शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाटा ‘ट्राभल मार्ट’ शुरु : नेपालसहित ७० देश सहभागी

बिहीबार, २८ भदौ २०७५, १६ : २५
बिहीबार, २८ भदौ २०७५

– सिवी अधिकारी 

लांकावी– प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ‘ट्राभल मार्ट’को ४१ औँ संस्करण मलेशियाको पर्यटकीय क्षेत्र लांकावीमा शुरु भएको छ ।  मलेशियाको पर्यटन मन्त्रालय तथा पाटा मुख्यालय आयोजक रहेको ‘पाटा ट्राभल मार्ट–२०१८’ मा नेपालसहित ७० देशका एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

सो मार्टमा २५२ बिक्रेता र २०० क्रेताको सहभागिता छ । सो कार्यक्रमको उद्घाटन गर्दै मलेशियाका उपप्रधानमन्त्री डा.वान अजिजा स्माइलले पर्यटन क्षेत्रको विकासका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेको र त्यसका लागि मलेशियाले नेतृत्वदायी भूमिका खेल्ने बताए । यस मेलाले विश्वभरका पर्यटन व्यवसायीलाई एकै ठाउँमा जम्मा हुने अवसर दिलाएको उनको भनाइ थियो । 

मलेशियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री तुन माहमुद्दिन विन कतापीले मलेशिया पर्यटनका लागि सुरक्षित गन्तव्य रहेको भन्दै पर्यटन क्षेत्रमा बढ्दो विदेशी लगानीले यहाँको अर्थतन्त्र थप मजबुत हुने उल्लेख गरे । 

लांकावी केदाह प्रान्तका मुख्यमन्त्री डा.मुखजिर महाथिरले लांकावीमा पर्यटक आकर्षणका लागि पूर्वाधार विकास तथा गन्तव्य प्रवद्र्धनलाई तीव्रता दिइएको बताए । कार्यक्रममा पटाका अध्यक्ष डा.क्रिस बोट्रिलले यो मेलाले विश्वका पर्यटन व्यवसायीलाई एकै थलोमा जम्मा गरेर व्यवसाय प्रवद्र्धन गर्ने उपयुक्त थलो भएको उल्लेख गरे ।

तीन दिने कार्यक्रममा नेपालका तर्फबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहकार्य तथा समन्वयमा १० निजी क्षेत्र (टुर अपरेटर, ट्राभल र होटल) व्यवसायीको सहभागिता छ । सो कार्यक्रममा प्रतिनिधित्व गर्ने नेपाली सहभागीले नेपालको पर्यटन प्रवद्र्धनमा गन्तव्यको प्रचारप्रसार गर्नेछन् । साथै सहभागी निजी पर्यटन व्यवसायीले पर्यटकीय गन्तव्यस्थलको प्याकेज बिक्रीको साथै नेपालको पर्यटकीय गन्तव्यको राम्रो प्रचारप्रसार गर्ने सहभागीको भनाइ छ । 

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार सन् १९७८ मा शुरु भएको मार्टको पहिलो संस्करणदेखि नै नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन तथा पर्यटन व्यवसायी संस्थाका लागि व्यापार सम्बन्ध विस्तार गराउन निरन्तररुपमा सक्रिय एवम् प्रभावकारी सहभागिता जनाउँदै आएको छ । 

सरकारको सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने योजनालाई सार्थक तुल्याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने गरी नेपाल कक्षको सजावट तथा प्रवद्र्धन रणनीति चलाइएको उनले जानकारी दिए ।

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्माले नेपाल भ्रमण वर्षको अभियानलाई सार्थक बनाउन कार्यक्रम उपयुक्त माध्यम हुने उल्लेख गरे । यसले नेपालको पर्यटन क्षेत्रमा रहेको भ्रम चिर्नसमेत सहज हुने र गन्तव्यको प्रबद्र्धनमा पुर्याएको उनको भनाइ थियो । 

विश्वभरका पर्यटन व्यवसायीको बीचमा नेपालका गन्तव्य तथा नेपालले पर्यटन विकासका लागि गरिरहेको कामको विषयमा समेत कार्यक्रममा छलफल हुनेछ । अन्तर्राष्ट्रियस्तरमा हुने यस्तो मेलाले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने सहभागी होटल व्यवसायी रामचन्द्र भट्टराईले बताए । 

नेपाल वायुसेवा निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले निगमका नयाँ वाइड बडी विमानको गन्तव्य प्रवद्र्धनमा यस्ता गतिविधिले महत्वपूर्ण सहयोग पुग्ने बताए । भइरहेका गन्तव्य र जोडिन लागेका जापान, दक्षिण कोरिया, साउदी अरेबियालगायत गन्तव्यका व्यवसायीसँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रम रहेको र यसबाट नेपालमा धेरै पर्यटक भित्रयाउन सहयोग पुग्ने निगमको भनाइ छ ।

यहाँको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा लांकावीको समुद्रमाथिको केवलकार र आकाशे पुल पर्यटनको प्रमुख आकर्षण मानिन्छ भने स्थानीय जीवजन्तु वनस्पति र परम्परागत जीवनशैलीले पनि पर्यटकको मन भुलाउने गरेको छ । 

मलेशियाको सरकारी तथ्याङ्कअनुसार सन् २०१७ मा दुई करोड ५९ लाख विदेशी पर्यटकले यहाँको भ्रमण गरेका छन् । यसबाट ८२.२ अर्ब मलेशियन रिङ्गेट आर्जन भएको छ । सन् २०२० मा तीन करोड पर्यटक पुर्याउने मलेशियन सरकारको लक्ष्य छ । यहाँको पर्यटनले २२ प्रतिशत रोजगारीको अवसर दिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप