शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्राले ल्यायो २८ लाखमै इलेक्ट्रिक कार

शुक्रबार, २९ भदौ २०७५, १३ : ००
शुक्रबार, २९ भदौ २०७५

भृकुटीमण्डपमा जारी नाडा अटो सोमा विद्युतीय सवारीसाधनको चाख  खुबै बढेको छ । पछिल्लो समय  सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिँदै त्यस्ता कारलाई प्रोत्साहन दिन थालेपछि कार बजारमा पनि यस्ता कारको माग बढ्न थालेको छ ।

भनिन्छ, काठमाडौंमा हुने वायु प्रदूषणको ८५ प्रतिशत हिस्सा डिजेल, पेट्रोललगायतका इन्धनबाट आउने कार्बनले गराउने गरेको छ । त्यसैकारण पनि बस्तीक्षेत्र वा सहरीक्षेत्रमा विद्युतीय कारको माग बढ्न थालेको छ । 

सर्वसाधरण र सरकारको समेत प्राथमिकतामा परेपछि यतिबेला महिन्द्राले सस्तो मूल्यमै सुविधासम्पन्न इलेक्ट्रिक कार बजारमा ल्याएको छ ।
ई–भेरिटो (E-Verito) नाम दिइएको यो कार, स्टाइलिस मात्रै छैन, सुविधानसम्पन्न र साँच्चैको कार भन्न लायकसमेत छ । 

यस्तो छ महिन्द्राले नाडा अटो सो मार्फत् सार्वजनिक गरेको ई–भेरिटो कारका विशेषताहरू । 

सिट

महिन्द्राको ई–भेरिटो कार ५ सिट क्षमतामा तयार भएको छ । यो लक्जरियस सेडान कार हो, जसको लम्बाई पनि लामो छ र अन्य कारभन्दा फरक छैन । 

माइलेज 

यो कारमा ३० दशमलब ५ किलोवाट क्षमताको अत्याधुनिक गुणस्तरको ब्याट्री जडान गरिएको छ । एक पटक कार फुल चार्ज गरिसकेपछि कम्तीमा १ सय ४० किलोमिटर आनन्दले गुडाउन सकिन्छ भेरिटो कार ।

यो कार ८६ किलोमिटर प्रतिघण्टासम्मको गतिमा गुड्न सक्ने कम्पनीले दाबी गरेको छ । 

वारेन्टी

यो करमा प्रयोग हुने ब्याट्री अत्याधुनिक ब्याट्री रहेको छ । कम्पनीले यस कारको ब्याट्रीमा ३ वर्ष वा ३६ हजार किलोमिटरको वारेन्टी दिएको छ । सवारीसाधनको अन्य पार्टस्मा भने २ वर्षको वारेन्टी दिइएको महिन्द्राका सिनियर म्यानेजर प्रमोद भण्डारीले बताएका छन् ।

इलेक्ट्रिक कार भएकाले यस कारमा धेरै समस्या नआउने पनि कम्पनीको दाबी छ । 

अन्यजस्तै बलियो कार
सामान्यतः इलेक्ट्रिक कार भन्नेबित्तिकै बढी क्षमता नतान्ने, कमजोर हुने भन्ने भान हुन्छ । तर महिन्द्राको भेरिटो कार भने अन्य कारजस्तै बलियो रहेको कम्पनीले दाबी गरेको छ । यो कार देखाउनका लागि मात्रै नभएर चलाउनकै लागि तयार पारिएको सिटी कार रहेको महिन्द्राको दाबी छ । 

१ घण्टा ४५ मिनेटमै फुल चार्ज हुने

महिन्द्राको ई–भेरिटो कार मात्र १ घण्टा ४५ मिनेटमै फुल चार्ज गर्न सकिने क्षमताको रहेको छ । यद्यपि त्यसका लागि भने चार्जिङ स्टेसन पुग्नुपर्ने हुन्छ ।

सामान्य ढङ्गबाट घरबाटै चार्ज गर्ने हो भने फुल चार्ज गर्न मात्र ८ घण्टा ४५ मिनेट लाग्नेछ ।

८ घण्टा ४५ मिनेट समय भनेको चार्जिङ जिरो भएको अवस्थामा मात्रै हो । नत्र ४०÷४५ प्रतिशत चार्ज रहेको अवस्थामा ४/५ घण्टामा नै फुल चार्ज हुनेछ । 

नेपालमै पहिलो इलेक्ट्रिक सर्भिस् सेन्टर

महिन्द्राले आफ्नो इलेक्ट्रिक कारको सर्भिसिङका लागि नेपालमै पहिलो इलेक्ट्रिक कार सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । 

सर्भिस सेन्टर सञ्चालनमा ल्याएसँगै अब इलेक्ट्रिक कारको मर्मतसम्भार पनि मजबुत हुने कम्पनीले बताएको छ । 

काठमाडौंमा जहाँ बिग्रिए पनि कम्पनीले नै टेक्निसियन पठाएर मर्मत गरिदिने र ३ वर्षसम्म जे बिग्रिए पनि कम्पनीकै दायित्व हुने महिन्द्राले जनाएको छ । 

उकालोमा पनि सजिलै तान्ने

इलेक्ट्रिक कार भए पनि यो कारको भारवहन क्षमता बढी भएको कारण उकालोमा पनि सहज ढङ्गले तान्न सक्छ । ५ सिट क्षमताको सेडान कार भएकाले ५ जना मान्छे चढेकै अवस्थामा पनि यसले सहज ढङ्गले यात्रा गर्न सकिने महिन्द्राको दाबी छ । 

ग्राउन्ड क्लिरेन्स धेरै

अन्य विद्युतीय कारको ग्राउन्ड क्लिरेन्स १० सेन्टिमिटरभन्दा कम हुँदै गर्दा महिन्द्राको ई–भेरिटो कारको ग्राउन्ड क्लिरेन्स भने बढी छ ।

ई–भेरिटो कारको ग्राउन्ड क्लिरेन्स १७ सेन्टिमिटर रहेको कम्पनीले बताएको छ । ग्रान्ड क्लिरेन्स बढी हुँदा काठमाडौंजस्तो बिग्रेको र उबडखाबड सडकमा पनि यो कारलाई सहज ढङ्गबाट चलाउन सकिने छ । 

वार्षिक सडक दस्तुर ३ सय मात्रै

नेपाल सरकारले विद्युतीय सवारीसाधनलाई उच्च प्राथमिकता दिएकाले सडक दस्तुर अत्यन्तै न्यून रहेको छ । महिन्द्राको ई–भेरिटो कारको वार्षिक नवीकरण शुल्क ३ सय रुपियाँ रहेको छ । जबकि अन्य कारको वार्षिक नवीकरण शुल्क करिब २० हजार हाराहारी पर्ने गरेको छ ।

२ दिनमै ५ वटा बुकिङ

नाडा अटो सोबाटै भित्र्याएको महिन्द्राको ई–भेरिटो कारको माग उच्च हुने कम्पनीले दाबी गरेको छ । नाडा अटो सोको दास्रो दिनसम्मा ५ वटा बुकिङ भइसकेको कम्पनीले बताएको छ । उपभोक्ताले यो कारलाई अत्यधिक रुचाएको भन्दै यस आर्थिक वर्षमा करिब ३ सयवटा इलेक्ट्रिक कार बेच्ने टार्गेट रहेको र त्यो पूरा हुने कम्पनीको दाबी छ । 

मूल्य

महिन्द्राको ई–भेरिटो कार एकदमै सस्तो मूल्यमा उपलब्ध छ । अत्याधुनिक सुविधासहितको कार भए पनि यो कारको मूल्य भने जम्मा २८ लाख ८० हजार मात्रै रहेको छ । अन्य कार र यो कारमा खासै भिन्नता छैन । अन्य कारमा जस्तै यस कारमा पनि एसी, हिटर, म्युजिक सिस्टम, फोल्डिङ सिट सबै सुविधा उपलब्ध छ । क्षमता पनि बढी र लागत कम भएकाले यो कारको मूल्य भारतमा भन्दा जम्मा ३० प्रतिशत मात्रै बढी रहेको कम्पनीले बताएको छ । नाडा अटो सोमा बुकिङ गर्नेहरूलाई ५० हजार छुट दिइने कम्पनीले बताएको छ । 

३५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सको सुविधा

महिन्द्राको यो कार फाइनान्समा पनि किन्न सकिने छ । नेपाल इन्भेस्टमेन्ट बैङ्कले मात्र १० प्रतिशत ब्याजमा यो कार फाइनान्समा उपलब्ध गराउने महिन्द्राले बताएको छ । मात्र ३५ प्रतिशत डाउन पेमेन्ट गरेर १० वर्षको किस्तामा यो कार किन्न सकिने व्यवस्था मिलाइएको छ । 

उपभोक्ताको राम्रो रुचि

नाडा अटो सोमा उपस्थित धेरै उपभोक्ताले यो कारप्रति रुचि देखाएको महिन्द्राका सिनियर म्यानेजर प्रमोद भण्डारीले बताए । धेरै उपभोक्ताले राम्रो रेस्पोन्स दिएको र वातावरणमैत्री तथा कम खर्चमै सञ्चालन गर्न सकिने भएकाले काठमाडौं लगायत मुख्य सहरहरूमा यसको माग बढ्ने कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप