शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

मनिषासँग ‘नेगेटिभ स्वामी’को मनोसंवाद

शनिबार, २३ भदौ २०७५, ११ : ०९
शनिबार, २३ भदौ २०७५

प्रिय मनिषा,

हामी सबै सत्यको कुरा गर्छौं, सत्यान्वेषणको गर्छौं । तर, हाम्रो व्यवहार भने कठै बरा π π हाम्रो समस्त खाले आचरण र व्यवहार भने सत्यहन्ताका माफिक नै हुन्छन् । 

हाम्रो उन्नत समाज र यसका मूर्धन्य सदस्य हामी कति ‘हिप्पोक्रेट’ छौं, त्यसको वास्तबिकता ‘म लोअर मिडिल क्लास’ ले जान्नुभन्दा मायानगरी मुम्बईको सामीप्यले निश्चय पनि तपाईँले नै बढी ‘फेस’ गरेको हुनुपर्छ । 

म हिन्दू धर्म–संस्कारमा जन्मेको, हुर्केको र अधिकांशत: यसै धर्म विशेषको बारे पढेको/जानेको सामान्य मानिस आफ्नो अनुभवको आधारमा भन्न सक्छु, ‘पाखण्ड र  ढोंग यहाँ सर्वस्वीकृत मान्यता प्राप्त छन्’ । 

आफ्नो १५ वर्षे फक्कडी स्वाध्ययपश्चात मूलत: म कुनै धर्म विशेषको कट्टर अनुयायी, आस्थावान् वा ‘मिलिटेन्ट’ रहिनँ । आत्मस्वीकृतिको ‘डीप कोर’ बाट ‘व्हिस्परिङ’ गर्दै कबुल गर्ने हो भने म धार्मिक  नै  रहिनँ ।
म कुनै पनि धर्मको पक्षमा उभिएर विजातीय धर्म संवाहक समूहमाथि जाइलाग्न सक्दिनँ । आफूसँग सम्बन्धित धर्मको रक्षा निमित्त ‘बोली’ बाहेक अन्य कुनै प्रकारको चेष्टाजन्य हिंसा गर्न सक्दिनँ । म कुनै गुरु, उनका संघ, समुदाय, पन्थसँग आवद्ध हुन सकिनँ । मैले उनको छत्रछाँया स्वीकार गरिनँ । उनीहरूले आफ्नो वरद्हस्त ममाथि राखेनन् । आखिर संसार चाहे भौतिक भन्नुस् वा आध्यात्मिक, ‘हो त, लेनदेन नै’ ।
तपाईँका केही साथीहरूले मलाई ‘निगेटिभ स्वामी’ को मीठो संबोधनले बोलाउने गर्छन् । यो नै मेरो निजता हो । 

अब फिल्मकारसँग फिल्मको कुरा नगरे यो संवाद नै फिका हुन्न र ? सचिन दा, रफी साहेब, गुरुदत्त र साहिर लुधियानवीको ‘ग्याङ अफ फोर’ ले प्यासामा एउटा जीवन दर्शन दिन्छ;

‘तंग आ चुके है, कशमकशे जिन्दगी से हम
ठुकरा न दे, जहाँ को कही बेदिली से हम’

फिल्मजस्तै मेरो जिन्दगीको दृश्यपटलमा सुस्मिता, कविता, इडा, शैलेन्द्र, शुष्मा, बारबरा आदि साथीहरूले ‘कस्तो निगेटिभ कुरा गरेको टिप्पणी गर्दा’ मसँग प्रत्युत्तरमा यो बाहेक अरु के नै जवाफ हुन सक्थ्यो;

‘हम गम जदां है लाए कहाँ से खुशी के गीत,
देंगे वही जो पाएँगे इस जिन्दगी से हम ।’

प्रिय मनिषा ! मेरो यस अभिव्यक्तिलाई तपाईँसँग ती एकजना माताले भनेको ‘अखाडाहरूमा जति ‘इन्जस्टिस्’ र ‘इन्टोलरेन्स्’ त बाहिर पनि छैन होला’ सँग दाँजेर हेर्नोस् । 

ती माता र ममा अन्तर यति मात्र छ, उनले ती सबै घृणित र निन्दनीय कृत्यप्रति आँखा चिम्लेर बाँच्ने बाटो रोजिन् । मैले आफ्नो स्तरबाट विद्रोहको बाटो रोजें, र ‘नेगेटिभ स्वामी’को मानपदवी आर्जन गरेँ ।

तपाईँ स्वयंलगायत सबै साथीहरू ती महिला सन्यासीलाई गुरुमाता भनी सम्मान दिनुहुन्छ ।  मलाई ‘नेगेटिभ स्वामी’ भनी संबोधन गर्नुहुन्छ । एक पटक मात्र एक पटक, अभिनय नै सही, ‘रोबिन हुड’ बनेर न्यायकी देवीको प्रस्तर मूर्तिको आँखामा बाँधिएको कालो कपडा हटाएर हेर्नोस् (वाह, दुनियाँ, न्यायकी देवीको आँखा छोपेर निसाफको दम्भ !) ‘रियल’ जीवन ‘को’ बाँचेको छ ?

‘सुकरातले सत्यका लागि जीवनको आहुति दिए’ यही पढाइयो हामीलाई । यसका लागि सुकरातलाई महान भनिन्छ । म यस वक्तव्यसँग कहिल्यै सहमत हुन सकिनँ । मेरो नजरमा सुकरातले आत्महत्या गरेका हुन् । (यदि प्रचार गरेअनुसार उनले क्षमा माग्दा मृत्युदण्ड खारेज गर्ने भनिएको भए) । सुकरात मात्र होइन, जिसस्, ब्रुनो सबै आत्मघाती नै हुन् । 

हुन त आधुनिक विज्ञानले सुकरातले गरेका अधिकांश खोज अनुसन्धान गलत प्रमाणित गरिसकेको छ । तर यसले सुकरातको महानतामा कुनै कमी आएन ।  सुकरातबाट मनुष्यताले सोच्ने र तर्क गर्ने पद्धति सिक्यो । 

पश्चिमले सोच्ने, सुकरात प्रदत्त तर्क गर्ने र प्रमाणित गर्ने विधि अपनायो र विज्ञानको विकास गर्‍यो । हामीले विश्वास, आस्थाको बाटो रोज्यौं, र ‘गीता सुगीता कर्तव्य किमन्यै: शास्त्र विस्तरै’ अथवा ‘आरती श्रीरामायणजी की, कीरति कलित ललित सिय पिय की’ गाउनमा पारङ्गता हासिल गर्‍यौं । 

चिया पिउँदै गर्दा एउटा प्रसङ्गमा बट्रेन्ड रसेलको चर्चा चलेको थियो, ‘आइ वुड नेभर डाइ फर  माइ बिलिभ्स्, बिकज आइ माइट बी राँङ्’ । 

रसेलको यस अभिव्यक्तिमा मैले थप्दै भनेको थिएँ ‘एण्ड अल्सो आई क्यान नट किल एनिबडी फर माइ बिलिभ्स्, बिकज माइ बिलिभ्स् माइट बि राँङ्’ ।

तपाईँका एक जना मित्रले (उहाँ मेरो पनि मित्र हो) यस परघेलिएको आत्मचिन्तनको तुलना कृष्णसँग, कृष्णको गीतासँग गर्ने दुरभिसन्धि गरिदिनु भयो । कृष्ण जसले आफ्नो विश्वास र आफ्नो सत्यको रक्षार्थ महाभारत गराइदिनुभयो । कृष्णजस्तो आग्रही अवतार पुरुष अवतार शृङ्खलामा अरु कोही छैन । कृष्णले त आफ्नो आग्रह (विश्वासको रक्षा गर्न) पूरा गर्न र गराउन यो जुनीमा मात्रै होइन, 

‘परित्राणाय साधुनां विनाशाय च दुष्कृताम्,

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे । (गीता ४:८) जस्तो हुँकार भर्न पनि पछि पर्दैनन् । 

याद छ, ती मित्रले गीताको कुन श्लोकबाट रसेलको जीवन सारमाथि बलात् अघात गर्नु भएको थियो ?

‘श्रेयान्स्वधर्मो विगुण: परधर्मात्स्वनुष्ठितात्

स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह: । (गीता ३:३५)

कृष्ण आफ्नो विश्वासका लागि मर्ने/मार्नेलाई धर्मको संज्ञा दिइरहेका छन् । कुन्द र मन्द भइसकेको हिन्दू प्रज्ञाले यति पनि बुझ्न सक्दैन, कृष्ण अर्जुन संवादरूपी गीता कुन परिस्थिति, परिवेश, देशकाल र भावदशामा मञ्चन भएको थियो ? त्यो युद्धजन्य परिस्थितिमा दिएको उपदेश के सार्वकालिक हुन सक्छ र ?

कृष्णको ‘स्वधर्मे निधनम् श्रेयम्’ र बरट्रान्ड रसलको ‘आइ वुड नेभर डाइ फर माइ बिलिभ्स्’ एक अर्काप्रति घोर विरोधी वक्तव्य हुन् । 

तपाईँ आफ्नो चारैतिरको देश दुनियाँमा मानिस देख्नुहुन्छ होला ! म भने आफूलाई ‘आर्टिफिसियल इनटेलिजेन्ट’ (AI) बाट घेरिएको पाउँछु । सबै  ‘प्रोग्राम्ड रोबोट’ हुन् । यहाँ ‘सोफिया’ मात्रै ‘प्रोग्राम’ सञ्चालित होइन, कुनै दिन निरीक्षण गरी हेर्नोस्– आफूलाई ‘सोफिया’हरूबाट घेरिएको पाउनुहुनेछ । तपाईँका प्रश्नमा अनेकखाले ‘सोफिया’ जवाफ दिन तयार बसेका हुन्छन् । यसबारे बुद्धले यसो भनेका छन्, यस बारेको सटिक जवाफ उपनिषद्ले दिन्छ । यस्तो समस्या रामलाई पनि परेको थियो । रामायणमा लेखिएको छ, रामले यसको निदान यसरी गरेका थिए । सोफियाले दिएको समाधान सुरक्षित र भरपर्दो हुन्छ । त्यहाँ कुनै किसिमको ‘रिस्क’ हुने सम्भावना नै हुन्न । बाँच्नोस्, सुरक्षित ‘मैट्रिक्स’मा रमाउनोस्, म आजाद हुँ !! अरे यार, बन्धन त मानसिक ‘फेनोमिना’ हो । मैले चिनेका अधिकांश व्यक्तिका जीवन र जीवन दृष्टि एवं समस्त गतिविधि हेर्दा कहिलेकाहीँ मलाई लाग्छ– यो दुनियाँ कतै ‘कम्प्युटर सिमुलेशन’ त होइन ? कुनै उन्नत सभ्यताको ‘कम्प्युटर गेम’ त होइनौं हामी पृथ्वीवासी ? अभीष्ट रानीको खोजी र प्राप्तिमा अनवरत कुदिरहेको ‘मारियो’ ।

मस्तिष्कमा ‘मारियो’ ‘डाउनलोड’ गरेर सत्य खोजीको मृगतृष्णा जतिसुकै उसियन बोल्ट बनौं, परिणाम प्याजको अन्वेषारोहण बाहेक के हुनसक्छ ? सत्य कुनै खोपीमा लुकेको वा कुनै अदृश्य सत्ताबाट लुकाइएको मह होइन कि एक पटक औंला चोबेर यसको मिठासबाट सम्पूर्ण जीवनलाई ‘रसो वै: स:’ मा अक्षुण्ण रूपान्तरण उद्घोष गर्न मिलोस् ।

प्याजको अवलोकन बुद्धले गरे पनि, तपाईँले गरे पनि शेष त अशेष नै हात लाग्छ । बुद्धले अशेषबाट जीवन सत्य बोध गर्छन्, हामी भने ‘अशेष के ?’ को चिन्तनमा पाण्डित्य–यात्रा गर्छौं ।

थाहा छ कि छैन, तपाईँलाई, सारा पण्डितले (ज्ञानीले) आजन्म जति मानसिक सन्ताप भोग्नुपर्छ, त्यसको १० प्रतिशतमा तपाईँ र मजस्ता त मानसिक रोगी बन्न पुग्थ्यौं । अधिकांश पण्डित विक्षिप्त अवस्थामा पुग्छन् । 

मेरो जीवन र मेरो पहुँचदेखि परको सत्यसँग मलाई के को आकर्षण ? मेरो वरिपरि रहेका एक एक एटमले सृष्टिका सारा रहस्य बोकेको दर्पमा अनन्तकालदेखि लास्य र ताण्डव दुवै नृत्य गर्दै आएका छन्, म यस नृत्यमा ‘बिगबैङ’ उपरान्त सहभागी हुँदै आएको हुँ  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप