मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

क्यान्सर रोगबारे  बहस

मङ्गलबार, २६ भदौ २०७५, १६ : २२
मङ्गलबार, २६ भदौ २०७५

 क्यान्सर रोग आफैमा भयानक रोग हो । यो रोग मानिसहरूले गर्ने विभिन्न किसिमका असावधानी कृयाकलापका कारण लाग्ने गर्दछ । तर कतिपय अवस्था यस्ता हुुन्छन्, जहाँ क्यान्सर रोग लाग्नुुमा बिरामी स्वयम्को कुनै भूमिका हुुँदैन ।

देशका बहुसङ्ख्यक नागरिकको पेसा कृषि हो । कृषि क्षेत्रका व्यावसायिक किसानले उत्पादन वृद्धिका लागि रासायन पदार्थको प्रयोग गर्दछन् । रासायनिक पदार्थको असावधानीपूर्ण प्रयोगका कारण किसान तथा ती उत्पानबाट बढी क्यान्सरको जोखिम बढेको हो । उपभोक्ता र विषादी बिक्रमेताहरूको स्वास्थ्यमा पनि यसले प्रत्यक्ष परोक्ष प्रभाव पारिरहेको छ ।

यसका अलावा हामीले  श्वास लिँदा प्रदूषित हावा, धूमपान, मध्यपान लगायत  दैनिक रूपमा उपभोग गर्ने खाद्य वस्तुुहरूको  कमजोर गुुणस्तर र त्यसमा प्रयोग हुुने रसायनको कारणले पनि क्यान्सर जस्तो जटिल रोगलाई आमन्त्रण गरिरहेको हुन्छ । क्यान्सर रोग आफैमा रोगहरूको पनि रोग महारोग हो । यो मानिसका सबै अङ्गहरुमा लाग्न सक्दछ । सबै उमेर समूहलाई लाग्ने रोग हो । यसको अहिलेसम्म निमूर्ल गर्ने कुनै औषधी पत्ता लाग्न सकेको छैन ।

बीपी कोइराला क्यान्सर अस्पतालका अध्यक्ष एवम् क्यान्सर सर्जन डा. प्रकाशराज न्यौपानेका अनुुसार हालसम्म नेपालमा क्यन्सर रोगीको तथ्याङ्क एकिन नभए पनि लगभग ५०, हजार क्यान्सर रोगीहरू छन् । हरेक वर्ष ३ हजार ५ सयमा यो रोग देखिन्छ भने क्यान्सर रोगकै कारण वर्षमा ३ हजार २ सयको मृत्यु हुने गरेको छ । सामान्यतया मेडिकलको भाषमा क्यान्सर लागेको बिरामी ५ वर्षसम्म बाँच्न सफल भयो भने क्यान्सर रोग निको भयो भन्ने गरिन्छ ।

वार्षिक रूपमा सालाखाला १ लाख मानिस मध्ये ११० जनामा  यो रोग लाग्ने गर्दछ । हरेक वर्ष नेपालमा ३० हजार क्यान्सरका बिरामी थपिने गरेका छन्  । यो  रोग लागेका विकसित देशका मानिसहरूको बाँच्ने सम्भावना ६० प्रतिशत हुन्छ भने नेपालको सन्दर्भमा जम्मा ३० प्रतिशत मात्र बाँच्ने सम्भावना रहने गरेको छ । यो रोग लागेको मानिसमा स्वास त हुन्छ तर उसले बाँच्नका लागि असह्य  पीडा व्यहोर्नुुपर्ने हुन्छ । यसैगरी रोगीको परिवारले समेत ठूलो मूल्य चुुकाउनुपर्ने हुन्छ । लगभग नबाँच्ने निश्चित भइसकेपछि पनि सास छउन्जेल आस भनेझँै  बिरामीलाई केही वर्ष बढी बचाउनका लागि ठूलो धनराशि खर्च गर्नुपर्नेकारणले पनि निम्न र मध्यम वर्गीय परिवारहरू तनावमा बाँचिरहेका हुन्छन् । यो महारोग  कम गर्न खाएको औषधी तथा केमोको साइडइफेक्टलाई  कम गर्न पुुनः अर्काे औषधी सेवन गर्नुु पर्दा अत्यधिक औषधि सेवनका कारण बिरामीमा सकारात्मकभन्दा नकारात्मक प्रभावहरू बढी देखिन्छ । सन् २०१२ मा विश्वमा १ करोड ४० लाख मानिसलाई क्यान्सर लागेको थियो । जसमध्ये ४२ लाख मानिसहरूले यो संसार छोडेर जानुुपरेको थियो । 

नेपालको सन्दर्भमा जतिखेर नेपालीहरूको सरदर आयुु ५३ वर्ष थियो त्यतिखेर क्यान्सर रोग नै देखपरेको थिएन । यो रोग धेरैजसो ५०, ६० वर्षको उमेरपछि मात्र देखापर्ने गर्दछ । अहिले हाम्रो  सरदर आयुु ७० वर्ष पुुगेको छ त्यसले पनि यो रोगका लागि सकारात्मक वातावरण बनेको हुन सक्छ । मानिसका शरीरमा ७० हजार जिनहरू हुन्छन् । त्यसले शरीरभित्रको क्यान्सर पत्ता लाग्न समय लाग्ने गर्दछ । डा. मदनकुमार पियाका अनुुसार घरको एउटा कुनामा आगो लागेको थाहा नहुन सक्छ, घरभरी धुुँवा आएपछि मात्र थाहा हुन्छ घरमा आगो लागेको । ठीक त्यस्तै बिरामीलाई थाहा हुँदा धेरै ढिलो भइसक्ने भएकाले भगवान भरोसाबाहेक केही गर्न सकिदैनँ ।

भर्खरै दिवङ्गत हुनुभएका  वरिष्ठ स्नायुु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा आफैमा हजारौँ रोगीहरूका लागि भगवान थिए । उनीसँग स्रोत, साधन, विज्ञता कुुनै कुराको कमी थिएन तर दुुर्भाग्य शरीरको भित्री भागमा रहेको पित्त थैलीमा क्यान्सर भइसकेपछि देखिएको लक्षण भनेको आँखा पहेलो थियो । परीक्षण गर्दै जाँदा क्यान्सर पत्ता लाग्दै गर्दा धेरै ढिलो भइसकेका कारण केहीसमय मृत्यु कुरेर यो संसारबाट बिदा भए । यसबाट पनि के बुुझन सकिन्छ भने अत्यन्त सचेत नागरिकहरूलाई पनि यो रोग लाग्न सक्ने सम्भावना रहन्छ । 

प्रसूति रोग विशेषज्ञ डा. ज्योती अग्रवालका अनुुसार महिलाहरूको ४० देखि ५५ वर्षको उमेरसम्म महिनावारी सुक्ने र ५५ वर्षपछि पनि महिनावारी भइराख्यो भने क्यान्सर हुन सक्ने बताउनुहुन्छ । त्यसैगरी बालिकाहरूमा पनि विशेषगरी सानै उमेरमा पिरियड भएमा पनि क्यान्सर हुन सक्ने सम्भावना ज्यादा हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सर रोगका सात लक्षणहरू पहिचान गरिएको छ । १) महिनौँसम्म घाउ निको नहुुनु । २) नियमित रूपमा महिनौँ खोकी लाग्नुु ३)  एक्कासि स्वर घोक्रमो हुँदै जानु ४) शरीरको कुनै पनि भागबाट नियमित रूपमा रगत बगेमा  ५) खानेकुुरा अपच भएमा ग्यास्ट्रिकको सिम्टमसँग मेलखाने हुुनाले धेरै मानिसहरू झस्किने गरेका छन् । ६) दिसामा कहिले कब्जियत हुने कहिले पातलो हुुनुु पनि एक लक्षण हो ७) शरीरमा गिर्खा आउनु शरीमा भएको कोठीको आकार परिवर्तन भएमा पनि क्यान्सरको लक्षणको रूपमा लिन सकिन्छ ।

डा. शिला बर्माका अनुसार धेरै रोगीका परिवारहरू आफ्ना सम्पूर्ण सम्पत्ति सकेर पनि बिरामी बचाउन नसकेपछि दोहोरो पीडामा पर्ने गरेका छन् । यो पीडा सबैभन्दा ठूलो पीडा हो । केही अस्पतालहरू र अरू संस्थाहरले क्याान्सर स्क्रिमिनिङ कार्यक्रमहरू चलाइरहेका छन् । क्यान्सरको चार तहहरूमध्ये पहिलो चरणमा पत्ता लाग्न सक्यो भने पूर्णरूपमा निको हुुने ९० प्रतिशत सम्भावना हुुन्छ । क्यान्सर रोगीहरूको तथ्याङ्क सङ्कलन गर्ने लगायत यो रोग लागेका वा लाग्न नदिनका लागि जनचेतना फैलाउँदै आएका सामाजिक संस्थाहरू, निजी अस्पतालहरू जसले क्यान्सरको उपचार गरिरहेका छन् उनीहरूको संलग्नतामा स्वास्थ्य मन्त्रालयले एउटा समन्वयकारी युनिट  राख्न अत्यन्तै जरुरी भइसेको छ ।

 प्रविधिले पछिल्लो समयमा केही सकारात्मक परणिामहरू पनि दिएका छन् । २० वर्ष अगाडिसम्म हात गोडाको हड्डीमा क्यान्सर भयो भने काटेर फाक्नुुपर्ने अवस्था थियोे । अहिले थेरापीले कम गर्न सकिन्छ । त्यसैगरी महिलामा हुने स्तन क्यान्सरमा स्तन पूरै निकाल्नुपथ्र्याे अब क्यान्सर भएको सानो भाग मात्र पनि निकाल्ने वा थेरापीले निको पार्ने प्रविधिहरू आइसकेका छन् । पहिले नयाँ प्रविधि नआउँदा घाँटीमा क्यान्सर भयो भने बोल्न मिल्दैन थियो । अहिले ट्रयाकेसट्रोमी मार्फत बोल्न सकिने भएको छ । 

स्वास्थ्य क्षेत्रमा सन् २०१८ मा क्यान्सर रोगीको लागि एउटा इमिनो थेरापी भन्ने प्रविधि विकास भएको छ । यो धेरै खुुसीको कुरा हो । मानिस वा जनावरको शरीरमा पाइने एमिनो प्रोटिनबाट यो थेरापी विकास भएको हो । दुुर्भाग्य यो प्रविधि आम नेपालीको आर्थिक पहुँचभन्दा  माथि देखिन्छ भने अर्काेतर्फ यसको साइर्ड इफेक्ट पनि धेरै भएको बताइन्छ । आगामी केही वर्षमा धेरै क्यान्सर रोगको उपचारका लागि अधुनिक प्रविधिको विकास गर्ने र क्यान्सरका कारण कोही पनि अकालमा ज्यान गुुमाउनु नपर्ने होडमा स्वास्थ्य जगत लागिरहेको छ । स्थानीय तहमा मृत्युु दर्ता गर्दा मृत्युुको कारण लेख्ने ठाउँ भए पनि अधिकांशले कालगतिले भनेर उल्लेख गर्दा पनि क्यान्सरलगायत अन्य विविध रोगले मृत्युु भएकाहरूको यर्थाथ तथ्याङ्क सङ्कलन गर्न केही कठिनाइ भइरहेको छ । 

क्यान्सर रोग महिलाहरूको पाठेघरको मुुख र स्तनमा बढी देखिएको छ भने पुरुषहरूको हकमा प्रोस्टेट, फोक्सोलगायतका अङ्गहरूमा बढी लाग्ने गरेको पाइएको छ । ट्युुमर पलाएका वा घाउ भएका कारण पाठेघर झिकिएका महिलाहरूमा बढी पसिना आउने रिसाउने जस्ता लक्षणहरू देखिन्छन् । शरीरमा हर्माेन अभावका कारण हुने यस्ता लक्षणलाई हर्माेनरिप्लेसमेन्ट थेरापी मार्फत कम गर्न सकिन्छ । चिकित्सकहरूले यसलाई सामान्य रूपमा लिने गरेका छन् । जनगणना २०६८ का अनुुसार कुल जनसङ्ख्याको १.४९ प्रतिशत अर्थात ५,१३,३०० अपाङ्ग छन् । जसमध्ये कति अपाङ्गता क्यान्सरका कारणले भएको भन्ने चाहिँ यकिन तथ्याङ्क छैन् । 

नेपालभर अङ्कोलोजिस्ट अर्थात क्यान्सरसम्बन्धी उपचार गर्ने डाक्टर जम्मा ३२ जना मात्र छन् । यति जनशक्ति तयार गर्नमा वीर अस्पतालको ठूलो हात रहेको छ । अन्य अस्पताललाई छोडेर बीपी कोइराला क्यान्सर अस्पतालले मात्र ६० प्रतिशत उपचार दिइरहेका छ । क्यान्सरका बिरामिहरूलाई पीडित शब्दले असहज बनाउने भएकोल पछिल्लो समयमा पीडितको ठाउँमा क्यान्सर प्रभावित शब्द प्रयोग गर्न थालिएको छ । बीपी कोइराला क्यन्सर अस्पतालमा हाल १६० शय्याहरू छन् । निकट भविष्यमा नै यसलाई बढाएर ४०० शय्या बनाउँदै छ । यो अस्पताल ७ वटै प्रदेशमा लाने योजना रहेको र निकट भविष्यमा नै नेपालगञ्जमा निर्माण प्रकृया सुरु गरिने बीपी कोइराला क्यान्सर अस्पलातका अध्यक्ष डा. प्रकाशरज न्यौपानेले बताउनुभयो ।

अमेरिकामा फोक्सो, पेन्क्रमियाज र खानानलीमा क्यान्सर भयो भने अपाङ्ग बराबरको भत्ता राज्यले व्यवस्था गरेको छ । युरोपमा पनि यस्तै प्रकृतिका रोगहरूमा राज्यले सामाजिक सुरक्षाको व्यवस्था गर्दैछ । नेपालमा गत आ.व.बाट प्रत्येक क्यान्सर रोगीलाई मासिक ५००० दिने घोषण त भएको छ  तर यसको कार्यन्वयनको बारेमा भरोसा गर्ने ठाउँ भने कम छ । बीपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष महेन्द्रबहादुुर कार्कीका अनुसार रक्सी चुरोट सूर्तिहरूबाट सरकारले बर्सेनि उठाउँदै आएको नेपाल स्वास्थकर कोषमा अहिले करिब १६ अर्ब रपियाँ छ । मौजुुदा कानुनअनुसार उक्त करमध्ये ७५  प्रतिशत क्यान्सरसँग सम्बन्धित रोगीहरूको उपचारमा सहयोग उपलब्ध गराउने र बाँकी २५ प्रतिशत रकम अन्य असाहय रोगीहरूलाई सहयोग गर्नुुपर्ने व्यवस्था छ । तसर्थ क्यान्सर प्रभावितहरूको लागि खर्च गरिनुुपर्ने करिब १२ अर्ब रकम अहिले पनि राज्यको ढुकुुटीमा मौजुुदा छ ।

यसलाई विशेषगरी विपन्न क्यान्सर पीडीतहरूको स्वास्थ्य उपचार एवम् क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूमा खर्च गर्न गराउन जरुरी छ । क्यान्सर पीडितहरूका लागि दिइँदै आएको उपचार खर्च रु १ लाख पनि उपचार पद्धति नै महँगो भएकाले यो रकम धेरै कम भएको पीडितहरूको गुुनासो छ । । एकातिर रोगीप्रति सहनभूति देखाए जस्तो गर्ने अर्काेतर्फ औषधिमा समेत ट्याक्स लगाउँदा बिरामीप्रति अन्याय भएको छ । यदि क्यान्सरको औषधिमा ट्याक्स छुुट दिने हो भने लगभग ७० प्रतिशत मूल्य कम हुुने जानकारहरू बताउँछन् । 

अन्त्यमा बुढापाकाको एउटा भनाइ छ– रोग र शत्रु  कहिल्यै सानो हुँदैन, त्यसमा पनि क्यान्सर जस्तो रोगलाई लाग्न नदिनका लागि जनस्तर स्वयम्बाट आफ्नो विवेकले भ्याएसम्मका प्रयत्नहरू गर्नु  बढी बुद्धिमानी हुनेछ । समतामूलक समाजको परिकल्पनासहित जारिभएको गणतन्त्र नेपालको  संविधानले आत्मसात गरेको नागरिक सर्वोच्चता र समाजवादलाई जनताले अनुभूत गर्नेगरी कार्यान्वयनका लागि राज्यले सकेसम्म नागरिकलाई रोगलाग्न नदिने वतावरण तयार गर्ने र रोग लागिसकेपछि निःशुल्क उपचारको प्रबन्ध मिलाउनु नै यस्ता समस्याहरूको दीर्धकालीन  समाधान हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप