बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बलात्कारले उब्जाएको प्रश्न : कता गइरहेछ हाम्रो समाज ?

बिहीबार, २१ भदौ २०७५, १० : ४३
बिहीबार, २१ भदौ २०७५

समाज आजभोलि दिन प्रतिदिन कुरूप बन्दै गएको छ । आफ्नै बाबु, दाजुभाइ, काका आदिबाट घरभित्रै  छोरी चेलीहरू बलात्कृत हुनु र लुटिनु सभ्य समाज हुँदै होइन  । यो त कुरूप र असभ्य समाजको एउटा चरम पराकाष्टा हो । 

आफ्नो बाबु र दाइभाइ, मामा, काका, इस्टमित्र, अफिसका हाकिम, कर्मचारी सबैसबैबाट यतिबेला दिदीबहिनी, छोरी चेलीमाथिको यौन आक्रमण र बलात्कारका शृङ्खला एकपछि अर्को गर्दै दिन प्रतिदिन सार्वजनिक भइरहेका छन् । महिला हिंसाभित्रको सबैभन्दा कारुणिक दृश्य हो बालिकामाथिको बलात्कार । यही बलात्कारले पुरुषलाई हेर्न दृष्टिकोणमा समेत फरक हुन पुगेको छ, समाजमा । अब दिदीबहिनी र छोरी चेलीहरू कहाँ सुरक्षित हुने ? घर, अफिस बाटोघाटो सबैतिर असुरक्षित । बलात्कार आफैमा एउटा निकृष्ट कार्य हो । 

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भइन् । आमा कपडा धुन खोलामा गएको बेला बाबुले छोरीलाई बलात्कार गरे । पीडित छोरी र आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ५३ वर्षीय बाबुलाई पक्राउ ग-यो । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाएको छ । 

बलात्कारका घटनाको तथ्यगत विश्लेषण गर्दा बालिका तथा किशोरीहरू बढी मात्रामा पीडित बनेका छन् । उनीहरूको पुनस्र्थापना अहिले ठूलो चुनौती बनेको छ ।

कञ्चनरपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले मुलुकलाई नै स्तब्ध बनाएको बेला कैलालीमा एक पुरुषले आफ्नै छोरीको साथीमाथि बलात्कार गरे ।  कैलालीको घोडाघोडी नगरपालिका ६ की १४ वर्षीया बालिका आफ्नै सहपाठीका बुबा (नाताले फुपूका छोरा)बाट बलात्कृत भइन् ।  भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका हर्कबहादुर कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेका थिए ।  बलात्कारपछि फरार ३३ वर्षीया कुवँरलाई प्रहरीले पक्राउ ग-यो ।  

रोल्पामा एक ६ वर्षीया बालिका दाइबाट बलात्कृत हुनु प¥यो । १५ वर्षीय किशोरले ६ वर्षीया बहिनीको बलात्कार गरे । बालिका बिरामी परी बिजुवा प्युठानमा चेकजाँचका क्रममा डाक्टरले थाहा पाउँदा घटना बाहिर आयो । 
भोजपुर साल्पासिलिछो गाउँपालिकामा ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भयो । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा ११ वर्षीय बालिका रचना राई सुतेकै स्थानमा मृत फेला परेकी थिइन् । ११ भदौमा शङ्कास्पद अवस्थामा सुतेकै स्थानमा मृत भेटिएकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियुक्तले प्रहरी समक्ष स्वीकार गरे । बालिकाको करणी गरी हत्या गरेको अभियोगमा साइनोले मामा पर्ने सङ्खुवासभाको खाँदबारी नगरपालिका–२ बस्ने २० वर्षीय सञ्जय राईलाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा चलाएको छ । 

बाँकेको कोहलपुरमा नगरपालिका–१ की ६ वर्षीया बालिकालाई १९ वर्षीय युवकले बलात्कार गरे । भारत उत्तर प्रदेश घर भई कोहलपुर–४ मा डेरा लिई बस्दै आएका १९ वर्षीय हरून खानले भदौ १२ गते बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनायो । बालिकाकी आमा कोहलपुरमा किराना पसल गर्छिन् । पसलमा रहेकी बालिकालाई घरमा पु¥याइदिन्छु भन्दै खानले साइकलमा राखेर डेरामा लगेर बलात्कार गरेका थिए । 

कञ्चनपुर कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि हत्या भयो । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिए । हत्यामा संलग्न मदन गिरी, भरत बोहरा र नवराज महरा पक्राउ परे । तर प्रहरीले नै कुनै आधार नदेखिएको भन्दै नवराज निर्दोष देखाइछाड्यो । 

कञ्चनपुर बेलडाडी १ की १५ वर्षीया किशोरी भदौ १४ गते राति बलात्कृत भएकी छिन् । दुई युवकले किशोरीलाई घरभन्दा एक किलोमिटर पर पु¥याएर बलात्कार गरे । घरमा पूजा लगाइएकाले रातिसम्म नसुतेकी किशोरीलाई साथीले फोन गरेर बाहिर बोलाएर जबर्जस्ती मोटरसाइकलमा राखेर करिब १ किलोमिटर टाढा पुर्याई बलात्कार गरे । घटनामा संलग्न ४ मध्ये ३ जनालाई प्रहरीले समातेर अनुसन्धान गर्दैछ । 

यी केही प्रतिनिधिमूलक  घटनाहरू मात्रै हुन् । यस्ता घटनाहरू दिनहुँजसो घट्दै गइरहेका छन् समाजमा । माथिको यी घटनाहरूबाट के स्पष्ट हुन सकिन्छ भने बलात्कारको शिकार ८ महिने बालिकादेखि ७० वर्षसम्मका वृद्धा छन् भने गर्भवती महिलाहरू समेत यसबाट पीडित छन् । १ वर्षे बालिका देखि १५ वर्षसम्मका बालिकाहरू यस्ता घटनामा धेरै मुछिएका छन् । 
आखिर किन बालिकामाथि नै यस किसिमका जघन्य कार्यहरू भइरहेका छन् त ? बलात्कृत भइसकेपछि उनीहरूमाथि कस्तो किसिमको शारीरिक, मानसिक एवम् सामाजिक असरहरू पर्छन् ? यसतर्फ गम्भीर बहस हुनु जरुरी छ । 

अझै बालिका बलात्कार र उनीहरूको निर्मम हत्याको कसैले लेखाजोखा गर्न सक्दैन । विशेषतः एउटी किशोरी र महिलाभन्दा बालिकाहरूले आफ्नो रक्षा, प्रतिरक्षा र प्रतिकार गर्न नसक्ने भएकाले यौनपिपासुहरूले सजिलै बालिकाहरूमाथि यस किसिमको घिनलाग्दो हर्कत गर्छन् र समाजमा आफू नाङ्गिने डरले उनीहरूको हत्या गरिदिने प्रवृत्ति बढ्दो छ ।  पछिल्ला घटनाक्रमहरूले पनि यही कुरालाई दर्शाएको छ । सङ्ख्यात्मक रूपमा घटना बढेसँगै यस्ता खबरहरू पनि बाहिरिने क्रम बढेको छ । यस्ता घटना लुकाउनुहुन्न भन्ने मानसिकता पनि बढेको छ । बलात्कार जस्तो जघन्य प्रकृतिको घटनाको उजुरी गर्ने हदम्याद बढेपछि घटना बाहिरिने क्रम बढेको मान्न सकिन्छ । 

यस्ता घटनाहरू सुन्दा स्वाभाविक रूपमा मानिसमा एक किसिमको आक्रोश जन्मन्छ । पीडकलाई कारबाहीका लागि खबरदारीहरू पनि सुरु हुन्छन् र भइरहेका पनि छन् तर घटनापछिको एउटा डरलाग्दो पाटोबारे त्यति धेरैको ध्यान जाँदैन, बहस हुँदैन । के बलात्कारका दोषीमाथि कानुन बमोजिमको कारबाही मात्रैले पीडितलाई न्याय मिल्छ त ? एक पटक सोचौं त । यी कलिला मन मस्तिष्क भएका बालिकाहरू पहिलेको जीवनमा फर्कन सक्छन् त ? उनीहरू आफ्नो घर, परिवार अनि समाजमा पहिलेको जसरी नै निर्वाध रूपमा बस्न, हिँडडुल गर्न सक्छन् त ? अनि समाजले पनि उनीहरूलाई पहिलेकै नजरबाट उनीहरूमाथि व्यवहार गर्छ त ? यी अनुत्तरित प्रश्नहरूभित्रको डरलाग्दो अवस्थाबारे अब हाम्रो ध्यान जानु जरुरी छ । 

सदियौँदेखि समाजमा जरो गाडेर बसेका सामाजिक मूल्य–मान्यता र अभ्यासहरूले प्रत्यक्ष र परोक्ष रूपमा यस्ता अपराध जन्माउन सहयोग गरिरहेका छन् । महिला भनेको पुरुषको भोगको साधन हो भन्ने तथ्य प्रमाणित गरिरहेका छन्, जुन एउटा सभ्य समाजका लागि लज्जास्पद विषय हो । जबसम्म यस्ता जकडिएर रहेका परम्परागत मान्यताहरू भत्किदैनन्, तबसम्म महिलाले पुरुष सरहको अस्तित्व परिकल्पना गर्न सकिन्न ।

एउटी महिला निर्वाध रूपमा बिनात्रास हिँड्न किन नसक्ने ? एउटी बालिकाले स्कुल आउने–जाने क्रममा भेटिएका हरेक पुरुषका अनुहारमा त्रासदीको छाया किन नियाल्नुपर्ने ? एउटी ७० वर्षकी आमाले छोराजस्ता मान्छेको भर गर्न पनि किन बाध्य भएर सोच्नुपर्ने  ? आखिर किन यस्तो अवस्था सिर्जना भइरहेको छ, समाजमा ? घरमै र आफ्नै परिवारसँग पनि महिलालाई असुरक्षा किन बढिरहेको छ ?
बलात्कार महिलामाथि हुने हिंसाको उत्कर्ष अवस्था हो । सदियौँदेखि समाजमा जरो गाडेर बसेका सामाजिक मूल्य–मान्यता र अभ्यासहरूले प्रत्यक्ष र परोक्ष रूपमा यस्ता अपराध जन्माउन सहयोग गरिरहेका छन् । महिला भनेको पुरुषको भोगको साधन हो भन्ने तथ्य प्रमाणित गरिरहेका छन्, जुन एउटा सभ्य समाजका लागि लज्जास्पद विषय हो । जबसम्म यस्ता जकडिएर रहेका परम्परागत मान्यताहरू भत्किदैनन्, तबसम्म महिलाले पुरुष सरहको अस्तित्व परिकल्पना गर्न सकिन्न । बलात्कार त एउटा परिणाम हो, हामीले त्यसका कारण खोजे मात्र दीर्घकालीन समाधान भेटिन्छन् ।

बलात्कारको सन्दर्भमा संसारमा दुई प्रकारका कानुन रहेका छन् । फाँसी सजायको प्रावधान र हदैसम्मको कानुनी कारबाही । तर नेपालमा १० वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरे १० देखि १५ वर्षसम्म कैद, १४ वर्षदेखि १६ वर्षसम्मका बालिका वा किशोरीलाई बलात्कार गरे ८ देखि १२ वर्षसम्म कैद, १६ देखि २० वर्षसम्मको युवतीलाई बलात्कार गरे ५ देखि ८ वर्षसम्म कैद र २० वर्षदेखि माथिका महिलाहरूलाई बलात्कार गरेमा ५ देखि ७ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । भारतमा ‘रियरेस्ट अफ द रियर’को घटनामा फाँसीको सजाय सुनाइन्छ । बालिकामाथि हुने बलात्कारमा ‘पोक्सो एक्ट’अनुसार मुद्दा दायर हुन्छ । यो कानुनमा बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई १० वर्षदेखि आजीवन कारावासको सजायको प्रावधान छ । मलेसियामा बालबालिकामाथि हुने यौन हिंसाका अपराधीलाई ३० वर्ष जेल र कोर्रा लगाउने सजायको प्रावधान छ । सिङ्गापुरमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई २० वर्षको जेल, कोर्रा लगाउने र जरिवाना तिराउने सजाय छ ।

अमेरिकामा पहिला बालिकामाथि हुने यौनहिंसामा मृत्युदण्ड हुने कानुनी प्रावधान थियो । तर, क्यानेडी बनाम लुइसियाना घटनामा मृत्युदण्डको सजायलाई असंवैधानिक घोषणा गरियो । अहिले अमेरिकामा मृत्युदण्डको व्यवस्था छैन । यद्यपि बालिकामाथि हुने यौनहिंसामा अपराधीलाई दिने सजाय राज्यअनुसार फरक फरक छन् । तर नेपालमा मृत्यु दण्डको सजाय र फाँसी दिने व्यवस्था छैन । सरकारले संयुक्त राष्ट्र सङ्घमा मृत्युुदण्ड र फाँसी दिन नपाइने राष्ट्रमा हस्ताक्षर गरेको वर्षौं भइसकेको छ । सरकारले यो निर्णय फेर्ने छैन भनी प्रतिबद्धता जाहेर गरेको छ ।  केही दिनअघि मात्र पनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले मृत्युदण्ड र फाँसी दिन नसकिने अभिव्यक्ति दिनुभएको थियो तर बलात्कारीलाई हदैसम्मको कारवाही दिनेमा आफूपछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यद्यपि मृत्युदण्ड र फाँसी दिने कानुनको व्यवस्था नभए पनि महिला हिंसा र बलात्कारपछिको हत्या जस्ता महत्वपूर्ण घटनाहरूमा सञ्जाय अवधि बढाउन पक्कै पनि सकिन्छ र फास्ट ट्र्याकबाट घटनाहरूलाई हेर्न गृहमन्त्रालय र महिला आयोगको संयोजनमा छुटै निकाय बनाउनुपर्छ । 

त्यस्तै यस्ता खालका घटनालाई निरुत्साहित गर्न राज्यको तर्फबाट भएका प्रयासलाई सकारात्मक रूपमा लिनुपर्छ । बलात्कारसम्बन्धी उजुरी गर्ने हदम्याद ३५ दिनबाट बढाएर ६ महिना र नयाँ अपराध संहितासँगै त्यसलाई पनि बढाएर एक वर्ष पु-याइएको छ । घरेलु हिंसा तथा कसुर सजाय ऐन, कार्यस्थलमा हुने दुव्र्यवहार नियन्त्रण ऐन, वैवाहिक बलात्कारसम्बन्धी ऐनलगायतका कानुनी प्रावधानले महिलामाथि हुने हिंसाको सम्बोधन गरिरहेका छन् । तर कानुनी व्यवस्था र यसको कार्यान्वयनले मात्र बलात्कारबाट पीडितमाथि न्याय गर्नसकेको छैन । कार्यान्वयन पक्ष फितलो भएकै कारण यस्ता अपराधमा संलग्न अपराधीहरू केही वर्षपछि सजिलै जेलबाट छुटी समाजमा खुल्ला हिँड्ने परिपाटीले कानुनमाथि आम जनताको भरोसा कम भएर गएको छ, कानुनकै उपहास भएको छ ।

कानुन हुनेखानेहरूको लागि होइन, हुँदा खाने समाजका कमजोर वर्गहरूमाथि लाद्न बनेको कडी भएको छ । जसको समाजमा राजनीतिक रूपमा कुनै पहुँच नै छैन, जो कमजोर, निर्दोष, असहाय छन्, त्यस्ता व्यक्तिहरूमाथि कडी लगाउनका लागि कानुन बनेको छ । यसको पछिल्लो उदाहरण निर्मला पन्त हत्या प्रकरणलाई लिन सकिन्छ, जसको अहिलेसम्म वास्तविक हत्यारा पत्ता लगाउन सकिएको छैन ।

दिनहुँ घटनाको वास्तविक अपराधी पत्ता लगाउन जुलुसहरू भइरहेका छन्, सडक तातेकै छ, महिलाहरूले दबाब स्वरूप कालो पेटिकोट र कपाल मुण्डनसमेतका विरोधका कार्यहरू केन्द्रदेखि स्थानीय तहसम्म गरिरहेकै छन् तर पीडकलाई राजनीतिक संरक्षण मिलेको कारण यो घटनालाई पनि तोडमोड गरिँदै छ, विभिन्न नाटक मञ्चन भइरहेका छन् ।  

बलात्कारका घटनाको तथ्यगत विश्लेषण गर्दा बालिका तथा किशोरीहरू बढी मात्रामा पीडित बनेका छन् । उनीहरूको पुनस्र्थापना अहिले ठूलो चुनौती बनेको छ । एउटी पीडितलाई शारीरिक रूपमा जति आघात पुगेको हुन्छ, त्योभन्दा बढी घाउ उसलाई मानसिक रूपमा लागेको हुन्छ । जसलाई मनोसामाजिक परामर्शका माध्यमबाट पहिलाको अवस्थामा फर्काउन सकिन्छ । दीर्घकालीन आवास गृह व्यवस्था र पीडितका आवश्यकतालाई प्राथमिकतामा राखेर शिक्षा, सीप तथा रोजगारीका अवसर सिर्जना गर्नु राज्यको दायित्व हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गीता केसी दर्नाल
गीता केसी दर्नाल
लेखकबाट थप