शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी पुनर्गठनको होइन, सुद्धीकरण

बिहीबार, ०५ साउन २०७४, ११ : १५
बिहीबार, ०५ साउन २०७४

मणिकुमार श्रेष्ठ सिजन 

    कुनै बेला नेपाली जनताले प्रचण्डलाई देवाता सरह मानेर पूजा गर्थे अनि माओवादीका हरेक नेता कार्यकर्ताहरूलाई आम नागरिकले राता सिपाहीको पदवी दिने गर्थे । अनि भन्दथे, वास्तविक जनताका सिपाही भनेको त नेकपा माओवादीद्वारा सञ्चालित महान जनयुद्धमा समाहित भएका तिनै योद्धाहरू हुन्, जसले न्याय र स्वतन्त्रताका लागि जीवन आहुती दिन तयार भएका थिए ।

आज त्यही माओवादी विभिन्न प्रकारका स्वार्थ समूहमा विभाजन भएर गठन विघठन र पुनर्गठन भइरहेको छ । तर, आज माओवादी पुनर्गठन भएर मात्र जनताले मुक्ति पाउँदैनन् र वास्तविक रूपमा जनताको अधिकार पनि प्राप्त हुँदैन । त्यसैले माओवादी पार्टी पुनर्गठन हुनभन्दा पनि शुद्धीकरणको आवश्यक छ । 

शुद्धीकरण केका लागि ः नेपालको इतिहासलाई हेर्ने हो भने राजनीतिक दलहरूको उत्पति र विकास भएको आज ७ दशक काटिसकेको छ । जहाँसम्म कम्युनिस्ट पार्टीको कुरा गर्दा तत्कालीन नेकपाका महासचिव पुष्पलाल श्रेष्ठलाई श्रेय जान्छ । उनैको अगुवाइमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना र विकास भयो । उनले स्थापना गरेको केही वर्ष वित्न नपाउँदै नेपालको कम्युनिस्टहरूमा विदेशी कम्युनिस्ट घटकहरूको प्रभाव बढ्दै गयो । त्यसमा पनि रुसी मोडेलको क्रान्ति र जर्मनी तथा फ्रान्सेली मोडेलको क्रान्तिका बारेमा चर्चा परिचर्चा भएको हामी पाउँछौँ । 


    यसरी नेपालका कम्युनिस्टहरूमा सुरुदेखि नै विदेशी कम्युनिस्ट घटकहरूको सकारात्मक र नकारात्मक प्रभाव बढ्दै गयो । त्यो अहिलेसम्म पनि जारी रहेको छ । अहिले पनि नेपालमा रहेका विभिन्न कम्युनिस्ट घटकहरूको आआफ्ना अन्तराष्ट्रिय केन्द्रहरू रहेका छन् । यति मात्र होइन एउटै कम्युनिस्ट पार्टीभित्र नेतापिच्छेका अन्तरास्ट्रिय कम्युनिस्ट केन्द्रहरूसँग सम्पर्क रहेको हामी पाउँछौँ । हो, वास्तवमा भन्ने हो भने अहिले नेपालको कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढी जनता कम्युनिस्ट छन् । अनि कुल पार्टीको सङ्ख्याको आधा जति त कम्युनिस्टहरू नै छन् ।

ती कम्युनिस्ट पार्टीहरूमा अहिले क्युबेली कम्युनिस्ट, जर्मनी कम्युनिस्ट, फ्रान्सेली कम्युनिस्ट, अमेरिकन कम्युनिस्ट, भारतीय कम्युनिस्ट, रसियन कम्युनिस्ट, भेतनामी कम्युनिस्ट तथा चिनियाँ कम्युनिस्ट पार्टीहरू आफ्नो प्रभाव विस्तार गर्न चाहिँ रहेका छन् । त्यसका लागि उनीहरू नेपालको विभिन्न कम्युनिस्ट पार्टीमा घटकहरू विस्तार गर्न चाहेका छन् । जसको परिणाम स्वरूप आज नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न स्वार्थ समूहमा विभाजन भएका छन् । 
    यसरी विभाजन भएको कम्युनिस्ट पार्टीहरू अहिले आआफ्नो सिद्धान्त र लहडका कारण एक ठाउँमा आएर बहस गर्न सकिरहेका छैनन् । उनीहरू एकले अर्काको सिद्धान्तको विरोध र आलोचना गरेर समय बिताइरहेका छन् । यो समय भनेको नेपालका कम्युनिस्टहरूले विश्वमा कम्युनिस्ट राज्यहरूको विघटन भइरहेको बेला नयाँ शिराबाट कम्युनिस्ट राज्यको गठन गर्ने बेला हो । तर, नेपालको कम्युनिस्टहरूमा न्यूनतम आचरण र सैद्धान्तिक रूपमा समेत विचलन आइरहेको छ । यसो भनिरहँदा नेपालको कम्युनिस्ट पार्टीहरूमध्ये अहिले चासोको विषया बनको नेकपा माओवादी केन्द्र हो । जसको केन्द्रीय सदस्य नै चार हजार जना छन् । जसलाई नेपालको ७५ जिल्लामा भाग लगाउने हो भने ५३ जनाको दरले जिल्लामा खटाउन सकिन्छ । अनि स्थानीय तहमा पठाउने हो भने प्रति स्थानीय तह ५ जनाको दरले केन्द्रय नेताहरू पठाउन सकिन्छ । आम मानिसले न्यूतम रूपमा बुझ्ने भनेको कुनै पनि पार्टीको केन्द्रीय सदस्य भनेको नीति निर्माणदेखि सिद्धान्त निर्माण गर्ने र जनताले पत्याएका व्यक्तिहरू हुन भन्ने बुझ्छन् । तर, आज माओवादी केन्द्रका केन्द्रीय नेताहरूलाई नै पार्टीको आचरण र न्यूनतम सैद्धान्तिक ज्ञानको समेत खाँचो रहेको छ । जसको परिणाम स्वरूप स्थानीय तहको निर्वाचनमा माओवादीले पराजय भोग्नुपर्ने स्थिति आयो । 


    अहिले त्यही हारको समीक्षा गर्नका लागि माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारीत वैठक बसिरहेको छ । विस्तारित वैठकले कुनै न कुनै निष्कर्ष निकालेर आउला कार्यकर्ता यही उपेक्षा गरिरहेका छन् । तर, अहिले माओवादीको वैठकमा पार्टी विघटन र पुनर्गठनको बहस चलिरहेको छ । के माओवादी पार्टी विघटन र पुनर्गठनले पार्टीलाई सही दिशामा ल्याउन सक्छ त ? सक्छ भनेर भन्न सकिने स्थिति छैन । माओवादीका नेतादेखि कार्यकर्तालाई पार्टीमा प्रतिबद्ध बनाउन र सैद्धान्तिक रूपमा विचलन आउन नदिनका लागि माओवादी केन्द्रको शुद्धीकरणको आवश्यक छ । 

शुद्धीकरण किन ः हुन त माओवादी पार्टीमा यसभन्दा अगाडि पनि शुद्धीकरणको कुरा उठ्ने गरेको छ । अनि शुद्धीकरणका लागि शक्तिशाली आयोग पनि बनेको थियो । तर त्यसलाई पार्टी केन्द्रका नेताहरूले निकम्बा बनाए । त्यसको रिर्पोट आए पनि सही सत्य तथ्य रिर्पोट आउन सकेन् । फलस्वरूप माओवादी पार्टी शुद्धीकरण गर्न बनेको आयोग नै अपाङ्ग जस्तो भयो । मानौँ कुनै नेताको बारेमा जानकारी लिन पर्यो भने पार्टीको केन्द्रीय कमिटीलाई सोध्नुपर्ने । यसरी पनि पार्टी शुद्धीकरण हुन्छ त ? 


    त्यसो भए कसरी माओवादीको शुद्धीकरण हुन सक्छ त ? त्यो विषयमा केही चर्चा गरौँ । विश्वका कम्युनिस्ट पार्टीहरूमा के विचलन नै आएका छैनन् त ? आएका छन् तर सही तरिकाले पार्टीलाई शुद्धीकरण गरेका छन् । जसले गर्दा ती पार्टीहरूले आफूलाई जीवन्त दिएका छन् । ठीक त्यसैगरी अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा पनि विकराल रूपमा सांस्कृतिक तथा सामाजिक विचलनदेखि लिएर सैद्धान्तिक रूपमा समेत विचलन आएको छ । त्यसो भए के नेपालको माओवादी केन्द्रको शुद्धीकरण निर्वाचनबाट सम्भव छ त ? अतः यसमा विश्वासिलो आधार छैन । 


    नेपालमा माओवादी आन्दोलन सुरु भएपछि केन्द्रीय नेताहरूले आफ्नो निजी सम्पत्ति पार्टीकरण गर्दै आएका थिए । तर, पछिल्लो समय त्यसमा यसरी विकृति आयो । जसको परिकल्पनासमेत गर्न सकिँदैन । यस्तो विकृति त पुँजीवादी संस्कारमा हुर्केका पार्टीका नेताहरूमा समेत थिएन । माओवादी पार्टीहरूभित्रको एउटा रोचक र संरक्षणवाद संस्कृतिको कुरा गरौँ । ‘प्रसङ्ग तत्कालीन नेकपा–माओवादीको हो ।

त्यसबेला नेकपा–माओवादीको उपाध्यक्ष सीपी गजुरेल थिए । उनी बाहिर त चर्को क्रान्तिकारी र धर्मनिरपेक्षताको कुरा गर्थे तर उनका घरमा चाहिँ श्रीमतीले गायत्री मन्त्र जप्थे । अनि श्रीमतीको साथमा उनी पनि त जानै पर्दथ्यो । यति मात्र होइन् तत्कालीन नेकपा–माओवादीको नेताहरू नै के भन्थे भने सीपीजीले पार्टीको केन्द्रीय कार्यालयबाट आफ्नो घर छैन भन्दै ३५ हजारभन्दा बढीका दरको मासिक घरभाडा लाने गर्दथे । तर, यथार्थमा के रहेछ भने सीपीजी बस्ने घर त उनैको पो रहेछ । उनी आफ्नो घर भाडामा लगाएर पार्टीबाट मासिक भाडा भन्दै लिँदा रहेछन् । पछि पार्टी केन्द्रमा सो कुराको बारेमा निवेदन परेपछि मात्र उनले केन्द्रीय कार्यालयबाट रकम लैजान छाडे ।’ यस प्रकारको संस्कृति अहिलेको नेकपा माओवादी केन्द्रमा समेत होला भनेर स्मरण गराउन मात्र खोजेको । 


    यसैगरी अहिले माओवादी केन्द्रका नेताहरूमा यस्तो प्रवृत्ति पनि छ आफ्ना छोराछोरी महँगा स्कुलमा पढ्नका लागि पठाउने अनि अरूको छोराछोरीलाई सरकारी स्कुल कलेजहरूमा पढ्नुपर्छ भनी सिद्धान्त सिकाउने गर्छन् । यस प्रकारका संस्कारका कारण आज माओवादी केन्द्रको नेता–नेता तथा कार्यकर्ता–कार्यकर्ता बीचमा सांस्कृतिक साथै आर्थिक रूपमा असमानता रहेको छ । वास्तवमा भन्ने हो भने माओवादीले समानताको लागि दस वर्षसम्म जनयुद्ध गर्यो । आज त्यही पार्टीमा आर्थिकदेखि लिएर सामाजिक रूपमा समेत असमानता मौलाएको छ । त्यसलाई नियन्त्रण गर्नका लागि माओवादी पार्टीको शुद्धीकरण आवश्यक छ । 

शुद्धीकरण कसरी : माओवादी पार्टीमा शुद्धीकरणको कुरा गर्दा यसभन्दा अगाडि पनि शुद्धीकरणको प्रयास भएका छन् । तर, त्यो शुद्धीकरण खासै प्रभावकारी हुन सकेन् । त्यसैले अब माओवादी केन्द्रमा एक शक्तिशाली पार्टी शुद्धीकरण आयोग गठन गरी त्यसबाट पार्टीको भाग्य र भविष्यको रेखा कोर्नुपर्दछ । त्यो नै आजको आवश्यकता हो । त्यस आयोगले माओवादीको अध्यक्षदेखि लिएर सम्पूर्ण पार्टी कमिटीका सदस्यहरूको निगरानीको साथै कारवाही गर्न सकोस् । 
    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेजस्तो पहिलो नम्बरको पार्टी बनाउनका लागि माओवादीले निम्न तरिकाबाट पार्टीलाई शुद्धीकरण गर्न सक्नुपर्दछ । 

१. पार्टीको सदस्य भएर निर्वाचित भएको सांसद तथा विभिन्न निकायमा पार्टीबाट राजनीतिक नियुक्ति लिएका व्यक्तिले पाउने पारीश्रमिकको ४० प्रतिशत रकम पार्टीको कोषमा जम्मा गर्नुपर्दछ । किनभने पार्टीमा एकलवादी प्रवृत्ति हावी हुँदा जसरी पनि पार्टीका सदस्यहरू विभिन्न निकायमा नियुक्ति हुन खोज्ने र नियुक्ति भइसकेपछि पार्टीलाई नगन्ने प्रवृत्ति छ । त्यसलाई निरुत्साहित गर्न सकिन्छ । जसले पार्टी सुदृढीकरणमा बल पुग्दछ र पार्टीलाई आर्थिक रूपमा सबल बनाउन सकिन्छ । 


२. पार्टीको केन्द्रीय तहका नेतादेखि जिल्ला तहका नेताहरूले आफ्नो पैतृक सम्पत्तिदेखि लिएर अहिलेसम्म आर्जन गरेका सम्पूर्ण सम्पत्ति सार्वजनिक गरिनुपर्दछ । जसले माओवादी नेताहरूको आचरणमा सुधार गर्न सकिन्छ । यदि अस्वभाविक रूपमा सम्पति देखाइएमा र पाइएको खण्डमा पार्टीले उक्त स्रोतको बारेमा छानविन गरी कारवाहीको दायरामा ल्याउन सक्नु पर्छ ।  


३. पार्टीका जिम्मेवार नेताहरूले कुनै पनि विलाशिताका सामान खरिद गर्नुपर्ने भएमा पार्टी कमिटीमा छलफल गरी उक्त सामान किन्ने स्रोतको बारेमा समेत जानकारी दिएर मात्र किन्न पाइने व्यवस्था गरिनुपर्दछ । जसले पार्टीभित्र मौलाएको सुविधाभोगी प्रवृत्तिलाई नियन्त्रण गर्न सकिन्छ । आफ्नो सम्पत्ति छ भन्दैमा जे पनि गर्न पाइन्छ भन्ने सोचको अन्त्य गर्न सकिन्छ । यसले पार्टीलाई सर्वहारावादी संस्कारको विकासमा सहयोग पुर्याउँछ । साथै पार्टीका जिम्मेवार नेताहरूलाई आउने विभिन्न उपहारका सामानहरूको बारेमा समेत पार्टी कमिटीमा जानकारी हुनुपर्छ । 


४. पार्टीको केन्द्रीय कमिटीदेखि लिएर गाउँ स्तरका पार्टी कमिटीहरूको आर्थिक तथा सामाजिक लेखापरीक्षण गर्नुपर्दछ । यसले माओवादी पार्टी कुन स्रोतबाट चलिहरेको छ । सोको बारेमा थाहा हुने र पार्टीलाई आर्थिक रूपमा थप सबल बनाउन सहज हुनेछ । 


नोट :  पार्टीको केन्द्रीय समितिको कोषाध्यक्ष रहेको बेला हरिबोल गजुरेलले सिङ्गो पार्टीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने कुरा बताएका थिए । तर, त्यसको कुनै हत्तोपत्तो भएन । अहिलेको समय भनेको पारदर्शी र जवाफदेही समाजको परिकल्पना हो । यस्तो समाजको नेतृत्व गर्ने पार्टी माओवादीले जतिसक्दो चाँडो आफ्नो पार्टीको सामाजिक हैसियतसमेत उल्लेख गरिएको आर्थिक तथा सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरी पार्टीलाई थप सबल र सक्षम बनाउनुपर्छ । 


५. अहिले माओवादी पार्टीको केन्द्रीय सचिवालयको विस्तारित वैठक बसिरहको छ । वैठक निर्णय सार्वजनिक हुन अगाडि नै सो कुरा बाहिर आइसक्छ । यसलाई माओवादी पार्टीले एकद्वार प्रणालीबाट सूचना सम्प्रेषण गर्ने पद्धतिको विकास गर्नुपर्दछ । जसले सही सूचना आउन सकोस, गलत सूचना बाहिर नजाओस् । 

निष्कर्ष : माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित वैठक बसिरहदा अहिले पार्टी विघटनदेखि लिएर पुनर्गठन गर्ने विषयमा समेत बहस भइरहेको छ । वास्तवमा पार्टीको सचिवालयको वैठक भनेको स्थानीय तह निर्वाचनमा हार बेहोर्नुका कारण पत्ता लगाउन बसेको हो । तर, वैठकमा सिङ्गो पार्टीकै भविष्यको बारेमा छलफल भइरहँदा नेकपा माओवादी केन्द्रले विघटन पुनर्गठनभन्दा पनि पार्टीका हरेक निकायको शुद्धीकरणको आवश्यक भएको छ । जुन पार्टीबाट आम नेपाली नागरिकले सुनौलो भविष्यको आशा र विश्वास गर्न सकून । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप