शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेरी एकपटक किताब लेख्छु तर यसपटक भने सबै झुटो कुरा हुनेछन्ः नवाजुद्दीन सिद्दीकी

शुक्रबार, २९ भदौ २०७५, ०९ : ४७
शुक्रबार, २९ भदौ २०७५

बीबीसी /मधु पाल

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले गत वर्ष आफ्नो जीवनी ‘एन अर्डिनरी लाइफ’ सार्वजनिक गरेका थिए तर विभिन्न विवादपछि उनले आफ्नो उक्त किताब फिर्ता लिनुपरेको थियो ।

आफ्नो आत्मकथा फिर्ता लिनुपरेकोमा अफसोस जताउँदै नवाजले भने, ‘ म पुनः किताब लेख्नेछु तर यसपटक सबै झुटो कुरा लेख्नेछु । सबैले निकै रुचाउनेछन् किनभने म ‘चर्चित’ हुँ । मानिसहरुले पढ्नेछन् र ताली बजाउनेछन् किनभने चर्चित मानिसहरुको किताब सबैले पढ्छन् ।’

नवाजुद्दीन आफ्नो नयाँ फिल्म मन्टोका कारण चर्चामा छन् ।

बीबीसीसँगको कुराकानीमा नवाजुद्दीनले आफ्नो किताब फिर्ता लिने निर्णयले आफूलाई निकै दुःखी र चिन्तित तुल्याएको बताए ।

आफ्नो महिमा लेखेको थिइनँः

नवाजुद्दीनले भने, ‘मेरो यो किताब दुई सय ९ पानाको थियो र ४–५ पानामा मात्र मेरो सम्बन्धबारे लेखिएको थियो । सम्बन्धको कुरा गर्दा मैले व्यक्तिहरुको नाम लिएँ जुन मेरो गल्ती थियो । मैले यस्तो गर्नु हुँदैनथ्यो । मैले यो कुरालाई स्विकार गरें र नाम फिर्ता लिएँ । त्यसबाहेक दुई सय चार पानामा म कसरी सानो गाउँबाट आएँ, कसरी मैले तालिम लिएँ, कसरी मेरो सोच बदलियो भन्ने बारे लेखेको थिएँ । म राम्रो नराम्रो जस्तो कलाकार थिएँ त्यसबारे लेखेको थिएँ । मैले त्यसमा आफ्नो कुनै पनि महिमा लेखेको थिइनँ ।’

नवाज थप्छन्, ‘नराम्रो शब्दको प्रयोग गरेर मैले आफ्नो बारे बताएको थिएँ । यो किताब अंग्रेजीमा थियो तर त्यसमा लेखिएको हरेक कुरा निकै स्पष्ट र वास्तविक थिए । म कस्तो व्यक्ति थिएँ भन्नेबारे बयान गरेको थिएँ । मभित्र कति गलत बिचार थियो भन्ने बारे लेखेको थिएँ, गलत सोच र बिचार भएको गाउँबाट आएको बारे लेखको थिएँ । मेरा यी सबै कुरामा ध्यान नदिएर ती चार पाँच पानालाई सनसनी बनाइयो । यस्तोमा मेरो दिमागमा त यही कुरा आउँछ कि ठिक छ म आफ्नो किताब फिर्ता लिन्छु किनभने म चर्चित र लोकप्रिय भइसकेको छु ।’

रजनीकान्तमा फिदा नवाजः

फिल्म मन्टो र ठाकरेबाहेक नवाज आजकाल आफ्नो फिल्म ‘न्यू लभ इन रोम’ र सुपरस्टार रजनीकान्तसँग अर्को एउटा फिल्ममा व्यस्त छन् ।

रजनीकान्तका लागि उनका प्रशंसकको प्रेमबारे नवाज भन्छन्, ‘रजनी सर संसारका सबैभन्दा ठूला सुपरस्टार हुन् । उहाँका प्रशंसकमा उनका लागि जस्तो क्रेज छ, त्यो अरु कसैले पाउने छैनन् । यसमा कुनै शंका छैन । उहाँले कहिले पनि आफू सुपरस्टार हुँ भन्ने देखाउनुहुन्न । उहाँलाई भेट्दा आफू एक कलाकार मात्र भएको बताउने गर्नुहुन्छ ।’

‘तर मैले यस्ता मानिस पनि देखेको छु जसले तपाईंलाई जबर्जस्ती बताउने कोसिस गर्छन् कि ‘हेर, म कति ठूलो सुपरस्टार हुँ’ । रजनी सर र बाँकी स्टारमा यही नै सबैभन्दा ठूलो भिन्नता हो । उत्तर प्रदेशको कुनै पनि गाउँमा जानुहोस् सबैलाई थाहा छ कि रजनीकान्त को हुन् तर यदि तपाईं साउथको कुनै गाउँमा जानुहोस् त थाहा हुन्छ कि उनीहरु हाम्रा सुपरस्टारलाई कति चिन्छन् ।’

दमदार अभिनयमार्फत आफ्नो बेग्लै पहिचान बनाउन सफल नवाजलाई नेशनल अवार्डको कुनै चाह छैन ।

नवाज भन्छन्, ‘म नेशनल अवार्डका कारण फिल्ममा अभिनय गर्दिनँ  र मलाई थाहा छ कि मैले नेशनल अवार्ड पाउँदिनँ । त्यसकारण मलाई अवार्डको कुनै आशा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप