केन्द्रीय संस्करण
विकास

भूकम्पपछि जुरुक्क उठेको चीनको लोभलाग्दो हिम–पहाड गाउँ (फोटो/भिडियो)

person explore access_timeभदौ २८, २०७५ chat_bubble_outline0
शम्भु दंगाल

रातोपाटी

सिचुवान-चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुबाट २ सय १० किलोमिटर पश्चिमतर्फ छ यान सहर । 

यान सहरबाट ३२ किलोमिटर पूर्व पश्चिम क्षेत्रमा ददु नदीको किनारमा छ हिम–पहाड गाउँ । चिनियाँ भाषामा ‘स्ये’ भनेको हिउँ र ‘सान’ भनेको पहाड हो । अङ्ग्रेजीमा ‘स्नो माउन्टेन’ ।   
यो गाउँ समुन्द्र सतहबाट १ हजार ८ सय मिटर उचाइमा छ । 

यो ठाउँलाई चीनको पाण्डाको राजधानीका रूपमा पनि मानिन्छ । 

सन् २०१३ को अप्रिलमा  गएको ७ रेक्टरको भूकम्पपछि घरहरू तहसनहस भए । ठाउँ ठाउँमा पहिरो गएर बाटो अवरुद्ध भयो । यो गाउँमा ६० परिवारका २ सय ६० जना भूकम्पबाट प्रभावित भएका थिए । 
भूकम्पपछि सन् २०१३ को सेप्टेम्बरबाट पुनर्निर्माणको काम सुरु गरियो ।  

चिनियाँ गरिबी निवारण कोष, सरकार र स्थानीयको रकममा यो गाउँको पुनर्निर्माण थालिएको थियो । झन्डै डेढ वर्षमा सिङ्गो गाउँ पुनर्निर्माण गरिएको थियो । 
झुरूप्प बस्ती । एकैखालका घरहरू । ४० घरहरूको सबैको आकार लगभग उस्तै छ । आधुनिक निर्माण सामग्री प्रयोग गरेर घर निर्माण गरिए पनि घरको बाहिरी भागलाई सिचुवान प्रान्तमा पाइने परम्परागत घरको स्वरूप दिइएको छ । 

गाउँ पार्टीको नेतृत्वमा घर निर्माणका लागि गाउँ समिति बनाइएको थियो, सोही समितिको नेतृत्वमा दु्रत गतिमा घर निर्माण गरेको लिले जानकारी दिए । 

घर निर्माणका लागि चीनको गरिबी निवारण कोषले १ लाख, सरकारले ४ लाख सहयोग गरेको थियो । अरू पैसा स्थानीयले बेहोरेका थिए । 

पुनर्निर्माणका लागि सहयोग जुटाउन विभिन्न कार्य गरिएको थियो । घरको प्रकार डिजाइन गराउन इन्जिनियरहरू बीच प्रतिष्पर्धा गराइएको थियो । ती इन्जिनियरहरूलाई स्वयम् सेवकको रूपमा खटाइएको थियो । 

                                हिम-पहाड गाउँमा रहेकाे १०० वर्ष पुरानाे भूकम्पले नभत्काएकाे घर 

बाहिरबाट मान्छे ल्याएर काम गराउँदा खर्च धरै लाग्ने भएकाले सामूहिक रूपमा घर निर्माण गरिएको हिम पहाड गाउँका चिनिया कम्युनिस्ट पार्टी गाउँ समितिका अध्यक्ष ली द आनले जानकारी दिए । 
उनीहरूले घर बनाउने बेला बैङ्कबाट ऋण पनि लिएका थिए । १० प्रतिशत ब्याज तिर्नुपर्ने शर्तमा ब्याज पाउँछन् । त्यसका लागि सामूहिक जमानीको व्यवस्था गरिएको छ । ऋण लिन बैङ्कमा धाउनुपर्दैैन, बैङ्कमा कर्मचारी घरसम्म आफै आउने गरेका छन् । 

यहाँ सन् २००८ मा पनि शक्तिशाली भूकम्प गएको थियो । २ पटक गएको भूकम्पले स्थानीयको आर्थिक अवस्था अत्यन्तै कमजोर बनेको थियो । साथसाथै पहिलेदेखिको गरिबी पनि कायमै थियो । पश्चिमी चीनको पहाडी क्षेत्रमा गरिबी निवारणका लागि सहयोग पाउन पनि गाह्रो रहेको चीनको गरिबी निवारण कोषका प्रतिनिधि होङ च्युले बताए । 

सिचुवान प्रान्तको यान सहरलाई पाण्डाको घर पनि मानिन्छ । विश्वमा पहिलो पटक पाण्डा यहीँ भेटिएको थियो । 

सरकारले यहाँको प्राकृतिक स्रोत, खनिज पदार्थको संरक्षण गरेको छ । पण्डा संरक्षणका कारण यहाँको प्राकृतिक स्रोत साधन, खनिज उत्खनन जस्ता काममा प्रतिबन्ध लगाइएको छ । प्राकृतिक स्रोत उपभोग गर्न नपाउँदा पनि यहाँका जनता गरिबीमा रहेको होङले उल्लेख गरे । 

भूकम्पपछि यो क्षेत्रमा गरिबी निवारणका लागि अनिर्वाय शिक्षा, उन्नत चेतना स्तर, तालिम र सामाजिक कार्यक्रममा जोड दिइएको उनले बताए । 

चीनको राज्यपरिषद् एकाइअन्तर्गत गरिबी निवारण कार्यक्रम सञ्चालन भइरहेको छ । गरिबी निवारण कोषको अन्तिम लक्ष्य जनताको सुखी जीवन र बसोबासको व्यवस्था गर्नु रहेको छ ।
सन् २००८ र २०१३ मा २ पटक भूकम्प जाँदा यहाँको जनताको आर्थिक अवस्था अत्यन्तै कमजोर हुन पुग्यो । 

हिम पहाडको गाउँको होमस्टे : भूकम्पपछिको समृद्धि 
हिम पहाड गाउँको पुनर्निर्माण भएको नयाँ गाउँमा ४० वटा घर छन् भने पुरानो गाउँमा २० घर गरी ६० घर छन् । अधिकांश ३ तले घरमा पहिलो तलामा रेस्टुरेन्ट, दोस्रो तलामा परिवार बसोबास र तेस्रो तलामा पाउना बसोबास स्थल बनाइएको छ । सामुदायिक पसल, स्थानीय सामग्री बिक्री गर्ने पसलको पनि व्यवस्था गरिएको छ । 

सरकारले गाउँमा सडकका साथै अन्य भौतिक पूर्वाधारहरूको विकास गरेको छ । 

पहिला आयआर्जन गर्ने केही पनि स्रोत थिएन । सबै खेतीपातीमा निर्भर थिए । 

यो गाउँका ६० घर परिवारले गएको वर्ष २ लाख ५० हजार चिनियाँ युआन आम्दानी गरेको गाउँका अध्यक्ष लीले जानकारी दिए ।  

महिलाहरू होमस्टे चलाउनुका साथै पर्यटकको कम आउने मौसममा मासुबाट ससेज बनाउने तथा खेतीपातीको काम पनि गर्छन् । उनीहरूलाई पशुपालन गर्ने, बास्केट बनाउने काम पनि सिकाइएको छ । जसबाट उनीहरूले घरमै बसेर पनि आम्दानी गर्न सफल भएका छन् । 

होमस्टे उद्योग चलाएर गरिबी निवारण गर्ने योजनाअनुसार हिम पहाड गाउँमा यसको सफल प्रयोग भइरहेको छ । 

पहिला काममा लागि बाहिर जाने पुरुषहरू पनि अहिले गाउँ फर्किएका छन् । गाउँमै रोजगारी सिर्जना भएपछि उनीहरू परिवारसँग बस्न पाएका छन् । 

भूकम्पपछि पुनर्निर्माणका लागि हिम पहाड गाउँमा हङकङको एउटा सामाजिक संस्था र बेलायतको अक्फाम नामक संस्थाले पनि केही सहयोग गरेको थियो । 

नयाँ गाउँ बनाइसकेपछि गाउँको प्रवेशद्वारमा हरेक परिवारबाट एक एक इँटा लिएर ४ सय २० सेन्टिमिटर अग्लो भूकम्प स्मारक बनाइएको छ । ४ महिना २० गते भूकम्प गएकाले सोही मितिलाई सम्झाउने गरी स्तम्भ बनाइएको लीले जानकारी दिए । 

चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत हिम पहाड गाउँ शाखा समितिका अध्यक्ष ली द आन र स्वयम् सेवक सु छ्याउचौका अनुसार हिम पहाड अहिले समृद्धिको बाटोमा लागेको छ । 

पर्यटक तान्न परम्परागत शैली 
हिम पहाड गाउँमा घर निर्माणका क्रममा विशेष सावधानी अपनाइएको छ । 

आधुनिक निर्माण सामग्रीको प्रयोग गरिए पनि बाहिरी स्वरूपलाई परम्परागत शैली दिइएको छ । पश्चिम सिचुवान प्रान्तमा हुने परम्परागत घरको ढाँचामा घर बनाइको छ । 

सिमेन्टले बनाएको पक्की घर भए पनि बाहिरी भागमा पूरै बाँसले छोपिएको छ । यस्तो गर्नुको कारण परम्परागत घरको मौलिक स्वरूपलाई कायम राख्नु रहेको गाउँका अध्यक्ष लीले जानकारी दिए । 

घरको बार्दलीमा राखिएको रेलिङ पुरानो घरको काठबाट बनाइएको छ । घरको पहिलो तलासम्म ढुङ्गा प्रयोग गरिएको छ, दोस्रो र तेस्रो तलामा बाँसले घरको आवरण छोपिएको छ । सो बस्तीमा एउटा एक सय वर्ष पुरानो घरसमेत रहेको छ । त्यो पुरानो घरको पहिलो तला ढुङ्गाले बनेको पाइएपछि परम्परागत स्वरूप दिन हरेक घरको पहिलो तलासम्म ढुङ्गा र सिमेन्टको गारो लगाइएको छ । 

यसरी आधुनिक निर्माण सामग्रीले घर बनाए पनि परम्परागत शैली दिनुको भने अर्कै कारण रहेको छ । सरकारले भूकम्पपछि घर निर्माण गर्ने क्रममा एउटा सर्त राखेको थियो । त्यो सर्त भनेको घरको बाहिरी भागलाई परम्परागत स्वरूप दिनु ।

सहरिया शैलीको घर बनाउने भए अनुदान नदिने र परम्परागत शैलीमा घर बनाए अनुदान दिने भनेको थियो । आफ्नो इच्छाअनुसारको घर बनाउने भए अनुदान नदिने भनेको थियो । यसको मुख्य कारण पर्यटक आकर्षण गर्नु थियो । 

स्थानीय शैलीमा घर बनाए पर्यटकका लागि पनि आर्कषक हुने र स्थानीयलाई आयआर्जन गर्न एउटा माध्यम हुनेभएपछि सरकारले यस्तो कदम चालेको थियो । 

अहिलसम्म झन्डै ५० हजार पर्यटक यो गाउँको होमस्टे भ्रमणका लागि आएका छन् । बिदाको समयमा बढी पर्यटक आउने गरेका छन् । चीनका विभिन्न ठाउँबाट स्वदेशी तथा दक्षिण अफ्रिकादेखि यहाँ भ्रमणका लागि पर्यटक आउने गरेका छन् । 

पर्यटक आएपछि स्थानीय सामग्रीको व्यापार, रेस्टुरेन्ट र होमस्टे भाडाबाट आउने पैसा नै उनीहरूको आर्थिक स्रोत हो ।

यहाँको होमस्टेमा बस्न एकजनाका लागि ३ सय ६० युआन पर्छ भने दुईजनाका लागि ६ सय २० युआन पर्ने गर्छ । यस्तै एक छाक खानाको ५० युआन पर्छ । मासुको कुनै विशेष परिकार खाने हो भने चाहिँ अर्डर गर्नुपर्ने व्यवस्था रहेको स्वयम् सेवक सुले बताइन् । 

होमस्टे व्यवस्थापन गर्न र गाउँलेको आर्थिक स्तर सुर्धान गाउँमा सहकारी समिति निर्माण गरिएको छ । 

                                   हिम पहाड गाउँका अध्यक्ष ली​

गाउँका अध्यक्ष लीले भने– ‘पहिलो गाउँमा एकदम गरिबी थियो । मकै खेती र सुँगुर पाल्ने गरिन्थ्यो । आम्दानीका अरू कुनै स्रोत थिएनन्’ । 

चीनको गरिबी निवारण कोषले दिएको ३० लाख युआनबाट औद्योगिक कोष पनि निर्माण गरिएको छ । यहाँको मुख्य आम्दानीको स्रोत होमस्टे उद्योग हो । यसको व्यवस्थापन यहाँको सहकारीले गरिरहेको छ । होमस्टे, रेस्टुरेन्ट र स्थानीय सामग्रीको बिक्री नै यहाँको आम्दानीको स्रोत रहेको  छ । 

गरिबी निवारणका लागि चिनियाँ मन्त्र : कृषि र पर्यटन सँगसँगै 
चीनले सन् २०२० सम्म पूर्णरूपमा गरिबी नियन्त्रण गर्ने लक्ष्य लिएको छ । ग्रामीण पहाडी भागमा रहेको गरिबी नियन्त्रणका लागि कृषि र पर्यटनलाई सँगै जोडिएको छ ।

भूकम्पपछिको पुनर्निर्माणका क्रममा शिक्षाको विकास, कृषि, पर्यटन र पर्यावरण संरक्षणलाई जोड दिइएको चीनको गरिबी निवारण कोषका प्रतिनिधी होङ च्युले जानकारी दिए ।  
उद्योग व्यवसाय नै गरिबी निवारणको भरपर्दो माध्यम मान्दै उद्योगमा आधारित गरिबी निवारण कार्यक्रमलाई जोड दिइएको छ । 

कृषि क्षेत्रको विकासका लागि गाउँ गाउँमा सहकारी समितिहरूको निर्माण गरिएको छ । चिया, किवी तथा अन्य तरकारी तथा फलफूल खेतीलाई सहकारीमार्फत व्यवस्थित गरिएको छ । 

होङका अनुसार चीनमा गरिब र अति गरिब भनेर २ वर्गमा छुट्टाइने गरिएको छ । पहाडी अवस्था, उनीहरूको कृषिको अवस्थालाई आधार मानेर सरकारले सहयोग गर्ने गरेको छ । 
यान सहरमा गरिबी निवारण कार्यक्रम सुरु गरेको ४ वर्ष भयो । सन् २००८ मा गएको भूकम्पले आर्थिक रूपमा कमजोर बनाएको थियो । 

सन् २०१३ मा वार्षिक प्रतिव्यक्ति आय ७ हजार युआन रहेकोमा अहिले ४ हजार बढेर ११ हजार युआन पुगेको छ । यहाँको सहकारी समितिमा १ सय २० जना सदस्य रहेका छन् । 

सहकारी समितिले स्थानीयले होमस्टे सञ्चालनबाट फाइदा लिएपछि त्यसबाट केही प्रतिशत लाभकर पनि काट्ने गर्छ, जुन पैसा विकास कोषमा राखिन्छ । सहकारीले स्थानीयमा कसरी नयाँ चेतनाको विकास गर्ने, नयाँ सीप सिकाउने तालिम दिने स्वयम्सेवक सु साउचनले बताइन् । 

उनले भनिन्– ‘सबैभन्दा ठूलो कुरा दिमाग हो । सबैलाई फाइदा हुने कुरा सिकाउने, विशेष अवसर सिकाउने, खाना बनाउने तरिका, फोटो खिच्ने अवसरहरू दिने काम गर्छौं ।’

हिमपहाड गाउँमा यहाँ सन् २०१५ देखि होमस्टे सञ्चालनमा आएको हो । यसलाई यहाँको सहकारी समितिले रेखदेखको काम गर्छ । 

पुनर्निर्माणपछि सुरु भएको होमस्टे उद्योगले एकातिर यहाँका स्थानीयको बानी व्यवहारका साथै बसोबासमा धेरै सुधार भएको छ । पर्यटन उद्योगबाट यहाँको गरिबी निवारण भएको छ । गाउँलेहरूमा धेरे नयाँ विचारहरूको विकास पनि भएको उनले जानकारी दिइन् । 

यद्यपि नयाँ खाले चुनौती पनि विकास नभएका भने होइनन् । गाउँलेहरूमा व्यापार व्यवसाय गर्ने, होमस्टे चलाउने त्यति धेरै अनुभव त छैन तर उनीहरूले सिक्दै अघि बढिरहेका छन् ।

सबै घरपरिवारले मनग्गे आम्दानी नगरे पनि केही घरले होमस्टेबाट राम्रो आम्दानी गरेर अर्को सहरमा शाखा बिस्तार समेत सुरु गरेका छन् । यो गाउँमा जस्तै अन्य गाउँमा पनि यस्तै खाले होमस्टेहरू सुरु भएका छन्, जसकारण यहाँ प्रतिष्पर्धा पनि गर्नुपर्छ । 

चीनको गरिबी निवारण कोषले यहाँको होमस्टेलाई ब्रान्ड बनाएर अघि बढिरहेको छ । सन् २०१८ भित्र गरिबी निवारण कोषले यो गाउँको विकासलाई विशेष अवस्था मानेको छ । यहाँ ३ वटा स्थानीय उद्योगलाई महत्व दिइएको छ । कृषि उद्योग, कृषिसँग सम्बन्धित वस्तुको उत्पादन र तेस्रो पर्यटन उद्योग । 

सिचुवान प्रान्तको छेङग्दुबाट झन्डै २ सय किलोमिटर पश्चिमतर्फ रहेको यान सहर १५ हजार ३ सय वर्ग किलोमिटरमा फैलिएको छ । विश्वको चियाको स्रोतसमेत रहेको यसलाई पाण्डाको राजधानी पनि मानिन्छ । 

यान सहरबाट ४० किलोमिटर हिँडेपछि पाण्डाको प्राकृतिक वासस्थानमा पुग्न सकिन्छ ।  भूकम्पपछि यान सहरको पुनर्निर्माण र विकास द्रुतगतिमा भएको हो । जनताको चाहनालाई मुख्य प्राथमिकता दिएर निर्माणको कामलाई अघि बढाइएको थियो । 

गरिबी निवारणका लागि इन्टरनेट जिल्ला बनाउने सम्झौता पनि भएको छ । इन्टरनेटको विस्तारबाट उत्पादन गर्ने तरिकामा परिवर्तन गर्ने र बढी उत्पादन हुने विश्वास लिइएको छ । गरिबी निवारण कार्यक्रम सञ्चालनका क्रममा उत्पादक र उपभोक्ताको काम गर्ने तरिका, व्यवहार परिवर्तन गर्ने र उनीहरूको भावनालाई ध्यान दिने गरिन्छ ।

यो कार्यक्रमले पहाडका मान्छेको काम गर्ने र सामूहिक क्षमता बढाएको छ । कुनै नयाँ व्यवसाय थाल्न गाउँलेलाई ऋण आवश्यक परे बैङ्क आफै घरमा गएर ऋण दिने गरेको छ । 

सन् २०२० सम्म समुन्नत समाज बनाउने चीनको लक्ष्य 

चीनको गरिबी निवारण कोषका एकजना प्रतिनिधि होङ च्युले सन् २०२० सम्म समुन्नत चीन बनाउने उद्देश्यले काम गरिरहेको बताए । उनले त्यहाँको एक सहरको उदाहरण दिँदै भने– ‘यान सहरमा २ पटक भूकम्प गयो । 

सन् २०१५ मा यो सहरमा ४ वर्षभित्र गरिबी निवारण गर्ने लक्ष्य बनाएर काम थालिएको थियो । सन् २०१५ देखि हालसम्म २ सय ६१ गाउँका ९४ हजार ६ सय ५३ गरिबमध्ये १ सय ५० गाउँका ८३ हजार जनसङ्ख्या गरिबीबाट मुक्त भएका छन् ।’

गरिबी निवारणका लागि चीनमा सरकारी र सामाजिक समूह दुई पक्ष मिलेर गाउँमा विकासका कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । सेना, उद्योग व्यवसायी सङ्घहरू पनि विकासका काममा जोडिँदा ठूलो उपलब्धि हासिल भएको छ । 

सरकारले २ सय ६१ गाउँलाई गरिब गाउँको रूपमा सूची बनाएको थियो । त्यहाँ आक्रामक रूपमा गरिबी निवारणको कार्यक्रम लागू गरियो । अन्य त्यति धेरै धनी नभएका गाउँलाई पनि सहयोग गरिएको छ । 


 

भिडियाे हेर्नुहाेस्

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...