पुरानादेखि नयाँ पुस्तासम्मका ३६ नेता : कसको भाषणशैली कस्तो ?
‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने नेपाली उखान छ । बोल्नु भनेको कला हो । भाँती पुर्याएर बोल्नु त्यति सजिलो छैन । राजनीतिक नेता भएपछि नबोली सुखै छैन । प्रस्तुत आलेखमा ३६ राजनीतिक नेताको वाक्कलाबारे प्रकाश पारिएको छ ।
मोहनविक्रम सिंह, मसाल महामन्त्री
भाषण नगरेको धेरै भइसकेको छ । सार्वजनिक समारोहमा जाँदै जान्न । प्रशिक्षण कार्यक्रममा चाहिँ भाषण गर्नैपर्छ । म कहिल्यै आक्रामक भाषण गर्दिनँ । व्यक्ति र पार्टीको आलोचना गर्ने बानी छैन । सभ्य र शिष्ट भएर आफ्नो विचार प्रस्तुत गर्ने हो । भाषण गर्नअघि तयारी गर्दिनँ ।
भरतमोहन अधिकारी, पूर्वउपप्रधानमन्त्री
विषयवस्तुलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्छु । थेगो प्रयोग गर्छु, गर्दिनँ सुन्नेले भन्नुपर्ने हो । भाषण गरेको आधारमा धेरैपटक विवादमा तानिएको छु । ‘जेन्युन’ कुरा गर्दा विवादमा परिँदोरहेछ । जब–जब राष्ट्रियताबारे बोल्छु, लेख्छु, म विवादमा परिहाल्छु ।
नारायणमान बिजुक्छे, अध्यक्ष, नेमकिपा
भाषण गर्दा उग्र कुरा गर्न र झुटो बोल्न मन पर्दैन । विषयवस्तुलाई व्यवस्थित तरिकाले राख्ने कोसिस गर्छु । भाषणशैली प्रोफेसरको जस्तो जानकारीमूलक हुनुपर्छ । मैले मेरो आफ्नो मुख त देख्दिनँ भाषणशैली कसरी थाहा पाउनु ? त्यो त सुन्नेलाई मात्रै थाहा होला । भाषण गर्दा विषयवस्तुको गहिराइसम्म पुग्ने कोसिस गर्छु । बोक्रेताल मन पर्दैन । भाषण गर्नुअघि कहिलेकाहीं तयारी गर्छु ।
लीलामणि पोखरेल, पूर्वसांसद
मेरो भाषणशैली अरूले मूल्यांकन गर्ने हो । मलाई केही मानिसले भाषण गर्न प्रेरित गरेका छन् । म निर्मल लामाको भाषणशैलीबाट प्रेरित भएको हुँ । विद्यार्थीजीवनमा विश्वकान्त मैनालीको भाषणशैलीदेखि प्रभावित थिएँ । खगेन्द्र संग्रौलाको विषयवस्तु प्रस्तुत गर्ने शैलीबाट समेत प्रेरित भएको हुँ ।
तिहारको समयमा प्युठानमा मानिस धेरै भएको ठाउँमा आमसभा हुन्थ्यो । त्यहाँ नेताहरूले भाषण गर्थे । म पनि तिनीहरूजस्तै भाषण गर्ने हुन पाए हुन्थ्यो भनेर परिकल्पना गर्थें । स्नातक पढ्न काठमाडौं आएपछि केही नेताको सम्बन्ध र प्रस्तुति आत्मसात् गर्न थालेछु ।
भाषण गर्दा चार कुरामा ध्यान दिनुपर्छ । पहिलो ‘मास साइकोलोजी’ । ‘मास’ ले मलाई हेरेको छ कि छैन, हेरेको छ भने मेरो कुरा सुनेको छ, छैन भने मलाई मन पराएको छैन भनेर बुझ्नुपर्छ । त्यतिबेला मानिसलाई ‘डाइभर्ट’ गर्नुपर्छ । दोस्रो ‘मास’ लाई एट्र्याक्सन गर्न विचारसँगै उखान–टुक्का जोड्दा ‘मास’ आफूतिर आकर्षित हुन्छ । विषयवस्तु राम्रो हुँदाहुँदै पनि मास ‘डिलिङ’ हुँदैन । ‘मास’ मा भाषण गर्नेले ‘फ्लकचुएसन’ कहाँनेर स्ट्रेस दिने, कहाँ बिस्तारै बोल्ने र कहाँनेर पिकमा जाने भनेर ध्यान दिएमा ‘मास’ लाई आकर्षित गर्न सकिन्छ । चौथो हो– विषयवस्तु । म जे बोलिरहेको छु, त्यो विषयमा मभन्दा जान्ने अरू छैनन् भन्ने मनोविज्ञानसाथ बोल्नुपर्छ । ‘मास’ सँग डराउन थाल्यो भने भाषण फ्लप हुन्छ ।
म आक्रामक र बौद्धिक दुवैखालका भाषण गर्ने गर्छु । ‘सेन्टिमेन्टल’ भाषण गनुपर्यो भने आक्रामक हुन्छ । गोष्ठीमा अन्तरवस्तुमा आधारित हुन्छ । गोष्ठीका दर्शक, श्रोता कुन तहका छन् । त्यो आधारबाट हेरिन्छ । दर्शक, श्रोता ‘मिक्स’ छन् भने त्यतिबेला बडो गाह्रो हुन्छ । ‘लेभल हाई’ र ‘लो’ छन् भने कसको ‘लेभल’ मा बोल्ने भनेर गाह्रो हुन्छ, ‘हाई लेभल’ का लागि बोल्दा तलकाले वास्ता गर्दैनन् भने ‘लो’ का लागि बोल्दा ‘हाईका’ ले वास्ता गर्दैनन् । एउटै प्रकारका दर्शक, श्रोता भइदिए बौद्धिक विचार राख्न सजिलो हुन्छ ।
भाषण गरेकै आधारमा विवादमा तानिनु अस्वाभाविक होइन । विभिन्नखालका मानिस छन् । भिन्नभिन्न विचार छन् । भाषण गर्न जाँदा तयारीसाथ जाने गर्छु ।
अशोक राई, वरिष्ठ नेता, ससफो
युवाले मेरो भाषणशैलीलाई शाकाहारी भन्ने गरेका छन् । भनेको आक्रामक हुँदैन । नरम ढंगले आफ्ना कुरा राख्न रुचाउँछु । मानिसलाई उडाएर र घोचेरभन्दा बुझाएर उसको हृदय जितेर आफ्ना कुरा राख्नुपर्छ । मलाई थाहा हुनेगरी थेगो प्रयोग गर्दिनँ । थाहा नपाउनेगरी चाहिँ प्रयोग हुँदोरहेछ । भाषण गरेकै आधारमा विवादमा परेको छुइनँ । विवादास्पद नहुने कारणले पनि मेरो भाषणलाई शाकाहारी भनिएको होला ।
सीपी मैनाली, महासचिव, नेकपा माले
भाषण गरिसकेपछि म अझै सुधार्छु भन्ने प्रण गर्छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । परिस्थिति हेरेर भाषण गर्नुपर्छ । सबै भाषण एकैप्रकारका हुँदैनन् । एउटै भाषणसमेत एकै प्रकृतिको हुँदैन । भाषण गरेकै आधारमा विवादमा नतानिए पनि विरोधचाहिँ हुँदा हुन् । भाषण गर्नअघि तयारी गर्छु । भाषणको रूपरेखा तयार पार्छु । भाषण आलुको थुप्रोजस्तो नभएर लेखजस्तो अन्तर्सम्बन्धित हुनुपर्छ ।
गिरिराजमणि पोखरेल, मन्त्री
मेरो भाषणशैली त अरूलाई पो सोध्नुपर्छ । मलाई बोलिसकेपछि आफूलाई चित्त बुझे भयो भन्ने लाग्छ । कहिलेकाहीं विभिन्न कारणले चित्त बुझ्दैन । म भाषण गर्ने मानिस होइन । परिस्थितिअनुसार भाषण आक्रामक र बौद्धिक दुवै गर्नुपर्ने हुन्छ । भाषण गरेकै आधारमा धेरैपटक विवादमा परेको छु । सदनमा बोल्दाचाहिँ तयारी गर्न थालेको छु । शासकीय संस्कृतिसँग गाँसिएपछि त्यो जरुरी हुँदोरहेछ ।
शेरधन राई, मुख्यमन्त्री
आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा चित्तबुझ्दो लाग्छ । मेरो भाषण सुन्नेले दिएको प्रतिक्रियाका आधारमा मैले यसो भनेको हुँ । तर, आफ्नो भाषणशैलीदेखि आफैं सन्तुष्ट छु । भाषण गर्दा थेगो प्रयोग गर्ने बानी छैन । परिस्थिति हेरेर भाषण गर्नुपर्छ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि सामान्य तयारी गर्छु । त्यसो भन्दैमा घोकेर, लेखेर भाषण गर्ने मान्यता राख्दिनँ ।
डा. मीनेन्द्र रिजाल, सांसद
‘गरे’ जस्तो लागे पनि आफूले गरेको भाषण हेर्दा, सुन्दा त्यति सन्तोष लाग्दैन । बोल्दा राम्रै बोलेजस्तो लाग्छ । सबैले राम्रै भन्दिन्छन् । भाषण गर्दा थेगो प्रयोग नगरे पनि ‘एउटा कुरा’, ‘यहाँबाट सुरु गरौं’ भन्दोरहेछु ।
पहिले–पहिले सुझबुझसहित प्रशिक्षणजस्तो भाषण गरिन्थ्यो । काँग्रेस प्रतिपक्षमा रहेकाले हिजोआजको भाषण केही आक्रामक हुने गरेको छ । भाषण गरेकै आधारमा विवादमा तानिनु अस्वाभाविक होइन । राजनीतिकवृत्तमा मीनेन्द्र रिजालको एउटा पहिचान बनेको छ । पहिचान बनाउँदा मित्रमात्रै होइन, प्रतिस्पर्धीमा पनि कमाएको हुँला । पार्टीभित्र र बाहिरका प्रतिस्पर्धीले मेरो छवि बिगार्न आधारहीन प्रचार गर्न लागिपरेका छन् ।
भाषण गर्नअघि खासै तयारी नगरे पनि मोटो ‘फ्रेम’ बनाउने गरेको छु ।
अग्नि सापकोटा, पूर्वमन्त्री
आफूले आफ्नो भाषणशैली मूल्यांकन गर्दा आवेगात्मक लाग्छ । भाषणशैली बौद्धिक बनाउनुपर्छ भन्ने लागे पनि आक्रामक भाषण गर्ने गरेको छु । भाषण गरेकै आधारमा नभए पनि सञ्चारमाध्यममा प्रतिक्रिया व्यक्त गर्दा कहिलेकाहीं विवादमा तानिएको छु । भाषण तथा अन्तरक्रियामा भाग लिनअघि तयारी गर्ने बानी छ ।
चक्रपाणि खनाल ‘बलदेव’, मन्त्री
बोल्न त बोल्छुजस्तो लाग्छ तर मेरो भाषण सिलसिलाबद्ध नभएको हो कि भन्ने लाग्छ । पहिले–पहिले भाषणशैली आक्रामक भए पनि अहिले सुन्नेले सन्तुलित छ भन्ने गर्छन् । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । भाषण गरेकै आधारमा कहिलेकाहीं सामान्य विवादमा तानिएको छु । भाषण गर्नअघि तयारी गर्ने बानी छैन ।
प्रकाशशरण महत, पूर्वमन्त्री
विषयवस्तुबारे जानकारी भए भाषण सशक्त हुन्छ तर कहिलेकाहीं विषयवस्तुबारे जानकारी नहुँदा र त्यस्तै वातावरण हुँदा कामचलाउ भाषणमात्रै हुन्छ । म ठिकै भाषण गर्छुजस्तो लाग्छ । हामी भाषणमा धेरै कुरा गर्छौं तर निष्कर्ष केही पनि आउँदैन । सकेसम्म विषयवस्तुमा केन्द्रित रहेर आफ्नो कुरा सिधा राख्ने प्रयत्न गर्छु । सिधा कुरा राख्दा कतिपय अवस्थामा अलोकप्रिय मानिन पनि सक्छ । त्यसैबाट उसले पहिचान बनाएको हुन्छ ।
भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । सत्य कुरा बोल्दा कतिपयलाई मन नपर्न सक्छ । भाषण गर्नअघि तयारी गर्दिनँ । तर, यी–यी कुरा बोल्छु भनेर दिमागमा ‘सेट’ गर्छु ।
दिलनाथ गिरी, पूर्वमन्त्री
अहिलेसम्म ज–जसले मेरा भाषण सुनेका छन्, उसले मलाई उत्साहित गराएका छन् । सबैले मन पर्ने काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । आफूले गरेको काम अरूलाई मन पर्दैन भने अर्काले गरेको त्यो ढंगका काम आफूलाई मन पर्ने भएन । थाहा नपाउनेगरी ‘चाइने’ थेगो प्रयोग गर्दोरहेछु । परिस्थिति हेरेर आक्रामक र बौद्धिक भाषण गर्ने गर्छु ।
महेन्द्रबहादुर शाही, मुख्यमन्त्री
मैले भाषण गर्दा भाषण एकातिर र श्रोताको मनोविज्ञान अर्कोतिर पाउँछु । नकारात्मक कुरालाई रुचिपूर्वक सुन्ने नेपाली संस्कृतिजस्तै बनेको छ । मैले भाषण गर्दा नकारात्मक कुरा गरें भन्ने श्रोताले ध्यानपूर्वक सुन्छन् तर जीवनोपयोगी कुरा गरें त्यो सुन्दा निद्रा लाग्छ । भाषण गर्दा म कसैलाई गाली गर्दिनँ ।
भाषण गर्दा ‘चाहिँ’ भन्ने शब्द प्रयोग भएको सुन्नेले बताउँछन् । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी पनि गर्दिनँ ।
पूर्णाकुमारी सुवेदी, पूर्वउपसभामुख
आफ्नो भाषणशैली छि भन्नेखालको छैन जस्तो लाग्छ । शान्तिप्रक्रियामा आएपछि पार्टीले महिला वक्ता रूपमा मलाई विभिन्न ठाउँमा पठाएको थियो । परिस्थिति हेरेर बौद्धिक र आक्रामक दुवै प्रकृतिका भाषण गर्न आउँछ ।
डा. डिला पन्त संग्रौला, सांसद
आफूले गरेको भाषण रेकर्ड गरेर सुन्ने गरेकी छु । त्यसो गरियो भने भए–गरेका कमीकमजोरी कम गर्दै लैजान सकिन्छ । परिस्थिति, जनताको स्तर हेरेर भाषण गर्ने गर्छु । भाषण गर्नअघि तयारी गर्नुपर्छ ।
श्रीप्रसाद जबेगू, पूर्वमन्त्री
भाषणशैली कामचलाउ छ भन्ने लाग्छ । भाषण गर्नेक्रममा थेगो प्रयोग गर्ने बानी छैन । अवस्था हेरेर आक्रमक र बौद्धिक भाषण गर्नुपर्ने हुन्छ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । सबै क्षेत्रमा आफूलाई तयारी गरिरहेको हुनाले भाषण गर्नअघि तयारी आवश्यक छैन ।
सुदन किराती, सांसद
आफूले गरेको भाषणशैली आफैंले मूल्यांकन गर्ने गरेको छैन । मानिसलाई सन्तुष्टि कहिल्यै हुँदैन । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । परिस्थिति हेरेर भाषण गर्छु । सर्वप्रथम जनसमुदायको चेतना मापन गर्छु । भाषण गरेकै आधारमा विवादमा तानिएको थाहा छैन । मञ्चमा पुगेपछि भाषणको तयारी गर्छु । पहिले जनसमुदाय हेर्छु । मनोविज्ञान बुझ्छु । कार्यक्रमको शीर्षक हेर्छु । जनसमुदायले सुन्न चाहेनन् भने भाषण छोट्याउँछु ।
पुष्पा भुसाल, सांसद
राजनीतिक नेता भएपछि भाषण गरिरहनुपर्छ । भाषण गर्नअघि तयारी धेरै गर्छु । तर, व्यवस्थापन गर्न जरुरी छ । धेरै ज्ञान भए पनि भाषणमा व्यवस्थापन गर्न अप्ठ्यारो हुँदोरहेछ । शुभचिन्तकले समेत त्यस्तै सुझाएका छन् । निर्वाचनताका आक्रामक भाषण गरे पनि अन्य समय बौद्धिक भाषण गर्छु ।
सुनील थापा, पूर्वमन्त्री
म सकेसम्म छोटो भाषण गर्छु । सकेसम्म आफूले गर्ने भाषण आफैंले लेख्छु । अर्काले लेखेको भाषण उसको बुझाइको हुन्छ । बरु उनीहरूसँग महत्वपूर्ण कुरा बुँदागत रूपमा लिन्छु । इन्टरनेटमा ‘सर्च’ गर्छु ।
पहिलोपटक मन्त्री हुँदा आफैंले भाषण लेखें । अरूले लेखिदिएको भाषण पढ्नसमेत अप्ठ्यारो हुन्छ । एक लाइन छुट्यो भने अनर्थ हुन्छ । मेरो सबैभन्दा छोटो भाषण पाँच र लामो सातदेखि १० मिनेटको थियो । समय परिस्थिति हेरेर भाषण गर्छु । भाषण गरेकै आधारमा अहिलेसम्म विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्छु ।
सुरेशकुमार राई ‘हिमाल’, सांसद
मेरो भाषणशैली प्रशिक्षणजस्तो हुन्छ । समय परिस्थिति हेरेर बौद्धिक र आक्रामक भाषण गर्न सक्छु । भाषण गरेकै आधारमा जबरजस्ती विवादमा तान्न खोजिएको थियो । संवत् २०७० को निर्वाचनमा उदयपुर गाईघाटको ढिम्कीमा कार्यक्रम थियो । मलाई निम्ता गरिएको थियो । त्यहाँ भाषण गर्दा श्रोता आकर्षित भए । श्रोतामध्येका एकजनाले सोधे– चुच्चे र थेप्चे कसले बनाएको ? म उभिइरहेको पछाडि मन्दिर थियो । मैले भनें– भगवान्लाई सोध्नुपर्छ । उनले फेरि त्यही प्रश्न सोधे । मैले भनें– म द्वन्द्वात्मक भौतिकवादी माओवादी हुँ । यो प्रकृतिले बनाएको हो । अध्यात्मवादअनुसार भन्ने हो भने भगवान्ले बनाएको भन्ने हुन्छ । तसर्थ, प्रकृतिको व्याख्या गर्ने हो भने अलि लामो हुन्छ । उसले पुनः तेस्रोपटक त्यही प्रश्न सोधे । चुच्चे र थेप्चे माओवादी, काँग्रेस र एमाले कसैले बनाएको होइन, प्रकृतिले बनाएको हो भनेर उत्तर दिएँ । अध्यात्मवादअनुसार भगवान्ले बनाएको हो भनेर जोड दिएँ ।
सो प्रश्न सुनियोजित ढंगले सोधिएको रहेछ । मलाई जबरजस्ती चुच्चो र थेप्चो शब्द ओकल्न लगाउन त्यस्तो प्रश्न सोधिएको थियो । सो शब्द उच्चारणपछि प्रश्नकर्ताले बरगाछी भन्ने ठाउँमा सुरेशकुमार राईले किरात राज्य ल्याउने हो, किरात राज्य ल्याएपछि क्षेत्री, बाहुन लखेट्ने रे, यहाँ बस्ने चुच्चेको नाक काट्ने रे भन्ने अफवाह फैलाइएको थियो । त्यसरी मलाई विवादमा तान्न खोजिएको थियो ।
भाषण गर्नअघि मोटामोटी तयार हुन्छ ।
अनिता देवकोटा, पूर्वसांसद
आफूले गरेको भाषणशैलीदेखि सन्तुष्ट छु । भाषण गर्दा थेगो प्रयोग गरेको सम्झना छैन । परिस्थिति हेरेर आक्रामक र बौद्धिक भाषण गर्नुपर्ने हुन्छ । म दुवै प्रकृतिको भाषण गर्न जान्दछु । भाषण गरेकै आधारमा विवादमा तानिनु अस्वाभाविक होइन । पहिले गरे पनि हिजोआज भाषण गर्दा तयारी गर्न छाडेकी छु ।
अञ्जना बिशंखे, सांसद
आफैंले मूल्यांकन गर्दा आफ्नो भाषणशैलीप्रति सन्तुष्ट छु । सुन्नेले पनि राम्रो भन्छन् । आफ्नो भाषणशैलीप्रति ‘प्राउड फिल’ गर्छु । भाषण गर्दा ‘चाइने’ थेगो प्रयोग गर्छु भन्ने सुन्नेले भन्छन् । समय परिस्थिति हेरेर भाषण गर्न सक्छु । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्छु ।
जीवनबहादुर शाही, पूर्वमन्त्री
म अलि छिटो बोल्छु । मेरो भाषणशैली तपाईंहरूले मूल्यांकन गर्ने हो तर नढाँटी भन्ने हो भने मैले आजसम्म जति भाषण गरेको छु, गरें कहिल्यै झुटा कुरा बोलिनँ । बरु गाली खान तयार हुन्छु ।
पछिल्लो उदाहरण पेस गर्छु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिकरण विवाद कुनै पनि हालतमा टुंग्याउँछु भनेको थिएँ । टुंग्याएरै छाडें । धेरै बाधाव्यवधान आए पनि हिम्मत हारिनँ ।
मेरो भाषणशैली साह्रै तल्लोस्तरको जस्तो लाग्दैन । मेरो भाषण वास्तविकतामा आधारित हुन्छ । बह्मले जे भन्छ, त्यही भाषण गर्छु ।
सूर्य थापा, केन्द्रीय सदस्य, नेकपा
चिन्नेमध्ये धेरैजसोले मलाई लेखक, पत्रकार र राजनीतिक विश्लेषकका रूपमा नै बढी चिन्छन् । म पत्रकारिताभन्दा अघि राजनीति, अनि पत्रकारिता हुँदै राजनीतिमा सक्रिय भएँ । केही आन्तरिक, सांगठनिक कार्यक्रम, पार्टीका अधिवेशन÷महाधिवेशन र धेरैजसो निर्वाचनक्रममा भाषण गर्ने मौका मिल्छ । मेरो भाषण आक्रमक भयो भन्नेहरू नभएका होइनन् । म जिल्ला (प्युठान) मा रुचाइएको वक्ताहरूमध्येमा गनिन्छु ।
भाषण गरेकै आधारमा कहिलेकाहीं विवादमा तान्न खोजिए पनि तानिएको छैन । प्रायः भाषण गर्नुअघि बुँदा टिपोट गर्छु ।
यज्ञराज सुनुवार, सांसद
आफ्नो भाषणशैलीबारे आफैंले कसरी मूल्यांकन गर्ने ? यसबारे श्रोतालाई निर्णय गर्न दिनुपर्छ जस्तो लाग्छ । ‘आग्रह’ र ‘अनुरोध’ भन्ने शब्द बढी प्रयोग गर्ने गरेको अरूले सुनाउँछन्, त्योबाहेक भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । कतिपय अवस्थामा परिस्थिति हेरेर आक्रामक भाषण गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, नत्र भाषणका लागि भाषण नहोस् भन्नेमा सचेत छु । भाषण गरेकै आधारमा नियमापत्ति बेहोर्नुपरेको छैन । सामान्यतया जानुपर्ने ठाउँ र विषयवस्तुबारे जानकारी लिएर जाँदा राम्रो हुन्छ भन्ने मान्यता छ ।
कृष्णकुमार राई, सांसद
राजनीतिमा लागेपछि भाषण गर्नैपर्छ । भाषण गर्दा विषयवस्तुलाई अलि बढी व्याख्या गर्छु रे भन्ने शुभचिन्तकको सकारात्मक आलोचना छ । भाषण गर्दा थेगोभन्दा उखान–टुक्का प्रयोग गर्न रुचाउँछु । परिस्थिति हेरेर भाषण गनुपर्ने हुन्छ । तर पनि शालीन भाषण गर्ने बानी छ । भाषण गरेकै आधारमा विवादमा पर्नु सम्बन्धित नेताले भाषण गर्दाताकाका श्रोतामा भर पर्छ । हिजोआज सञ्चारमाध्यममा ‘हेडलाइन’ पढिन्छ, सुनिन्छ । समाचार पढिँदैन । त्यसो भएपछि मन नपरेकाको उछित्तो काढ्ने नेपालीको आमचरित्र छ । तसर्थ, भाषण गर्दा विवेक पुर्याउनुपर्छ । म पनि त्यसै गर्छु ।
विशाल भट्टराई, सांसद
राजनीतिक नेता भएपछि भाषण गरिरहनुपर्छ । आफैंले मूल्याकंन गर्दा आफ्नो भाषणशैली ‘इन्फर्मल टाइप’ को हो भन्ने लाग्छ । भाषणशैलीमा बौद्धिकता भर्नुपर्ने आत्मसमीक्षा गरेको छु । १९ वर्षदेखि निरन्तर खोटाङमा छु, यत्तिका अवधिमा मलाई सुनिरहनु भनेको सामान्य होइन । आकर्षण कायम राख्न पाउँदा गौरवान्वित छु । भाषण गर्दा नजानिँदोपारामा ‘तपाईंको’ भन्ने थेगो प्रयोग गर्दोरहेछु ।
प्रतिपक्षमा रहँदा कहिलेकाहीं आक्रामक भाषण गर्नु अस्वाभाविक होइन । हिजोआज त विकास निर्माणका कुरामात्रै गरिन्छ । भाषण गरेकै आधारमा कहिलेकाहीं विवादमा तानिएको छु ।
डोरप्रसाद उपाध्याय, पूर्वसांसद
मेरो भाषणलाई धेरैले डा. बावुराम भट्टराईको शैलीसँग मिल्दोजुल्दो भन्ने गर्छन् । मलाई पनि त्यस्तै लाग्छ । डा. भट्टराईसँग झन्डै ४२ महिना सँगै बसेको हुँ । तसर्थ, त्यसो हुनु अस्वाभाविक होइन ।
मेरो भाषण कहिल्यै आक्रामक हुँदैन । बौद्धिक भन्दा हुन्छ । भाषण गर्नुअघि सामान्य तयारी गर्छु । मेरो भाषण बाहिरीभन्दा आन्तरिक प्रशिक्षणकिसिमको हुन्छ । पंक्तिभित्र दिने भाषण मिठासपूर्ण र रमाइलो हुन्छ तर जनमानसमा दिने भाषण त्यति प्रभावकारी हुँदैन भन्ने साथीहरूको भनाइ छ ।
विष्णु रिजाल, केन्द्रीय सदस्य, नेकपा
म मध्यम तहकै वक्ता हुँ जस्तो लाग्छ । मेरो भाषण सुन्नेले दिएको प्रतिक्रियाअनुसार म भाषण ठिकै गर्छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । परिस्थिति हेरेर भाषण गर्न सक्छु । सचेत भएर भाषण गर्ने भएकाले विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्छु ।
गुरु घिमिरे, केन्द्रीय सदस्य, काँग्रेस
म मध्यमखालको भाषण गर्छु । सुन्नलायक नै गर्छु । भाषण गर्दा ‘चाइने’, ‘यसो भएको हुनाले’, ‘त्यसो भएको हुनाले’ र ‘म भन्न चाहन्छु’ भन्ने थेगो आफसेआफ प्रयोग गर्दोरहेछु । परिस्थिति हेरेर जस्तोसुकै भाषण गर्न सक्छु ।
भारतले नाकाबन्दी गर्दा मतमतान्तर चलिरहेको थियो । कसैले नाकाबन्दी हो भने कसैले होइन । मैले पनि नाकाबन्दी नै हो भनेर बोलें । संविधान जारी गरेकाले नाकाबन्दी गरिएको हो भन्दा केहीले त्यस्तो नबोलेको भए हुन्थ्यो भनेर सुझाए । सामान्यतया त्यो दिन बोल्ने कुरा मस्तिष्कमा खेलाउँछु ।
हेमकुमार राई ‘सुरवीर’, सांसद
म भाषण गर्न सिपालु होइन । धारावाहिक भाषण गर्न जान्दिनँ भन्ने लागे पनि आफूले भन्न खोजेको विषय प्रस्ट पार्ने प्रयास गर्छु । भाषण गर्दा निश्चित रूपमा, तपाईंको, भन्नुस् न, जान्नुस् न लगायत थेगो प्रयोग गरे पनि कम गर्दै लगेको छु । समय–सन्दर्भ र परिस्थिति हेरेर भाषण गर्ने गर्छु । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्ने बानी छैन । विषयवस्तुबारे जानकारीचाहिँ लिन्छु ।
हितबहादुर तामाङ, सांसद
राजनीतिक नेता भएपछि भाषण गरिरहनुपर्छ । आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा कामचलाउमात्रै हो भन्ने लाग्छ । पछिल्लो समय सुधार्ने प्रयास गरेको छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । समय परिस्थिति हेरेर भाषण गर्न सक्छु । भाषण गर्नअघि तयारी नभए पनि विषयबारे जानकारी राख्छु ।
रामहरि खतिवडा, पूर्वसांसद
मेरो भाषण शैली आफूलाई मन पर्छ । सुन्नेलाई कस्तो लाग्छ, थाहा छैन । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । भाषण गरेकै भरमा विवादमा परेको छैन । भाषण गर्नुअघि तयारी गर्दै गर्दिनँ ।
डा. खिमलाल देवकोटा, नेता
प्रशिक्षण दिनेखालको भाषण गर्ने गर्छु । मैले गर्ने भाषण आक्रामक हुँदैन । भाषण गरेकै आधारमा कहिलेकाहीं विवादमा तानिनु अस्वाभाविक होइन । भाषण गर्नअघि मस्तिष्कमा विषयवस्तुसम्म तयार गरेको हुन्छु । लेखेर तयारी कहिल्यै गर्दिनँ ।
कल्याण गुरुङ, केन्द्रीय सदस्य, काँग्रेस
राजनीतिक नेता भएपछि भाषण गरिरहनुपर्छ । आफ्नो भाषणशैलीप्रति सन्तुष्ट छु । म सुरुमा सानो स्वरमा भाषण गर्छु । बीच–बीचमा बढ्दै जान्छ । बढ्दै गए पनि बीचमा पुनः आवाज घटाउँदै लैजान्छु । ‘रिदम’ मिलाउने प्रयत्न गर्दै छु ।
परिस्थिति हेरेर भाषण गर्न सक्छु । भाषण गरेकै आधारमा एकपटक विवादमा तानिएको थिएँ । त्रिवि कर्मचारीको पोखरा अधिवेशनमा स्ववियुमा आर्थिक चलखेल बढ्यो भन्ने चर्चा गरियो । विद्यार्थीलाई आर्थिक चलखेलबारे थाहा हुँदैन, गर्दैनन्, जबसम्म सम्बन्धित क्याम्पसका कर्मचारी शुद्ध हुँदैनन् । त्रिवि, त्रिवि आंगिक र अन्य क्याम्पसका कर्मचारी शुद्ध हुने हो भने स्ववियुमा आर्थिक हिनामिना हुनै सक्दैन ।
त्रिविलगायत सबै क्याम्पसका कर्मचारीले भ्रष्टाचार रोक्न सक्नुपर्छ भन्नेबित्तिकै हामीलाई भ्रष्टाचारी भन्ने भन्दै दुई–चारजना कराउन थाले । मैले भाषण गर्न रोकिनँ । त्रिविमा भ्रष्टाचार छ भने रोक्नुपर्यो भन्ने मेरो भाषणको आसय थियो । सम्बन्धित क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी मिलेर भ्रष्टाचार रोक्नुपर्छ भनेको थिएँ । भाषण गर्नअघि सामान्य तयारी गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी