रेल र जहाज होइन, शान्ति सुरक्षा देऊ सरकार !
विष्णुकुमार प्रसाई
आफ्ना कमजोरी छल्न जब काम कम भाषण बढी गरेर जनतालाई भ्रम मात्र छरिन्छ तब जनता सुरुसुरुमा कान थुन्न, आँखा बन्द गर्न थाल्छन् । यो क्रम बढ्दै जाँदा विरोधमा बोल्न थाल्छन् । त्यतिले पनि शासकहरू नसुध्रिए विद्रोहमा उत्रन्छन् । अहिले कान थुन्ने र आँखा बन्द गर्ने स्थितिबाट विद्रोहको स्थिति सिर्जना हुने अवस्था आउन लागेको छ । पापको चरम चुली जब थुप्रिन्छ, अन्याय र अत्याचारले पराकाष्ठा नाग्छ र विद्रोह हुन्छ । त्यस्तो विद्रोहले लिने रूप कसैले पनि अनुमान गर्न सक्दैन ।
ससाना दुधे बालिकाहरू पनि एकपछि अर्को बलात्कार हुने क्रम रोकिएको छैन । बलात्कार पछि उनीहरूको हत्या भएका घटनाहरू पनि त्यति नै बढिरहेका छन् । अपराधी पत्ता लगाई कारवाही गर्ने निकायहरू नै निरङ्कुश बन्छन् । अपराधीलाई बचाउन प्रमाण आफै ध्वस्त पार्छन् । सरकारमा बसेकाहरू गम्भीर हुँदैनन् वा नाटक मञ्चन गर्नतिर लाग्छन् । राष्ट्रिय रूपमा विरोध हुँदासमेत एकपछि अर्को नाटक गरिन्छ, त्यो फासिवादको दिशातिर बढ्नु हो । त्यो अन्याय अत्याचारतिर अकर्षित हुनु हो । समष्टिमा त्यो विनाशकाल पनि हो ।
हामी जनतालाई रेल पनि चाहिएन । पानी जहाज पनि चाएिन । घरघरमा ग्यासको पाइप पनि चाहिएन । हामीलाई शान्तिले बाच्ँन पाउने अवस्था नखोसियोस् । आफ्नै घरभित्र हाम्रो हत्या नहोस् । हामीले आफ्नो जीवन बाँच्न पाऊ ।
ससाना बालिकाहरूको बलात्कार र हत्या हुने क्रम रोकियोस् । एउटा अण्डा, कुखुरा र खसीमा समेत कर लगाएर नेपाली गरिब जनतालाई करको बोझले थिचेर आत्महत्या गर्ने स्थितिको अन्त्य होस् । निर्दोष जनतालाई प्रहरीले पक्रिएर अपराध कबोल गर्न नपाऊन् । याताना दिएर गोली ठोकेर मार्ने काम बन्द होस् ।
यस्तो अपराध गर्ने प्रहरी प्रशासनलाई दलीय वा निहित स्वार्थमा संरक्षण नगरियोस् । बाटो हिँड्दा स्कुल जाँदा सडकका खाल्डामा जमेको पानीमा डुबेर हाम्रा बालबच्चा नमरून् । आफ्नै घर, पसल र विद्यालयबाट बालिकालिका अपहरित भई हत्या नहोस् । बलात्कृत नहुन् । विचौलिया, कालोबजारिया, तस्कर, खाद्य पदार्थमा अखाद्य पदार्थ मिसाएर बेच्ने अपराधी तस्कर माफियाको संरक्षण नगरियोस् । हामी दुई तिहाईको कम्युनिस्टहरूको सरकारसँग यही अनुरोध गर्दछौं ।
हाम्रो राष्ट्रिय स्वाधीनता माथि घात नगरियोस् । कुनै अमूक देशको हामीलाई गुलाम नबनाइयोस् । सत्ताधारीको स्वार्थमा विदेशीहरूको चाहना कथित सङ्घीयता चलाउन हामी सकुन्जेल सहयोग गर्छौं । हामी रगत दिन्छौं, पसिना दिन्छौं, तिमीहरू मोज गर, भोज गर । हामी कर तिर्छाैं तिमीहरू सरकारी क्वाटरमा भतेर खुवाओ, नाच, गाओ उफ्र । तर जे कुराको पनि सीमा हुन्छ । पानी पनि उम्लिएपछि पोखिन्छ । पाप र अत्याचारको घडा पनि धेरै दिन टिक्दैन । त्यो चुहिने भइसकेकोे अवस्था छ ।
अब जनतामा निरासा छाइसकेको छ । हामीमा शासकहरूप्रति अविश्वास पलाइसकेको छ । हामीमा शङ्कासँगै त्रासको भावना पनि पलाई रहेको छ । नेपालीको नेपालसँगै हामी बाँच्न पाउँछौँ भन्ने कुरामा समेत द्विविधा पैदा भएको छ । शासकवर्गहरूको शङ्कास्पद गतिविधि र शङ्कास्पद तवरले विदेशीहरूसँगको साँठगाँठले हामीलाई सशङ्कित र त्रसित्र मात्र होइन आन्दोलित पनि बनाइसकेको छ ।
सरकार सञ्चालन गर्ने पार्टीका नेता सरकार, सदन र जनतालाई जानकारी नगराई विदेशीहरूसँग भेट्छन् । एकपछि अर्को देश घुम्छन् ।
त्यहाँ कोकोसँग भेटियो र केके कुरा भयो भन्ने देश र जनतालाई थाहा हुँदैन । सरकारका जिम्मेवार व्यक्ति भाषण धेरै गरेर थाक्दैनन् । काम नगर्ने र बेइमानहरूले देश र जनतालाई झुक्याउने काम गर्छन् । विकास र उन्नतिका कुरा छोडौँ नेपाली जनतालाई शान्तिसँग बाँच्ने अधिकारको निर्माण गर सरकार । हामी रगत पसिना रहुन्जेल कर तिर्छौं, बाँच्ने अधिकार नै खोसिन्छ भने हामी विद्रोह गर्छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया