बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेजनका संस्थापक बेजोसले परोपकारी कार्यका लागि छुट्याए दुई अर्ब डलर

शुक्रबार, २९ भदौ २०७५, १४ : १०
शुक्रबार, २९ भदौ २०७५

वासिङ्टन– विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन् ।

बेजोसले गत वर्षनै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव माग गरेका थिए । उनीसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ । 

बेजोस र उनकी श्रीमती म्याकेन्जीद्वारा निर्माण गरिएको उक्त कोषको नाम ‘बेजोस डे वान फन्ड’ राखिएको छ । बिहिबार पत्रकार सम्मेलन गरी बेजोसले मुख्यतः दुईवटा क्षेत्रमा कोषले कार्य गर्ने जानकारी दिए । ‘पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु, र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत नयाँ, गैरनाफामूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्नु ।’ 

बेजोसले दुई अर्ब डलर केबल सुरुआत भएको र यसमा रकम बढाउँदै लैजाने बताए । ‘मैले सानो प्रयत्नबाट पनि ठूलो काम भएको पाएको छु र यस्तो देख्दा म उत्साहित भएको छु । मेरो कोषले पनि त्यही अपेक्षा राखेको छ ।’ 

घरबारविहीनका सन्दर्भमा कोषले अति जरुरीमा परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्ने बेजोसले बताए । उनले स्कुल जान नपाएका साना बालबच्चाका लागि पूर्ण छात्रवृत्ति सहितको सुविधा उपलब्ध गराउन कोषले एक वृहत सञ्जालमार्फत काम गर्ने स्पष्ट पारे ।

अमेजनको कार्यशैली झैं प्रत्येक बालबालिका स्कुलको एउटा ग्राहक हुनेछ, बेजोसले भने ।  बेजोसले गत वर्ष ट्वीटरमार्फत गरिएको अनुरोध बमोजिम प्राप्त हजारौं नवीन धारणाहरुमध्येबाट यी दुई क्षेत्र पहिचान गरेका हुन् । 

सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी प्रभाव सिर्जना गरेको छ । यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिङका साथै क्लाउड कम्प्युटिङ र अरु नयाँनयाँ सेवा थप गरेको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप