बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको अर्काे चमत्कार देखाउने चाहना

बुधबार, ३१ जेठ २०७४, १५ : ००
बुधबार, ३१ जेठ २०७४


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त नेताको उचाइ प्राप्त गरिरहनुभएको छ । प्राप्त भइरहेको यो उचाइले ओलीलाई हौस्याइरहेको पनि छ । ओली महसुस गर्दै हुनुहुन्छ, देशभक्ति अडानको परिणाम कस्तो हुँदोरहेछ !  करिब २० वर्षअगाडिदेखि केपी ओलीको परिचय भारतभक्त नेताका रुपमा चर्चित थियो ।

खासगरी महाकाली सन्धिले ओलीको राजनीतिक व्यक्तित्वलाई निकै क्षति पु¥याएको थियो । महाकाली सन्धि गरेपछि ओली र तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाल प्रहरी सुरक्षामा आफ्नै निवासभित्रै लुकेर बस्नु परेको थियो । आज ओलीले देशभक्त नेताको हैसियत बनाइरहेको अवस्थाले महाकाली सन्धिका गलत पक्षहरुलाई बिर्सिन आधार बनाएको छ । महाकाली सन्धि पारित गर्दाको समयमा केपी ओलीले भन्ने गरेका शब्दहरु आज पनि स्मरणीय छन् । महाकाली सन्धि पारित भएको २० वर्ष बितिसक्दा पनि त्यो परियोजना निर्माण गर्नेतर्पm छिमेकी देश भारतले कुनै चासो देखाएको छैन । महाकाली सन्धिबाट मुलुकलाई एक खर्ब २० अर्ब रुपैयाँ वार्षिक रुपमा आय हुने दाबी केपी ओलीले त्यो बेला गर्नुभएको थियो । त्यो कति काल्पनिक अभिव्यक्ति थियो भन्ने कुरा स्वयं ओलीले आजभोलि महसुस गर्नु भएको हुनुपर्दछ । आफ्ना अभिव्यक्तिबाट कति उपहासको पात्र बन्नु परेको थियो भन्ने कुरा स्वयं ओलीलाई पीडानुभूति भएको हुनुपर्दछ । 


महाकाली सन्धिले नेपाललाई कति नोक्सानी पु¥याउँछ भन्ने कुरा देशभक्त बुद्धिजीवीहरुबाट धेरैपटक बाहिर आइसकेको छ । पंक्तिकारलाई यी पंक्ति लेखिरहँदा महाकाली सन्धिबाट नेपालले गुमाएको ९० प्रतिशत पानीको हिस्सा कसरी नेपालले फिर्ता लिन सक्ने होला भन्ने चिन्ता केपी ओलीलाई हालका दिनहरुमा लाग्नुपर्ने हो जस्तो लागिरहेको छ । महाकाली नदीलाई साझा नदी मानेको आधारमा त्यस परियोजनाबाट उत्पादन हुने बिजुली र पानी बराबर उपयोग गर्न नेपाल र भारतलाई समान अधिकार हुनुपर्ने थियो । नेपालका तत्कालीन संसद्का राजनीतिक दलहरुले नेपालको हितमा आफ्नो अडान राख्न नसकेपछि महाकाली सन्धिबाट नेपालले १० प्रतिशत मात्र पानी पाउने अवस्था रहन गएको छ । त्यस सन्धिबाट नेपालले ९० प्रतिशत पानीको हक गुमाउँदा गुमाउँदै पनि वार्षिक एक खर्ब २० अर्ब फाइदा हुन्छ भनेर ओलीले अभिव्यक्ति दिनुभएको थियो । तैपनि महाकाली सन्धि कब्जा गरिसकेपछि भारतले त्यसको निर्माण कार्यलाई प्राथमिकता राखेको छैन । नेपाल पक्षले यही मौका छोपेर महाकाली सन्धिबाट हक गुमेको ९० प्रतिशत पानीको स्वामित्व नेपालले लिन सक्ने आधार बनेको छ । तर यो सवालमा केपी ओली बोल्न हिम्मत गरिरहनुभएको छैन । त्यसैले उहाँको देशभक्ति नक्कली हो भन्न बाध्य हुनुपर्ने अवस्था छ ।


हालका दिनहरुमा केपी ओलीले नेपालमा युरेनियम उत्खनन गरेर भारतलाई समेत बेच्न सक्ने हैसियतमा पुग्न सकिने दाबी गर्दै भाषण गरिरहनुभएको छ । यो निश्चित पनि नेपालसँग भएको हैसियत हो । वास्तविक रुपमा नेपालको हैसियत बुझेको प्रत्येक देशभक्त नेपालीले आत्मसात् गर्नुपर्ने पक्ष हुन् । नेपालसँग युरेनियमको भण्डारण छ भन्ने कुरा छिमेकी देशहरुलाई मात्र होइन सारा संसारलाई जानकारी छ । आज आणविक अस्त्रको होडबाजीमा लागिरहेको संसारका सामु नेपालको युरेनियम भण्डार लोभलाग्दो हुनु स्वाभाविकै हो । राष्ट्रिय स्वाभिमान भएको देशभक्त नेता नेपालमा जन्मिएको भए आजसम्म नेपाल युरेनियम निर्यात गर्ने एउटा सम्पन्न मुलुक भइसक्ने थियो । युरेनियम मात्र होइन, नेपालले पानीबाट पनि आर्थिक समृद्धि हासिल गर्नसक्ने अवस्था विद्यमान छ । नेपालमा रहेको जलसम्पदालाई देशभक्ति भावनाका साथ सदुपयोग गर्ने हो भने नेपाल संसारको धनी देश बन्न ढिलो हुने छैन । परन्तु नेपालका राजनीतिक दलका नेताहरुले नेपालका जल सम्पदाहरुलाई विदेशीहरुको स्वामित्वमा पु¥याइसकेका छन् । देशमा भएका जल सम्पदाहरुमा विदेशीहरुको स्वामित्व बनाएर विदेशीहरुबाटै विद्युत् खरिद गर्नुपर्ने बाध्यतामा देशलाई पु¥याइएको छ । यो अवस्थाले युरेनियम उत्खनन गरेर देखाइने छौं भन्ने अभिव्यक्तिलाई विश्वास गर्ने आधार समाप्त गरिदिन्छ ।


केपी ओली प्रधानमन्त्री भएका बेला एउटा अवसर प्राप्त भएको थियो । नेपालको जलसम्पदा नेपाल र नेपाली जनताको हितमा प्रयोग गर्न राष्ट्रिय नीति तर्जुमा गर्ने अवसर प्राप्त भएको थियो । ओलीले नै विगत कालदेखि अर्थात् महाकाली सन्धि पारित गरिनुभन्दा पहिलेदेखि राष्ट्रघाती भन्दै आउनुभएको थियो । आपूm प्रधानमन्त्री भएका बेला भारत भ्रमणका क्रममा नेपाल–भारतबीच भएका जलस्रोतसम्बन्धी असमान सन्धि, सम्झौताहरूलाई समेत महत्वपूर्ण र सकारात्मक भनेर ल्याप्चे ठोक्नुभयो । प्रधानमन्त्रीका हैसियतले राष्ट्रका नाममा सम्बोधन गर्दा ओलीले विगतमा भारतसँग विभिन्न महत्वपूर्ण र सकारात्मक सम्झौताहरू भएको भन्दै सन् १९५० को असमान सन्धि र विगतमा भएका गण्डक, कोशीलगायतका जलस्रोतसम्बन्धी असमान सम्झौताहरूमा आफ्नो समर्थन जनाउनुभएको थियो । नेपाल गणतन्त्रमा गइसकेपछि स्थानीयबासीहरूको स्वायत्त अधिकारमाथि हस्तक्षेप गरी भारतको दबाबमा नेपाल सरकारबाट भए÷गरेका माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता परियोजनासम्बन्धी सम्झौताहरूका साथै नेपाललाई पूर्णरूपमा भारत निर्भर बनाउने दीर्घकालीन लक्ष्य लिएको ऊर्जा व्यापार सम्झौतालाई सकारात्मक र महत्वपूर्ण भन्नुले ओली सरकारको भारतपरस्त गन्तव्यलाई स्पष्ट गरेको थियो ।


ओलीले प्रधानमन्त्रीका हैसियतमा भारत भ्रमणका क्रममा भारतप्रति निकै नै आक्रामक देखिएको जस्तो गरे पनि ओलीको सम्बोधनमा उल्लेख भएका शब्दहरूले भने हामी भारतप्रति अझै पनि समर्पित हुन चाहन्छाँै भन्ने सन्देश दिइएको थियो । भारतसँग विगतमा भएका असमान सन्धि, सम्झौताहरूलाई सकारात्मक र महत्वपूर्ण भनेर ओलीले भन्नुभएको थियो । भारतसँग कुन सन्धि र सम्झौता सकारात्मक भएका छन् ? ओलीे भन्न सक्ने ठाउँ छैन । भारत र नेपालबीच भएको कुनै पनि सन्धि सम्झौताहरु नेपालको हितमा पाइँदैनन् । त्यसैले भारतसँग सकारात्मक सन्धि सम्झौैता भएको भन्नु भारत सरकारको ताबेदारीबाहेक अरु केही पनि मान्न सकिन्न ।


ओलीको नेतृत्वको सरकारको कार्यकालमा भारतले नाकाबन्दी लगाएको अवस्थाले मात्र ओलीलाई देशभक्ति अडानमा रहेजस्तो देखाएको थियो । ओलीको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय स्वाधीनताको सवाल कुनै पनि उल्लेख्य काम गरेको पाइँदैन । देशलाई आत्मनिर्भर तुल्याउने कुनै पनि योजना ओली नेतृत्वको सरकारले ल्याउन सकेन । भारतले ६९ वटा नाका बन्द गरेको अवस्थामा देशभित्र दैनिक उपभोग्य सामग्रीहरुको हाहाकार मच्चिएको थियो । त्यस्तो अवस्थासमेत भूकम्पबाट क्षतिग्रस्त भई बन्द हुन पुगेको चीनतर्पmको महत्वपूर्ण नाकासमेत खोलाउन ओली सरकार सफल भएन । त्यसअतिरिक्त अन्य आत्मनिर्भरताका विकल्पहरुतर्पm कुनै उपलब्धि भएको पाइँदैन । तर पनि ओलीले देशभक्त नेताको पगरी लगाउन पाउनुभएको छ, त्यो पगरीले स्थानीय तहको निर्वाचनलाई प्रभावित तुल्याएको पनि छ । नेपाली जनताले एमालेलाई देशभक्त पार्टी ठानेका छन् । महाकाली सन्धिबाट उत्रिसकेको देशभक्ति मुकुण्डो अब कुन सन्धिबाट वस्त्रविहीन बन्न पुग्ने हो त्यो भने हेर्न बाँकी नै छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप