पोहोर साल दशैं मान्न पाइएन, अहिले खुसी हुने जीवनसाथी छैनन्ः छविलाल पौडेल
प्रतिवादीहरूलाई सफाइ दिएसँगै छविलाल पौडेल आज डिल्लीबजार कारागारबाट रिहा भए । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार अधिकारी हत्यासम्बन्धी मुद्दाका प्रतिवादीलाई सफाइ दिनुका साथै पौडेललाई पनि रिहा गर्नु भनी डिल्लीबजार कारागारलाई आदेश दिएको थियो ।
रिहा भएपछि पौडेललाई कारागार परिसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीले स्वागत गरेका थिए । त्यस्तै नेकपाका नेता/कार्यकर्ताले पौडेल रिहा भएको खुसीयालीमा करागार परिसरबाट बाजागाजासहितको र्याली निकालेका थिए ।
कृष्णप्रसादको वि.सं. २०६१ जेठ २४ मा हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।
उक्त अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशानुसार गत असार २४ गते उनी सर्वाेच्च अदालतसमक्ष हाजिर भएपछि डिल्लीबजार कारागार चलान गरेको थियो ।
रिहा भएपछि आफ्नो निवासमा छविलाल पौडेलले रातोपाटीसँग कुरा गरेका छन् ।
छविलाल पौडेलकै शब्दमाः
०५६ सालमा मैले शिक्षकबाट राजीनामा दिए । ०६३ सालको कुरा हो । म स्कूल व्यवस्थापन समितिको अध्यक्ष थिए ।
द्वन्द्वकालमा हाम्रो ठाउँमा दुवै पक्षबाट १७ जनामा मारिए । धेरै जसो विद्यार्थी मारिए । गाविस अध्यक्ष मारिए ।
कृष्णप्रसाद मेरा विद्यार्थी थिए । म पूर्वशिक्षक पनि र वहालवाला विद्यालय व्यवस्थापन समितिको अध्यक्षका हिसाबले कृष्ण मारिँदा मलाई दुःख लाग्यो ।
कसले कसरी, मार्यो व्याख्या गर्न सक्ने अवस्था थिएन । मोवाइल केही थिएन । स्थानीय एउटा फोन थियो । मारिएको खबर रेडियोमा खबर आएको थियो । खबर सुनेर म पनि स्तब्ध थिएँ ।
त्यतिबेला गाविसको खातामा ११ लाख रुपियाँ थियो । माओवादी र सरकारका दुवै पक्षका मान्छेलाई बोलाएर फुजेल गाउँमा विकास नरोकौँ भने । फुजेलले के पाप गरेको छ र भने । अन्यत्र विकासको काम भएको थियो । त्यसपछि आन्तरिक सहमति भयो । काम गर्न थाल्यौँ ।
हामीले विकासको काम गरेपछि विपक्षीहरुलाई चित्त बुझेको थिएन । कुलो खन्दै थियौँ । त्यसको विवाद थियो । विद्यार्थी मारिँदा हामी कुलो खन्ने र विवाद व्यवस्थापनमै थियौँ । यही निहुमा नन्दप्रसाद र गंगामायाहरुलाई उचाले । किनभने गाउँ सुधार समिति, ग्रामीण विद्युत समिति र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष म थिए । विपक्षीहरुलाई यो मन परेको थिएन ।
गंगामायाहरुले कुरा बुझेनन् । सानो सानो कुरामा पनि उनीहरु झगडा गर्थे । मिल्न नसक्ने स्वभाव थियो गंगामायाको परिवारको । देउरानीको अंशमा पनि गंगामायाहरुको झगडा थियो । उनीहरु न्याय माग्न म कहाँ आएका थिए । गंगामायाहरुलाई मन परेको थिएन किनभने अंश दिनुपर्छ भन्ने पक्षमा थियौँ हामी ।
०६४ सालमा विजुली विस्तार गर्दा उनको वारीमा पनि पर्यो । विजुल विस्तारमा उनको वारीमा पोल गाड्न दिएनन् । त्यही कुरामा पनि विवाद भयो । अहिलेसम्म त्यहाँ पोल गाडेको छैन ।
पछि एकाएक उनीहरु घरमा साँचो लगाएर हिँडे । सीडीओ कार्यालय गएर हामीलाई लखेटे भनेछन् । जिल्लामा मलाई राम्रोसँग चिन्थे । सीडीओ कार्यालयबाट यसबारे मलाई जानकारी गराए । हामी ६०–६५ जना जिल्ला गएर कुरा गर्यौँ । उनीहरुलाई फर्कन भन्यौँ ।
तर, त्यहाँबाट उनीहरु गाउँ आएनन् । गाउँमा उनीहरुको घरमा बस्तुभाउ स्याहर्ने कोही थिएन । हामीले सीडीओ साब’लाई फोन गर्यौँ । ती मान्छे कहाँ गए भन्यौँ । वहाँले तपाईंलाई टार्गेट बनाए, उनको घरमा नजानुस् भन्नुभयो । पछि प्रहरी आएर बस्तुभाउलाई घाँसपात गरे ।
मेरो विद्यार्थी मारिनु भनेको छोरा मरिनुजस्तै थियो । तर, गंगामायाहरुले गाउँको अरु विषय उचालेर मलाई टार्गेट बनाए ।
मानव अधिकारवादी पनि हामी कहाँ नआएका होइनन् । हामी कहाँ आएर हाम्रो गल्ती केही थिएन भन्ने निश्कर्ष पनि निकाले ।
पछि काठमाडौँ गएर उनीहरुले नै गंगामायाहरुलाई अनशन बसाले ।
बानेश्वर प्रहरीले बोलायो । २८ दिनसम्म मलाई थुनामा राखियो । गाउँका मान्छे धेरै बोलाइयो ।
त्यसपछि अदालतमा मुद्दा पर्यो । अदालतमा हामीले बयान दियौँ । अरुले पनि बयान दिए । सबैले मलाई निर्दोष हुन् भने । पछि गाउँका सबै मान्छेलाई मुद्दा हालियो ।
भए नभएका कुरा लेखाए । सत्य–झुठबारे कोही बुझ्न आएनन् । हामीमाथि एकोहोरो प्रहार भइरह्यो ।
पछि उनीहरुले राखेका साक्षीले पनि हामी दोषी होइन भनेर बयान दिए ।
हामी धरौटीमा रिहा भयौँ ।
यति हुँदा पनि ६५ वर्ष नाघेको म बुढाको पीडा मानव अधिकारवादी भन्नेहरुले बुझेनन् । पुर्पक्षलाई थुनामा राख्नपर्छ भनेर मुद्दा हाले, पुनरावेदनमा । जिल्लामा हामी तारेखमा थियौँ । पुनरावेदनले मिसिल मगायो । जिल्लाले गरेको आदेश सदर ग¥यो ।
त्यसपछि सर्वोच्चमा मुद्दा हाले । १३ जनाको नाममा मुद्दा थियो ।
मै बुढालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दियो । म आफै जाउँ भनेको थिए । तपाईं जान पर्दैन भने अरुले । फसाउँन लाग्यो तपाईंलाई भने ।
घर परिवारको कुरा पनि दोहोरो थियो । कसैले नजानुस् भन्थे, कसैले जानुस् भन्थे ।
गाउँमा प्रहरी देख्यो कि मलाई समात्न आयो भन्ने हुन्थ्यो ।
‘यो तपाईं एक्लैको मुद्दा होइन, हाम्रो पनि मुद्दा हो,’ भन्दै माओवादी नेताहरु पनि भेट्न आउनुभयो । प्रचण्ड, बाबुराम, बादल, मात्रिकालगायत भेट्न आउनुभएको थियो । प्रचण्ड २ पटक आउनुभयो । ‘तपाईंले न्याय पाउनु हुन्छ,’ भन्नुभयो । बाबुरामले ‘तपाईं निर्दोष मान्छे, सामाजिक मान्छे, तपाईं थुनिँदा नराम्रो लाग्यो’ भन्नुभएको थियो ।
यता, टीभीमा भने जहिले पनि फरार भनेको छ, अपराधी भनेको छ, हत्यारा भनेको छ । ‘खाइ न पाइ छालाको टोपी’ लाई भयो ।
अति भएपछि म आफै सर्वोच्चमा गए । मैले केही बिराएको थिइनँ, एक दिन त न्याय पाइएला भन्ने थियो ।
म ढुक्क थिएँ किनभने म निर्दोष थिएँ । किन डराउने ?
जब अदालत पुगेँ, त्यहाँको मान्छेले ‘आफै आउनुभयो, मुद्दा फैसला नहुँदासम्म बस्नुस्’ भने ।
आज ६५ दिनमा म निस्के । फैसला के भयो थाहा भएन ।
जेलरले बोलाएर रिहा हुनुभयो भन्यो ।
ढिला चाडो न्यायलयले न्याय दिँदोरहेछ । भोको बसेर भन्दा प्रमाणले न्याय दिन्छ भन्ने पुष्टि भयो । न्यायलयप्रति विश्वास अलि बढ्यो ।
आज माननीय हरि अधिकारी र आफन्तहरु लिन आउनुभयो ।
गंगामायाहरुले कुरा बुझेनन् । उचाल्ने मान्छेले उचाले ।
मानवअधिकारवादीले तपाईंको दोष छैन भन्थे मलाई भेटदा । गाह्रो भयो तपाईंलाई भन्थे । मैले ‘मलाई हैन पार्टीलाई मुद्दा हाल्नुस्’ भनेँ ।
तर, उनीहरुले मलाई नै फसाउन खोजे ।
हामीले न्याय खोजेका थियौँ । हाम्रो बुझाईमा हामीले न्याय पायौँ ।
जसको छोरा मारियो, उनले पनि न्याय खोज्ने कुरा जायज हो । तर, यहाँ न्याय खोज्ने भन्दा पनि रिसिइबी साँध्ने काम भयो ।
आफ्नो स्वार्थका लागि त्यो परिवारलाई प्रयोग गर्नेहरु निस्किए ।
गंगामायाको छोरा मारियो, श्रीमान् बिते । हामी पनि चिन्तित छौँ । नाती कहाँ छ, थाहा छैन ।
अब गंगामायाले पनि कुरा बुझ्नुपर्छ ।
उनीहरुले जति दुःख पाए, अब जसले उचाले उनीहरुले जिम्मा लिनुपर्छ ।
आफूलाई मानव अधिकारवादी भन्नेहरु दोषी छन् हाम्रो मुद्दामा ।
नन्दप्रसादलाई उनीहरुले नै मारे ।
डिल्लीबजार जेलमा बस्दा अरु कैदीले मलाई सहयोग गरे । बुढा मान्छे आए भनेर नमस्ते गर्थे । माया गर्थे । सम्मान गर्थे ।
पोहोर दशैँ मान्न पाइएन । पिरैपिरले खायो मेरो बुढीलाई ।
अहिले न्याय पाएर घर आएको छु ।
खुसी हुने जीवनसाथी नै साथमा छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल