लागुऔषध किन्न सिक्री लुटपाट, पुलिसलाई झुक्याउन छिनभरमै नम्बर प्लेट परिवर्तन
ललितपुरका एसएसपी भन्छन्, ‘अब लुटेरा र लागुऔषध कारोबारीको दिन सकियो’
ललितपुर । लगनखेल, सातदोबाटो, पुल्चोक र ग्वार्को लगायतका स्थानमा सुनको सिक्री लगाएर महिला निस्कनै नहुने भैसकेको थियो । दैनिकजसो स्कुटरमा सवार केटाहरुले सुनको सिक्री लुटेर भागेको ‘जाहेरी’ सुनेर महागनरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुक हैरान भैसकेका थिए ।
एक साताअघी युएन पार्कबाट अल्फाबेट नखुलेको कालो स्कुटरले आफ्नो सिक्री लुटेर भागेको उजुरी लिएर एक महिला महानगरीय प्रहरी प्रभाग मंगलबजारमा पुगिन् । मंगलबजारका इन्स्पेक्टर केशर न्यौपानेले कालो रंगको ४७६९ नम्बरको स्कुटरले सिक्री लुटेको कुरा आफ्ना कमाण्डर रविन्द्र धानुकलाई जानकारी गराए ।
धानुकले उक्त नम्बरको स्कुटरमाथि निगरानी बढाउन जिल्ला भरी सर्कुलर गरे, महानगरीय प्रहरी परिसर ललितपुर र मंगलबजारबाट विशेष टोली नै परिचालन भयो ।
बिहिबार (भदौ २१ गते) मंगलबजार प्रहरीको चेकजाँचका क्रममा पाटन गावाहलमा सोही नम्बरको स्कुटर प्रहरीको आँखा अगाडी नै आइपुग्यो । अपर्झट प्रहरीको चेकिङ देखेपछि स्कुटर पछाडी सवार युवा भाग्न सफल भए पनि चालक र स्कुटर प्रहरीले नियन्त्रणमा लियो ।
प्रहरी अनुसन्धानका क्रममा सोही स्कुटरमा सवार दुई युवाहरु ललितपुर–१६ ईखालखु घर भएका शैलेश ताम्राकार र ललितपुर–१७ लुखुशी बस्ने लोलिन महर्जन सुनको सिक्री लुटेरा रहेको खुलेको छ ।
लोलिन तिनै व्यक्ति हुन् जसलाई प्रहरीले पटक–पटक लागुऔषध सेवनकर्ताको मुद्दा चलाइसकेको छ ।
‘विगत एक महिनाभन्दा बढी समयदेखि शृङ्खलाबद्ध रुपमा सिक्री लुट्दै आएका लोलिनले सिक्री लुटेको पैसाले लागुऔषध सेवन गर्ने गरेको खुलेको छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानकुले भने, ‘शैलेश र लोलिनले धेरैलाई दुःख दिएका थिए, उनीहरु पक्राउ परेसँगै सिक्री लुटपाटको एउटा शृङ्खला नै अन्त्य भएको छ ।’
ललितपुर क्षेत्रमा मात्रै हैन काठमाडौको बौद्ध, नयाँ बसपार्क र ठमेल क्षेत्रमा समेत उनीहरुले सिक्री लुट्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सिरियल सिक्री लुटेरा शैलेश ताम्राकार र लोलिन महजर्नले दुईओटा चोरीका स्कुटर प्रयोग गरेर सिक्री लुटपाटको धन्दा चलाउँदै आएका थिए ।
पाटनस्थित गावाहलमा प्रहरी चेकिङको क्रमा फेला परेको बा. ५४ प ४७६९ नम्बरको स्कुटरको नम्बर प्लेट नियालेर हेर्दा प्रहरी अधिकारी नै छक्क परेका थिए । बाहिर बा. ५४ प ४७६९ नम्बरको स्टिकर टाँसेको उक्त स्कुटरको भित्रपट्टि बा. ४७ प २७३९ नम्बर टाँसिएको थियो ।
शैलेस र लोलिनको मंगलबजारस्थित संयुक्त कोठा सर्च गर्दा प्रहरीले ५ थान लुटेको सिक्री र सुन तौलने डिजीटल चराजु र एकथान लकेट फेला पारेको छ ।
सिक्री लुटेराहरुको कोठामा दुईओटा एक्स्ट्रा नम्बर प्लेट समेत फेला परेको जानकारी दिँदै ललितपुर प्रहरी प्रमुख धानुकले भने, ‘पछिल्लो अप्रेशनसँगै हामीले ललितपुरको सुरक्षा व्यवस्थापनमा परिवर्तन गरेका छौं, अब लुटेरा र लागु औषध कारोबारीको दिन सकियो ।’
दशैं–तिहार लक्षित सुरक्षा योजना
ललितपुर प्रहरीले नेपाली घर–आँगनमा आउन लागेको दशैं, तिहार र छठ पर्वमा हुनसक्ने चोरी, डकैती तथा पाकेटमारीको घट्ना नियन्त्रणमा गर्नका लागी विशेष कार्ययोजना बनाएर प्रहरी परिचालन शुरु गरेको छ ।
‘सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै रातीको समयमा हामीले सिनियर अफिसरको कमाण्डमा व्यापक प्रहरी परिचालन गरेका छौं’ प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) धानुकले भने, ‘सिभिल प्रहरी परिचालन गरेर सूचना संकलन गर्ने कामलाई पनी प्रभावकारी बनाएका छौं, यहाँका स्थानीय समूदायले पनि प्रहरीलाई सूचना आदान–प्रदानमा सहयोग गरेका छन् ।’
रात्रिकालिन समयमा साँझ ६ बजेदेखी बिहान ६ बजेसम्म विशेष चेकजाँच शुरु गरेको ललितपुर प्रहरीले टोल–टोलमा प्रहरी अभियान समेत सञ्चालन गरिरहेको छ ।
साउन अन्तिम साता ललितपुर प्रहरी प्रमुखको रुपमा हाजिर भएका धानुकले आफ्नो नयाँ सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरेसँगै लागु औषध र चोरीका घटनामा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
‘भदौ १७ गते राती १ बजे सानेपामा योगोश श्रेष्ठको घर चोरी गर्न लागेको अवस्थामा हामीले सुरज कार्की भन्ने सुरेश बर्माशाखालाई नियन्त्रणमा लिन सफल भएका छौँ,’ प्रहरी बरिष्ठ उपरिक्षक धानुक भन्छन्,
‘अनुसन्धान गर्दै जाँदा निजले सानेपाकै गौरीशंकर डंगोलको घर समेत चोरी गरेको खुल्न आएको छ ।’
ललितपुर प्रहरीले लागुऔषध कारोबार बिरुद्धको अपराधमा पनि उल्लेखनिय सफलता हात पारेको छ ।
साउन २४ गते ललितपुर परिसर र पुल्चोक प्रभागबाट खटिएको प्रहरी टोलीले बाराका बिनोद खरेललाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । खरेलको साथबाट नाईट्राभेट ट्याब्लेट १ हजार ५ सय थान बरामद गरेको थियो ।
ललितपुर महानगरपालिका–१३ मचागलबाट भदौ १४ गते आयुष बस्नेत र सुजन सुवेदी पक्राउ परे । उनिहरुको साथबाट नाईट्राभ्याट ३४७ थान फेला परेको बताइएको छ ।
‘प्रहरी सक्रियतासँगै लागु औषध कारोबारीहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेका छन्’ एसएसपी धानुकले भने, ‘भदौ १८ गते मानभवनबाट हामीले फेनारगन, नुर्फिन र डाईजेपाम समेत गरी कुल १३५ थान सहित ४० वर्षीय महिला पिंकी गरी र विकास स्याङतानलाई नियन्त्रणमा लिन सफल भयौँ ।’
गुण्डागर्दी नियन्त्रणका लागी विशेष कार्ययोजना बनाएर अपराध मुक्त समाज निर्माणका लागी आफु लागिपरेको प्रहरी वरिष्ठ उपरिक्षक धानुकले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन