'बादल आँखा र कान नभएका गृहमन्त्री हुन्'
०७४ असोज १७ को एमाले–माओवादी चुनावी गठबन्धन गर्ने निर्णयमा असहमित जनाएका गोपाल किराँती ०७४ फागुन १० गते तत्कालीन माओवादी केन्द्रबाट निस्काशनमा परे । एमाले–माओवादीबीच पार्टी एकताका लागि फागुन ७ गते सात बुँदे सहमति बनेपछि त्यसको कडा विरोध गरेको किराँतीमाथि माओवादी केन्द्रले डण्डा चलायो । त्यसपछि किराँतीले माओवादी केन्द्र पुनगर्ठनको अभियान चलाए । जब एमाले–माओवादीबीच ०७५ जेठ ३ मा पार्टी एकता भयो, किराँतीले आफ्नो नेतृत्वमा माओवादी केन्द्रलाई ब्यँुताए ।
एमाले–माओवादी एकताका कट्टरविरोधी किराँती अहिले माओवादी केन्द्रको सङ्गठन विस्तारमा छन् । हालै मात्र उनको पार्टीले संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको कार्यनीति अगाडि सारेको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकताको प्रयास पनि भएको छ । यिनै विषयमा केन्द्रित रहेर रातोपाटीकी राजनीतिक संवाददाता बबिता शर्माले किराँतीसँग छोटो कुराकानी गरेकी छिन् ।
भदौ १६ र १७ गते बसेको तपाईंको पार्टीको पोलिटब्युरो बैठकले संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको कार्यनीति अगाडि सार्यो । कागजमा मात्र सीमित पार्टीले यति ठूलो मुद्दा उठाउँदा गाह्रो लागेन ?
हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठकद्वारा प्रस्तुत सडक सङ्घर्षको कार्यनीति राष्ट्रिय निकासका लागि हो । संविधान खारेज गर्ने नीति लिएको विप्लव नेतृत्वको नेकपालाई राजनीतिक निकास दिएर अघि बढ्ने हो भने संविधान पुनर्लेखनको विकल्प छैन । संविधान पुनर्लेखनको बाधक विद्यमान संसद विघटन गर्नुपर्छ र राष्ट्रिय सरकार प्रक्रियाबाट अघि बढ्नु पर्छ । विचार र सिद्धान्तमा चल्ने राजनीतिक पार्टीले सर्वप्रथम आफ्नो नीति कागजमै तयार गर्ने हो । हामीले त्यति गरेका छौँ । सीमित पार्टीले ठूलो मुद्दा भन्ने प्रश्नमा माओवादी केन्द्रले यो प्रस्ताव गर्यो । भावि कार्यनीति देश, जनता र समाजवादी क्रान्तिका लागि सही छ भने यसलाई कार्यान्वयनको तहमा पुर्याउने शाक्ति निर्माण हुन्छ । हामी माक्र्सवादी इतिहासको निर्माता जनसमुदाय हुन् भन्ने मान्यतामा दृढ रहन्छौँ । अतः संसद् विघटन र संविधान पुनर्लेखनको प्रस्ताव नेपाली जनतासमक्ष अघि सारेका छौँ । जनताले फैसला गर्नेछन् र राजनीतिक फैसला गर्न नेपाली जनता सक्षम छन् ।
–नयाँ राजनीतिक शक्ति सन्तुलनपछि मात्रै नेपालमा नयाँ खालको राजनीतिक कोर्स अगाडि बढ्छ । अहिले राष्ट्रिय राजनीतिमा तत्काल नयाँ शक्ति सन्तुलन देखिने अवस्था छैन । तपाईंहरूका संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको माग प्रचारात्मक त होलान नि, होइन ?
हाम्रो पार्टीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘गणितले मात्र ओली–प्रचण्ड सरकारको रक्षा गरेको छ । तसर्थ अब संसद होइन, नेपालको राजनीतिमा सडक प्रधान भएर आउँदै छ ।’ सडक प्रधान बनाउने काम ओली–प्रचण्डको पार्टी, संसद र सरकारले नै गरेको छ । माओवादी केन्द्र तत्काल भौतिक कारवाहीको नीतिमा नरहेको हुँदा यसले प्रचारात्मक काम नै गर्नुपर्छ ।
–तपाईंहरूको मागमा मधेसवादी दल र काँग्रेसको पनि समर्थन रहन्छ भन्नुभएको थियो । तपाईं के ठान्नुहुन्छ, समर्थन गर्लान् त ?
हो, मधेस केन्द्रित दलहरूले नै संविधान पुनर्लेखन भनेर सुरुमा भनेका हुन् । तर उहाँहरू संसद र सरकारमा अल्झिनुभयो । हाम्रो पार्टीले यो माग अघि सार्यो । हामीलाई विश्वास छ कि राजपा र फोरम संविधान पुनर्लेखनको नीतिमा इमानदार रहने छन् । नेपाली काँग्रेसको हकमा उसले पाँच वर्ष पर्खने वा त्यसअघि नै संसद विघटन गर्नेबारे निर्णय गर्नुपर्छ ।
–देशमा संविधानलाई पूरै स्वीकार गर्ने, आधा स्वीकार गर्ने र पूरै खारेज गर्ने तीनथरी शक्ति छन् । तपाईंहरूले संविधान पुनर्लेखनको माग अगाडि सारेर मध्यमार्गी बाटो लिन चाहेको हो ?
यो मध्यमार्गी नभएर हाम्रो पार्टीको विचारमा क्रान्तिकारी बाटो हो । यदि दलाल तथा नोकरशाही पुँजीवादी राज्यसत्ताका रक्षक संसदवादीहरू संसद विघटन र संविधान पुनर्लेखनमा आउँदैनन् भने जनताले राज्यसत्ता कब्जा गर्ने परिस्थिति पनि उत्पन्न हुन सक्छ । त्यसैले मानसिक तयारी गर्न हाम्रो पार्टी अपिल गर्छ ।
–देशले लामो समयपछि स्थिर सरकार पाएको छ । संसद विघटन र राष्ट्रिय सरकारको नारा उचालेर तपाईंहरू फेरि अस्थिरता बढाउन लाग्नुभएको हो । यो मागको औचित्य के हुन्छ ?
१ सय ४ वर्षको राणाशासन र तीस वर्षे पञ्चायती शासनको स्थिरताभन्दा केपी ओली र प्रचण्डको अभिजातवर्गीय स्थिरतामा फरक के छ ? केही छैन । त्यसैले यो राष्ट्रिय निकास नै वास्तविक स्थिरता निर्माणको कार्यनीति हो ।
–एकछिन तपाईंको पार्टीको कुरा गरौँ । माओवादी केन्द्रको पुनर्गठन गर्ने तपाईंको अभियान फेसबुक र कागजमा मात्रै सीमित छ कि अलि–अलि फिल्डमा पनि हुँदैछ ?
पुनर्गठित नेकपा माओवादी केन्द्र बाहिरबाट हेर्दा शान्त देखिने तर आन्तरिक ज्वारभाटा निर्माण गरिरहेको छ । खासगरी मोहन वैद्य र बाबुराम भट्टराईले पार्टी विभाजन गर्दा होस् या अशोक राईले नयाँ पार्टी बनाउँदा जुन तामझाम देखाए, त्यो लामो समय टिकेन । त्यसबाट शिक्षा लिएर हामी आन्तरिक काममा बढी केन्द्रित छौँ । यसलाई हामीले प्रचण्डहरूले भत्काएर छाडेको माओवादी आन्दोलनको धावनमार्ग पुनर्निर्माण भनेका छौँ । त्यो क्रमशः हुँदैछ र पुनर्निर्माण भएर छाड्ने विश्वास लिएका छौँ ।
–तपाईंबाहेक अरू परिचित अनुहार तपाईंको अभियानमा देखिँदैनन् नि ?
हिजो देखिएका ठूला टाउकेहरूले पार्टी त्यागेर गए । साना टाउकेहरू नै जुटेका छौँ । गाउँमा उखान छ, ‘सानो पाली ठूलो, ठूलो पाली बूढो ।’ देश हाँक्न सक्षम युवाहरू हाम्रो पार्टीमा सङ्गठित छन् । अब नयाँ अनुहारमा नायकहरू मञ्चमा खडा हुने छन् । इतिहासको प्रक्रिया पनि यही हो ।
–तपाईंले माओवादीहरूबीचको ध्रुवीकरण चाहियो भनेर वैद्य र विप्लवसँग एकताका लागि वार्ता पनि गर्नुभयो ? केही प्रगति हुँदैछ कि ?
सकारात्मक प्रगति हुँदैछ । माओवाद विरोधीहरू एकत्रित बनेपछि माओवाद स्वीकार गर्नेहरूले के गर्नुपर्छ ? जवाफ निर्माण गरिहेका छौँ ।
–नेकपा नेतृत्वको सरकार बनेको ६ महिना पूरा भयो ? सरकारको समीक्षा सुनौँ न ?
ओली सरकाको समीक्षा गृहमन्त्री बादलको हृदयले गरेको हुनुपर्छ । जसले सुरु गरेका जनपक्षीय सुधारका कामहरूको उपहार स्वरूप बादलाई कारवाही गर्दैछन् । अनि कञ्चनपुरकी निर्मला पन्तको घटनाले समीक्षा गर्छ । भारतीय प्रधानमन्त्री आउँदा पल्टनका पल्टन विस्तारवादी फौजले नेपाललाई परेड मैदान बनाए । त्यसैले देशभक्त नागरिकलाई ओली सरकारको छ महिने कार्यकाल इतिहासकै सङ्कटकाल भनेर मान्न थालेका छन्, बुझ्न थालेका छन् ।
–सरकारले राम्रो काम भएको दाबी गरेको छ, सूची नै बनाएको छ । तपाईंले केही राम्रो देख्नु भएन है ?
यो प्रश्नको सही जवाफ बालकले दिनेछन् । जसको बादशाहा नाङ्गै रहेको बताउन सक्छन् ।
–तपाईंले गृहमन्त्री रामबहादुर थापा बादललाई विद्रोह गर्न आह्वान गर्नुभयो, त्यसो नगरे उनको राजनीतिक अवसान हुने दाबी गर्नुभयो ? किन यस्तो निष्कर्षमा पुग्नुभयो ?
तुलनात्मक रूपमा प्रचण्डहरूभन्दा बादल देशभक्त लाग्छन् । अर्को उनले प्रयास गरेका सुधारका कामहरू जनताको पक्षमा थिए । राम्रो काम गर्नेको मूल्याङ्क हुँदैन । त्यसैले मैले विद्रोह गर्न आह्वान गरेको हुँ ।
–तर गृहमन्त्री बादलले विप्लव पार्टीका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई हथकडी लगाए भन्नेहरू छन् नि ?
हो, त्यसको नैतिक जिम्मा बादलले लिनुपर्छ । किनकि उहाँ गृहमन्त्री हुनुहुन्छ । तर यथार्थ के हो भने गृहमन्त्रालयको अनुसन्धान विभाग सुरुमै केपी ओलीले खोसेर लगेपछि बादल आँखा र कान नभएका गृहमन्त्री बन्न बाध्य छन् ।
–अर्को चुनावसम्म नेकपाको अवस्था के होला ?
खासगरी विप्लवले परिपक्व कदम उठायो भने फेरि पनि माओवादी पार्टी राष्ट्रिय शक्तिमा आउँछ । अन्यथा पुँजीवादी काँग्रेस विकल्प बन्ने प्रष्ट देखिन्छ । ओली–प्रचण्डको संसदवादी नेकपाको स्वर्णकाल सकियो । राष्ट्रवादको खोक्रो नारा उराल्दै भारतीय शासकसामु लम्पसार पर्ने ओली–प्रचण्डलाई नेपाली जनताले धिक्कार्ने छन् ।
–एकीकृत नेकपाभित्र पूर्वमाओवादी नेताहरूको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ ?
एक तिहाई साथीहरू हाँस्दै–हाँस्दै एमालेकरणमा विलय भएका छन् भने दुई तिहाई साथीहरू रुँदै–रुँदै गएका देखिन्छन् । ती रुँदै जानेहरूको आँशुको पोखरीमा प्रचण्डहरूले अभिजातवर्गीय शान प्रदर्शनको प्रयास गर्लान् ।
–आफ्ना पूर्वनेता प्रचण्डलाई तपाईंको सुझाव के छ ?
माओवाद र पहिचानको मुद्दा त्यागेर अरू धोका दिनभन्दा राजनीति छाडेर बसे माफी पाउलान् कि !
–प्रधानमन्त्री केपी शर्मा ओलीबारे टिप्पणी ?
नेपाली राजनीतिमा पृथ्वीनारायण शाहदेखि जङ्गबहादुर राणा, महेन्द्र शाह हुँदै हाल प्रधानमन्त्री केपी ओली गोर्खाली अन्धराष्ट्रवादका प्रतिनिधि हुन् । गोर्खाली अन्धराष्ट्रवाद नेपाली राष्ट्रवादको विरुद्ध हुन्छ । जनजातिले भनेको ब्राह्मणवाद, मधेसीले भनेको पहाडिया अहंकारवाद, महिलाले भनेको पितृ सत्तावाद र दलितले भनेको विष्टवादको केन्द्र गोर्खाली अन्धराष्ट्रवाद हो । त्यसलाई उखेलेर फाल्न समाजवादी क्रान्तिको कार्यभार हुन्छ । जसका निम्ति नेकपा मोओवादी केन्द्र समर्पित छ ।