोध्यौँ । उनले ठ्याक्कै भन्न त नसक्ने तर दुईवटा भएजस्तो एउटा नहुने हुने बताए । आफ्नो यो हालत हुनुमा मिर्गौला बिक्री प्रकरण पनि कारक हुनसक्नेबारे भने निरोजलाई पनि कताकता शङ्का छ ।

निरोज अहिले पनि गीत गाउँछन् । गीत र सङ्गीतको प्रेम एकरति घटेको छैन, मात्र सपनामा धेरै फेरबदल आएको छ ।

सपना अब बलियो घर मात्रै

अहिलेको निरोजको पहिलो सपना भनेको एउटा सुरक्षित घर भए हुन्थ्यो भन्ने मात्रै छ । 

करिब ६ फिटको जस्ताको छानामुनि दैनिकी चलाउन निरोजलाई धेरै गाह्रो छ । चैत वैशाखको हुरी आउँदा होस् या प्रचण्ड गर्मी हुँदा, निरोजलाई सबैभन्दा बढी पीडा हुन्छ । असार साउनमा झरी पर्दा पानीको केही हिस्सा ओछ्यानमै आइपुग्छ । वैशाख, जेठ र भदौको घाममा बस्न नसक्ने गरी तताउँछ । अझ यहीबीचमा कहिलेकाहीँ बत्ती गइदियो भने त अवस्था ज्यादै दयनीय बनिदिन्छ । 

एउटा भएको माटोको घर पनि भूकम्पले भत्काइदियो । निरोज यतिबेला अर्को घरको सपना देखिरहेका छन् । सरकारले दिने अनुदानको ३ लाख त आउँछ नै । त्योमध्येको डेढ लाख त ल्याइसकेका छन् । केही ऋण त केही एनजीओहरूले सामान्य सहयोग गरेका छन् । घरको वालसम्म तयार भयो । अब ढलान गर्ने र झ्यालढोका हाल्ने पैसा निरोजको परिवारसँग छैन । 

यही बन्दै गरेको घरको भित्तामा एउटा ह्विलचेयर थन्किएको छ । यदि घर बनेमा मुख्य बाटोसम्म जान सकिन्थ्यो र ह्विलचेयरमै भए पनि हिँडडुल गर्न सकिन्थ्यो कि भन्ने सपना निरोजसँग छ । यद्यपि यो ह्विलचेयरले काम गर्ने सम्भावना भने अब ज्यादै न्यून मात्रै छ । 

आश्वासन होइन सहयोग दिनुस् : निरोज

निरोजको अवस्थाबारे जानकारी पाउने धेरै एनजीओकर्मी निरोजलाई भेट्न पुगे । भेटेर जाने धेरैले निरोजलाई सहयोग गर्ने आश्वासन पनि दिए । तर अधिकांश त्यस्ता ‘डलरवाला’ फर्किएर आएनन् । 
‘सपना त धेरैले देखाए नि सर ! तर के गर्ने डलरवाला फर्किएर आउँदैनन् ।’

हामीले स्पष्टीकरण दियौँ, हामी त सहयोग गर्न आएका नि होइनौँ र पछि पनि गर्न सक्दैनौँ । हामीले दिनसक्ने भनेको समाचार मात्रै हो । बरु पहलसम्म गर्ने कोसिस भने जरुर गरौंला । निरोजको मुहारमा कुनै परिवर्तन आएन ।

निरोजले भने, ‘सर यी घर बनाउन खोजेको यस्तो अवस्थामा छ । हामीसँग १ रुपियाँ पनि बाँकी छैन । लौन घरको ढलान गरिदिने वा छाइदिने कोही छन् कि भनिदिनुपर्यो ।’ हामी अवाक भयौँ ।

पत्रकारले नै पैसा खाइदिए 

निरोजलाई पहिले बनेपाका एकजना पत्रकारले विदेशी दातासँग भेटाइदिएका थिए । ती दाताले निरोजलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । ती व्यक्तिले निरोजसँग फोनमा सहयोग पठाएको पनि बताएका थिए । तर तिनै पत्रकारले आफूलाई आएको सहयोग पनि खाइदिएको निरोजले गुनासो गरे ।

कुराकानीको च्याप्टर सकियो । यहीबीचमा हामीले पाँचखालदेखि लगेको चिसो बाँडेर खायौँ । आइसजस्तै चिसो पेय पदार्थ ३२ डिग्री तापक्रमले तातै भइसकेको रहेछ । यद्यपि त्यसले केही शितलता भने प्रदान गर्यो । 

कुराकानीको अन्त्यमा निरोजले भने, ‘सर मेरा धेरै साथीहरूलाई मेरो अवस्थाबारे जानकारी छैन । गीत गाउनकै लागि मिर्गौला बेचेको भन्दा के सोच्लान् । अनुहारचाहिँ ब्लर गर्दिनुस् है ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप