त्रिविको गिर्दो साख
दधिराम खतिवडा
मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अहिले थलिएको अवस्थामा छ । एकातिर नतिजा सन्तोषजनक छैन भने अर्कातिर व्यवस्थापकीय पक्ष उत्तिकै अपादर्शिता र गैरजिम्मेवार छ ।
विश्वविद्यालयको शोध, अनुसन्धान र शिक्षण उपाधि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुन्छ र हुनुपर्ने हो । त्यस मुताविक संस्थागत, विभागीय नेतृत्व वैज्ञानिक एवम् गतिशील नहुँदा त्रिविको गुणस्तमाथि गम्भीर प्रश्न उठेको छ । प्रशासनिकदेखि सम्पूर्ण शैक्षिक विभागहरूमा भ्रष्टाचार र अनियमितताका चाङ लागेका छन् । अख्तियारले छानविन, अनुसन्धान गरेको बताउँछ । यद्यपि त्रिविको हालत गिर्दो अवस्थामा छ । पछिल्ला केही वर्षयता परीक्षा सुरु हुनु अगावै विभिन्न शैक्षिक गिरोहहरूबाट पटक पटक प्रश्नपत्र आउट हुन्थे नै यस पटक त्रिविका प्राध्यापकबाटै प्रश्नपत्र बाहिरिएको घटना सार्वजानिक भइरहेको छ । विश्वविद्यालय भित्र हुने यस्तो हर्कतले समाज र अन्तर्राष्ट्रिय तहमा कस्तो सन्देश जाला ?
राजनीतिक दलीय भागबन्डाका आधारमा हुने पदाधिकारी नियुक्ति, प्राध्यापक, कर्मचारी र विद्यार्थीसम्मका आआफ्ना दलीय भातृसङ्गठन । प्रायः देखिने तालाबन्दी, तोडफोड, अनसन र आन्दोलन गरेर दैनिक अध्ययन अध्यापनमा बाधा गर्ने गर्दछन् । आआफ्ना माग कार्यान्वयन गराउनेको होडले दिनप्रतिदिन त्रिवि अनपेक्षित रूपमा ह्रासोन्मुख हुँदै गएको छ । दशकअघिसम्म उच्च शिक्षा पढ्ने अधिकांश नेपाली विद्यार्थी त्रिभुवन विश्वविद्यालयमै पढ्थे । अहिले त्यो अवस्था देखिँदैन । यस विकृत परिपाटी हावी भएकाले अहिले अध्यनका लागि दैनिक सयौँ विद्यार्थी त्रिवि जानुको सट्टा त्रिभुवन विमानस्थलतर्फ मोडिन थालेको कारुणिक दृश्य छर्लङ्ग छ । योग्यता र क्षमतावानले उचित स्थान नपाउँदा प्राज्ञिक, दक्ष जनशक्ति पनि बाहिरिने र विदेशिने क्रम बढ्दो छ । राज्यले यसमा ध्यान दिन नसकेको वा नचाहेको हो ?
दलीय भर्तीको अखडा बनेको विश्वविद्यालय भुत्ते जनशक्ति र जागिर खानेभन्दा बढी यसको प्रयोजन रहन सकेन । प्राज्ञिक पहिचानको महत्वपूर्ण आधार भनेर चिनिने विभिन्न विभागका नेतृत्वमा समेत ह्रास आइरहेको छ । अनि यसले प्रदान गर्ने प्राज्ञिक शिक्षा कस्तो होला ? कस्ता विज्ञ उत्पादन गर्ला ? अहिले व्यापक बहस, चर्चा, चासो र चिन्ताको विषय बनेको छ । यही व्यवस्था र अवस्था निरन्तर रहेमा त्रिवि बेरोजगारी उत्पादन गर्ने वैज्ञानिक कारखाना बनिरहनेछ ।
विश्वविद्यालय प्रकाण्ड प्राज्ञिक, विद्वान जनशक्ति उत्पादन गर्ने केन्द्र भएकाले उक्त संस्थामा व्यक्तिको बौद्धिक क्षमताका आधारमा योग्यतावादको स्थापना र नेतृत्व हुनुपर्दछ । राजनीतिक नियुक्ति र टीकेप्रथाको अन्त्य गरी लोकतान्त्रिक विधिबाट खुला प्रतिस्पर्धा मार्फत पदाधिकारी, प्राध्यापक नियुक्ति र बढुवा गरिनुपर्दछ । नीतिगत व्यवस्था गरी सम्पूर्ण दलीय भातृसङ्गठनहरू भङ्ग र ध्वस्त पारिनुपर्दछ । शिक्षालाई विसुद्ध वैज्ञानिक खोज, अध्यन, अनुसन्धानमा जोड दिई स्वायत्त र स्वतन्त्र संस्था निर्माण गर्ने सके आम विद्यार्थी अभिभावको विश्वास बढ्ने देखिन्छ । संस्थागत व्यावहारिक, व्यावसायिक ज्ञान र नीतिगत कानुनी सुधार गर्न सके त्रिविको गिर्दो साखमा फेरबदल आउन सक्छ ।
त्रिवि पनि आफ्नो प्राज्ञिक कुशलता र छविलाई पारङ्गत बनाउन सचेत रहन जरुरी छ । चिन्तन र व्यापक अध्ययनको स्वतन्त्रताविना प्राज्ञिक जनशक्ति उत्पादन हुन सक्दैन । सम्बन्धित विषयमा पोख्त व्यक्तिलाई सम्पूर्ण अधिकारसहितको कुलपति चयन गरी सही नेतृत्व दिन आवश्यक छ । ग्रामीण दूरदराजका मध्यमवर्गीय विद्यार्थीहरू जो दुई मुरी कोदो, मकै बेचेर सपना पूरा गर्न चाहन्छन् । उक्त शिक्षालाई काममुखी, जीवनमुखी र अर्थतन्त्रमुखी बनाउन त्रिविले अवसर प्रदान गर्नु आवश्यक छ ।
विश्वविद्याललाई राजनीतिक गतिविधिबाट टाढा राखेर खोज, अनुसन्धान र शैक्षिक गुणस्तरीयतामा जोड दिँदै विद्यार्थीको सहभागितालाई सरकार र विश्वविद्यालय दुवैले केन्द्रविन्दुमा रहेर सुधार गर्नैपर्छ । विश्वविद्यालय भनेका बौद्धिक, प्राज्ञिक र अन्वेषणात्मक संस्था हो, जसले सरकारलाई शैक्षिक आर्थिकलगायतका बहुआयामिक विषयवस्तुउपर आवश्यक सल्लाह सुझाव दिएर विकासको मार्गमा लैजान सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया