आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ती पाँच कुरा जसले ज्याक मालाई ज्याक मा बनायो

मङ्गलबार, २६ भदौ २०७५, ०८ : ०५
मङ्गलबार, २६ भदौ २०७५

बीबीसी

एसियाकै सबैभन्दा ठूलो कम्पनी अलिबाबा समूहका एग्जीक्युटिभ चेयरम्यान ज्याक माले सोमबार आफ्नो उत्तराधिकारीको घोषणा गरेका छन् ।

अलिबाबाका अनुसार ज्याक माले अर्को वर्ष सेप्टेम्बर १० तारिखमा आफ्नो ५५ औं जन्मदिनमा वर्तमान सिइओ डेनियल झेंगलाई अध्यक्षको पद हस्तान्तरण गर्ने छन् ।

आउनुहोस् ज्याक मा बारे ती पाँच कुराबारे जानकारी लिऔं जसबारे सायद तपाईंलाई थाहा नहुन सक्छ ।

१. अंग्रेजी शिक्षकः

चीनको एक गरिब परिवारमा जन्मेका ज्याक माले अंग्रेजी शिक्षकको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए ।

त्यसअघि उनलाई ३० रोजगारदाताले अस्विकार गरेका थिए जसमध्ये एक केएफसी पनि थियो ।

कम्प्युटिङको कुनै पृष्ठभूमि नहुँदा समेत ज्याक माले दुई दशकअघि आफ्नै अपार्टमेन्टमा अलिबाबालाई जन्माए ।

यसका लागि ज्याक माले आफ्ना केही साथीहरुलाई आफ्नो अनलाइन मार्केटप्लेसमा लगानी गर्नका लागि मनाए ।

२. धन सम्पत्तिको वर्षाः

फोर्ब्सको सन् २०१७ को सूची अनुसार ज्याक मा चीनका तेस्रो धनी व्यक्ति हुन् । फोर्ब्सका अनुसार उनको कूल सम्पत्ति ३६.६ अर्ब डलर छ ।

चार सय २० अर्ब डलरको कम्पनी अलिबाबामा ज्याक माको लगभग नौ प्रतिशत हिस्सेदारी छ ।

सन् २०१४ मा अलिबाबाले संसारको सबैभन्दा ठूलो सार्वजनिक हिस्सेदारी मार्फत २५ अर्ब डलर जुटाएका थिए ।

ब्ल्याक फ्राइडे र साइबर मन्डेजस्ता शपिङ इभेन्टमार्फत ज्याक माले अमेरिकामा पनि आफ्नो प्रभुत्व जमाए ।

३. शिक्षा क्षेत्रमा फिर्ता हुँदैः

ज्याक माले १० वर्ष अघिदेखि नै आफ्ना उत्तराधिकारीबारे सोच्न सुरु गरिसकेका थिए । सन् २०१३ मा उनले बोर्ड अध्यक्ष बन्नका लागि मुख्य कार्यकारी अधिकारीको कुर्सी छोडे ।

उनले त्यसपछि ज्याक मा फाउन्डेशनमार्फत चीनको ग्रामीण इलाकामा शिक्षाको प्रचारप्रसारको काम सुरु गरे ।

अलिबाबाका संस्थापक साझेदारको भूमिकामा बसेर ज्याक मा अब शिक्षा क्षेत्रमा फर्कन चाहन्छन् ।

यसबारे उनले ब्लूमबर्गसँगको एक अन्तर्वार्तामा उनी बिल गेट्समार्फत धेरै कुरा सिक्नसक्छन् ।

४. ट्रम्पलाई मनपर्छ ज्याक माः

गत वर्ष जनवरीमा ज्याक माले न्यूयोर्कमा निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पसँगको उनको भेट निकै राम्रो भएको जानकारी दिएका थिए ।

भेटघाटपछि ज्याक माले भनेका थिए, ‘अमेरिका चीन सम्बन्ध थप बलियो र मैत्रीपूर्ण हुने कुरामा हामीहरु सहमत भयौं ।’

त्यतिबेला ट्रम्पले पनि ज्याक माको खुबै तारिफ गरेका थिए । उनले भनेका थिए, ‘ज्याक मा एक महान उद्यमी हुन् जो चीन र अमेरिका दुबैलाई प्रेम गर्छन् ।’

तर ज्याक मा यस्तो समयमा कुर्सी छोड्दैछन् जब चीनका निर्माता र कारोबार अमेरिकासँग व्यापार युद्धका कारण विभिन्न चुनौतीको सामना गरिरहेको छ ।

५. चर्चामा रहनेः

ज्याक मा लगातार चर्चामा रहिरहन्छन् ।

सन् २०१७ मा ज्याक माले अलिबाबाको वर्षगाँठमा आयोजित कार्यक्रममा दिवंगत माइकल ज्याक्सनको जस्तै पहिरन लगाएका थिए ।

गत वर्ष उनले अभिनयको दुनियाँमा पनि कदम राखे । ज्याक मा एक शर्ट फिल्ममा मार्शल आर्टस् मास्टर जेट लीसँग देखिएका थिए ।

ज्याक मा मार्शल आर्टस्का प्रशंसक मात्र नभई ३० वर्षभन्दा धेरै समयदेखि ताई चीको अभ्यास पनि गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप